site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank

सके त सत्तामा पुग्ने सबै दलका नेताले चुनावका बेला गरेको वाचा पूरा गर्ने प्रयत्न गर्नुपर्थ्यो । नभए पनि सत्तामा पुगेपछि त बोलेका कुरा पूरा गर्नैपर्ने हो । नेपालका राजनीतिक नेताहरू भने बोलेको कहिल्यै पूरा नगर्नेमा दरिन पो पुगेका छन् । 

निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी तत्काल दिने वाचा कतिपटक र कुनकुन सरकारी पदाधिकारी दिए भन्ने विवरण सायद भुक्तानी दिनुपर्ने र पाउनुपर्ने कसैसँग पनि नहोला । पछिल्लोपटक भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले गरेको निर्माण व्यवसायीको बक्यौता रकम दसैं अगाडि नै भुक्तानी दिने आश्वासन पनि पूरा भएन । 

निर्माण व्यवसायीहरू यसै पनि मन्दीका कारण सङ्कटमा छन् । सरकारसँग विकास खर्च गर्ने क्षमता छैन । भौतिक पूर्वाधार निर्माणका लागि विनियोजित रकम २० प्रतिशतभन्दा कम खर्च हुनेगरेको छ । अर्थात्, नयाँ परियोजना बिरलै सुरु भएका छन् । अनि त, निर्माण व्यवसाय सुस्ताउने नै भयो ।

यस्तो अवस्थामा गरिसकेको कामको भुक्तानी रोकिँदा व्यवसायीहरू दोहोरो तेहोरो मारमा पर्छन् । न्यूनतम दक्ष कामदारलाई तलब दिनुपर्ने दायित्व एकातिर हुन्छ भने बैंकमा ब्याज बढिरहेको हुन्छ । सरकारले भुक्तानी दिँदा लाग्ने समय र मुद्राःस्फीतिको हिसाब गर्ने हो भने व्यवसाय नै घाटामा गएको देखिनेछ ।

राज्यले नै यसरी मर्कामा पार्ने हो भने देशका उद्योग धन्दा, व्यापार व्यवसाय सबै चौपट हुन्छन् । व्यवसाय घाटामा गए वा बन्द भएमा राजस्व पनि घट्छ । राजस्व घटे विकासमा खर्च गर्ने राज्यको क्षमता कम हुन्छ । यसरी नै राज्य ‘अधोगतिको दुश्चक्र’मा फस्ने हो । 

यो अधोगतिको दुश्चक्र टुटाउने हो भने सरकारी अधिकारीहरू विशेषगरी राजनीतिक नेतृत्वले विवेक प्रयोग गरेर कसैलाई पनि मर्का नपर्ने बन्दोबस्त मिलाउनुपर्छ । निर्माण व्यवसायीको बक्यौता बेलैमा भुक्तानी दिए त्यो पैसा बजारमा जान्छ र अन्ततः विभिन्न करका रूपमा राज्यकै ढुकुटीमा फर्कन्छ ।     

निर्माण व्यवसायीहरूले पाउनुपर्ने बक्यौता रकम भुक्तानी दिन रकमान्तर गर्नुपर्ने र आर्थिक वर्ष सुरु भएको तीन महिनासम्म रकमान्तर गर्न नपाइने भएकाले दसैं अगाडि पैसा दिन नसकिएको खुलासा मन्त्रीले गरेका छन् । आशा गरौँ, सरकारले निर्माण व्यवसायीलाई फेरि ढाँट्नेछैन र यसपटक वाचा पूरा गर्नेछ ।

सकिएको कामको भुक्तानी पाउन पनि यस्तो झमेला हुने भएर नै निर्माण व्यवसायीहरूले पनि ‘ठगदार’को अवतार लिएका हुन् कि ? योजनाहरू लामो समयसम्म अधुरो राख्ने प्रवृत्तिका कारण निर्माण व्यवसायीप्रति जनताको सहानुभूति छैन । यस्तै, निर्माण कार्यमा व्याप्त भ्रष्टाचार र मिलेमतोले गर्दा व्यवसायी र कर्मचारीको घाँटी जोडिएको छ । 

राजनीतिक नेतृत्व यसमा नमुछिने हो भने सुधार गर्नुपर्ने र गर्न सकिने क्षेत्र यो हो । यसका सुधारात्मक कारबाही थाल्न पहिले सरकारले  नैतिक वैधता आर्जन गर्नुपर्छ । भुक्तानी दिनुपर्ने रकम पनि नतिर्ने सरकारसँग यस्तो नैतिक शक्ति हुँदैन । अतः सरकारले अब नढाँटी र किन्तु, परन्तु नगरी भुक्तान गर्नुपर्ने रकम चुक्ता गरोस् र दह्रो नियमनका पाइला चालोस् १  

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro