site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएर कहीँ नभएको जात्रा देखाएका छन् । प्रचलित कानुन तथा परम्पराविपरीत कार्यवाहक प्रमुख तोकेपछि प्रमुख साम्पाङको कार्यशैली र क्षमतामा पनि प्रश्न उठेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ मा पालिकाका अध्यक्ष वा प्रमुख ७ दिनभन्दा बढी कार्यालयमा अनुपस्थित रहने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक दिनुपर्ने स्पष्ट व्यवस्था छ । यस्तै उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमात्र अरू कुनै सदस्यलाई कार्यवाहक दिन सकिने प्रावधान पनि ऐनमा रहेको छ । 

स्वतन्त्र उमेदवारी दिएर निर्वाचित प्रमुख साम्पाङमा सुरुदेखि नै अलोकतान्त्रिक प्रवृत्ति देखिएको थियो । सामाजिक सञ्जालमा उनका टिप्पणीहरू उपमहानगरपालिका प्रमुख सुहाउँदा थिएनन् । तर, उनले स्थानीय जनतालाई श्रमदान गर्न उत्प्रेरित गरेर धरानमा खानेपानी आपूर्तिका लागि गरेको प्रयास भने सराहनीय थियो । 

प्रमुख साम्पाङको यही कामले उनका अलोकतान्त्रिक अवगुणहरू ढाकिएका थिए । उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरू साम्पाङको वचन र व्यवहार दुवैप्रति रुष्ट भए पनि उनलाइ खासै अप्ठेरो पारेका थिएनन् । तर, यसपटक त उनले वैधताको ‘लक्ष्मणरेखा’ नै पार गरेका छन् । 

उपप्रमुख हर्क साम्पाङले तजबिजमा नियुक्त गरेका प्रतिनिधि होइनन् । प्रमुख र उपप्रमुख दुवै एकै दिन उनै मतदाताले उही विधि र प्रक्रियाबाट निर्वाचित हुनेहुन् । यसैगरी उनीहरूको काम कर्तव्य र अधिकार पनि कानुनबाटै निर्धारित गरिएको छ । यसैले उपप्रमुखको सट्टा अर्को सदस्यलाई कार्यवाहक तोक्नु गैरकानुनी बहुलट्ठी हो ।    

प्रमुख मेयरलाई पनि कार्यपालिकाको अध्यक्षता गर्नेदेखि सबै अधिकार कानुनले नै दिएको हो । उनले कानुनको मर्यादा नराख्ने हो भने कानुनले दिएको अधिकार प्रयोग गर्ने नैतिक वैधता पनि हुँदैन । कानुनको यसरी नै उपेक्षा गर्ने हो भने उपप्रमुखले कार्यालय कब्जा गरे पनि साम्पाङको विरोध गर्ने नैतिक शक्ति हुँदैन ।

भन्छन् - धर्मो रक्षति रक्षितः । अर्थात्, रक्षा गरिएमात्र धर्मले पनि रक्षा गर्छ । कानुनका हकमा पनि त्यही नियम लागु हुन्छ । आफूले पालना गरेमात्र कानुनले पनि रक्षा गर्छ । यसैले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले लोकतान्त्रिक विधि र प्रक्रियाको मर्यादा नगर्ने आफ्नो प्रवृत्ति सच्याउनु उचित हुनेछ । कानुन मिच्ने प्रवृत्ति अन्ततः उनकै लागि प्रत्युत्पादक हुनसक्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १४:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro