काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको दोस्रो ‘प्रेसिडेन्सियल डिबेट’ (राष्ट्रपति पदको बहस) मंगलबार अर्थात् सेप्टेम्बर १० मा हुँदैछ । जहाँ पहिलोचोटि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस आमने–सामने हुनेछन् ।
अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारको बहस टिभीमा ठूलो संख्यामा मानिसहरूले हेर्छन् । यी बहसले अमेरिकाको भोटिङमा ठूलो प्रभाव पार्ने विश्वास गरिन्छ । कमला ह्यारिसलाई दक्ष बहसकर्ता भनिन्छ । तर डोनाल्ड ट्रम्पले २०१६ र २०२० मा राष्ट्रपति पदको बहसमा आफू कडा प्रतिद्वन्द्वी भएको देखाइसकेका छन् ।
राष्ट्रपति पदको बहस र नियमहरू
सेप्टेम्बर १० मा फिलाडेल्फियामा दुई नेताबीच राष्ट्रपति पदको बहस हुनेछ । स्थानीय समय अनुसार राति ९ बजे सुरु बहस सुरु हुनेछ । यो २०२४ को चुनवाको दोस्रो राष्ट्रपति पदको बहस हो । यसको पहिलो बहस जुनमा डोनाल्ड ट्रम्प र राष्ट्रपति जो बाइडेनबीच भएको थियो । पहिलो बहसमा बाइडेन फिका देखिएपछि उनी दौडबाट बाहिरिएका थिए ।
राष्ट्रपति पदको दोस्रो बहस एबीसी च्यानलमा प्रसारण हुनेछ । यो बहस डिज्नी प्लस र हुलुमा पनि प्रसारण गरिनेछ । यो बहसमा समय सीमाको पालना कडाईका साथ गरिन्छ । यसमा प्रत्येक उम्मेदवारले मोडरेटरको प्रश्नको जवाफ दिन अधिकतम दुई मिनेट र खण्डन गर्न पनि दुई मिनेट समय पाउँछन् ।
बहसको समयमा अर्को व्यक्ति बोलिरहेको बेला उम्मेदवारको माइक्रोफोन बन्द गरिन्छ र बहस कक्षमा कुनै दर्शक हुँदैनन् ।
कमला ह्यारिस बसहको पुरै समय माइक्रोफोन ‘अन’ (सक्रिय) राख्न चाहन्थिन् तर हालै उनी यो नियममा सहमत भएकी छन् । यो नियम चार वर्ष पहिले बनाइएको थियो । जब ट्रम्प र बाइडेनबीचको पहिलो बहस अवरोध र झगडाले बिथोलियो तब माइक्रोफोन बन्द गर्ने नियम बनाइएको थियो ।
मंगलबार हुने बहसमा मोडरेटरको भूमिकामा डेभिड मुइर र लिन्से डेभिस दुईजना हुनेछन् । उनीहरूले बहसलाई मध्यस्थता गर्नेछन् । दुवै एबीसी न्यूजका समाचार प्रस्तोता हुन् ।
कमला ह्यारिसको बलियो पक्ष
कमला ह्यारिसले सन् २००३ मा चुनावी बहसमा भाग लिएकी थिइन् । त्यतिबेला उनले महान्यायाधिवक्ताको चुनाव जितेको थिइन् । क्यालिफोर्नियाको महान्यायाधिवक्ता र क्यालिफोर्नियाका लागि अमेरिकी सिनेटर छनोट हुँदाको समयमा पनि उनी बहसमा सहभागी भएकी थिइन् । उनी ती बहसमा सहभागी मात्र भएकी थिइनन्, सफल पनि भएकी थिइन् ।
उनले २०१९ मा जो बाइडेनसँग डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदको उम्मेदवारीका लागि बहस गरेकी थिइन् । उनले २०२० मा उपराष्ट्रपति पदको बहसमा माइक पेन्सको सामना गरेकी थिइन् ।
कमला ह्यारिसले यसअघि स्टेजलाई नियन्त्रण गर्न आफ्नो क्षमता देखाइसकेकी छन् । माइक पेन्ससँग २०२० को बहसमा बीचैमा बोलेपछि पेन्सलाई हप्काएकी थिइन्, “उपराष्ट्रपति महोदय, म बोलिरहेको छु ।”
कमला ह्यारिससँग अमेरिकी सिनेटमा बहस गरेको र त्यसअघि क्यालिफोर्नियाको अदालतमा अभियोजकको रूपमा काम गरेको धेरै अनुभव छ, जहाँ विपक्षीहरूको कमजोर पक्षलाई बाहिर ल्याउन ठूलो सीपको आवश्यकता पर्छ ।
यो अनुभव डोनाल्ड ट्रम्पले बहसका क्रममा उठाएका मुद्दाहरूलाई खण्डन गर्न उनलाई लाभदायक हुन सक्छ ।
कमला ह्यारिस सन् २०२० मा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न सकेकी थिइनन् । उनी आयोवामा भएको पहिलो ‘कन्टेस्ट’अघि नै बाहिरिएकी थिइन् । उनीमाथि त्यतिबेला एउटा आरोप थियो– ‘उनको नीतिमा स्थिरता छैन’ ।
यसपटक सेप्टेम्बर १० मा हुने बहसमा मध्यस्थकर्ताहरूले ह्यारिसलाई उनको नीतिहरूबारेमा धेरै कठिन प्रश्नहरू सोध्न सक्छन् । कमला ह्यारिस पनि आफ्नो सार्वजनिक भाषणमा धेरै बोल्नेमध्ये पर्छिन् ।
हालसालै सीएनएनसँगको अन्तर्वार्तामा उनले भनेकी थिइन्, “यो एउटा महत्वपूर्ण विषय हो, जसका लागि हामीले मेट्रिक्स लागू गर्नुपर्छ, जहाँ आफूलाई समय–सीमामा राख्नुपर्छ ।”
राष्ट्रपति पदको बहसमा बोल्ने समय–सीमालाई निकै गम्भीरताका साथ लिइन्छ । दिइएको समयसीमाभित्र रहेर चुनावी अभियानको सन्देश मतदातालाई स्पष्ट रूपमा बुझाउ सक्नुुपर्छ ।
डोनाल्ड ट्रम्प कति मजबुत छन् ?
सेप्टेम्बर १० मा डोनाल्ड ट्रम्पसँगको बहस कमला ह्यारिसका लागि राष्ट्रपतिको दौडमा सहभागी भएपछिको सबैभन्दा ठूलो चुनौती हो । ट्रम्पले सन् २०१६ र २०२० मा दुईवटा राष्ट्रपतीय बहसमा भाग लिएका छन् । उनी निकै जुझारु र परम्पराभन्दा भिन्न प्रतिद्वन्द्वी सावित भएका छन् ।
सन् २०१६ मा हिलारी क्लिन्टनसँगको बहसका क्रममा उनी मञ्चको वरिपरि हिँडेका थिए । हिलारी क्लिन्टन बोलिरहँदा उनी क्लिन्टनको सीधा पछाडि उभिएका थिए । हिलारीले यसबाट आफूलाई असहज भएको बताएकी थिइन् ।
२०२० को राष्ट्रपति निर्वाचनको पहिलो बहसमा ट्रम्पले बाइडेनलाई लगातार आरोपहरू लगाएका थिए, जसका कारण बाइडेनले चिच्उाउँदै भनेका थिए, “के तपाईं चुप रहनुहुन्छ ?”
ट्रम्पको यस्तो व्यवहारले विरोधीहरूलाई चिन्तित बनाउँथ्यो भने उनी आकर्षणको केन्द्र बन्थे । डोनाल्ड ट्रम्प प्रायः बहसमा विषयबाट विचलित हुन्छन् र तथ्य जाँचकर्ताहरूले उनले बोलेको कुराहरू झुटो भएको दाबी गर्छन् ।
प्रतिस्पर्धाको को अगाडि
गत जुलाईमा राष्ट्रपतिको रूपमा पुनः चुनावी मैदानमा उत्रनुअघि जो बाइडेन मतदाता सर्वेक्षणमा डोनाल्ड ट्रम्पभन्दा अघि थिए । राजनीतिक विषयको विश्लेषण गर्ने संस्था ‘रियल क्लियर पोलिटिक्स’ले राष्ट्रिय सर्वेक्षणको औसत संकलन गरेको छ । उक्त संस्थाका अनुसार उम्मेदवारी दिएदेखि कमला ह्यारिसले तीन अंक पाएकी छन् ।
संस्थाले सेप्टेम्बर ३ सम्म राष्ट्रियस्तरमा ट्रम्पभन्दा ह्यारिस १.९ अंकले अगाडि रहेको जनाएको छ । सन् २०१६ मा यस्तै सर्वेक्षणमा हिलारी क्लिन्टनले राष्ट्रिय चुनावमा पाँच अंकको अग्रता पाएकी थिइन्, तर उनी ट्रम्पसँग चुनाव हारिन् ।
अमेरिकामा राष्ट्रिय निर्वाचनभन्दा राज्यभित्रको निर्वाचनलाई बढी महत्व दिइन्छ । विभिन्न राज्यको चुनावी नतिजाले इलेक्टोरल कलेज (निवार्चन मण्डल)मा उम्मेदवारले कति मत पाउँछ भन्ने निर्धारण गर्छ र इलेक्टोरल कलेजले संयुक्त राज्यको राष्ट्रपति को हुने भन्ने निर्णय गर्छ ।
एरिजोना, जर्जिया, मिशिगन, नर्थ क्यारोलिना र पेन्सिलभेनिया जस्ता केही ‘स्विङ स्टेट’ छन्, जुन जितका लागि निकै महत्वपूर्ण मानिन्छ । ती सबैमा प्रतिस्पर्धा निकै कडा छ ।
सेप्टेम्बरको सुरुमा रियल क्लियर पोलिटिक्सले ह्यारिस मिशिगन र जर्जियामा भएको चुनावमा ट्रम्पभन्दा अगाडि र पेन्सिलभेनियामा ट्रम्पसँग बराबरीमा रहेको जनाएको थियो । अझै एरिजोना र उत्तरी क्यारोलिनामा भने ट्रम्पभन्दा ह्यारिस पछाडि छिन् । ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने धेरैको विश्वास छ ।
राष्ट्रपतिको चुनाव जित्न उम्मेदवारलाई २७० इलेक्टोरल कलेज भोट चाहिन्छ । हालका सर्वेक्षणहरूले डेमोक्र्याटिक पार्टीले २२६ इलेक्टोरल कलेज भोट र रिपब्लिकन पार्टीले २१९ इलेक्टोरल कलेज मत सुनिश्चित गरेको देखाएका छन् । बाँकी ९३ मतहरू जता पनि जानसक्छ, त्यसैले को विजय हुने भन्ने निर्णय गर्नेछ ।
(बीबीसी हिन्दी सेवाबाट)