ब्लग
समय परिवर्तनशील हुन्छ । समयसँगै अरू पनि परिवर्तन हुँदै जानु स्वाभाविक प्राकृतिक नियम नै हो । त्यसैले समयसँग बदलिन नसक्ने बिस्तारै समाप्त हुँदैगइरहेका हुन्छन् ।
नेपाली समाजमा विभिन्न समयमा विभिन्न विचार प्रकट भए । कैयौं राजनीतिक दल विभिन्न रूपमा उदाए र अस्ताए । समयअनुरूप गतिशील बनेका विचार साझा विचार भए । समाजमा तिनै विचार स्थापित पनि भए । तर, समयानुकूल गतिशील बन्न नसकेका विचार विस्थापित पनि भए, हुँदै जानेछन् । यो विज्ञानको नियम पनि हो र राजनीतिक नियम पनि हो ।
नेपालमा विभिन्न समयमा शासन व्यवस्था बदल्न राजनीतिकहरू आन्दोलन भए । व्यवस्था फेरिए पनि । समयको माग थियो परिवर्तन । परिवर्तन गतिशील प्रक्रिया हो । अर्कातिर, आज पनि नेपाल गरिब मुलुक हो । यसैले संसारका अन्य धनी राष्ट्रजस्तै नेपाल पनि बन्नुपर्छ भन्ने धारणा सम्पूर्ण नेपालीको साझा हो भन्दा फरक नपर्ला । किनभने आजको समयको माग पनि यही हो ।
संसारका विकसित राष्ट्रका मानिसले उपभोग गरिरहेका भौतिक वस्तु नेपालजस्ता गरिब मुलुकका जनताले उपभोग गर्न पाउनुपर्छ भन्ने साझा विचार हो । सुख, उन्नति खोज्नु मानवीय स्वभाव पनि हो । त्यसैले आज नेपालमा उदाएका स्थापित राजनीतिक दलको मुख्य एजेन्डा आर्थिक विकास नै हुन जरुरत छ । यो आजको साझा माग हो । यो समय अनुकूल पनि छ । त्यसैले आर्थिक विकासका विषयलाई नेपाली राजनीतिक दलहरूले मुख्य एजेन्डाको रूपमा लानुको विकल्प देखिँदैन ।
देश विकसित हुन शासन व्यवस्था मजबुत हुनुपर्छ तर त्यस्तो व्यवस्था कार्यन्वयन गर्न निकै कठिन हुन्छ । झन् हाम्रोजस्तो बिग्रिएको राजनीतिक संस्कार र मानसिकता भएको समाजमा मुलुकलाई विकसित बनाउन चाहने हो भने सबैभन्दा पहिले संस्कार परिवर्तन गरी मानसिकरूपमा तयार हुनु जरुरी हुन्छ ।
नेपाली स्थापित राजनीतिक दलहरूका अधिकांश एजेन्डा समयअनुसार सही नै देखिन्छन । त्यसैले न आजसम्म तिनको अस्तित्व छ नेपाली समाजमा । तर, आर्थिक विकासका लागि भने यिनै राजनीतिक दल र तिनका नेताको आचरण नफेरिने हो भने गम्भीर समस्या उत्पन्न हुन सक्छ । आज पनि नेता बन्न अपनाइने विधि र नेताको संस्कार हिजोको ध्वसात्मक राजनीतिका बेलाको जस्तै छ । त्यसैले कुन कुरा वा काम गर्ने वा नगर्ने भन्ने विचार पुग्ने गरेको देखिँदैन । यो आर्थिक विकासविरुद्ध छ । यस्तो संस्कार त्यागेर रचनात्मक कार्य गर्ने हो भने मुलुक विकासको दिशातर्फ जान कसैले रोक्न सकोइन । त्यसैले अब नेता बन्नकै लागि राजनीतिक गर्नेभन्दा पनि सेवा गर्न, विकास गर्न राजनीति गर्नु जरुरी छ । किनभने आर्थिक विकास आजको साझा विचार हो । यसलाई सार्थक बनाउन सबै प्रकारको सामन्ती प्रथा अन्त्य हुनुपर्छ । आशीर्वाद मागेर नेता बन्ने अभ्यास छाडेर कामै गरेर नेता बन्ने र कामकै आधारमा नेता छान्ने संस्कार बसाल्नु जरुरी छ । त्यसैले अब सुरुकै दिनहरूमा गाउँ पालिका, नगरपालिका, जिल्ला, प्रदेशलगायतको सम्पूर्ण संरचनाका सम्पूर्ण नेता कार्यकर्तालाई धम्की पत्र दिएर रकम असुल्नेभन्दा श्रम गरेर आर्थिक स्रोत जुटाउने र संगठन संचालन गर्ने संस्कार राजनीतिक नेताले बनाउन जरुरी छ । नेपाली समाजमा राजनीतिक सस्कार बिग्रिएकै कारण भ्रष्टाचार, कालाबजारी महँगी बढेको हो ।
त्यसैले अब यस्ता विकृति हटाउँदै लाने हो भने कुनै नेता, व्यापारी, कर्मचारीआदि नागरिक भ्रस्ट भनी कलंकित हुनुपर्ने थिएन । त्यसैले अब व्यक्तिगत, पार्टीगत, गुटगत स्वार्थ त्यागी देश विकास गर्न सच्चा नेता र कार्यकर्ता बन्ने स्कुल स्थापना हुनु जरुरी छ ।
हिजो नेपालका जनता काम गर्थे अनि राजामहाराजा बसेर खान्थे । तर आज जनताले नै आफ्नो नेतृत्व गर्ने अवस्थामा काम गर्ने जनतामध्ये जसले बढी काम गर्छ उसैलाई नेतृत्व गर्न दिनु आजको आवश्यकता हो ।
गफ गरेर हैन कामै गरेर नेता बन्ने संस्कार बसाल्नु आजको आवश्यकता हो र काम गर्ने नेता छान्नु जनताको दायित्व हो । देश विकासको लागि काम गर्ने नेतृत्व अपरिहार्य छ ।
प्रकाशित मिति: सोमबार, भदौ १३, २०७३ १३:४३
प्रतिक्रिया दिनुहोस्