site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चौधर नदीले कटान गर्दा बस्ती जोखिममा
कैलालीको भजनीको दृश्य । फाइल तस्बिर : रासस ।

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४, बैतोडामा चौधर नदीले कटान गर्न थालेपछि बस्ती नै जोखिममा पर्दै गएको छ । बिहीबारदेखिको निरन्तर वर्षासँगै नदीमा आएको बाढीबाट दुई दर्जन बढी परिवारको झन्डै तीन बिघा जग्गा कटान भई बगरमा परिणत भएको छ । टोलकै ज्ञानज्योति बालविकास केन्द्रको जग्गा समेत कटान गरेको छ ।

नदीतटीय क्षेत्रमा बसोबास गर्ने धनगिरी ओडले सात कट्ठा जग्गामा लगाइएको धानबालीसहित खेत बगाएको बताए । “थोरै जग्गा थियो, त्यही जग्गा पनि नदीले बगाएको छ । घर समेत उच्च जोखिममा परेको छ,” उनले भने । बाढीबाट जोगिन आफन्तको शरणमा जानुपर्ने अवस्था सिर्जना भएको ओडले बताए ।

यस टोलमा अधिकांश आर्थिक रूपमा विपन्न दलित समुदायका परिवारको बसोबास छ । तटबन्धको प्रबन्ध नहुँदा प्रत्येक वर्ष बाढीबाट यसरी नै जग्गा कटान हुँदै आएको छ । यसै वर्षायाममा एक दर्जन बढी परिवारको जग्गा कटान भइसकेको समाजसेवी राजुराम सार्कीले बताए ।

“तटबन्ध निर्माणका लागि पटक–पटक नगरपालिका कार्यालयलाई गुहार्दै आएका छौँ, अहिलेसम्म सुनवाइ हुन सकेको छैन,” उनले भने ।

सार्कीकाअनुसार, धेरै परिवारको जग्गा बगेको र बचेकाको पनि बगरमा परिणत भएको छ । चाँडै तटबन्ध निर्माण नगरिए पूरै गाउँका बासिन्दा विस्थापन हुनुपर्ने अवस्था रहेको उनले बताए ।

यस्तै, कृष्णपुर नगरपालिका–२, बंकस्थित बादी समुदायको बस्ती रहेको प्रगति टोलमा वनहरा नदीले कटान गरिरहेको छ । वनहरा विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीले धार परिवर्तन गरी बादी बस्तीतर्फ सोझिएर कटान गर्न थालेको बताए ।

“२०० मिटर बाटो बगाई नदीले बस्तीको जग्गा कटानी गरिरहेको छ । रोकथामका लागि तत्काल केही उपाय नहुने हो भने धेरै समस्या निम्तिने देखिन्छ । त्यसैले सम्बन्धित निकायलाई तटबन्ध निर्माणका लागि आग्रह गर्दछौँ,” उनले भने ।

वडाअध्यक्ष अर्जुन साउदले बस्ती जोगाउन तटबन्ध निर्माणका निम्ति नगरपालिका, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराइने बताए । उनले भने, “तटबन्ध निर्माण गर्न वडाको बजेटले धान्दैन, अन्य निकायलाई गुहार्नुको विकल्प छैन ।” रासस

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro