site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्फा लिगमा एपीएफ र आर्मीको तेस्रो जित

काठमाडौं । विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लबले बिहीवार एन्फा महिला फुटबल लिगमा सहज जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार आर्मीले वाग्मती युथ क्लबलाई र एपीएफले वालिङ नगरपालिकालाई हराएको हो ।

पहिलो खेलमा आर्मीले वाग्मतीमाथि ३–० को जित निकाल्यो । अर्को विभागीय टोली एपीएफले दोस्रो खेलमा वालिङमाथि २–१ को सफलता प्राप्त गर्‍यो । यी जितसँगै आर्मी र एपीएफले शीर्ष पाँचको दाबेदारी बलियो बनाएको छ । वाग्तमीविरुद्ध जितपछि आर्मी दोस्रो स्थानमा उक्लिन सफल भएको थियो । तर, केही घण्टापछि नै एपीएफ आर्मीलाई एक स्थान तल धकेल्न सफल भयो । एपीएफको जितमा रेनुका नगरकोटी र रश्मिकुमारी घिसिङले गोल गरिन् ।

वालिङका लागि सिसे एन्टोङगोले गोल गरे पनि पर्याप्त भएन । पहिलो हाफमा गरेको गोल नै एपीएफलाई तेस्रो जित दिलाउन पर्याप्त रह्यो । खेलको १२औँ मिनेटमै रेनुका नगरकोटीले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाइन् । पेनाल्टी बक्सबाट सरु लिम्बूले दिएको ब्याक पासमा उनले करिब २० यार्डबाट टप कर्नर गोल गरिन् ।

एकपछि अर्को आक्रमण बुनेको एपीएफले ३८औँ मिनेटमा सफलता पायो । रश्मिकुमारीले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । यो गोलसँगै एपीएफ पहिलो हाफमा २–० ले अगाडि रह्यो र दोस्रो हाफमा वालिङले गोल फर्काए पनि हार भने टार्न सकेन । ८०औँ मिनेटमा सिसेले गोल गर्दै वालिङलाई खेलमा फर्काउने संकेत गरिन् । तर, थप गोल हुन नसक्दा एपीएफले जित निकाल्यो । जितसँगै एपिएफले चार खेलबाट १० अंक जोडेको छ । समान अंक भए पनि नेपाल पुलिस क्लब गोलसंख्याका आधारमा शीर्ष स्थानमा छ ।

यता, आर्मीको जारी लिगमा चौथो खेलबाट तेस्रो जित हो । वाग्मतीविरुद्ध आर्मीको जितमा विमला चौधरी र अमिशा कार्कीले समान एक गोल गरेका थिए ।

आर्मीले एक गोल आत्मघाती उपहार स्वरूप पायो । आर्मीले खेलको २७औँ मिनेटमा विमलाको गोलमार्फत अग्रता लिएको थियो । हिमा चौधरीले राइट साइडबाट दिएको क्रस नियन्त्रणमा लिँदै पेनाल्टी बक्समा अनमार्क विमलाले सुन्दर गोल गरेकी हुन् । यससँगै पहिलो हाफमा आर्मी १–० ले अगाडि रह्यो । दोस्रो हाफमा पनि आर्मीले दुई गोल थप्यो । आर्मीले ६२औँ मिनेटमा अग्रता दोब्बर बनायो । दीपा शाहीले दिएको लामो पासमा अमिसाले पाँच डिफेन्डरका बीचबाट गोल गरेकी हुन् ।

अन्तिम समयमा सन्जी थिङबाट आत्मघाती गोल हुँदा आर्मीले ३–० को सहज जित दर्ता गर्‍यो । यो जितसँगै ९ अंक जोडेको आर्मी दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो खेलमा पराजित बागमती सामान खेलबाट तीन अंकका सातौँ स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १९:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro