site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ती बालकृष्ण खाँण, यी रवि लामिछाने : रास्वपाको ‘झोले’ गाली फर्कियो आफैँतिर ! 

काठमाडौं । ‘म कुनै पनि न्यायिक जाँच दिन अदालती प्रक्रियाको सम्मान गर्न चाहन्छु । न्यायिक प्रक्रियामा सघाउने प्रतिबद्धता जनाउन चाहन्छु । म सम्मानित अदालतप्रति आशा राख्छु, विश्वास राख्छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने पार्टी कार्यालयबाट प्रहरी भ्यान चढ्नुअघिका बोली हुन् । 

उनले भनेका थिए, ‘नेपाली जनताको आशा र भरोसामाथि जुन प्रहार भएको छ यसविरुद्ध खुलेर लड्न आह्वान गर्दछु । राज्यले गरेको दादागिरीलाई डटेर सामना गर्न अपिल गर्दछु ।’

धेरैलाई लागेको थियो, अदालती प्रक्रियामा रहँदा रास्वपा नेता/कार्यकर्ता संयमित रहनेछन् । किनभने तिनले स्थापित दलका नेता/कार्यकर्ता आफ्ना नेतामाथि आरोप/अभियोग लाग्दा घेराउ वा नाराबाजी उत्रन्थे ।  रास्वपा नेता/कार्यकर्ताले तिनलाई खेद्न शब्दावली प्रयोग गरेका थिए, ‘झोले’ । 

सामाजिक सन्जाल ‘झोले’ जस्ता अपमानित शब्दले रंग्याएको पृष्ठभूमि आलै छ । रास्वपा कार्यकर्ताहरू पनि तिनै पुराना दलका कार्यकर्ताभन्दा पनि अझ ‘संस्कारहीन’ शैलीमा अघि बढेका हुन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड पक्राउ पर्दा विरोधमा भ्रातृ संगठन तरुण दलका केही नेता कार्यकर्ता सडकमा निस्किए । त्यस्तो क्रियाकलापप्रति कांग्रेसभित्रैबाट विरोध भयो ।

संसदमा कांग्रेसका नेताहरूले कारबाहीमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्न महामन्त्रीहरूले सभापति शेरबहादुर देउवामा दबाब पारेका थिए । कांग्रेसमा खाँडलाई जोगाउनुपर्छ र उनी ‘केही करोड भ्रष्टाचारका लागि पञ्चायतसँग लडेर आएका थिएनन्’ भन्ने नेताहरू पनि नभएका होइनन् । 

उनीपछि कांग्रेस नेताहरू पूर्वसञ्चारमन्त्रीद्वय मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्कीको नाम पनि सेक्युरिटी प्रिन्टिङ प्रेस घोटलामा नाम जोडिएको थियो । त्यसबेला मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री बहाल थिए । उनको निलम्बन माग्दै संसदमा आवाज उठाउनेमध्ये पनि कांग्रेसकै सांसदहरू थिए । यद्यपि अख्तियारले दुवैविरुद्ध मुद्दा चलाएको छैन । 

यसअघि राप्रपाकी सांसद गिता बस्नेतविरुद्ध पनि रविलाई जस्तै पक्राउ पूर्जी जारी भएको थियो । आफू सदस्य नै नभएको छिपछिपे सहकारीबाट करोडौं ऋण लिएर अपचलन गरेको आरोपमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

राप्रपाले केन्द्रीय समितिबाटै उनलाई पक्राउ गरेर अनुसन्धानका लागि आग्रह गरेको थियो भने फरार रहेकी सांसद बस्नेतलाई पनि प्रहरीसमक्ष गएर अनुसन्धानको प्रक्रियामा सघाउन आग्रह गरेको थियो । भलै उनी अझै फरार छिन् ।  

तर, सहकारीका बचतकर्ताको रकम अपचलन आरोपमा रवि पक्राउ परेपछि सिंगो रास्वपा आन्दोलनमा छ । अदालतमाथि आफ्नो आस्था र विश्वास देखाएर पक्राउ परेका लामिछानेले पहिलो पटक म्याद थपका लागि कास्की जिल्ला अदालतको इजलासमा जाँदै गर्दा ओली सरकार नढल्दासम्म सडकमै रहन कार्यकर्तालाई आह्वान गरे ।

आइतबार उनले गरेको आह्वानपछि रास्वपाको सडक संघर्ष जारी छ । अदालतबाट रविमाथि अनुसन्धान गर्न थप ६ दिन म्याद थप भइसकेको छ ।

म्याद थपिएपछि निषेधित क्षेत्रबाहिर रास्वपाले विरोध गरिरहेको छ । रास्वपाले उक्त विरोधलाई आफ्नै घोेषणाविपरीत गरिएको प्रर्दशनलाई विश्लेषकहरू आन्दोलन भन्नु उचित नहुने तर्क गर्छन् ।
 
“रास्वपाको पोखरामा जारी विरोधलाई आन्दोलनको नाम दिनु उचित हुँदैन’’ विश्लेषक सोमत घिमिरे भन्छन्, ‘‘त्योे त पार्टी सभापति बचाउ अभियान मात्र हो । यसले पार्टी निर्माण होइन विनासतर्फ धकेल्छ ।”

उनी रास्वपाले आफैँले घोषणा गरेविपरीतका गतिविधिले उक्त पार्टीभित्रको आन्तरिक लोकतन्त्र उजागर भएको बताउँछन् । 

आन्तरिक लोकतन्त्रको अभ्यासमा रास्वपा एमालेभन्दा पनि पछि देखिएको उनको बुझाई छ । 

उनको भनाइमा, कांग्रेसका शक्तिशाली भनिएका बालकृष्ण खाँड पनि पक्राउ परे । उपप्रधानमन्त्री भइसकेका एमालेका सचिव टोपबहादुर रायमाझी पनि थुनामै छन् । उनीहरूको पक्राविरुद्ध कांग्रेस/एमालेले विरोध प्रदर्शन र आन्दोेलन गरेर न्यायालयलाई अवरोध गरेको देखिएन ।

कानुनबमोजिम नेता पक्राउ पर्दा कार्यकर्ताबाट विरोध हुनुलाई गलत ठान्ने रास्वपाको क्रियाकलाप जायज नभएको उल्लेख गर्दै घिमिरेले भने, “तर, रास्वपा त समर्थकहरूबाट होइन सिंगो पार्टी नै विरोधमा उत्रियो । उसले यसअघि गरेको घोषणाको औचित्व अब रहेन ।” 

केही समय अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दा पनि त्यसको समर्थन र विरोधमा जनमत विभाजित भएको थियो । त्यसबेला रास्वपा र समर्थकहरूको प्रश्न थियो, ‘अदालतको आदेशमा पक्राउ पर्दा विरोध किन ? कानुन अनुसार अदालतले काम गर्छ, उसलाई अवरोध गर्ने प्रयास नहोस् ।’

अरुका हकमा एउटा आफ्ना नेताका हकमा अर्कै बोली ? सडकमा नाराबाजी उत्रिएको रास्वपा नेता÷कार्यकर्तामाथि प्रश्न उब्जिएको छ । रास्वपाका कार्यकर्ताले अरुलाई ‘झोले’ लेखेको शब्द मेटिएका छैनन् । त्यसो भए मुलुकमा नयाँ ‘झोले’ जन्मिएका हुन् ? यो प्रश्न रास्वपा नेतृत्वतिर सोझिएको छ । 

रविसँगै गोरखा मिडियामामा संचालक भएर राजीनमा दिएका पूर्व डिआइजी छिवलाल जोसी असोज ६ गते नै पक्राउ परेका थिए । रवि पक्राउ परेका दिन उनलाई अदालतले थप २० दिनको म्याद थप गरिदिएको छ ।
 
रविको पार्टी रास्वपा स्वयंले अदालतबाट पक्राउ पूर्जी जारी भए दलले सहयोग गर्ने भनेको थियो । तर, रवि पक्राउ परिसकेपछि भने रास्वपाका गतिविधि पूर्वघोषणाविपरीत छन् । 

रास्वपामा ‘ओजनदार’ व्यक्तित्व उपसभापति डा. स्वर्णिम वाग्लेको छ । राष्ट्रसंघीय निकायमा महत्वपूर्ण पद सम्हालिसकेका विद्यावारिधी वाग्ले पनि अदालतलाई म्याद थपमै अवरोध पुग्नेगरी निषेधाज्ञा तोड्दै सडक उत्रिए । 

रास्वपाले देशभरबाट पोखरामा विरोध केन्द्रित गर्ने भएपछि आइतबार नै कास्की जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्‍यो  । निशेधाज्ञा तोड्दै आइतबार पनि रास्वपाले प्रदर्शन गर्‍यो । सडकमा निस्किएको ‘सहकारी पीडित’को आन्दोलनमा आएकाहरूलाई रास्वपाका कार्यकर्ताले ‘त्यसलाई ठोक’ भन्दै सहिद चोकबाट खेदेका थिए । 

अदालतबाट पक्राउ अनुमति हुनासाथ रविले फेसबुकमा लेखेको थिए, ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो । रास्वपाका आन्दोलनकर्ताले त्यही आसयसहित सेतो कपडाले टाउको बाँधेका थिए ।’

राजनीतिक विश्लेडाक डा. विष्णु दाहाल पनि पोखरामा जारी रास्वपाको विरोधलाई आन्दोलन भन्न नमिल्ने तर्क गर्छन् । उनी रास्वपाले विरोध प्रदर्शनको एजेन्डा लामिछानेलाई जोगाउनु रहेको बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro