site stats
बाह्रखरी :: Baahrakhari
खेल
भुटानसँगको बराबरीपछि प्रशिक्षक तामाङ भन्छन्– खेलाडी गोल गर्न हतारिए

काठमाडौं । नेपाली महिला फुटबल टिमका प्रशिक्षक राजेन्द्र तामाङले साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत भुटानसँग खेलाडी हतारिँदा नेपाली टिम बराबरीमा रोकिनुपरेको बताएका छन् ।

नेपाल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको आफ्नो पहिलो खेलमै भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो । साफ महिला च्याम्पियनसिपको इतिहासमै नेपालले खेलेको यो पहिलो बराबरी खेल हो । यस्तै, साफको समूह चरणमा गोल गर्न नसकेको पनि यो नेपालको पहिलो खेल बन्यो ।

खेलपछि प्रशिक्षक तामाङले नेपालको फिनिसिङ पनि कमजोर देखिएको बताए ।

“खेलाडीहरू पोसेसन राखेर खेल्नुपर्थ्यो । तर, उनीहरू गोलका निम्ति निकै हतारिए । भुटानले साफका लागि भनेरै राम्रो तयारी गरेर आएको थियो । उनीहरूले राम्रो खेले पनि,” प्रशिक्षक तामाङले भने, “फिनिसिङमा पनि कमजोर बन्यौँ । फाइनल थर्डमा खेलाडीले छिटो निर्णय लिन सकेनन् । गोल ननिस्किँदा सबै कुरा बिग्रियो ।”

भुटानसँगको बराबरीसँगै नेपालले समूह 'बी'मा एक अंक जोडेको छ । यस समूहको शीर्ष स्थानमा रहेको श्रीलंकाले तीन अंक जोडेको छ । श्रीलंकाले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको हो । समूहमा भुटानले एक अंक जोड्दा माल्दिभ्स भने अंकविहीन छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  २२:१९
प्रतिक्रिया दिनुहोस्