site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितिखोला हरितक्रान्ति र साहित्य
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

प्रभा बराल

धर्तीमा छरिएको छ एक झुल्को पारिलो घाम ।

०००

KFC Island Ad
Dabur Nepal
NIC Asia

बिहानको सात बजेको छ । गोधूली साँझमा पश्चिममा सूर्य अस्ताउने बेला हामीले पनि भेट्टाइसकेका हुनेछौँ हाम्रो गन्तव्य ।

रिकापीभरि हिमालयन सुइट होटलको मिठो खाजा सजिएको छ । खाइरहेछौँ कपाकप । यसैबीच परिचय हुन्छ यसै होटलका मालिक रामप्रसाद सापकोटासँग । पर्यटन क्षेत्रका दिग्गज व्यक्तित्व उहाँ हालसालै लेखकको रूपमा उदाउनु भएको छ ।

Royal Enfield Island Ad

उहाँको ‘आधा शताब्दी’ संस्मरण पुस्तक केही दिनअघि मात्रै लोकार्पण भएको हो । पर्यटन र साहित्यलाई यही पुस्तक अन्तक्रियाबाट जोड्दै छौँ काठमाडौंदेखि चितिखोलासम्म ।

मनभरि उत्साहका बिगुलहरू फुक्दै हामी अर्थात् चौध जना तनहुँ हिँड्नै लागेका छौँ । गाडीका चालक विशाल भाइ तम्तयार छन् ।  गीता त्रिपाठी र दीपक भेटुवाल हामीलाई बिदाइ गर्न मात्रै आउनु भएको छ ।

यात्राका लागि धेरै संयोगहरू जुट्नुपर्छ । उहाँहरू दुवै अन्त्यमा आएर जोडिन सक्नुभएन ।

आठ बजे हामी सोह्रखुट्टेबाट हरियो प्लेटको चिल्लो माइक्रोबसमा हुँइकिन्छौँ । बाटोमा दैनिकी धान्नेहरूको भीडभाड राम्रैसँग सुरु भइसकेको छ । गाडी सजिलो रहेछ ।

चालकपछाडिको सिटमा म, बिन्दु शर्मा र पार्वती भट्ट छौँ । यात्रा आरामदायी हुने भो भनेर एकअर्कालाई हेर्दै मुस्कुराउँछौँ ।

गन्तव्यमा नपुगिन्जेल साहित्य संवादमा रमाउन पाइन्छ । पाइनसक्नुको यो आनन्द सम्झेर पनि हामी थप प्रफुल्ल छौँ । हाम्रो पछाडि हुनुहुन्छ राजेन्द्रमान डङ्गोल, राजकुमार बानियाँ, माधव घिमिेर ‘अटल’, दिल पौडेल, जयराम बिडारी र कृष्ण पल्लव । पर्यटन क्षेत्रका दिग्गज व्यक्तित्व रमेश धमला र राजेन्द्र सुवेदी पनि यात्रामा जोडिनु भएको छ । 

‘पर्यटनका लागि साहित्य’ फ्लेक्समा प्रमुखताका साथ लेखिएको छ र गाडीको पछाडि टाँगेका छौँ । प्रचारै ठाने पनि ठानूनँ भन्ने अभिप्राय छ । पर्यटनलाई साहित्यमा जोडेर लेखिएका हाम्रा अनुभूति धेरैभन्दा धेरै पाठकका हातमा पुर्‍याउने हाम्रो यात्राको प्रमुख हेतु हो । यस्ता खाले कार्यक्रमको संयोजन नियात्राकार राजेन्द्रमान डङ्गोलले कुशलतापूर्वक सम्पन्न गर्दै आउनुभएको छ ।

यही लक्ष्यको जगमा टेकेर हामी कहिले लाँकुरी भञ्ज्याङ्को ‘द टेरेसस रिर्सोट’को हलमा साहित्य संलापमा रमायाँै । कहिले हेलम्बुको घोप्टेघ्याङ पुगेर साना बालबालिकासँग अन्तरक्रिया गर्‍यौँ ।

यी क्षणहरू बडो आनन्ददायक छन् । प्रकृतिसँग मुस्कुराउँदै हिँड्नुको मज्जा विस्मयकारी छ । शब्दहरूमा अटाउन सक्दैनन् । अव्यक्त छन् अनुभूतिहरू ।

यही मेसोमा थपिएको छ चितिखोला तनहुँमा अवस्थित ग्रीन हिमालय फार्म स्टेसम्मको यात्रा । ‘आधा शताब्दी’ पुस्तकको परिचर्चा । कृषि क्रान्तिको अवलोकन । आन्तरिक पर्यटनको प्रवर्द्धन । यही हो हाम्रो यात्राको अभीष्ट ।

पछाडि अनेक विषयमा गफ चले पनि विन्दु म्याम र म महिला लेखनका बारेमा चर्चा गरिरहेका छौँ । यसोउसो गर्‍यो, पुस्तककै कुरा हुन्छन् धेरै । प्रकाशकहरूबाट दिनहुँजसो नयाँ पुस्तक आउने क्रम चलिरहेको छ । सामाजिक सञ्जालका भित्ताहरू बधाई र शुभकामनाले रंगिएका रंगिएै छन् । पुस्तक प्रकाशनसँगसँगै पाठकहरू पनि बढ्न सके पठनसंस्कृतिको विकास पनि हवात्तै बढ्ने थियो ।

हामी कुरा गर्दागदै आइपुगेछौँ नागढुङ्गा नाका । अरू बेला जाम र ठेलमठेल भीड हुने बाटो आज केही होलो छ । हाम्रा पछाडि साथीभाइले गरेका गफका सिलसिला बुझिँदैन । घरीघरी हाँसेको थाहा पाउँदा रमाइलो गफ फुरिरहेको अन्दाज गर्छौं ।

पीपलामोडदेखि तल बाटो बिग्रेर ध्वस्तै भएको रहेछ । धमाधम चाडबाड आउँदै छ । हजारौँ गाडी ओहोरदोहोर गर्ने बाटोको यो अवस्था देखेर मन असाध्यै कुँडियो । कठै ! हामी जनताहरूले कति दुःख पाउने भइयो भनेर मन भारी भयो । दशैं आउनुअघि बाटो मर्मत गरेको समाचार सुनिन्थ्यो । यतिन्जेल सुन्न पाइएको छैन ।

सुरुङमार्ग नपुगिन्जेलसम्म त धेरै नै उबडखाबड रहेछ । त्यहाँभन्दा तलको बाटो पनि उस्तै खाल्टाखुल्टी । आरामदायी गाडीमा बसे पनि हामी केलाउन राखेका नाङ्लोमाथिका चामलजस्तै भइरहेका थियौँ । हाम्रो देशमा बाटो कहिल्यै राम्रो बन्ने भएन भनेर मन निन्याउरो भयो ।

राजधानी छिर्ने प्रमुख नाकाको यो अवस्था ! अनि किन बस्थे अहिलेको युवापुस्ता देश–देश भनेर । पर्यटकका अगाडि कसरी मुख देखाउने होला । नौबिसे नआइन्जेलसम्म बाटो उस्तै थियो ।

अलि तल आएपछि बरु सरर अगाडि बढ्यो । भदौरे भेलको त्रिशुली माटाम्मे रङमा उर्लिरहेको थियो । हरेक दिन भइरहेको सडक दुर्घटनाको एउटा साक्षी हो त्रिशुली नदी ।

जे सम्झ्यो त्यही कुराले मन बिझाउने भएपछि हेर्न थालेँ नीलो आकाशतिर । अनेक रूपरङमा सजिएका बादलका चित्रहरू हेरेर दङ्ग परेँ । वर्षाले नुहाइएका हरिया रूखबिरुवा र तिनका पातहरू हेरेर मनमनै संलाप गरेँ । मन आल्हादित भइरह्यो ।

मुग्लिन खोलाको पुल तरेर एउटा होटलअगाडि रोकियौँ । मस्र्याङ्दी र त्रिशुली नदीसँगै जोडिएको होटलको दुईतलामा उक्लियौँ । पारिपट्टि नारायणगढतिर निस्कने बाटोमा गाडीहरू हुँइकिरहेका थिए । पूर्वी उत्तरतिर हेर्दा प्रकृतिको मनोहर दृश्य निकै लोभलाग्दो थियो । एकैछिन सुस्ताउँदा पनि प्रकृतिको सुन्दर छटाले मन उज्यालो भयो ।

मिठो माछासँग खाना खाइयो । त्यसपछि हामी पुनः यात्राका लागि गतिशील भयाैँ । मर्याङ्दी नदीको तीरैतीर गाडी कुदिरह्यो । अब भने बाटो राम्रो थियो । सिरसिर बतास । खोलाको तीर । शरद ऋतुको पूर्व सन्ध्याको मौसम मन प्रसन्न भइरहेको थियो ।

फेरि एउटा मुटु कमाउने दृश्यको साक्षात्कार हुनुपर्‍यो । अस्ति भर्खर भारतीय तीर्थयात्री चढेको बस यहीँ खसेको थियो । नदीभित्र खसेको बसलाई क्रेनले निकालेर छेउमा राखेको रहेछ । घाइते बस देखेपछि मनै विचलित भयो ।

गत भदौ ८ गते लुम्बिनी र पोखरा घुमेर पशुपतिको दर्शन गर्न आएको भारतीय पर्यटक बस यहाँ दुर्घटना भएको थियो । ऐनापहराबाट डेढ सय मिटर तल खसेको थियो भनी समाचारमा पढेकी थिएँ ।

बाटो राम्रो थियो, र पनि बस खसेछ ! २७ जनाको मृत्यु र कैयौँ घाइते भएका थिए । अस्पताल दौडाउनु परेको थियो । भारतीय चालकलाई हाम्रो देशको मोड, कुना काप्चाबारे जानकारी हुँदैन । यस्तोबेला स्थानीय सवारीसाधनकै प्रयोग गरेको भए केही अनिष्ट हुँदैन्थ्यो कि जस्तो लाग्यो । गह्रौँ मन बनाएर अगाडि बढियो ।

डुम्रेबाट हामी बेसीशहर जाने बाटोतर्फ मोडियौँ । पिच सानो थियो । साथीहरू एकैछिन बाहिर निस्कनुभयो । स्थानीय महिला केरा किन्नुस भन्दै हाम्रो ढोकातिर चियाउन थालिन् ।

उनले देखाएको केराको हातोमा सानासाना कोसा थिए । एक कोसा एक गाँस बराबरका थिए । औषधी नराखी पाकेका होलान् । स्थानीय पर्यटनको प्रवद्र्धन पनि हुन्छ भनेर किनिदियौँ र तुरुन्तै खायौँ पनि । मीठो थियो स्वाद ।

जब हामी अगाडि बढ्यौँ । तीन वर्षअगाडि घनपोखरा, घलेगाउँ र भुजुङ आउँदाको स्मृतिले मलाई तरङ्गित बनाइहाल्यो । राजमार्गमा अवस्थित लमतन्न परेको उर्वरा फाँट यथावत रहेछ । कङ्क्रिटको जंगलमा रूपान्तरण भइनसकेको देख्न पाउँदा हर्षविभोर भएँ ।

कुनै साहुमहाजनको फाँट हुनुपर्छ यो जस्तो लाग्यो । पसाउने बेलाको गाँज परेको धानबाली देख्दा आँखाभरि धान झुलेको दृश्य झलमलायो ।

आँखामा ‘दोषी चस्मा’ कथाका पात्र केशवराज छाए । जरसाहेबलाई भेट्न जाँदा पसाउँदै गरेको धानको बास्नाको मिठो वर्णन छ त्यहाँ । असारमा धान रोप्ने, साउनमा सर्ने र भदौँमा भरिने भन्थे । अहिले भदौको पनि २९ गते थियो । त्यसैले धान पोटाउन लागिसकेको थियो ।

मन थियो एकछिन यसको कान्लाकान्लै हिँडूँ र आफ्नो बाल्यकालमा फर्कू तर समय कहाँ थियो र ! मेरो माइती गाउँको लामपोखरीतिर अनायासै फर्कें जहाँ धान रोपाइँ, कटाइ र दाइँ गर्दाका अविस्मरणीय स्मृतिहरू थिए ।

विडम्वना, अहिले ती खेतमा घरैघर फलेका छन् । रोपेर खानभन्दा किनेर खान सस्तो हुन्छ भन्ने मान्यताबाट हाम्रो कृषि प्रधान देश कागजमा मात्र सीमित भएको छ ।

म एकोहोरिएको देखेपछि विन्दु शर्माले भन्नुभो, ‘कता हराउनुभो ?’

‘म नोस्टाल्जिक भएछु । पोखरा सम्झेँ । तपाईंले दाङ सम्झिनुभयो होला नि ?’

एशियाकै उर्वराभूमियोग्य ठाउँ दाङ । म सल्यान जाँदा देखेको दाङलाई आँखामा सजाउँदै बोले ।

अनि सुनाउन थाल्नुभो विन्दु म्यामले दाङको कथा । थारु अनि थरुनीको कथा । कुरा यति मिठा थिए बाटो कटेको पत्तै भएन । आइपुग्न लागेछ हाम्रो गन्तव्य ।

लमजुङ बेशीशहर सडकअन्तर्गत करिब २० किलोमिटर गुडेपछि अर्चलधारा भन्ने ठाउँमा आइपुग्यौँ । यहीँबाट पश्चिमपट्टि छेउको सानो रूखमा देखियो ग्रीन हिमालय फार्म स्टेको साइनबोर्ड ।

बाटो पिचैपिच रहेछ । देखियो अत्यन्त हरियाली सुरम्य वातावरण । एक किलोमिटर गुडेपछि हाम्रो गाडी फार्म स्टेको ढुंगा छापेको आँगनमा अडियो । हरियो टिनको छानाले छाएको, घुमाउने बार्दली भएको नेपाली मौलिक शैलीको घरअगाडि हामी ओर्लियौँ । घरअगाडिको बगैँचा अनेक रंगीचंगी फूलहरूले गुल्जार थियो ।

अलिमाथि उकालो बारीमा लटरम्म फलेका मेवाका वृक्ष र स्याहार पुगेको सुन्दर ठाउँ देखेर आँखा टक्क रोकिएजस्तै भयो । गहुँगोरो वर्णकी हँसिलो मुहारकी अधबैँसे महिलाले हामीलाई नमस्कार गर्दै स्वागत गरिन् । उनी फार्म स्टेकी प्रबन्धक गीता अधिकारी पाण्डे रहिछन् । हामी उभिएको घर देखाउँदै भनिन्, ‘यो माटोको घरमा बस्न चाहने यता बस्न सक्नु हुन्छ ।’

कंक्रिटको जंगलबाट वाक्क भएर आएका हामी यतै बस्न मन गर्‍यौँ । २०७२ सालको भूकम्पमा पनि सुरक्षित रहेछ यो घर । चौबिस इन्चको माटोको गारो । सासु बेहुली बनेर भित्रिएको घर रे ! २० वर्षसम्म खाली भएर बसेको यो घरले दुई चार वर्ष यता बल्ल बौरिन पाएको रहेछ ।

दुईटा ओछयानमा तीन जना दिदीबहिनी मिलेर बस्ने भयौँ । पछाडिबाट नयाँ गारो उठाएर एट्याच बाथरुम बनाइएको रहेछ । तारे होटलको जस्तो सुकिलो ओछ्यान । भित्तामा पंखा । तातो पानी खाने इलेक्ट्रिक जग पनि । ओछ्यानबाट उत्तरतिरको हिमाल देखिने । बिहान पक्कै हिमाल देखिनेछ । गज्जब कोठा !

पोखरा माइतीघरमा मेरो यस्तै सुत्ने कोठा थियो । ओछ्यानबाटै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल देखिन्थ्यो । त्यही सम्झेर मुसुक्क मुस्कुराएँ म ।

साँच्चै चितिखोला केलाई आधार बनाएर नामाकरण गरियोे होला भन्ने लाग्यो । मोबाइलमै सुरक्षित नेपाली बृहत शब्दकोश खोलेर हेरेँ, चितिको अर्थ चार कुना मिलेको भन्ने रहेछ । यो ठाउँको वरिपरि डाँडाले घेरेको समथर भूभाग र बीचमा खोला भएकोले चितिखोला भनिएको रहेछ भन्ने ठानेँ ।   

आफ्ना झोलाहरू कोठामा थन्काएपछि अग्लो डाँडोजस्तोमा बनाएको बाँसैबाँसको फलैँचामा गएर बस्यौँ । वरिपरि हरिया डाँडा, बीचमा फराकिलो उपत्यकाजस्तो ठाउँमा रहेछ यो ठाउँ । बीचबाट बग्ने रहेछ चितिखोला ।

यो ठाउँलाई बेलटारी भनिँदो रहेछ । ७० रोपनी जग्गामा फैलिएको छ रे यो फार्मस्टे ।

उहाँका श्रीमान् राजेन्द्रदेव पाण्डे धादिङका बहालवाला प्रमुख जिल्ला अधिकारी हुनुहुँदो रहेछ । आउँदै हुनुहुन्छ रे यहाँ । गीता म्यामले भन्नुभयो ।

ठूलो–ठूलो थालभरि मुरली मकै, मही र फलफूल सहयोगी भाइहरूले ल्याउन थाले । मुग्लिनमा खाएको खाना घटेकै थिएन । मकैबाट मगमगी बास्ना आइरहेको थियो । महीसँग नपत्याउँदो खाइयो धेरै । पेट चस्कन थालेपछि उठेर हिँड्न थाल्यौँ ।

बारीको एक पाटोमा चिटिक्क परेको गोलघरले बोलायो एकछिन । वरिपरि मगर गाउँ रहेछ । सांस्कृतिक कार्यक्रम गर्दा मगर समुदायले यही गोलघरअगाडि बसेर गर्छन् भन्ने सुन्यौँ ।

जाँतो, ढिकी, हलो, जुवा, डोको नाम्लो अनेक अनेक सामग्रीहरू सजाइएका रहेछन् यहाँ । कृषिकर्मका औजारलाई सम्मान दिएर सजाइएजस्तो लाग्यो । तिनलाई सुम्सुम्याउँदा समय बितेको पत्तै भएन ।
 
 लिच्चीको रूखमाथि पाहुना गृह बनाइएको रहेछ । निकै अनौठो लाग्यो यो । ‘ट्री हाउस’ले चिनिने यो ठाउँको सुरुमा कल्पना गर्दा पनि कति रमाइलो होला भने झैँ लाग्यो ।  
 
‘हामी घुम्न आएका मानिस बस्नु हुन्न एकै ठाउँ । ल जाऔँ साथीहरू ।’ माधव सर जोसिनु भयो । हामी उहाँलाई पछ्याउँदै गयौँ । बाटोका छेउछाउ काँस फुलेर सेताम्मे थियो । हावाको झोक्काले हल्लेका थिए ती, तर हामीलाई नै स्वागत गरेझैँ लाग्यो ।

यहाँको प्रकृतिले लोभ्याउनुसम्म लोभ्याइरहेको थियो । अगाडि देखियो कडरिया कृषि फार्म । यसका सञ्चालक वासु कडरिया माधव सरका साथी हुनुहुँदो रहेछ । केही समय पहिला माधव सरको कार्यथलो रहेछ यो ठाउँ ।

राता, नीला, पहेँला अनेक रङका पुष्पले पल्लवित थियो परिसर । ग्राम्य जीवन झल्काउने परिवेश थियो । घर, आँगन, गोठ, तुलसीको मठ आदि सबै देखेर आफ्नो बाल्यवस्थाको याद आयो ।

हाम्रो आगमनलाई प्रसन्न मुद्राले स्वागत गरियो । घरभन्दा अलि पर सानो कोठा थियो । त्यसको एक कुनामा आगोको चुलोमाथि कराही थियो र कराहीमा उम्लिदै गरेको दुध ।

आँगनबाट देखियो, भिरालो–भिरालो जमिनमा फलपूmलको बगैँचा । बोटभरि मेवा टम्म फलेका । किवी फल पनि झुन्डिरहेका । एउटा टिपेर मुखमा हालेँ । पाक्ने बेलै भएको रहेनछ । अमिलो न अमिलो लाग्यो ।

सुन्तलाको बोटमा लटरम्म दाना । अम्बा पाकेर उस्तै लदावती । चराचुरुङ्गीले खाएर बाँकी रहेका आधा फल पनि उत्तिकै । यति धेरै फलपूmल बारीभरि फलेका छन् । उहाँका सन्तानहरू सरकारी जागिरमा घरदेखि बाहिर हुनुहुँदो रहेछ ।

२७ रोपनी जग्गामा गरिएको रहेछ खेती । शिक्षण पेसाबाट अवकाश पाएपछि यो क्रान्ति गर्नुभएको रहेछ वासु सरले । वासु सरसँगै चिया खेती गरिएको बारीको पाटो घुम्न आयौँ । इलाममा फल्ने चियाका बोटहरू यही सप्रिरहेको देख्यौँ ।

चिटिक्कको मन्दिर पनि यही रहेछ । मन्दिरपरिसरमै रहेछ फलिरहेको अम्बाको बोट । पाकेका एउटा दुईवटा टिपेर खान कसैलाई सोध्न पर्ने थिएन । टिपियो । खाइयो ।

यही मौकामा मैले जापान जाँदाको एउटा घटना सम्झिएँ । जापानका सडकको एक छेउमा लटरम्म सुन्तला फलेको थियो । धेरै ठाउँमा यस्ता दृश्य देखिन्छन् । नखाए नि खाऊखाऊँ लाग्ने निकै स्वस्थ दाना देखेपछि नेपालकै जस्तो सम्झेर एक नेपाली विद्यार्थीले टिपेर गमगम खाइरहेका बेला पुलिस साइरन बजाउँदै आयो र उनलाई पक्रियो ।

अर्काको बारीमा जे फले पनि फलोस् । झरेर गए पनि जाओस् । टिप्नु त के छुन पनि राम्रो नमान्ने नियम छ त्यहाँ । यस्तो स्थितिमा नेपालै फर्काउने सक्छ जापान सरकारले ।

तर ती विद्यार्थीको गाक्को (स्कुल)ले माफी मागेपछि एक पटकलाई छोडिदिएको थियो । यस्ता घटना जापानका विभिन्न प्रान्तमा घटिरहेका हुन्छन् ।

अम्बाका बोटसँगै अमलाका साना दानाहरू लटरम्म फलेको रूख देखियो । निकै उर्वराशील रहेछ यो ठाउँ । आँखाअगाडि तलाउ थियो । तलाउमा केही जनावर पानीमा डुबेर छप्ल्याङछप्ल्याङ् गरिरहे झैँ लाग्यो । गएर हेर्‍यौँ बाँदरको बच्चा रहेछ । त्यसलाई निकाल्न साथीहरू लाग्नुभयो ।

रमेश धमला सरले मन्दिर परिसरभित्र रहेको प्लाष्टिकको कुर्ची लगेर बाँदर भए ठाउँ राख्नुभयो । बाँदर कुर्चीमा बसालेपछि किनारामा ल्याएर पेट थिच्नुभयो । अलिअलि पानी निकाल्दै थियो । मरेछ कि क्या हो भन्दै थियौँ ऊ त फुत्त जम्प हानेर तल्लो भागमा कुद्यो । एउटा प्राणीलाई जीवनदान दिन पाउँदा सबै खुसी भइयो ।

वरिपरि अग्ला डाँडाका चुचुरा थिए । एउटा थियो लमजुङको राइनासकोट, लिगलिगकोट अर्को पुर्कोट र चोककोट । ऐतिहासिक यी स्थानहरू तनहुँ र लमजुङको विरासत बोकेको ठाउँ हो ।
 
हामीलाई घुम्नु थियो ग्रीन हिमालय फार्म स्टेको ७० रोपनी क्षेत्रफल । वासु सरसँग बिदा भएर बाटो लाग्यौँ । फार्म स्टेका प्रबन्धक राजेन्द्र सर पनि घरमा आइपुग्नुभएछ । हामी उहाँसँगै फार्म स्टे विचरण गर्न लाग्यौँ ।

सर्वप्रथम करिब दुई, तीन सय लोकल कुखुरा, कालिज र लौकाट, गाई, भैसी पालिएको ठाउँमा पुग्याँै ।

कृषिका लागि मल चाहियो । दुध, दही घिउ पनि आवश्यक पर्ने नै भयो । यी सबैको आपूर्ति यिनै वस्तुभाउबाट हुने कुराले मनै आनन्दित भयो । दैनिक उपभोग्यका सामग्री सकेसम्म यहाँ रोपिएको थियो । लहलह परेर धान बढिरहेको थियो ।

फलपूmलका बोटहरू प्रायः सबै थिए । मौसमी तरकारी पनि फलिरहेको थियो । भन्टा, विभिन्न जातका सागपात, चिप्लोभन्टा, फर्सी, सिमी, बोडीलगायत अन्य लहरे तरकारी फलेको देखिन्थ्यो ।

यहाँ आउने ग्राहकले प्रायः सबै खाद्यान्न यही उत्पादित खान पाऊन् भन्ने उद्देश्य रहेछ । पुर्ख्यौली विरासतको यो जमिन छ सात वर्षअघि बाँझो थियो रे । घरको वरिपरि झाडी–झाडी थियो रे । गीता म्यामकै अग्रसरतामा यो क्रान्ति भएको रहेछ ।

अधिकांश महिला दिदीबहिनीहरू अचेल सामाजिक सञ्जालमा घोप्टिएर दिन बिताउँछन् । बिहानबेलुका खाना पकाएर सामान्य घरधन्दाकै गरेकै भरमा श्रमको भारी आफूमाथि पर्‍यो भन्ठान्छन् ।

सिडियोकी श्रीमती हुँ भनेर सुविधाभोगी बन्ने रहर गीता म्याममा देखिएन । आफैं अघि सरे मात्र कर्मचारी हौँसिन्छन् भन्ने उहाँलाई थाहा छ । अह्राउने सिकाउने मात्र होइन आफैं काममा अघि सर्नुहुँदो रहेछ उहाँ ।

पितापूर्खाको भूमिमा कर्मशील जीवन बिताउन पाए प्राप्त हुने मानसिक आनन्द असीम थियो । एउटी महिलाले आँटिन् भने के हुँदैन भन्ने उदाहरण थियो यहाँ ।

देशभरि कृषिकर्म सुस्ताएको बेला यहाँ देखिएको जागरण सबैका लागि प्रेरणादायी थियो । १५/२० जनाभन्दा बढीले रोजगार पाएका थिए । हलेदो, अदुवा, कागती र निबुवाको चुक अमिलो पनि बिक्री गरिने रहेछ । बढी भएका सामान बिक्री गर्ने नत्र आफ्नै होमस्टेमा खपत गर्ने परिपाटी रहेछ ।

खेतबारीमा डुल्दै जाँदा देखियो चितिखोला र त्यसमाथि बनेको सुन्दर झोलुङ्गे पुल । पुल कटेर थोरै जंगल जस्तो कटेर कुसुन्डे बगैँचा पुग्यौँ । आँपलगायतका ठूला वृक्षले ढकमक्क रहेछ यो ठाउँ । एक छेउमा खेलमैदान अनि बस्नलाई चौतारा । साँझपख पुगेकोले धेरैबेर बस्न नपाए पनि एकछिन बसेर पुनः होमस्टे आइपुग्यौँ ।

हाम्रा लागि विभिन्न परिकार पाकेका थिए । ती खाइवरी सांस्कृतिक कार्यक्रममा सहभागी भयौँ । बेलुकाबेलुका यहाँ पाहुनाहरू धेरै आएका बखत सांगीतिक कार्यक्रम हुने रहेछ ।

स्थानीयहरू एउटै लुगामा सजिएर आएका थिए । धेरै मानिस विदेश भासिए गाउँ रित्तो भयो भने पनि यतिका मान्छे यही रहेछन् जसले आफ्नो संस्कृति धानेका छन् जस्तो लाग्यो ।

कौडा नृत्यलगायत समसामयिक नाचगानमा करिब दुई घण्टा बिताइयो । रमाइलो भयो कार्यक्रम ।

भोलिपल्ट ‘आधा शताब्दी’ कृतिको परिचर्चा थियो । बाँसको हलमा बस्यौँ । निकै मनमोहक थियो वातावरण । लमजुङ हिमाल र मनास्लु हिमाल खुलेर छर्लंग देखिएको थियो । यही सुन्दर मौसम हेर्दै हामी पुस्तक चर्चामा जुट्यौँ ।

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा र चितिखोला वडा नं ९ का वडाअध्यक्ष मीनबहादुर गुरुङ पनि हाम्रो कार्यक्रममा सहभागी हुनुभयो ।

करिब दुई घण्टासम्म हाम्रो कार्यक्रम चलिरह्यो । पर्यटन क्षेत्रमा गरेको संघर्षलाई ‘आधा शताब्दी’ पुस्तकमा अभिलेखीकरण गरिएको थियो । पुस्तक पठनीय थियो । पर्यटकीय हिसाबले यति सुन्दर ठाउँमा आएर पुस्तकको चर्चा हुनु आफैंमा नौलो कार्य थियो ।

कार्यक्रम सकिएपछि खाना खाएर हामी काठमाडौंका लागि फर्किंदा मध्यान्हको साढे बाह्र भइसकेको थियो ।

यस ठाउँको प्रसिद्ध थानी मन्दिर जाने मेसो मिलेन । अर्कोपटकलाई केही ठाउँ छोड्नु पर्छ भन्ने मान्यतामा यही ठाउँ थाती राखेर हामी गन्तव्यतिर सोझियौँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  ०६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro