site stats
बाह्रखरी :: Baahrakhari
खेल
उज्वेकिस्तानको सात गोलले नेपाललाई पारेको अप्ठेरो

काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत उज्वेकिस्तानले लाओसविरुद्ध ७–० को जित निकालेसँगै समूह ‘एफ’बाट छनोट हुन अन्तिम खेलमा नेपालले जित्नैपर्ने समीकण बनेको छ ।

बुधबार तास्केनमा सम्पन्न खेलमा लाओसविरुद्ध इन्जुरी समयमा दुई गोल थपेपछि उज्वेकिस्तानले ७–० को जित पक्का गरेको हो । यो जितसँगै यस समूहमा नेपाल र उज्वेकिस्तानले अंक र गोलआधारमा पनि बराबरी गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उज्वेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । यता, नेपालले भने पहिलो खेलमा लाओसविरुद्ध ९–० को जित निकालेको थियो ।

दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हराउँदा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको हो । योसँगै समूहमा दुई खेल खेल्दा नेपाल र उज्वेकिस्तानले समान ६ अंक जोडेको छ । दुवै टिमको गोलअन्तर पनि प्लस १७ छ ।

यसैकारण एसिया कपमा छनोट हुन नेपाललाई अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरीको नतिजाले नपुग्ने भएको हो ।

नेपालले जुलाई ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ । जसमा निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेले एएफसीको नियमअनुसार समूहबाट छनोट हुने टिमको टुंगो लगाउन सोझै पेनाल्टी सुटआउट हुनेछ ।

अर्थात्, आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउन नेपालले उज्वेकिस्तानलाई कम्तीमा पेनाल्टी सुटआउटमा भए पनि हराउनुपर्ने समीकरण बनेको छ ।

उज्वेकिस्तानको तास्केनस्थित मिली रंगशालामा हुने खेल आगामी शनिबार राति ८ः३० बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्