site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ईएचएसमार्फत सेवाको दायरा बढाउँदै ठूला अस्पताल, सार्वजनिक बिदामा पनि ओपीडी 

काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाललगायत पर्याप्त जनशक्ति भएका अस्पतालबाट दुई ‘सिफ्ट’मा ओपीडी सेवा सञ्चालन गरिने उल्लेख छ । सोही नीतिअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको साउन ४ गते संघस्तरका अस्पताल तथा प्रतिष्ठानमा दुई सिफ्टमा ओपीडी सञ्चालन गर्ने निर्णय गर्‍यो ।

त्यसानुसार गर्न अस्पतालहरूलाई पत्राचार गरिएको थियो । अपराह्न ४ बजेपछि पनि ओपीडी र परीक्षण तथा शल्यक्रिया सेवा बेलुका ८ बजेसम्म सञ्चालन गर्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको प्रस्ताव छ । चिकित्सक/स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिएर ठूला अस्पतालमा दुई सिफ्ट ओपीडी र बेलुका ८ बजेसम्म शल्यक्रिया सेवा विस्तार गर्ने मन्त्रालयको योजना छ ।

अधिकांश अस्पतालले यसअघि नै दुई सिफ्ट ओपीडी र विशिष्टीकृत स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन गरिरहेका छन् । पछिल्लोपटक कान्ति बाल अस्पतालले यही भदौ २ गतेदेखि ईएचएस सेवा थालेको छ ।

वीर अस्पतालले पनि पूर्ण रूपमा ईएचएस सेवा छिट्टै सञ्चालन गर्ने तयारी गरिरहेको निर्देशक डा. सन्तोष पौडेलले बताए ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पतालले पनि दिउँसो ३ बजेपछि ईएचएस सेवा दिँदै आएका छन् ।

कहाँ–कहाँ छ दुई सिफ्ट ओपीडी सेवा ?

ओपीडीमा दैनिक दुई हजारदेखि २५ सय बिरामी आइपुग्ने वीर अस्पतालमा बिहानी ओपीडी सेवा ७ः३० देखि दिउँसो १२ः३० सम्म सञ्चालन गरिँदै आएको छ । दोस्रो सिफ्टमा दिउँसो १ः३० देखि अपराह्न ४ बजेसम्म ओपीडी सेवा सञ्चालन गरिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवरोग अस्पतालमा बिहानी सिफ्टमा ९ देखि दिउँसो १ः३० र दिउँसो २ः३० देखि अपराह्न ४ बजेसम्म ओपीडी सेवा सञ्चालन गरिन्छ । पाटन अस्पतालमा बिहान ८ देखि अपराह्न ४ बजेसम्म ओपीडी सेवा सञ्चालन गरिँदै आएको छ ।

कान्ति बालमा भने दिउँसो ३ बजेदेखि सञ्चालन हुने ईएचएसलाई नै दोस्रो सिफ्टका रूपमा सञ्चालन गरिरहेको अस्पतालका निर्देशक डा. पंकज रायले जानकारी दिए ।

कान्तिमा ईएचएसमार्फत मेडिकल, सर्जिकल, डेन्टल र ईएनटी ओपीडी सेवा उपलब्ध छन् । ईएचएसको शुल्क ४५० रुपैयाँ तोकिएको छ । स्वास्थ्य सेवामा हाल कायम जनशक्तिबाटै दुई सिफ्ट ओपीडी चलाउने मन्त्री पौडेलको योजना छ ।

“हामीसँग पर्याप्त नभए पनि दक्ष जनशक्ति छन् । यो क्षमतालाई सेवाभावमा बदलौँ, उपकरणलाई पूर्ण क्षमतामा चलाऔँ,” मन्त्री पौडेलले भनेका छन् ।

अतिरिक्त र सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गरेबापत प्रोत्साहन भत्ता (इन्सेन्टिभ) उपलब्ध गराउने मन्त्रालयको योजना छ । दुई सिफ्टमा ओपीडी सञ्चालन गर्दा अस्पतालहरूमा हाल कायम ईएचएस भने बन्द गरिनेछ ।

इन्सेन्टिभबारे मापदण्ड निर्धारण गर्न मन्त्रालयले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत रहेका डा. लोचन कार्कीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिले अतिरिक्त समय काम गर्ने चिकित्सक/स्वास्थ्यकर्मीको पारिश्रमिक, सेवा भत्तालगायत विषय समेटेर मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ ।

चिकित्सक/स्वास्थ्यकर्मीको पारिश्रमिक वृद्धि तथा कार्यसम्पादनका आधारमा इन्सेन्टिभ बढाउने गरी समितिले सिफारिस गरेको संयोजक डा. कार्कीले बताए । यही रिपोर्टमा अतिरिक्त ‘डिउटी’ गरेबापतको अंकभार पनि निर्धारण गरिएको छ ।

सार्वजनिक बिदाका दिन पनि ओपीडी

सार्वजनिक बिदाका दिनमा हाल केही अस्पतालले ‘हाफ’ ओपीडी सेवा प्रवाह गरिरहेका छन् । तर, त्यसबापत चिकित्सक/स्वास्थ्यकर्मीले कुनै भत्ता र सुविधा नपाएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताए । मन्त्रालयले इन्सेन्टिभको व्यवस्था गरेमा अहिलेकै जनशक्तिले दुई सिफ्ट ओपीडी सेवा सञ्चालन गर्न सम्भव रहेको उनको भनाइ छ ।

सार्वजनिक बिदाका दिन ओपीडी सेवाबारे मन्त्रालयको निर्णय कार्यान्वयन गर्न तयार रहेको कान्ति बाल अस्पतालले पनि जनाएको छ । आउँदा दिनमा सार्वजनिक बिदामा ओपीडी खुल्ने निर्देशक डा. रायले बताए । 

यीबाहेक त्रिवि शिक्षण अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हाफ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘फुल’ ओपीडी चलाइरहेका छन् । सार्वजनिक बिदाका दिन त्रिवि शिक्षण अस्पतालमा बिहान ८ देखि दिउँसो १ बजेसम्म ओपीडी सञ्चालन गरी करिब १५ सय बिरामीलाई सेवा दिने गरिएको छ । अरू दिनमा यो संख्या २२ सयको हाराहारीमा हुन्छ ।

सार्वजनिक बिदामा पनि सबै कर्मचारी उपस्थित हुने र उनीहरूलाई काममा खटिएबापत अस्पतालको आन्तरिक स्रोतबाट एक दिनको पारिश्रमिकका दरले अतिरिक्त भत्ता उपलब्ध गराउने गरिएको प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले बताए ।

पाटन अस्पतालमा बुधबार र शनिबार ओपीडी सेवा बन्द गरिँदै आएको छ । अरू सार्वजनिक बिदाका दिनमा उक्त अस्पतालमा पूरै ओपीडी सेवा सञ्चालन गरिन्छ । उक्त दिन सबै कर्मचारी उपस्थित हुने र उनीहरूले मासिक पारिश्रमिकभित्रैबाट सेवा प्रवाह गरिरहेका अस्पतालका प्रशासन प्रमुख तीर्थ भुजेलले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ०८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro