काठमाडौं । सन् २००४ मा छोटा राजन ग्याङका खास व्यक्ति बिक्की मल्होत्राले बैंककबाट भारतको इन्दोरका एकजना रक्सी व्यापारीलाई फोन गरेर चार करोड रुपैयाँ मागे । उनले पैसा नदिएमा अपहरण गर्ने धम्की दिए । ती व्यापारीले आफूलाई आएको धम्कीको सूचना प्रहरीलाई दिए ।
प्रहरीले बिक्कीको नम्बर निगरानीमा राख्यो । सन् २००५ मा भारत ओर्लिएपछि बिक्कीले जान–अन्जानमा जुन नम्बरबाट फोन गरेर धम्की दिएका थिए, त्यही नम्बर चलाए । प्रहरीले तुरुन्तै पक्राउ गर्यो ।
यी विवरण भारतको मध्य प्रदेश प्रहरी प्रमुखबाट अवकाशप्राप्त शैलेन्द्र श्रीवास्तवले आफ्नो किताब ‘स्याकल द स्टोर्म’मा लेखेका छन् । खासमा बिक्की मल्होत्राको असली नाम विजय कुमार यादव हो । एउटा पसलबाट हिरा चोरी गरेपछि बिक्की विस्तारै अपराधको दुनियाँमा छिरे । अपराधको दुनियाँमा उनी ‘अन्डरवर्ल्ड’सम्म पुगे ।
‘अन्डरवर्ल्ड’मा मल्होत्राको पहिलो भेट भयो ‘नाना’ नामले परिचित छोटा राजनसँग । विस्तारै मल्होत्रा छोटा राजनको दाहिने हात बने ।
छोटा राजनको खास नाम राजेन्द्र निखलजे हो । सुरुवातमा फिल्महल बाहिर ‘ब्ल्याक’मा टिकट बेच्ने छोटा राजन कतिसम्म खतरनाक थिए भने एकपटक प्रहरीले पक्रन खोज्दा उनले प्रहरीको लाठी खोसेर उल्टै प्रहरीलाई पिटेका थिए ।
सन् १९८० मा छोटा राजन बडा राजन ग्याङसँग जोडिए । अब्दुल कुन्जु नामका अर्का गुन्डाले बडा राजनको हत्या गरेपछि छोटा राजनले बदला लिने घोषणा गरे । कुन्जुको हत्या गर्ने उनका सबै प्रयास विफल भए । तर, यस घटनाले दाउद इब्राहिम भने छोटा राजनप्रति आर्कषित भए ।
एम हुसैनले आफ्नो किताब ‘डोङग्री टू दुबई सिक्स डिकेड्स अफ मुम्बई माफिया’मा लेखे अनुसार दाउदको ग्याङमा जोडिएपछि एक क्रिकेट म्याचका दौरान छोटा राजनले कुन्जुको हत्या गरेर आफ्नो बदला पूरा गरे ।
विस्तारै छोटा राजन दाउदको नजिकको मान्छे बन्न थाले । उनी दाउद ग्याङमा सबैभन्दा शक्तिशाली भए । दाउद पनि उनीमाथि विश्वास गर्न थाले । त्यतिखेर ‘डी कम्पनी’ (दाउद ग्याङ)का लागि पाँच हजार जति मान्छे काम गर्थे । छोटा राजनको शक्ति र दाउदसँगको निकटता देखेर दाउदको ग्याङका पुराना मान्छे रिस गर्न थाले ।
हुसैन जैदी लेख्छन्, ‘शरद शेट्टी, छोटा शकिल र सुनील सावन्तलाई छोटा राजन मन पर्थेन । उनीहरूले दाउदलाई कुनै दिन छोटा राजनले नै ग्याङमा विद्रोह गर्न सक्ने सुनाए । त्यसपछि दाउदले छोटा राजनलाई ग्याङका महत्त्वपूर्ण निर्णयबाट टाढा राख्न थाले ।’
सन् १९९२ मा भएको मुम्बई विस्फोटले छोटा राजन र दाउदबीचको दुरी बढायो । मुम्बई हमलाको सम्पूर्ण खबरबाट दाउदले छोटा राजनलाई टाढै राखेका थिए । सन् १९९९३–९४ पुग्दासम्म दुईबीच दुरी निकै बढिसकेको थियो । यही वर्ष दाउदले एक पानीजहाजमा आफ्ना खास मान्छलाई पार्टी दिने निर्णय गरे । त्यो पार्टीमा छोटा राजनलाई पनि बोलाइएको थियो ।
यो पार्टीमा जानु अगाडि छोटा राजनलाई फोन आयो । हुसैन लेख्छन्, ‘त्यो पार्टीमा आफूलाई मार्ने योजना बनेको कुरा सुनेर छोटा राजनको होस् उड्यो । त्यसपछि छोटा राजनले आबुधाबीस्थित भारतीय राजदूतावासमा फोन गरेर दुबईबाट बाहिर जान सहयोग मागे । यसको बदलमा उसले दाउदको हरेक सूचना दिने प्रस्ताव गर्यो ।’
अन्तमा भारतीय दूतावासले छोटा राजनको नाम फेरेर काठमाडौं पठायो । काठमाडौंबाट मलेसियाको राजधानी । यसपछि छोटा राजनको एउटै उद्देश्य भयो, दाउद र उनको साम्राज्य समाप्त पार्नु ।
यसपछि दाउद पनि दुबईबाट पाकिस्तानको कराँची आए । छोटा राजन भने बैंककमा बस्न थाले । तर, दाउदका मान्छेहरू छोटा राजनलाई खोजिरहेका थिए । एकदिन छोटा राजन बस्ने बैंककको अपार्टमेन्टमा हमला भयो । हमलामा छोटा राजनकका सहयोगी रोहित वर्मा र पत्नी संगिता, छोरी र काम गर्ने महिला घाइते भए ।
शैलेन्द्र श्रीवास्तव लेख्छन्, ‘छोटा राजन आफ्नो बेडरुममा लुके । अन्धाधुन्ध गोली चल्न थालेपछि उनले झ्यालबाट हाम फाले । छोटा राजनमाथि हमला भएको कुरा बिक्की मल्होत्राले थाह पाउनबित्तिकै पुलिस बोलाए । पुलिस पुग्दा छोटा राजन फ्ल्याट पछाडिको रुखको हाँगामा झुन्डिएका थिए । छोटा राजनलाई अस्पताल लगियो । उनको पेटमा गोली लागेको थियो ।’
अस्पतालमा छोटा राजनलाई विजय दमनको नामले भर्ती गराइयो । तर, छोटा राजनलाई बैंककमा मारिएको हल्ला फैलिन थाल्यो । जसै भारतीय एजेन्सीले छोटा राजन बैंककमा उपचार गराइरहेको सूचना पाए । उनीहरू उनलाई पक्राउ गर्न भनेर बैंकक जाने तयारीमा लागे ।
शैलेन्द्र श्रीवास्तव लेख्छन्, ‘छोटा राजन अस्पतालमै हुँदा बिक्की दुईपटक भारत आए । दुईपटक गरेर उनले भारतबाट राजनको पुतला बनाएर लगे । एक ठूलो डोरी पनि किने । अस्पतालको बेडमा बिक्कीको पुतला राखेर राजनलाई डोरीको सहायताले झ्यालबाट भगाइयो । छोटा राजन पक्राउ गर्न गएको भारतीय प्रहरी रित्तै हात फर्किनुपर्यो ।’
दाउदले आफूमाथि आक्रमण गरेपछि छोटा राजनले पनि बदला लिने योजना बनाए । दाउदकी छोरीको अन्त्येष्टिका क्रममा दाउदलाई मार्ने प्रयास गरियो । यही कामका लागि बिक्की नेपाली राहदानी बोकेर काठमाडौंबाट कराँची गएका थिए ।
शैलेन्द्र श्रीवास्तव भन्छन्, ‘बिक्कीले कराँचीमा नै हतियार तस्करबाट दुईवटा एके–४७ राइफल किने । तर, पाकिस्तानी गुप्तचरी संस्था आईएसआईका जासुसले बिक्कीलाई हतियार बेच्नेलाई पक्राउ गरे । उनले नेपाली केटालाई दुईवटा एके–४७ बेचेको सुनाए ।’
यसपछि दाउद चनाखो भए । उनी छोरीको अन्त्येष्टिमा गएनन् । त्यसपछि बिक्की पनि त्यहीबाट अफगानिस्तान गए ।
दुबईमा दाउदमाथि आक्रमण गर्ने अर्को प्रयास
दाउदलाई मार्ने अर्को प्रयासबारे शैलेन्द्र श्रीवास्तव भन्छन्, ‘यसपटक बिक्की र उनका साथी बंगलादेशी राहदानी प्रयोग गरेर नेपाल पुगेका थिए । त्यहाँबाट दुवै जना कराँची पुगे । त्यहाँ उनले दुई वटा एके–४७ राइफल र दुई वटा पेस्तोल किने । उनीहरूले दुईवटा एलईडी टीभी सेट किने र ती सेटभित्र हतियार लुकाएर राखे । पाकिस्तानमा बिक्कीले ६० करोडको डुंगा किनेर समुद्री मार्गबाट दुबई गए ।’
बिक्की र उनका साथी महिनौँसम्म दाउदको पर्खाइमा बसे । यहीबीचमा दुबई प्रहरीलाई बिक्की र उनको साथीमाथि शंका लाग्यो र उनीहरूको फ्ल्याटमा छापा हानियो । तर, केही पनि शंकास्पद सामान भेटिएन ।
यसपछि बिक्कीले थाहा पाइहाले, आफू दुबई प्रहरी र दाउदको नजरमा परेको कुरा । त्यसपछि १९ जनवरी २००३ मा बिक्कीले दाउद आउने भनिएको इन्डिया क्लबमाथि हमला गरे । यस हमलामा दाउदका खास मान्छे शरद शेट्टी मारिए ।
शैलेन्द्र श्रीवास्तवले लेखेका छन्, ‘बिक्कीले बताएअनुसार दाउदले अहिलेसम्म कम्तीमा १३ नाम प्रयोग गरिसकेका छन् । उनीसँग पाकिस्तानका दुई, संयुक्त अरब इमिरेट्स र यमनका एकलगायत धेरै देशका राहदानी छन् । उनकी श्रीमती मेहजबीन शेख, छोरा मोइन नवाज र दुई छोरी महरुख र मेहरीन छन् ।’
इन्टरपोलले छोटा राजनविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो । सन् २०१५ मा उनलाई इन्डोनेसियाली प्रहरीले बालीमा समात्यो । त्यसपछि उनलाई इन्डोनेसियाले दिल्ली पठायो । त्यसयता उनी तिहाड जेलमा आजीवन कारावासको सजाय काटिरहेका छन् ।
छोटा राजनमाथि ७० वटा अभियोग लगाइएको थियो । अदालतले उनलाई २०१८ मा आजीवन कारावासको सजाय सुनाएको थियो । त्यसपछि सन् २०२४ मा उनलाई अर्को मुद्दामा आजीवन कारावासको सजाय सुनाइएको थियो ।
सन् २००५ मा पक्राउ परेका बिक्की भने २०१० मा जमानतमा रिहा भए । त्यसयता उनी फरार छन् । श्रीवास्तवका अनुसार, बिक्की आजभोलि दक्षिण अफ्रिकामा चल्ने छोटा राजनको हिरा तस्करीको कारोबार सम्हाल्छन् ।
बीबीसी हिन्दीबाट ।