site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जब हामी कुरा गर्छौँ, काँचुलीका लघुकथा र एक पोल्टो बादल

(निबन्धसंग्रह : भीष्म उप्रेती)
नेपाली कविता, निबन्ध र नियात्रा साहित्यमा परिचति सर्जक हुन्, भीष्म उप्रेती । उनको केही समयअघि बजारमा आएको निबन्धकृति हो : ‘जब हामी कुरा गर्छौँ’ ।

साहित्यकार भीष्मका कुल २२ वटा कृति प्रकाशित छन् । यो उनको चौथो निबन्धकृति हो । उनका केही कृति अन्य भाषामा अनुवाद भएका छन् भने उनले पनि विश्वभाषाका केही कृति नेपालीमा अनुवाद गरेका छन् ।

यस पुस्तकको लेखकीयमा भीष्म लेख्छन् : ‘मलाई लाग्छ, सिर्जनात्मक कार्यमा म केवल माध्यम हुँ, लेखाउने अरू नै कोही छ । म त्यस शक्ति वा उर्जाप्रति नतमस्तक एवम् आभारी छु । ...’

कृतिको भूमिकामा डा. माधवप्रसाद पोखरेल लेख्छन् : ‘भीष्म उप्रेतीको निबन्ध रच्ने प्रविधि विचार गर्दा उनी बाहिर (मान्छे, जन्तु, वस्तु) बाट पनि शिक्षा लिन्छन्, भित्रबाट पनि शिक्षा लिन्छन् र निबन्धमा दुइटैलाई साँध्छन् । पूरै इकोसिस्टममा ध्यान दिएर उनी निबन्ध लेख्छन् । ...’

यस निबन्धकृतिभित्र भीष्मका १८ वटा निबन्धहरू समावेश छ । शिखा बुक्सले प्रकाशनमा ल्याएको १३६ पृष्ठको यस कृतिको मूल्य २९५/– रुपैयाँ राखिएको छ ।

०००

काँचुलीका लघुकथा
(लघुकथासंग्रह : मन्जु काँचुली तिवारी)
नेपाली कथा साहित्यमा मन्जु काँचुली तिवारीको आफ्नै स्थान छ । २०१७ सालदेखि नै साहित्य लेखनमा समर्पित काँचुलीको पछिल्लो लघुकथासंग्रह हो : ‘काँचुलीका लघुकथा’ ।

कथा, कविता, नाटक, उपन्याससहित थुप्रै साहित्यिक कृतिहरू प्रकाशनमा ल्याइसकेकी मन्जु काँचुलीको यस लघुकथासंग्रहभित्र कुल ३८ वटा लघुकथाहरू समावेश छ ।

लेखक स्वयम्द्वारा प्रकाशित ९४ पृष्ठको यस लघुकथासंग्रहको मूल्य १८०/– रुपैयाँ राखिएको छ ।

०००

एक पोल्टो बादल
(लघुकथासंग्रह : रेणु अधिकारी ‘मौनता’)
सर्जक रेणु अधिकारी ‘मौनता’ले कविता, गीतलगायतका विधामा कलम चलाउँदै आएकी छन् । केही समयअघि प्रकाशनमा आएको उनको लघुकथासंग्रह हो : ‘एक पोल्टो बादल’ ।

लघुकथाकार अधिकारीका गीतिसंग्रह र कविताकृति पनि प्रकाशित छन् । उनको यो पहिलो लघुकथाकृति हो ।

उनी आफ्नो भनाइमा लेख्छिन् : ‘जीवन जिउने क्रममा आफूले भोगेका, देखेका र सुनेका कुराहरूको सँगालोलाई शब्दरूपी गुच्छाद्वारा मैले त्रिचालिसवटा लघुकथाहरू तयार पारेकी छु । ...’

अक्षरधाम नेपालद्वारा प्रकाशित १०० पृष्ठको यस संग्रहको मूल्य २२५/– रुपैयाँ राखिएको छ ।

०००

अनन्त इच्छाका गीतहरू
(कवितासंग्रह : योगेन्द्र तिमिल्सिना)
कथा, उपन्यास र समीक्षा विधामा कलम चलाउँदै आएका योगेन्द्र तिमिल्सिनाको पहिलो कविताकृति प्रकाशित भएको छ: ‘अनन्त इच्छाका गीतहरू’ ।

यसअघि उनका चार कथाकृति, चार उपन्यास र अन्य केही पुस्तक प्रकाशित भइसकेको छ ।

यस कविताकृतिभित्र तिमिल्सिनाका ४० वटा विभिन्न भावका कविताहरू संग्रह गरिएका छन् ।

ओरिएन्टल पब्लिकेशनद्वारा प्रकाशित ६४ पृष्ठको यस कवितासंग्रहको मूल्य २५०/– रुपैयाँ राखिएको छ ।

०००

चीनका प्राचीन नीतिकथा सँगालो
(नीतिकथा : संकलन— चाङ यओ–ल्वन)
चीनका सर्जक चाङ यओ–ल्वनको संकलन रहेको सन् १९५८मा प्रकाशित पुस्तक ‘चीन की प्राचीन नीति कथाएँ’ बाट नेपालीमा अनुवाद भएको पुस्तक हो ‘चीनका प्राचीन नीतिकथा सँगालो’ । जसलाई हिन्दी भाषाबाट नेपालीमा अनुवाद गरेका छन् डा. चन्द्रमान बज्राचार्यले ।

‘मैले भन्नुपर्ने कुरा’मा अनुवादक डा. चन्द्रमान बज्राचार्य लेख्छन्: ‘यो पुस्तक मैले वि.सं. २०३० वरिपरि अध्ययन गरेको मलाई याद छ । त्यतिखेर नै मैले यो पुस्तक नेपालीमा अनुवाद गरी हरेक नेपाली दाजुभाइ, दिदीबहिनी, साथीसँगीका सामाजिक चेतना उकास्नका लागि नितान्त जरूरी भएको महसुस गरेथेँ र अनुवाद गर्ने अठोट गरिसकेको थिएँ । ...’

प्रस्तावनामा संकलक चाङले लेखेका छन्: ‘चीनको प्राचीन साहित्यमा हामी अत्यधिक नीतिकथाहरू पाउँछौं । यी कथाहरूले सयौँ वर्षदेखि मान्छेको मन र मस्तिष्कमा प्रभाव पारिरहेका छन् । ...’

यस पुस्तकभित्र ६३ वटा छोटाछोटा चीनका प्राचीन नीतिकथाहरू रहेका छन् ।

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित ७६ पृष्ठको यस पुस्तकको मूल्य १७५/– रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro