काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले सभामुखको पहलको अभावका कारण संसद् बैठक बस्न नसकेको बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले सभामुखले आइतबारका लागि निर्धारित समयमा बैठक नै नबोलाएको समेत बताए ।
माओवादी सशस्त्र द्वन्द्वको अपमान हुने गरी राखेको अभिव्यक्ति फिर्ता लिनुपर्ने आफूहरूको स्पष्ट माग रहेको उनको भनाइ छ ।
दाहालले कांग्रेस–एमालेबीच सात बुँदे सहमति भएपछि मुलुकको परिवर्तनकारी शक्तिहरूलाई कमजोर पार्ने षडयन्त्र भइरहेको पनि बताए ।
अर्को प्रसंगमा उनले सहकारी प्रकरणको प्रारम्भिक छानबिनका क्रममा एमाले नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङको संलग्नता देखिएको दाबी गरे ।
नेकपा (माओवादी केन्द्र)ले 'हिंसा' शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि संसद् बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।