-1738574869.jpeg)
काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को नौ महिनामा सेयर कारोबारमा जाने ऋण (मार्जिन प्रकृतिको कर्जा) ३७.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट मार्जिन प्रकृतिको कर्जा ३७.८ प्रतिशतले बढेर एक खर्ब २४ अर्ब १२ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
०८० को चैत मसान्तसम्म बैंक वित्तीय संस्थाले ८६ अर्ब १८ करोड ५४ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका थिए ।
यो शीर्षकमा एक करोडभन्दा बढी ऋण लिनेहरूले कुल ८४ अर्ब ६९ करोड ९९ लाख रुपैयाँ लिएका छन् । ५० लाखदेखि एक करोडसम्म ऋण लिनेले मार्जिक प्रकृतिको कर्जा १४ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ लिएका छन् । २५ लाखसम्म ऋण लिनेहरूले १६ अर्ब ६४ करोड रुपैयाँ ऋण लिएका छन् । यो शीर्षकमा २५ लाखभन्दा कम ऋण लिनेहरूले सात अर्ब ९४ करोड १८ लाख रुपैयाँ लिएका छन् ।
सबैभन्दा बढी नबिल बैंकले दियो
चैत मसान्तसम्म ४६ बैंक तथा वित्तीय संस्थाबाट सेयर कारोबारका लागि ऋण प्रवाह भएको छ । यीमध्ये सबैभन्दा बढी नबिल बैंकले सेयर कारोबारका लागि ऋण प्रवाह गरेको छ । नबिल बैंकले १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा चैत मसान्तसम्म दिएको छ ।
यो अवधिसम्म ग्लोबल आइएमई बैंकले ११ अर्ब ६५ करोड ५७ लाख, कुमारी बैंकले नौ अर्ब १३ करोड ९४ लाख, सिद्धार्थ बैंकले आठ अर्ब ५२ करोड ३७ लाख, नेपाल बैंकले सात अर्ब ८२ करोड ६४ लाख र प्राइम कमर्सियल बैंक बैंकले सात अर्ब ७८ करोड ७१ लाख रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेका छन् ।
विकास बैंकहरूमध्ये सबैभन्दा बढी मुक्तिनाथ विकास बैंकले तीन अर्ब ५९ करोड ६४ लाख रुपैयाँ यस्तो ऋण प्रवाह गरेको छ । त्यसैगरी गरिमा विकास बैंकले दुई अर्ब ९९ करोड ४० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ । महालक्ष्मी विकास बैंकले दुई अर्ब २६ करोड ८१ लाख रुपैयाँ यस्तो शीर्षकमा कर्जा प्रवाह भएको छ ।