धार्मिक यात्रा
छैठौं दिन
बिहान उठ्दा होटलको ट्वाइलेटको सिस्टर्नमा फ्लस गर्ने पानी आएन । नुहाउने धारामा भने तातो पानीमात्र भए पनि आएको थियो । त्यसैले कोठामा राखेको फोहर फाल्ने बाल्टिनमा तातो पानी भरेर फ्लस गरियो । नित्य कर्म सकेर तल ‘ब्रेकफास्टको लागि झरियो अनि हल्का दूध र ‘कर्न फ्लेक्स’ खाएर अनि दूध चिया पिएर बिहानको ९ बजेतिर मानसरोवरतिरको हाम्रो धार्मिक यात्रा सुरू भयो । बस फेरि तिब्बतको पूर्व पश्चिम राजमार्गमा पश्चिम दिशातिर तिव्र गतिमा दौड्न थाल्यो । सागाबाट ७० किमी जति पश्चिम आएपछि हाम्रो बस पेयाङ टाउनको शिलालेखमा रोकियो । समय करिब बिहानको ११ बजेको थियो । हाम्रो नेपाली कुक भाइहरूले सागामा नै बनाएर ल्याएको लन्च खान त्यो ठाउँ उत्तम रहेछ । हामी बसबाट झरेर त्यही शिलालेखको तलको सिमेन्टीको मचानमा बस्यौँ र प्लास्टिकको प्लेटमा लन्च खायौँ । जिरा भात, आलु पराठा अनि राजमा र चनाको झोलको लन्च तथम ‘डिजर्ट’मा रसबरी र सोनपापडी खान निक्कै मजा आएको थियो ।
यात्राले फेरि गति लियो । बीचमा लोमान्थाङ जाने बाटो यही हो भनेर गाइडले हामीलाई देखाए । सागाबाट ३०० किमी पश्चिम पुगेपछि पेइकु सो भन्ने ताल पुगिँदो रहेछ । यसको माथि ४ हजार ५९० मिटरमा दृश्यावलोकनको लागि ठाउँ बनाइएको रहेछ । यहाँबाट ताल र दक्षिणतिर रहेको नेपालको हिमालको दृश्य सुन्दर देखिने रहेछ । यसरी हामी बसमा बसेर पश्चिमतिर दौडिरहेका थियौँ । सागाबाट ४०० किमी पश्चिम पुगेपछि हामी फेरि ५ हजार २११ मिटर उचाइमा रहेको मायुम ला पासमा पुग्यौँ । यसपछि हाम्रो बस मानसरोवरको पवित्र भूमितर्फ झर्न थाल्यो ।
अब मानसरोवरसम्मको यात्रा १०० किमीमात्र बाँकी थियो । हामी मायुम ला पास बाट ३० कि.मी. पश्चिम आएपछि दक्षिणतिर एउटा ताल देखियो । यसलाई हनुमान ताल भनिने रहेछ । पौराणिक कथाअनुसार रामायणमा रावणसित युद्ध हुँदा जब लक्ष्मण बेहोस भएर ढले र उनलाई सञ्जीवनी बुटीले मात्र बचाउन सकिन्छ र यो हिमालयको केही ठाउँमा मात्र पाइन्छ भनेर जब रामले हनुमानलाई भने हनुमान उडेर यही क्षेत्रमा आइपुगे र सञ्जिवनी बुटी चिन्न नसकेपछि त्यहाँको पहाड नै बोकेर लंका पुर्याए । त्यसैले उनले पहाड उखेलेर लगेको ठाउँमा ताल बनेको भन्ने किंवदन्ति छ ।
हामी बेलुका ५:३० तिर ४ हजार ५९० मी. उचाइमा रहेको मानसरोवर तालमा पुग्यौँ । यसरी हामीले ल्हासाबाट नेपाललाई दक्षिण पारेर १ हजार २०० किमीभन्दा बढीको यात्रा गरिसकेका थियौँ । मानसरोवरमा ५:३० भए पनि पारि नेपालमा भर्खर ३:१५ भएको थियो र घाम अझ माथि नै थिए ।
मानसरोवर तालको किनारामा मानसरोवर घुम्नलाई हाम्रो बसलाई अनुमति थिएन । त्यसैले हामीले फेरि सगरमाथा बेसक्याम्पमा जस्तै बस परिवर्तन गरेर त्यहाँको प्रशासनले तोकेको बसमा चढ्यौँ र मानसरोवरको किनाराबाट हिँड्न थाल्यौँ । घाम पश्चिमतिर कोल्टिसकेकोले ताल पूर्वबाट पश्चिम हेर्दा तालको पानीमा ‘एन्टी लाइट’ परेको थियो । तै पनि ताल भने निक्कै नै सुन्दर र शान्त देखिएको थियो । उत्तरतिर बदली भएकोले कैलास पर्वतको दर्शन भएन तर दक्षिणतिरको हिमाल खुलेको थियो । त्यसको नाम भने मलाई थाहा भएन । लगभग ३२० वर्ग किमी क्षेत्रफल ओगटेको यस तालको क्षेत्रफल काठमाडौं उपत्यकाको क्षेत्रफलभन्दा आधा रहेछ । तालको परिधि ८८ किमी र तालको अधिकतमा गहिराइ ९० मिटर रहेछ ।
यस तालको विशेषता त के छ भने यो तालमा कैलास पर्वतको पानी बगेर जम्मा भएको छ । कैलास पर्वत दक्षिण एसियाका चारवटा मुख्य नदीहरूको उद्गम स्थल पनि हो । सिन्ध (इन्ड्स) उत्तरपश्चिमबाट लद्दाखको ले हुँदै पाकिस्तान प्रवेश गर्छ । सत्लज भारतको हिमाञ्चलमा प्रवेश गरेर सिन्धमा नै मिसिन्छ । कर्णाली नेपाल छिरेर भारतको गंगामा गएर मिसिन्छ भने ब्रम्हपुत्र पनि हिमालको समानान्तर पूर्वतिर बग्दै तिब्बतबाट ‘यु टर्न’ लिएर भारतको अरूणाञ्चल प्रदेश र आसाम हुँदै बङ्गलादेश पुगेर बंगालको खाडीमा विलीन हुन्छ । यस्ता महत्त्वपूर्ण नदीहरू जुनविना दक्षिण एसियाकै सभ्यताको कल्पना पनि गर्न सकिँदैन, त्यस पवित्र स्थलमा पाइला टेक्न पाउँदा हामीलाई गर्व महसुस भएको थियो ।
हाम्रो बस तालको दक्षिण कुनाको किनारामा रोकियो र हामीलाई जल उबाउने मौका दिइयो । कैलास पर्वतदेखि बगेर आएको जल जम्मा भएको यस तालबाट जल उबाउने ४ ली. को ‘मिनेरल वाटर’ को बोतल हामीले ल्हासादेखि सँगै बोकेर आएका थियौँ र सबैले तालमा शुद्ध जलमा मुख धोइ आफूलाई सेचन गरेर पाप पखाली पवित्र बनाएपछि उक्त बोतलमा पानी उबाउने काम गर्यौँ । आखिर नेपालबाट धेरै जना आफन्तले जल ल्याइदिनु है भनेकाले पनि हामीले ४ लिटर को बोतल भरी जल भरेका थियौँ । हामीले जल भर्ने बेलामा ड्रोनले आकाशबाट हाम्रो क्रियाकलापको अनुगमन गरिरहेको थियो । किनभने मानसरोवरमा नुहाउन र लुगा धुन निषेध गरिएको छ । केहीबेरको दृश्यावलकोन र फोटो खिच्ने काम सकेपछि हामी पुन: बसमा बस्यौँ । पश्चिम दिशातिर लाग्यौँ अनि एउटा सानो पर्वत पार गर्दै राक्षस तालको समिपमा पुग्यौँ ।
त्यहाँ हामीलाई लिन हाम्रो ‘रिजर्भ’ बस पर्खेर बसेको थियो र बस फेर्ने क्रममा हामी राक्षस तालको नजिक गयौँ । यो ताल पनि ठूलो रहेछ । यसको क्षेत्रफल २५० वर्ग किमी छ र परिधि लगभग मानसरोवर तालको जस्तै ८७ किमी छ तर यो उत्तरतिर खुम्चिएको र दक्षिणतिर फैलिएको छ । यस तालको पानी नुनिलो छ । यस तालमा रावणले शिवजीलाई खुसी पार्न तपस्या गरेका थिए भन्ने किंवदन्ति छ । तसर्थ यो ताललाई धार्मिक हिसाबले उत्तम मानिएको छैन । तर प्राकृतिक हिसाबले यसको सौन्दर्य पनि मानसरोवर भन्दा कम छैन । यसको दक्षिण पश्चिमतिर अलि अलि भिरालो परेको जमिनको मैदान जुन विस्तारै हिमालतिर लम्किएर चुचुरोसम्म पुगेको छ त्यसको सौन्दर्य अद्वितीय थियो । ती भिराला घाँसे मैदानमा चरिरहेका कस्तुरीले यसको शोभामा सुनमा सुगन्ध थप्ने काम गरेका थिए । घाम पश्चिम क्षितिजमा पुगेकोले तालको पानी कालो देखिन्थ्यो । शिरमा लगाएको ज्याकेटको टोपी पनि उडाउलाजस्तो चिसो स्याँठ चलेको थियो । हामी यी दृश्यमा यति मग्न भएका थियौँ कि गाइडले बोलाएपछि मात्र हामी झसङ्ग भयौँ । किनभने आजको हाम्रो बास ताक्लाकोटमा थियो जुन अझ ७० किमीको दूरीमा थियो ।
अब हाम्रो बस ताक्लाकोटतिर झर्न अघि बढ्दै थियो । ताक्लाकोटलाई पहिले पुराङ र बुराङ पनि भनिदो रहेछ । हामी अस्ताउन लागेको रातो घामको प्रकाशमा आफ्नो सुन्दरतामा निखार थपिरहेको पूर्व दिशामा देखिएको हिमालसित समानान्तर पारेर दक्षिणी दिशातर्फ जाँदै थियौँ । केही क्षणमा बाटोमा पश्चिमतिर चीन सरकारद्वारा निर्माणाधीन पुलामी एयरपोर्ट देखियो । हामी ओरालो झर्दै र दुई ठाउँमा सुरक्षा पोस्ट पार गरेर राति ८ बजे ताक्लाकोटको होटल पुलामी पुग्यौँ ।
होटलमा पुगेपछि पनि सुरक्षाकर्मीको एउटा टोली त्यहाँ सोधखोज गर्न आयो । हामीलाई त केही सोधेन तर होटल रिसेप्सनमा केही सोधेर गयो । त्यसपछि हामी सबै आआफ्नो कोठामा गएर हातमुख धोई नेपाली कुकले पकाएको शाकाहारी नेपाली खाना खायौँ । अनि त्यसपछि सबैजना भोलि मानसरोवरमा बाल्न लगेको लाख बत्ती भिजाउने काममा व्यस्त भयौँ । यसमा हाम्रो यात्रामा सामेल भाउजुहरू र दिदी नै बढी सक्रिय हुनुभयो ।
आज मलाई हिजोअस्तिभन्दा अलि सहज लागेको थियो । आज हामी बसेको होटलको उचाइ ३ हजार ९३० मिटर थियो । तै पनि टाउको दुख्न भने उति कम भएको थिएन । केही बेरमै म सिटामोल खाएर सुत्न कोठातिर लागेँ ।
सातौं दिन
आजको दिन यो यात्राको विशेष दिन थियो । हामी मानसरोवरमा लाख बत्ती बाल्ने तयारीमा थियौँ । यसको लागि आवश्यक पूजाका सामानहरू र तीनवटा ढाइ फुट अग्ला तामाको त्रिशुलहरू काठमाडौंबाट नै हाम्रा कुक भाइहरूले रसुवा केरुङ हुँदै छुट्टै मिनी ट्रकमा ल्याएका थिए । त्यसैले ब्रेकफास्टमा हामीले फलफूलमात्र खायौँ र चिया पियौँ । त्यसपछि हामी खोजर्नाथ गुम्बाको (खोर्च्याङ मोन्यास्ट्री) दर्शन गर्न केही किमी तल गयौँ । यो गुम्बा कर्णाली नदीको तिरमा समुद्री सतहबाट ३ हजार ६५० मिटरको उचाइमा अवस्थित रहेछ । यो गुम्बा पुराङका राजाले सन् ९९६ मा बनाएका हुन् । त्यस्तै यहाँ भएको मञ्जुश्री बुद्धको चाँदीको मूर्ति प्रसिद्ध दुई कारिगरहरू नेपालका अश्वधर्म र कश्मिरका वाङ्कुलाले बनाएका हुन् भनेर त्यहाँको शिलालेखमा पढ्न पाइयो । दर्शन र प्रदक्षिणापछि हामी फेरि बसबाट ताक्लाकोट उक्लियौँ र मानसरोवरतिर लाग्यौँ ।
यसरी दिउसो १२:३० तिर हामी मानसरोवरको पश्चिम उत्तरको किनारामा पुग्यौँ । यो ठाउँमा पूजा गर्न सरकारद्वारा हल पनि बनाइएको रहेछ । साथै चर्पीको पनि सुविधा उपलव्ध गराइएको थियो । चर्पी चाहिँ सफा नै देखिएपनि अलि गन्हाउने थियो ।
हामी पुग्दा अर्को नेपाली समूहले पुजा सक्नै लागेको रहेछ । केही बेरपछि हाम्रो पूजा सुरू भयो । काठमाडौं मूलपानी घर भएका सुवेदी थरका गुरुले हाम्रो होम गर्ने र लाख बत्ती बाल्ने पूजामा सहयोग गर्नुभयो । त्यस्तै मित्र सन्तोष मास्के र भाउजु इन्दु मास्केको २५ वर्षको विवाह वर्षगाँठको पूजा पनि लाख बत्ती पूजा सकेपछि गुरुले विधिवत गराइदिनुभयो ।
त्यसपछि गुरुलाई दक्षिणा टक्र्याइवरी हामी काठमाडौंदेखि ल्याइएको तामाको त्रिशुल गाड्न तालको किनारामा गयौँ । मानसरोवरलाई त्रिशुल अर्पण गर्यौँ र किनारामा त्रिशूलको प्रतिष्ठा गर्यौँ । अपराह्न ४ बजेतिर हामीले त्यहीँ खिर पुरी खायौँ र कैलाश पर्वतको दक्षिण फेदीमा ४० किमी पर रहेको दार्चेनतिर अघि बढ्यौँ ।
हामी केहीबेर मै दार्चेनको ग्याङ दी सी होटल पुग्यौँ । यो एउटा सानो बस्ती रहेछ जुन खासमा कैलाश दर्शन गर्न आउने मान्छेको लागि बेसक्याम्प भने पनि हुन्छ । हामी दार्चेन आइसकेपछि केहीबेर हल्का पानी पर्यो र कैलाश पर्वतमाथिको बादल फाट्न थाल्यो । यसरी संयोगले दुई दिनदेखि बादलभित्र हराएको पर्वतको दक्षिणी किनाराको हामीले दर्शन गर्न पायौँ । हामीले शिवजीको वासस्थानको दर्शन गर्न पाएकोमा आफूहरूलाई धन्य सम्झ्यौँ । केहीबेर हामी होटल बाहिर यो पर्वतको अमूल्य दर्शनको समयलाई आफ्नो मोबाइलभित्र कैद गर्न व्यस्त रह्यौँ अनि भोलिको कैलाश परिक्रमाको पैदल यात्राको लागि लठ्ठी किन्न पसलमा गयौँ । सबैले लामोछोटो गर्न मिल्ने धातुको लठ्ठी किन्यौं । फर्किदा दक्षिणतिर पर राक्षस ताल र अझ पर नेपालको सिमानाको हिमाल देखिएको थियो । यति मनमोहक दृश्य देखेपछि मैले अनुभूति गरेँ किन भगवान शिवले आफ्नो वासस्थान यो रमणीय विशाल उपत्यका माथिको हिमालमा नै रोज्नुभएको रहेछ भनेर ।
रातको ‘डिनर’मा नेपाली खाना खाँदै हामी भोलि ककसले पूर्ण परिक्रमा गर्ने र को डेरापुकबाट नै फर्कने भनेर सल्लाह गर्न थाल्यौँ । सबैले डेरापुक पुग्दा शारीरिक अवस्था कस्तो हुन्छ त्यहीअनुसार निर्णय लिने भने तर ४-५ जना साथीहरू हामी माथी नजाने, डेरापुकसम्म जाने भनेर दृढ भइसकेका थिए । केहीबेरको छलफलपछि हामी आआफ्नो कोठामा सुत्नतिर लाग्यौँ ।
आठौं दिन
वास्तवमा आजको दिन यो यात्राकै सबैभन्दा महत्त्वपूर्ण दिन थियो । हिडेरै कोरा (कैलाश परिक्रमा) गर्ने भन्दा सबैको मनमा एउटा जिज्ञासा र थोरै उचाइको डर पनि थियो । किनभने भोट आएदेखि सबैले अक्सिजन कम भएको महसुस गरिरहेका थियौँ । अरू त अरू, जुत्ताको तना बाँध्न निहुरिँदा पनि गाह्रो हुने र स्याँ स्याँ हुने गर्थ्यो । बिहानको ‘ब्रेकफास्ट पछि हामी सबैले आफूलाई ‘ट्रेकिङ’ गर्दा चाहिने अत्यावश्यक सामानहरू आफ्नो पछाडि बोक्ने झोलामा हाल्यौँ र अरू सामानहरू ठूलो ब्यागमा होटलमा नै छोड्यौँ । सबैजना हिमाल चढ्न जाने पोसाकमा बसमा बस्यौँ र बिहानको ९ बजेतिर अगाडि बढ्यौँ ।
बसले हामीलाई ७ किमी पर यमद्वारमा लगेर छोडिदियो । हामी यमद्वारबाट छिर्यौँ र अर्को त्रिशुल त्यहाँ यमद्वारको नजिकै प्रतिष्ठा गर्यौँ । अब हाम्रो पैदल यात्रा सुरू भयो बीच पहाडको खोँचबाट । हाम्रो आजको गन्तव्य डेरापुकसम्म थियो । अर्थात्, हामी ४ हजार ७४० मिटर उचाइबाट १२-१३ किमी हिँडेर ५ हजार २१० मिटर उचाइमा गएर बास बस्दै थियौँ । काठमाडौंमा भए यति जाबो १२ किमी हामी धेरै लागे ३ घन्टामा पार गर्थ्यौँ । तर, हामी उचाइमा हिँड्दै थियौँ । तसर्थ हामी कति घन्टामा डेरापुक पुग्छौँ भनेर हामीलाई नै थाहा थिएन । यमद्वारबाट केही अगाडि बढेपछि चिनियाँ अक्षरमा केही सूचना टाँसिएको रहेछ । मैले फोटो खिचेर एआईलाई उल्था गर्न भनेपछि एआईले यसरी उल्था गर्यो । त्यसको केही मुख्य बुँदाहरू निम्नानुसार छन् -
· शीर्षक: कैलाश पर्वत (गंग रिनपोचे) दृश्य क्षेत्रमा पैदल यात्रा गर्नेसम्बन्धी सूचना
· पार्क प्रवेश गर्ने सबै पर्यटकहरूले निर्धारित मार्गअनुसार यात्रा गर्नुहोस् ।
· पार्क प्रवेश गर्ने सबै पर्यटकलाई जंगली जनावरहरूसँग सुरक्षित दूरी राख्न अनुरोध गरिन्छ ।
· साँझ ५ बजेपछि पर्यटकहरूले झारापूजा मठभन्दा परको यात्रा नगर्न अनुरोध छ । किनभने डोल्मा पासमा चढाइको उचाइ ५ हजार ६०० मिटर छ र रातमा तापक्रम शून्य डिग्रीभन्दा तल झर्न सक्छ । झारापूजा मठदेखि डोल्मा-ला पाससम्मको ११ किलोमिटर दूरीमा मोबाइल सञ्जाल कभर छैन र रातमा उद्धार कार्य गर्न निकै कठिन हुन्छ ।
· यात्रामा शारीरिक असजिलो महसुस भएमा तुरुन्तै रोकिनुहोस् र नजिकैको आपूर्ति केन्द्रमा जानुहोस् वा दृश्य क्षेत्रको उद्धार टोलीलाई आपतकालीन नम्बर ४००६६६७१७२ मा सम्पर्क गर्नुहोस् ।
· मुटुसम्बन्धी समस्या भएका पर्यटकहरू, ६० वर्ष माथिका वा कमजोर शारीरिक अवस्थाका पर्यटकहरूलाई पूर्ण परिक्रमा नगर्न सल्लाह दिइन्छ ।
· पर्यटकहरूले उच्च उचाइको कारण अनुकूल मिति चयन गर्नुहोस् र खराब मौसमको समयमा यात्रा नगर्न प्रयास गर्नुहोस् ।
· पर्यटकहरूलाई ग्लुकोज, चकलेट, अक्सिजनजस्ता ऊर्जा आपूर्ति सामग्रीहरू बोक्न सल्लाह दिइन्छ ताकि उचाइ रोगबाट बच्न सकियोस् ।
· परिक्रमा मार्गको जटिलताको कारण एकल यात्रा निषेध गरिएको छ । पर्यटकहरूले साथीको साथमा यात्रा गर्नुपर्छ ।
· पर्यटकहरूले नदीको किनारमा पौडी खेल्न, खेल्न वा अन्य कुनै खतरनाक गतिविधिहरूमा संलग्न हुन निषेध गरिएको छ ।
· परिक्रमा अघि पर्यटकहरूले टिकटमा उल्लेखित सुरक्षा निर्देशनहरू ध्यानपूर्वक पढ्नुपर्नेछ ।
हामी समूहमा बिस्तारै हिँड्दै अगाडि बढ्दै थियौँ । कसैलाई पिसाब फेर्न मन लागेमा बाटोबाट कुनातिर जानुबाहेक अरू उपाय थिएन । बाटोमा धेरै मानिसहरू हिँडिरहेका थिए । कति गैरआवासीय भारतीयहरू पनि हिँडिरहेका भेटिन्थे । कोही घोडामा यात्रा गरिरहेका थिए । उनीहरू सबैजना नेपालको बाटो हुँदै नै कैलाश पुगेका थिए । हाल भारतीयहरूलाई कैलाशको भिजामा रोक भएकोले अरू भारतीय देख्न पाइएन ।
दुईतिर अग्ला खुइलिएका पहाड, बीचमा अनवरत बगिरहेको खोला, त्यसैको केही माथि बगरमा हामी हिडिरहेका थियौँ । दिन बदली बदली भए पनि घरी घाम लाग्ने र घरी बादल लाग्ने क्रम चलिरहेको थियो । यसरी हामी ६ हजार ६३८ मिटर अग्लो कैलासलाई दाहीने पारेर परिक्रमा गर्दै थियौँ । ठाउँ ठाउँमा हामी विश्राम पनि गर्थ्यौं । यसरी हिँड्दै गर्दा हामीहरूमध्ये संपूर्णका पतिपत्नी र म अलि अगाडि पुग्यौँ । बाँकी साथीहरू अलि पछाडि छुटेका थिए । हामी हिँड्दा हिँड्दा थाकिसकेका थियौँ । बीचबीचमा चकलेट र अरू केही ‘ड्राइ फ्रुट’ खाँदै हामी अघि बढ्दै थियौँ । दार्चेनमा किनेको लौरोले निक्कै ठूलो सहारा दिएको थियो । बाटोमा सानो थर्मसमा भएको पानीले अलि अलि मुख भिजाउँदै र राम्रो दृश्य देखेमा फोटो खिच्दै हाम्रो पाइला सुस्तरी सुस्तरी अघि बढिरहेको थियो । तर मनमा देवाधिदेव महादेवको वासस्थानको परिक्रमा गरिरहेको छु भन्ने भावनाले ऊर्जा थप्ने काम गरिरहेको थियो ।
बिस्तारै हामी डेरापुकनजिक पुग्न लागिसकेका थियौँ । संपूर्णको श्रीमती कल्पनालाई हिड्न गारो भइसकेको थियो । ऊनको पछाडि बोक्ने झोला पनि संपूर्णले नै बोकेका थिए । तर पनि ऊनी लडखडाएर हिँडिरहेकी थिइन् । हाम्रो हिँडाइको गति निक्कै सुस्त भइसकेको थियो । त्यतिकैमा दक्षिणतिर कैलास पर्वत देखिन थाल्यो । त्यसले हामी तीनैजनाको ऊर्जा अलि बढायो । कैलास पर्वत केही देखिएपछि हामी झोला बिसाएर फोटो खिच्न थाल्यौँ र त्यहीँ आराम गरेर बस्यौँ ।
समय त्यस्तै चार बजेको थियो । हामी बस्ने होटल कान्चेप केही पर उकालोमा देखिएको थियो । तर त्यही नजिकको होटल पुग्ने साहस पनि हामीमा थिएन । हामीले अघाइन्जेल कैलास पर्वतको उत्तरी मोहडा हेर्यौँ । कैलासको शिखरमा कतै हिउँ र कतै कालो चट्टान देखिएको थियो । त्यसैले हिउँ र कालो चट्टानमा कतै कतै शिव, पार्वती र गणेश बसेको जस्तो आकार पनि देखिन्थ्यो । एउटा विचित्रको चुम्वकीय शक्तिमा हामी मोहित थियौँ । हिन्दु, बुद्ध, जैन र बोन धर्मले आस्था राख्ने र आआफ्नै तरिकाले आराधना गर्ने यस पर्वतका धेरै विशेषता युट्युबमा पनि छ्यासछ्यास्ती पाइन्छन् ।
यसरी कैलासको काखमा पुग्न पाउनु मेरो लागि ठूलो अहोभाग्य थियो र यो कैलास पर्वत विज्ञानअनुसार पनि आफैँमा रहस्यमय थियो । यो पहाड धेरै पहिला एउटा तिब्बतीय भिक्षुले चढेका थिए रे तर अहिले कैलास पर्वत आरोहण गर्न पूर्ण प्रतिबन्ध छ । मौसम छिनछिनमा परिवर्तन हुने र यो पर्वत चढ्नेहरूको नङ छिटो पलाउने र चाडै बूढो हुने र मरण पनि छिट्टै हुनाले यस्तो गरिएको हो भनेर विभिन्न युट्युबका ‘डकुमेन्ट्री’ मा पनि भनेको पाइन्छ । जे होस्, हाम्रो लागि कैलासको दुवै दिशातिरको सिरा देख्न पाउनु त्यहाँसम्म पुगेको उपलब्धि थियो । मनग्गे फोटो खिचेर हामी होटलमा पुग्यौँ । यस होटलमा हामी चार, पाँच जना एउटै कोठामा सुत्नुपर्ने थियो । भित्र चर्पीको व्यवस्था थिएन । बाहिर काठको टाँड बनाएर लहरै चार पाँचवटा चर्पी त रहेछन् तर त्यो खुला खाल्टे चर्पी भएकोले अति नै गन्हाउने रहिछ । यति पवित्र ठाउँमा यो विजोग देखेर दिक्क पनि लाग्यो । हामीसित अरू उपाय भने थिएन । रात यही कान्चेप होटलमा बिताउनु थियो र त्यही टाँडको चर्पी प्रयोग गर्नु थियो ।
बिस्तारै हाम्रा समूहका अरू साथीहरू पनि आइपुगे । सबैले कैलाशको उत्तरी सिराको मनग्गे फोटो लिएको कुरा सुनाए । तर, सबैजना निक्कै थकित देखिन्थे र ‘अल्टिच्युड सिकनेस’ ले सबैलाई समाएको प्रष्टै हुन्थ्यो । त्यतिकैमा कल्पनालाई अक्सिमिटरले नाप्दा अक्सिजन लेभल ५० भन्दा पनि मुनि पुगेको देखेर हामीले ल्याएको ट्युबवाला अक्सिजन दिन थालेका थियौँ । बल्ल हामीले बुझ्यौँ कि कल्पना अघि किन त्यसरी हिँडिरहेकि रहिछन् भनेर । हामी अलि अत्तालिएका पनि थियौँ तर केहीबेरमा उनको स्वास्थ्य अलि सुधार भयो र हाम्रो मन केही शान्त भयो । अरूहरूको अक्सिजन लेभल पनि सरदर ७० तिर थियो । अलिबेरपछि हामीले नेपाली कुकले बनाएको ‘डिनर’ खायौँ । त्यसपछि गाइडले हामीलाई भोलि को को माथि जाने र को को डेरापुक नै फर्कने भनेर सोधे । किनभने भोलि फर्किने मान्छेअनुसार एम्बुलेन्स गाडी आजै नमगाए भोलि झन् महंगोमा परिन्छ भनेर उनले जानकारी दिए ।
हामी १४ जनामा ८ जना फर्किने निर्णय भयो भने ५ जना माथि जाने निर्णय गरे । अनि मलाई अरूले सोधे - तँ के गर्छस् ? म असमञ्ज्यस्यमा थिएँ । माथी जान्छु भनौ, केही भयो भने के गर्ने? फर्किन्छु भनुँ भने फेरि कैलास परिक्रमा गर्ने धोको सधैँ अपुरो हुन्छ । निर्णय लिन धेरै गारो भयो तर खोइ किन हो माथि जान्छु भने । सबैजना छक्क परेर मलाई हेर्दै थिए किनभने म ल्हासादेखि नै टाउको दुखेर औषधि खाँदै डेरापुक पुगेको थिएँ । तर, मैले परिक्रमा पूरा गर्ने निर्णय गरेँ । अब फेरि माथि जानेमा दुईजना भाउजु घोडामा जाने र हामी हिँडेर जाने कुरा भयो । घोडामा जान एकजनालाई नै नेपाली २० हजार लाग्ने रहेछ । त्यो पनि घोडाले चुचुरोमा पुर्याएर छोडिदिने रहेछ । हामी पनि सबै थाकिसकेको र भोलि उक्लिने बाटो ठाडो उकालो छ भन्ने जानकारी पाएपछि हामी सबैले घोडा लिने भन्ने निर्णय गरेर गाइडलाई त्यस्को व्यवस्था गरिदिनु भन्यौ । गाइडले सोहीअनुसार गर्छु भनेपछि हामी हाम्रो कोठातिर सुत्न लाग्यौँ ।
मेरो कोठामा तीनवटा खाट थिए । झ्यालतिरको खाटमा सुधीर, बीचमा डा. महेश र ढोकातिरको खाटमा म सुतेका थियौँ । अक्सिजन लेभल कम भएर हो कि दिनभरिको हिडाइको थकावटले हो मलाई फिटिक्कै निद्रा लागेन । म कहिले दाहिने त कहिले देब्रे कोल्टो फर्किन थालेँ । पल्लो कुनामा सुधीर पनि सुत्न नसकेर छट्पटाइरहेको मैले थाहापाइरहेको थिएँ । बीचमा डा. महेश चाहिँ अलि निदाएको थियो । तनावले हो कि किन हो त्यो रात झन् म चारचोटि पिसाब फेर्न बाहिर निस्किएँ । एघार बजेपछि जेनेरेटर निभाएकोले बाहिर निस्कदा टर्च नै सहारा थियो र मैदानमा हामी पिसाब फेर्थ्यौँ । यसरी कैलासको मुनि मैदानमा पिसाब गर्दा मनमा ग्लानि पनि भएको थियो । तर हामीसित उपाय थिएन । किनभने दिशा र पिसाब रोक्नु त असंभवप्रायः नै थियो ।