बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्छु । फर्कदा सार्वजनिक गाडीमा/बसमा फर्कन्छु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको र जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद डेंगी पो हो कि ? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला । त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेंगी लागेको शंका गर्दै थिए । यसबाट हाल समुदायमा डेंगी फैलिएको देखिन्छ ।
डेंगी सरुवा रोग हैन । तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगी लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए पनि अधिकांश संक्रमितहरु लक्षण बोकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेंगीका लक्षणका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ । तर जटिलता निम्त्याउन सक्ने संकेतहरुका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ ।
सन् २०२२ मा अधिकांश डेंगीबाट मृत्यु भएकाहरु भर्ना हुँदा नै जटिल डेंगी लिएर आएका तथ्यांक देखिन्छ । तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरुमा डेंगीको मृत्युदरलाई घटाउने कोसिस गर्नुपर्छ । यसर्थ डेंगी मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेंगी’का पूर्वसंकेतहरुका बारेमा थाहा पाउनु पनि आवश्यक छ ।
अधिकांश डेंगी संक्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ । यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ । त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा स–साना राता बिमिराहरु देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्छ । कतिपयलाई खोकी पनि लागेको देखिन्छ । तर खोकी डेंगीको कारणले हो वा फ्लू भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन ।
वास्तवमा हाल फ्लूको सिजन पनि हो भने कोभिडको संक्रमण पनि सँगसँगै देखिएको छ । ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ । ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेंगी’ देखिनसक्ने सम्भावना प्रबल रहन्छ ।
‘जटिल डेंगी’का पूर्वसंकेतहरु के के हुन् त ?
तारन्तार बान्ता हुनु,
असाध्य पेट दुख्नु,
नाक वा गिजाबाट रगत बग्नु,
बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि ।
माथि उल्लिखित लक्षण वा संकेतहरु घरमा संक्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ । तसर्थ, यस्ता संकेतहरु देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्छ । अस्पतालमा जाँच गर्दा थप संकेतहरु देखिने गर्दछ । परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए/नभएको थाहा हुन्छ ।
रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ । डेंगीको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । डेंगी लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
सन् २०२२ सालमा काठमाडौंमा देखिएको डेंगी प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो । यो प्रकोपलाई कोभिड–१९ को घातक लहरहरुभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो । काठमाडौंका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएको कारण) थियो ।
अनि नेपालको इतिहासमा नै ‘घातक डेंगी’ वर्षका रुपमा मैले सन् २०२२ लाई लिएको थिएँ । यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरु जस्तै उच्चरक्त चाप, मधुमेह र श्वास–प्रश्वासको सङ्क्रमण भएका व्यक्तिहरु बढी डेंगीको जटिलताबाट मृत्यु भएका थिए । मनसुनको समयमा डेंगी सँगसँगै देखिने अरू सङ्क्रामक रोगहरुले डेंगी लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनहरुको नतिजाले देखाएको छ ।
नेपालमा डेंगी सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लूजस्ता थप संक्रमणहरु फैलने गर्छ । यसर्थ, ज्येष्ठ नागरिक, सह–संक्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै संक्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेंगी’ का पूर्वसंकेतलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन । यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ । डेंगीबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं संक्रमण निकै घातक हुन सक्छ ।
दसैँ अगाडि डेंगीले गति लिँदै गइरहेको अवस्था थियो । दसैँलगत्तै अस्पतालमा जाँदा डेंगी पुष्टि भएका बिरामीहरुको संख्या अझ बढ्दै गइरहेको पाइएको छ । यसबाट दिनमा नै दर्जनौँ डेंगी भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ । हुन त काठमाडौं मात्र नभई देशका विभिन्न ठाउँमा डेंगीले व्यापक प्रभाव पारेको जानकारी आउने क्रम जारी छ । डेंगीको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ ।
चाखलाग्दो कुरा के छ भने अधिकांश डेंगी संक्रमित लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन् । अझ भनौँ धेरै मानिस ‘वाकिङ डेंगी’को अवस्थामा रहेको देखिन्छ । ‘वाकिङ डेंगी’ भन्नाले डेंगी संक्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो ।
चाडपर्वमा मान्छेहरु यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेंगीको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरु सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँड्डुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरु अस्पताल पुग्दैनन् ।
अधिकांशलाई डेंगीको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेंगीले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेंगी’ का पूर्वसंकेतहरु संक्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् । हाल डेंगी संक्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा चुनौती रहेको भए तापनि ‘जटिल डेंगी’ का पूर्वसंकेतलाई ध्यान दिनसक्ने हो भने डेंगीबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय संख्यामा कम गर्न सकिन्छ ।
हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा डेंगी के हो, कसरी सर्छ र यसका लक्षणका बारेमा जानकारीहरु दिने गरेको देखिए पनि अबको प्रचारप्रसार तथा जानकारीहरु ‘जटिल डेंगी’ का पूर्वसंकेतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यसबाट डेंगीबाट हुने मृत्युदरलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो । रासस
(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ ।)