काठमाडौं । कुवेतको जजिरा एयरलाइन्स र थाइल्यान्डको थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारी गरेका छन् । जजिरा एयर लाइन्सले उडानका लागि ‘विन्टर सेड्युल’ पठाएको छ । उता थाई एयर एसियाले भने असोज १६ गते गौतम बुद्ध विमानस्थल निरीक्षण गर्ने तयारी गरेको छ ।
यसअघि असोज ४ गते काठमाडौंबाट उडान सुरु गर्ने भनेको थाई एयर एसियाले असोज १६ (अक्टोबर २) गतेदेखि काठमाडौंबाट उडान सुरु गर्ने नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । “थाई एयर एसिया अक्टोबर २ तारिकमा काठमाडौं आउने र ३ अक्टोबरमा भैरहवा पुगी अध्ययन गरेपछि मात्रै कहिलेदेखि सुरु गर्ने हो त्यसको मिति तय गर्ने जानकारी गराएको छ,” उनले भने, “अक्टोबर २७ बाट उडान गर्ने तयारीमा रहेको छ । तर, विमानस्थल निरीक्षणपछि ठ्याक्कै मिति तय गर्लान् ।”
थाई एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा ४ उडानको तयारी गरेको भूलले बताए । जजिराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेत उडान गर्ने गरी नेपाल प्राधिकरणमा नयाँ उडान तालिका पेस गरेको जानकारी भूलले दिए ।
उनका अनुसार, जजिराले एयलाइन्सले अक्टोबर २८ देखि सातामा ४ दिन उडान गर्ने तालिका पठाएको छ । उनले भने, “बिहान ६ः२५ भैरहवा अवतरण गरेर ७ः१० जाने वा ढिलो भए ७ः३० सम्म उडिसक्ने गरी प्रस्ताव गरेको छ ।”
यसअघिको सेड्युलमा राति २ बजे अवतरण गर्ने र ३ बजे उडान गर्ने तालिका पठाएको थियो । तर, क्यानले राति उडान गर्दा विमानस्थल सञ्चालनका लागि अतिरिक्त खर्च हुने भन्दै ‘सेड्युल’ परिवर्तन गर्न अनुरोध गरेको थियो । त्यसपश्चात् जजिराले बिहानको ६ः२५ मा अवतरण र ७ः१० मा उडान गर्ने गरी नयाँ तालिका पठाएको हो ।
भैरहवामा विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला हुने र त्यसपछि अपरेसन आवर नपर्ने भएको हुँदा बढी खर्च हुने भएका कारण त्यहीअनुसार उडान र अवतरण तालिका पेस गर्न प्राधिकरणले निर्देशन थियो ।
जजिराले यसअघि २०७९ जेठ २ बाट भैरहवा र कुवेत सिँधा उडान सुरु गरेको थियो । तर, २०७९ पुसबाट निरन्तर खराब मौसम भएको कम ‘भिजिबिलिटी’मा प्रविधिको सहायताले उडान र अवतरणमा समस्यालगायतका कारण देखाउँदै उडान स्थगित गरेको थियो ।
भैरहवा र पोखरा विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङ (यात्रु तथा सामानलाई जहाजसम्म लाने ल्याउने सुविधा) वापत २५ प्रतिशत मात्रै शुल्क लिनेछ । यसबाहेक सरकारले उडान, अवतरण, एयर नेभेसेसन शुल्कमा समेत छुट दिएको छ ।
विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकारले पनि हवाई टिकटमा रहेको भ्याट छुट वा फिर्ता, इन्धनमा सहुलियत, भिसा सेन्टर स्थापना, हवाइ सेवा शुल्कमा लाग्ने तीन हजार यात्रु सेवा शुल्क छुट, पार्किङ, ल्याण्डिङ, नेभिगेशन शुल्क छुट दिने, एक हजार पर्यटन शुल्क पूर्ण छुट, ग्राउण्ड ह्याण्डलिङमा ७५ प्रतिशत छुट लगायतका कार्ययोजना ल्याएको छ ।
साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना तथा गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजनासमेत स्वीकृत गरी कार्यन्वयनमा लागेको छ ।
कात्तिक २३ गतेदेखि काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी ‘वे’ विस्तारका लागि १० घण्टा बन्द हुने भएपछि पोखरा र भैरहवा नयाँ कम्पनीलाई आकर्षण गर्ने सरकारको योजना छ ।
“आगामी कात्तिक २३ गतेदेखि टीआईएको धावनमार्ग र ट्याक्सी वे विस्तारका लागि दैनिक १० घण्टा बन्द हन्छ,” भूलले भने, “हामीले भैरहवा र पोखराबाट उडान गर्ने गरी फ्लाइट ‘रि–सेड्युल’ गर्न सर्कुलर गरेका छौं । साथै नयाँ विमानस्थल सञ्चालनको लागि दिइएको छुटमा पनि चासो लिदैँ जजिरा र थाई एयर एशिया अगाडि आएका छन् ।”
टीआईएबाट बिहान ६ बजेदेखि तीन बजेसम्म दैनिक २१ घण्टामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ३५० हाराहारीमा उडान हुने गरेको छ । विमानस्थल धावनमार्ग निर्माण सुरु भएपछि १४ घण्टामात्रै सञ्चालन हुँदा गौतमबुद्ध र पोखराबाट उडान गर्नुपर्छ ।
दुई वर्षअघि उद्घाटन भएको गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थलबाट नियमित उडान हुन नसक्दा घाटामा छन् । दुवै विमानस्थलमा उडान हुन सकेको छैन् ।
महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार गौतमबुद्ध विमानस्थल निर्माण गर्न ३५ अर्ब ६६ करोड र पोखरा विमानस्थल निर्माण गर्न २५ अर्ब ३४ करोड खर्च भएको उल्लेख छ । भैरहवाको गौतम बुद्ध विमानस्थल निर्माण गर्न ३० अर्ब ९१ करोड र पोखरा विमानस्थलका लागि २२ अर्ब रुपैयाँ सुरुवाती लागत भएपनि समय र लागत बढेर ६१ अर्ब खर्च थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्न अर्थ मन्त्रालयले चिनियाँ पक्षलाई पत्र समेत लेखेको छ । पोखरा विमानस्थलका लागि सरकारले चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दर अनुसार करिव २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो ।
गौतमबुद्ध विमानस्थल निर्माण गर्न सरकारले एसियाली विकास बैंक (एडीबी) र ओपेक कोषबाट सहुलियतपूर्ण ऋण र अनुदान गरी ४ अर्ब ९१ करोड लिएको थियो ।