site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
जितु भन्छन्– ‘छक्का पञ्जा’ भएकैले म ‘ज्वाइँ साब’ भएको छु, मैले गाली गरेको छैन 
फाइल तस्बिर ।

काठमाडौं । दसैँको फूलपातीको अवसर पारेर तीन सिनेमा रिलिज हुँदै छन् । ‘ज्वाइँ साब’, ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५ एकैदिन रिलिज हुन लागेका हुन् । यी चलचित्रका निम्ति क्यूएफएक्सलगायत केही मल्टिप्लेक्सले शो पनि बाँडफाँट गरिसकेका छन् ।

कमेडीमा ब्रान्ड बनिसकेको ‘छक्का पञ्जा’को पाँचौँ सिरिज र एक्सन नायक बिराज भट्टको चलचित्र ‘१२ गाउँ’सँग भिड्न आइपुगेको ‘ज्वाइँ साब’ पनि यति बेला चर्चामा छ । यो चलचित्रको मुख्य भूमिकामा जितु नेपाल छन् । उनीसँग राखिएका केही जिज्ञासा–

रिलिजको संघारमा ‘ज्वाइँ साब’ आइसकेको छ, कस्तो प्रतिक्रिया आइरहेको छ ?
पछिल्लो समय सामाजिक सञ्जालकै प्रतिक्रिया हेर्ने हो । दर्शकले एकदम राम्रो भनिरहनुभएको छ । सकारात्मक माहोल बनेको छ । पोस्टर, टिजर, ट्रेलर र गीतबाटै प्रचार हुने हो । यसमा दर्शकले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ । प्रतिक्रियाले हामी उत्साही छौँ ।

कसरी गरिरहनुभएको छ प्रचारप्रसार ?
दसैँ र प्राकृतिक प्रकोपका कारण काठमाडौंबाहिर जान सकेनौँ । काठमाडौंभित्रै बसेर प्रचारप्रसार गरिरहेका छौँ । विभिन्न कार्यक्रममा गएर आफ्ना कुरा राखिरहेका छौँ । मिडियामा अन्तर्वार्ता गरिरहेका छौँ ।

गीत, टिजर, ट्रेलर र पोस्टरबाट पनि दर्शकसम्म पुग्ने प्रयास गरिरहेका छौँ । गीत र ट्रेलरले माहोल राम्रो बनेको छ । दर्शकले रुचाइदिनुभएको छ ।

पछिल्लो समय हाम्रो चलचित्रको एउटा क्लिप्स लिक भयो । एयरपोर्टमा खिचिएको त्यो क्लिप्सले पनि राम्रै गर्‍यो ।

त्यो क्लिप्स लिक भयो कि निर्माणपक्षले योजनाबद्ध रूपमा सार्वजनिक गरेको हो ?
होइन होइन, लिक भएकै हो । हामीले किन सार्वजनिक गर्थ्यौँ र ? तर, लिक भएको क्लिप्सले पनि राम्रै गर्‍यो । धेरै दर्शकलाई त्यसले सिनेमाप्रति कौतूहल सिर्जना गरेको छ ।

‘ज्वाइँ साब’सँगै अरू दुई लिजेन्डका सिनेमा पनि आउँदै छन्, ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’को चेपुवामा पर्ने कत्तिको सम्भावना छ ? 
उहाँहरू लिजेन्ड हो । मैले त पहिला ‘छक्का पञ्जा’ र ‘१२ गाउँ’ हेर्नेु अनि मेरो चलचित्र हेर्नु भनेर भनिरहेको छु । सबै चलचित्रका आ–आफ्नै दर्शक हुन्छन् । आफ्नो रोजाइअनुसार दर्शक सिनेमा हेर्न जाने हो । सबैको विषयवस्तु आ–आफ्नै हुन्छ, जसलाई जुन विषय मन पर्छ त्यही हेर्ने हो । त्यसैले डर लागेको छैन । उत्साहीचाहिँ छु ।

दर्शकको प्रतिक्रियाले पनि डर लागेको छैन । सबैको आफ्नै दर्शक हुनुहुन्छ भन्ने मेरो बुझाइ छ ।

शो बाँडफाँट भइसकेको छ, कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मैले हेरेको त छैन, तर सुनेको छु । क्यूएफएक्स, आईएनआईले जति शो दिनुभएको छ, म एकदम खुसी छु । सन्तुष्ट छु ।

केही न केही हेरेरै शो बाँडफाँट हुने हो । शो धेरै पाएर दर्शक आउनु भएन र खाली भयो भने त्यसको केही अर्थ हुँदैन । पाएकै शो हाउसफुल भएर दर्शकको ओभरफ्लो भयो भने शो थपिन्छ । त्यसैले यसमा मेरो कुनै गुनासो छैन ।

‘छक्का पञ्जा’को म्याटरमा घुसेर आफ्नो प्रचार गर्दै उसलाई गाली गरेको आरोप तपाईं र ‘१२ गाउँ’लाई लागेको छ नि ?
अरूको कुरा मलाई थाहा भएन, तर मैले र हाम्रो टिमले त्यसो गरेको छैन । गर्नु हुँदैन भन्ने मेरो मान्यता हो । कसैले गरिरहेको छ भने त्यो गलत हो ।

दुईवटा चलचित्रसँगै ‘ज्वाइँ साब’ आउन लागेको  छ । दुईवटै चलचित्र ठूलो ब्यानरका हुन् । हाम्रो चलचित्र त ऋणैऋणमा बनेको चलचित्र हो । यो चलचित्र मेरो काँधमा रहेकाले मेरो नाम पनि आएको होला, यसमा म संलग्न छैन । मेरो टिमले पनि यस्तो गरेको छैन । हामी सबै मिलेर जानुपर्छ भन्ने मान्छे हो म ।

मैले मेरो पनि मात्रै चलचित्र हेरिदिनु भनेर पनि आजसम्म भनेको छैन । सामाजिक सञ्जाल वा कुनै अन्तर्वार्ता हेरे हुन्छ, कतै कसैलाई गाली गरेको छैन । दुईवटा सिनेमा हेरेर मेरो सिनेमा हेरिदिनु भनेर भन्ने व्यक्ति हुँ म ।

‘छक्का पञ्जा’ भएकैले आज म ‘ज्वाइँ साब’ भएको छु । ‘छक्का पञ्जा’ हुँदैन थियो भने म ‘ज्वाइँ साब’ हुन्न थिएँ भन्ने मलाई राम्रोसँग थाहा छ । त्यसैले उहाँहरूलाई गाली गर्ने कुरै भएन । हाम्रै चलचित्रको गीत, ट्रेलर र पोस्टहरूमा पनि ‘१२ गाउँ’ हेरौँ भनेर लेखेको देखिन्छ । कसले यस्तो गरिरहेको थाहा भएन, तर जसले गरिरहेको छ – गलत हो । 

यस्तो कमेन्टको असर हलमा पर्छ होला ?
चलचित्र हेर्ने दर्शक आरामले घरमा बसिरहनुभएको छ । ‘छक्का पञ्जा’ पारिवारिक सिनेमा हो, ३०÷३५ जना सँगै गएर टिकट काटेर हेर्ने चलचित्र हो । हाम्रो पनि त्यस्तै पारिवारिक चलचित्र हो । ‘ज्वाइँ साब’ रमाइलो गर्दै परिवारसँग बसेर आनन्द लिएर हेर्न चलचित्र हो । हामीले पनि त्यही नै अपेक्षा गरेका छौँ । सिनेमाअनुसारका दर्शक हुन्छन् भन्ने बिर्सिनु हुँदैन ।

‘ज्वाइँ साब’को गीत र ट्रेलर हेर्दा कतै साह्रै सस्तो कमेडी त छैन भन्ने अनुमान लगाउन सकिन्छ नि !
छैन छैन । गीतमा विवाहको प्रसंगमा म नीतिको ठाउँमा र नीति मेरो ठाउँमा थोरै विषयप्रसंगले आउने मात्रै हो । सबै सिनेमाभर त्यस्तो छैन । कमेडी छ, तर सिचुएसनल छ । दर्शकले पचाउनै नसक्ने अपाच्य र भद्दा मजाकवाला सिन छैन । पारिवारिक सिनेमा हो ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro