काठमाडौं । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले काठमाडौं उपत्यकामा सबैभन्दा धेरै क्षति भयो । उपत्यकाका नदी किनार आसपासका बस्ती डुबानमा परे, धेरै स्थानमा 'रेकर्ड ब्रेक' वर्षा भयो ।
विपद्मा उद्धारमा भएको ढिलाइलाई लिएर तीनै तहका सरकारको चौतर्फी आलोचना भइरहेको छ । तर, काठमाडौं महानगरपालिकाले आफूहरूले सकेको सहयोग तथा उद्धार गरेको दाबी गरेको छ । आफूहरूले महानगरको क्षेत्रबाहिर पनि सहयोग गरेको दाबी महानगरको छ ।
विपद्को प्रधानमन्त्री, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख, नेपाल प्रहरीका महानिरीक्षक देशबाहिर हुँदा संघीय राजधानी रहेको काठमाडौं महानगरले के गर्यो ? राहत, उद्धार तथा पुनर्स्थापनामा काठमाडौं महानगरले केके गर्यो भने हामीले महानगरलाई सोधेका छौँ ।
काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार, उपत्यकाका नदीको जलसतह बढ्न बित्तिकै महानगरले उद्धारका लागि नगर प्रहरी परिचालन गर्यो । उनी भन्छन्, "नदीहरूको जलसतह बढ्न बित्तिकै हामीले नगर प्रहरीलाई उद्धारका सामग्रीसहित तयारी अवस्थामा राख्यौँ । जोखिमयुक्त सम्भावित क्षेत्रमा हामीले नगर प्रहरी परिचालन गर्यौँ ।"
नगर प्रहरीले डुंगाको सहायतामा बालकुमारी, शंखमूल, कुलेश्वर, बल्खुलगायत क्षेत्रमा बाढीमा फसेका मान्छेको उद्धार गर्यो । डुबानका प्रभावितहरूका लागि अस्थायी बसोबासको व्यवस्था मिलाएर महानगरले खानाको व्यवस्था मिलायो ।
प्रवक्ता मानन्धर भन्छन्, "हाम्रो वडा नम्बर १०, ११ र १४ सबैभन्दा धेरै प्रभावित भए । ती स्थानमा हामीले घरबार डुबेका मान्छेलाई नजिकको विद्यालयमा लगेर राख्यौँ । खानाको व्यवस्था मिलायौँ ।"
वाग्मती नदीले १० नम्बर वडाको शंखमूल, बुद्धनगर, दोभानलगायत क्षेत्रमा बढी प्रभाव पार्यो । वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीका अनुसार, घरबास डुबानमा परेका ५०० जनालाई शुक्रबार, शनिबार र आइतबार वडाले खानाको व्यवस्था गरेको थियो ।
वडा नम्बर ११ को थापाथलीमा रहेका सुकुम्वासी बस्ती पनि डुबानमा पर्यो । ११ नम्बर वडाका अध्यक्ष हिरालाल तण्डुकारका अनुसार, शुक्रबारदेखि आइतबारसम्म वडा कार्यालयले थापाथलीस्थित सुकुम्वासी बस्तीका मान्छेलाई नजिककैको गुहेश्वरी स्कुलमा लगेर राखेको थियो ।
"हामीले समयमै थापाथलीको सुकुम्वासी बस्तीका ६०० जना मान्छेलाई स्कुलमा लगेर राखेकाले मानवीय क्षति हुन पाएन," उनी भन्छन्, "स्कुलमा हामीले उहाँहरूलाई तीन दिनसम्म खाना खुवायौँ । ओढ्ने, ओच्छ्याउने पनि उपलब्ध गरायौँ ।"
थापाथलीस्थित सुकुम्वासी बस्तीको टोल विकास समितिका अध्यक्ष मिनकुमार राना पनि महानगरले आफूहरूको समयमै उद्धार गरेको बताउँछन् । उनले बाह्रखरीसँग भने, "बस्तीमा पानी आउनबित्तिकै ११ नम्बर वडाले हाम्रो बस्तीका सबैलाई स्कुलमा राख्यो । तीन दिनसम्म त्यही राखेर खाना खुवायो । महानगरले उद्धार नगरेको भए हाम्रोमा पनि क्षति बढी हुन्थ्यो होला ।"
वाग्मती र विष्णुमतीको दोभान रहेको वडा नम्बर १२ र १४ मध्ये बल्खु क्षेत्र अत्यधिक डुबानमा पर्यो । वडा नम्बर १४ का अध्यक्ष सुमन श्रेष्ठका अनुसार, बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफूल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुसी नदी क्षेत्रमा डुबानमा परेका मान्छेलाई खाना खुवाउने र ओढ्ने ओछ्याउने व्यवस्था मिलाइएको थियो ।
बाढी प्रभावितलाई सुरक्षित स्थानमा राखेर खानाको व्यवस्था मिलाइसकेपछि महानगरले खोज तथा उद्धारको काम गरेको थियो । प्रवक्ता मानन्धरका अनुसार, महानगरले शनिबार बिहानैबाट नगर प्रहरीका १७ वटा टोली बनाएर चारवटा डुंगा परिचालन गरेको थियो ।
काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागका अनुसार, महानगरले काठमाडौं जिल्लाका विभिन्न ठाउँमा बाढीमा फसेका एक हजार १६० जनालाई उद्धार गरेको छ । विभागका प्रमुख जगदिश्वर अर्याल भन्छन्, "काठमाडौं जिल्ला भरबाट हामीले एक हजार १६० जनाको उद्धार गर्यौँ । ११ जनाको शव निकाल्यौँ ।"
विपद् व्यवस्थापन विभागका अनुसार, वर्षा थामिएपछि महानगरले नदी किनारका सडक, सार्वजनिकस्थलमा थुप्रिएको हिलो, बालुवा सफा गर्दै छ । महानगरको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार, टेकुमा रहेको विभागको कार्यालय नै डुबानमा परेको छ ।
उनले भनिन्, "हाम्रो कार्यालय नै डुबानमा पर्दा फोहोर संकलन गर्ने हाम्रा ३५ वटा गाडी पनि डुबानमा परे । अहिले हामी नदी किनारका सडक, सार्वजनिकस्थल, मठमन्दिरमा थुप्रिएको हिलो, बालुवा सफा गर्दै छौँ ।"
यसबाहेक महानगरले स्वयम्भू, मखन गल्ली, सिफल, गौरीघाट, मनमोहन अस्पताललगायत क्षेत्रमा रुख ढलेर अवरुद्ध भएको सडक सुचारु गरेको छ । काठमाडौं महानगरले महानगर क्षेत्रभित्र मात्र नभएर बाहिर पनि सहयोग गरेको महानगरका प्रवक्ता मानन्धर बताउँछन् । उनका अनुसार, महानगरले बीपी राजमार्गमा अलपत्र परेका करिब १०० जना यात्रुलाई काभ्रेको भकुण्डेबेसीबाट आफ्नो गाडीमा काठमाडौंसम्म ल्याएको छ ।
"हाम्रो गाडीले धान्ने जतिलाई काठमाडौंसम्म ल्यायौँ र हामीले त्यहाँ फसेका यात्रुलाई राहत सामग्री पनि उपलब्ध गरायौँ," उनले भने ।
वाग्मती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुखी खोला, करखुसी खोला, बल्खु खोला, भचाखुसी नदी महानगरपालिकाभित्र पर्छन् । अविरल वर्षाका कारण यी नदी आसपासका अधिकांश क्षेत्र डुबानमा परे ।
काठमाडौं महानगरले डुबानमा परेका नदी किनारका सुकुम्वासी बस्तीबासीलाई सहयोग गरे पनि ती बस्ती पुनर्निर्माणमा भने सहयोग नगर्ने बताएको छ । सर्वोच्च अदालतले तय गरेको नदीको मापदण्ड मिचेर बनाइएका घरहरूको पुनर्निर्माणमा सहयोग नगर्ने महानगरको भनाइ छ ।
सर्वोच्च अदालतले उपत्यकाका नदी किनारका दुवैतिर ४०–४० मिटरमा कुनै संरचना बनाउन नपाइने आदेश दिएको छ । नदी किनारको ४० मिटर क्षेत्रलाई ‘नो कन्स्ट्रक्सन जोन’ बनाउन सर्वोच्चको आदेश छ । सर्वोच्चको आदेश पुनरवलोकनका लागि सरकारले निवेदन दिए पनि सुनुवाइ भइसकेको छैन ।
प्रवक्ता मानन्धरका अनुसार, नदी किनारका सुकुम्वासी बस्ती उच्च जोखिममा रहेकाले ती बस्तीलाई अन्यत्रै व्यवस्थापन गर्न संघ सरकारसँग सहकार्य गर्ने सोच महानगरले बनाएको छ । "नदी किनारका अवैध बस्ती पुनर्निर्माणमा हामी सहयोग गर्दैनौँ । बरु सधैँ जोखिममा हुने ती बस्तीलाई अन्यत्रै सार्न हामी केन्द्रीय सरकारसँग सहकार्य गर्ने सोचमा छौँ," मानन्धरले भने ।
थापाथलीस्थित सुकुम्वासी बस्तीको टोल विकास समितिका अध्यक्ष मिनकुमार राना पनि आफूहरूलाई जोखिम मोलेर बस्न रहर नभएको बताउँछन् । उनी भन्छन्, "हामी अहीले नदीले बगर बनाएको ठाउँमा फेरि बस्न बाध्य भएका छौँ । हामीलाई पनि यहाँ बस्न रहर होइन । यस्तोमा सधैँ डुबेर बस्न त हामीलाई मन छैन नि ।"
सरकारले स्थायी बसोबास गर्न मिल्ने गरी बस्ती सारेमा आफूहरू सर्न तयार रहेको रानाले सुनाए । "हाम्रो अपेक्षा त अर्को राम्रो विकल्प भयो भने राम्रो हुन्थ्यो भन्ने हो । हाम्रो स्थायी बसोबास भए त हामी पनि खुसी हुने थियौँ ।"