कास्की । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी)को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेकोे छ । नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१०, किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो । सो सडक मंगलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिए ।
पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका थिए । सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुकसम्मको सिधा यातायात सम्पर्क टुटेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो । पूर्वाधार विकास कार्यालयको २५ लाख र दुई लाख २५ हजार स्थानीय जनश्रमदानबाट गरी २७ लाख २५ हजार लगानीमा सडक मर्मत गरिएको कार्यालयका प्रमुख खड्काले बताए ।
“सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भिरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरेका छौँ,” उनले भने ।
अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरूङले घान्द्रुक बसपार्कसम्म अब गाडी सजिलै जाने र लामो समयदेखिको अवरोध हटेको बताए । पर्यटकको आगमन बढ्ने समयमा सडकको अवरोध हटेकामा घान्द्रकका पर्यटन व्यवसायी उत्साही छन् । घान्द्रुकका पर्यटन व्यवसायी अमृत गुरूङले गाउँले र पर्यटकले आवातजावतमा समस्या भोग्नुपरेकामा समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरे ।
उनले भने, “घान्द्रुक गाउँनजिकै सडक भासिएको थियो । एउटा गाडीमा गएर, बीचमा झरेर अलिकति हिँडेर अर्को गाडीमा जानुपर्ने बाध्यता थियो । घान्द्रुकको स्थानीयलाई गाह्रो भयो । पर्यटक आउने जाने कुरामा अप्ठेरो भएको थियो । अब सहज भएको छ ।”
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्ड १७ किलोमिटर लामो छ । यही सडकखण्डअन्तर्गत पर्ने नयाँपुल–बिरेठाँटी–कुलडाँडा–घान्द्रुक–उरी सडक निर्माण तथा स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट प्रदेश सरकारले विनियोजन गरेको छ । घान्द्रुक विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार समेत हो । पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौँ पर्यटक एबीसी पुग्छन् । पछिल्लो समय घान्द्रुक पर्यटनको ‘हब’ बन्दै गएको छ । गुरुङ संस्कृतिसँग रमाउन र दृश्यावलोकनका लागि आन्तरिक पर्यटक वर्षभरि नै यहाँ पुग्ने गर्दछन् । रासस