site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
टाढाको युद्ध

देवकुमारी थापा


कलेजका ठिटाहरू उभिएर चिया पिउँदै थिए, गफ हुँदै थियो । दुनियाँभरको गफ गर्ने उमेर यिनीहरूको ! वरपर, सिनेमा, राजनीतिक ठट्टा व्यंग्य कति हो कति ।

एउटाले भने, “हिजोको स्टेट्सम्यानमा (भारतीय अंग्रेजी दैनिक) बडो मजाको व्यंग्य थियो, पढ्यौ ?”

धेरैले एकै स्वरमा भने, “अहँ, पढिनँ । कलेजको पुस्तकालयमा आएकै छैन, के रहेछ भन न ।”

तिनले जवाफ दिए, “कलकत्तामा एकजना बंगाली भद्र मानिस बिहानको हाटबजार गर्न गएछन्, हाटमा आलो माछा, अचेलको बजार भाउ विचार गर्दा निकै सस्तो दाममा पाएछन् र खुशी भएर सिँगै माछा किनेछन् । बल्ल अघाउन्ज्याल माछा खान पाइने भयो भन्ने सम्झेर उनी छिट्छिटो हिँड्दै घर गएछन् र आफ्नी श्रीमतीलाई भनेछन्, “लौ, ताजा रहु ल्याएको छु झट्ट पकाई हाल, आज माछा भात खाएर मात्र आफिस जान्छु ।”

स्वास्नीचाहिँले जवाफ दिइछन्, “खोइ चामल र भात खाने ? तीन दिनदेखि पसल कुर्दा कुर्दा पनि एक गेडो चामल पाइएन ।”

गृहस्वामीले भने, “आज माछा र रोटी नै खाऊँ न त ।”

अलि झर्केर स्वास्नीले जवाफ दिइन्, “रोटी अरे ! एक गेडो गहुँको निम्ति तैँ छाड् मै छाड् गर्नुपर्छ, पिठोको कुरा !”

गृहस्वामीले हँसिलो भएर भने, “तारेको माछा र उसिनेको आलु खाऊँ न त ।”

यस पाला भने उनकी धर्मपत्नो निकै च्याँठिन्, “हन, मान्छे त पाहुना हुन् कि कसो, अचेल पूजाकोठामा बत्ती बाल्नलाई आलसको तेल त पाइँदैन, माछा तार्ने कुरा !”

तैपनि गृहस्वामीले हरेस खाएनन्, भने, “भो भो नरिसाऊ न, आज सेकेको माछा (रोस्ट फिस) र हरियो साग नै खाऊँ न त अंग्रेजले जस्तो, यति आलो माछा फालिदिनु भएन !”

लोग्नेको मुखमा टीठलाग्दो पाराले हेर्दै उनले भनिन्, “के मा सेक्नु ? कोइला छैन । झिंजाहरू बटुलेर सकरखण्ड उसिनेको छु, त्यही खानुहोस् ।”

अब गृहस्वामीले अर्को सुझाउ दिन सकेनन् । थपक्क माछा टिपेर घरको छेउकै पोखरीमा फालिदिए । तर छक्क पर्नु ! पोखरीमा चोबलिनेबित्तिकै माछा त जिउँदै भएछ र पोखरीको छेउमा आएर भद्र पुरुषलाई हेर्दै भनेछ, “मुख्यमन्त्री अमर रहुन् ।”

केटाहरू सबै गलल हाँसे । कसैले हाँस्दै भने, “क्या स्वादको व्यंग्य लेखेछ यार !”

कलेजको छुट्टी भएपछि केटाहरूका हूल निस्किए – नजिक घर हुनेहरू हिँडेर, साइकलमा चढेर, टाढा घर हुनेहरू बस बिसौनीतिर गए । मारूत पनि बस बिसौनीतिर लागे, तर यहाँ हल्लाखल्ला थियो – चढेका यात्रीहरू ओर्लिंदै थिए । उनले कुरा बुझे, बस भाडा बढेछ – पेट्रोल तेलको दाम बढ्यो अरे । उनी बिसौनी छोडेर घरको बाटो लागे, हिँड्दै ।

राति आठ बजेतिर थाकेर लेथ्नो भएर घर पुग्छन् त चारैतिर अँध्यारो – चुलाका छेउमा बसेर उनकी आमा आगोमा दाउराको ठाउँमा सुकेका पातहरू हाल्दै थिइन्–पात बल्दा हुँदि तिनको अनुहारका धर्काहरू स्पष्टसँग देखिन्थ्यो ।

उनले विरक्तिएर सोधे, “आमा, किन बत्ती बाल्नु भएन ? किन अँध्यारोमा पकाउनु भएको ?”

आमाले जवाफ दिइन्, “कुन्नि कता लडाईं हुँदैछ अरे बाबु, त्यसकारण तेल पाइएन ।” उनले छोराको मुखमा पुलुक्क हेरिन् र हत्तपत्त उठेर उसलाई मुसार्दै भनिन्, “हरे, कस्तो फुस्र–धुस्रे अनुहार, किन हिँडेर आउनुपर्थ्यो, म जसरी भए पनि पुर्‍याइहाल्छु नि, पढुञ्ज्याल यसरी जीउ मार्नुहुन्छ त ?”

छोराले खिस्स हाँस्दै भने, “टाढाको लडाईंले हाम्रो बस भाडा बढ्यो आमा, अब म पढ्दिनँ, कमाइ गर्छु ।”

छोराले आमाको मुखमा हेरे, आमा र छोरा दुवैका आँखा डबडबाएका थिए ।

(मधुबिन्दु : वर्ष–१, अंक २, २०३० पुस)
 

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro