site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘हनी ट्रयाप’मा पार्न युवती प्रयोग गर्थे ताज र दर्शन, निसानामा प्रतिष्ठित व्यवसायी

काठमाडौं । ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको समूहले उक्त शैली पटक–पटक अपनाएको पाइएको छ । त्यस्तै शैली अपनाएर उक्त समूहले अरू व्यवसायीबाट समेत मोटो रकम असुल गरेको तथ्य खुलेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेर हाल अनुसन्धान गरिरहेका इटहरीका ताज स्लाम र इटहरीकै दर्शन पोखरेलले युवतीको प्रयोग गरी हनी ट्रयापमा पारेर रकम असुल गर्ने धन्दा चलाएको खुलेको छ । दर्शन फरार छन् । ताजलाई प्रहरीले यही असोज ९ गते पक्राउ गरेको थियो ।

ताज र दर्शनको समूहले इटहरीमा केही युवतीलाई अवैध यौनधन्दामा लगाउने र पछि उनीहरूलाई नै प्रयोग गरेर बलात्कारको उजुरी दिने भन्दै विभिन्न व्यक्तिबाट मोटो रकम असुल गर्ने गरेको खुलेको हो । व्यवसायीलाई हनी ट्रयापमा पार्न युवतीलाई विभिन्न माध्यमबाट सम्पर्क गर्न लगाउने र शारीरिक सम्बन्ध भएपछि रकमको ‘बार्गेनिङ’ गर्ने गरेको खुलेको छ ।

Dabur Nepal
NIC Asia

यही शैली अपनाएर उनीहरूले ललितपुरका व्यवसायीबाट ३० लाख रुपैयाँ असुल गरेका थिए । जग्गा कारोबार गर्ने ती व्यवसायी गएको साउनमा इटहरी पुगेका थिए । इटहरीमा पोखरेलको समूहमार्फत त्यहाँकी सुष्मा विकसँग उनको भेट भएको थियो । पछि ती व्यवसायी र विक धरानको भेडेटारसहितका ठाउँमा एकसाथ घुमघाम गरेका थिए ।

असोज पहिलो साता ललितपुर फर्किएका उनलाई ताज, दर्शन र सुष्मासहितको समूह मिलेर बलात्कारको उजुरी दिने भन्दै प्रहरी नै प्रयोग गरी ३० लाख असुल गरिएको थियो । त्यसका निम्ति उनीहरूले सुरुमा इटहरीकै प्रहरी प्रयोग गर्ने योजना बनाएका थिए ।

तर, इटहरीका प्रहरीलाई प्रयोग गर्न सकेनन् । त्यसपछि ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी इन्स्पेक्टर विनुकुमारी शाहीलाई प्रयोग गरे । बलात्कार भएको भनिएको ठाउँ धरान थियो । तर, रकम असुल्ने नियतले इन्स्पेक्टर शाहीलाई समेत आर्थिक प्रलोभन देखाएर ती व्यवसायीलाई गैरकानुनी तरिकाले भैँसेपाटीमा बोलाएर ३० लाख रुपैयाँ तिराइएको थियो ।

असोज ६ गते छलफलका निम्ति भन्ने निवेदन दिन लगाएर बलात्कारजस्तो जघन्य अपराधमा फसाइदिने भन्दै ६० लाख रुपैयाँ मागिएको थियो । पछि बार्गेनिङ हुँदै प्रहरी प्रभागभित्रै ३० लाखमा सहमति गरिएको थियो ।

सोही दिन व्यवसायीले सात लाख दिएका थिए । अर्को दिन उनले आफ्नो गाडी बेचेर थप २३ लाख रुपैयाँ बुझाएका थिए । गाडी समेत भैँसेपाटी प्रभागभित्रै राखेर बिक्री गरिएको खुलेको छ ।

हनी ट्रयापिङ समूहसँग इन्स्पेक्टर शाहीको समेत मिलोमतो देखिएपछि गृह मन्त्रालयले उनलाई निलम्बनमा गरिसकेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गएको शुक्रबार शाहीलाई मन्त्रालयले निलम्बन गरेको हो ।

३० लाख रकम असुल गर्ने गिरोहमा आबद्ध आरोपमा एक अर्की महिलालाई पनि पक्राउ गरिएको छ । इटहरीकै २० वर्षीया भीमादेवी थापालाई पक्राउ गरिएको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । ललितपुरका व्यवसायीको ३० लाखमध्ये २० लाख थापाको बैंक खातामा जम्मा गरिएको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी गराएको छ ।

दरबारमार्गको बलात्कार घटनाको पनि जोडिए ताज
यही गिरोहले गएको वर्षको जेठमा दोखलाका निर्माण व्यवसायी विदुर शर्मालाई समेत हनी ट्रयापमा पारेर १६ लाख रुपैयाँ असुल गरेको पत्ता लागेको छ ।

सुरुमा विदुरसँग एक करोड रुपैयाँ मागिएको थियो । एक करोड नदिएपछि उनीमाथि बलात्कारको उजुरी दिइएको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

पछि एक करोड रुपैयाँ दिने सर्तसहित विदुरका आफन्तले नबिल बैंकमा रहेको ताज स्लामको खातामा १६ लाख रुपैयाँ जम्मा गरेका थिए । १६ लाख पाएपछि पीडित भनिएकी युवतीले उजुरी फिर्ता लिन दरबारमार्ग प्रहरीमा निवेदन दिएकी थिइन् । तर, बलात्कारको उजुरी फिर्ता लिन नमिल्ने र छलफल समेत गराउन नपाइने भएपछि विदुर फरार भएका थिए ।

उनीमाथि बलात्कारको उजुरीमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिइसकेको छ । उनी अझै फरार छन् ।

रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयकी प्रमुख किरण बज्राचार्यले दरबारमार्ग र भैँसेपाटीको उजुरी एउटै प्रकृतिको र मानिस समेत उही भएकाले उनीहरूले युवतीलाई प्रयोग गरेर हनी ट्रयापमा पार्ने र रकम असुल्ने धन्दा चलाएको बताइन् ।

“हामी यो केसमा अलि गहिराइमा पुग्ने गरी अनुसन्धान गर्दै छौँ । यो गिरोहले इटहरीमा युवतीहरू राखेर हनी ट्रयापको शैली अपनाएर काम गरेको देखिन्छ । थप अनुसन्धान गर्दै छौँ,” एआईजी बज्राचार्यले भनिन् ।

यो समूहले केही पत्रकारलाई समेत ‘टार्गेट’ गरेको खुलेको छ । ललितपुर प्रहरीका अनुसार, त्यसका निम्ति ताज समूहकी एक युवतीले पत्रकारलाई ह्वाट्सएपमार्फत फोन पनि गरेको देखिएको छ । प्रहरी अधिकारीविरुद्धको समाचार दिने भन्दै युवतीमार्फत सम्पर्क गर्न लगाउने र पछि हनी ट्रयापमा पार्ने योजना ताजको समूहको थियो ।

ती युवती विदुरविरुद्ध उजुरी हाल्ने व्यक्ति नै रहेको खुलेको छ । ताजसँग जोडिएका एक बहालवाला एसपीको भूमिका समेत शंकास्पद देखिएको छ । उनै एसपीमार्फत ताज भैँसेपाटीकी इन्स्पेक्टर शाहीको चिनजानमा पुगेको प्रहरी अधिकारीको दाबी छ ।

ताज भैँसेपाटी जाँदा ती एसपीसँग असोज ६ गते तीनपटक फोन सम्पर्क गरेको देखिएको छ । त्यसपछि मात्र इन्स्पेक्टर शाहीसँगको ‘कनेक्सन’ देखिन्छ । प्रहरी प्रधान कार्यालयले एसपीको भूमिका समेत शंकास्पद देखिएपछि छानबिन गर्ने तयारी गरेको छ ।

उनीहरूले विशेष गरी प्रतिष्ठित व्यवसायीलाई टार्गेट गर्ने गरेको खुलेको छ । अरू व्यवसायीलाई समेत उनीहरूको समूहले पीडित बनाएको आशंका प्रहरीले गरेको छ । भैँसेपाटी घटनाको छानबिन गर्न ललितपुर प्रहरीका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति बनाइएको छ ।

छानबिन समितिले बोलाउँदा गइनन् शाही
भैँसेपाटीकी इन्स्पेक्टर शाहीको भूमिकामाथि छानबिन गर्न गठित समितिले बोलाउँदा समेत उनी उपस्थित भएकी छैनन् । शुक्रबार गृह मन्त्रालयले निलम्बन गर्नुभन्दा अघि दुईपटक समितिले उनको भूमिकाबारे सोधपुछ गर्न ललितपुरमा बोलाएको थियो । तर, उनी त्यहाँ गइनन् ।

ललितपुरका व्यवसायीका आफन्तले भीमादेवीको खातामा रकम पठाउँदा शाहीकै निर्देशनानुसार भैँसेपाटीकै एक प्रहरी समेत त्यो जम्मा गर्न बैंकमा पुगेको अनुसन्धानका क्रममा खुलेको स्रोतको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro