तीजको रमझम सकिँदैछ । हरेक नेपाली महिलामा तीजको हर्षोउल्लास र यसलाई ग्रहण गर्ने आ–आफनै शैली विकसित हुँदै आएको छ । तीज मनाउने, दर खाने क्रियाकलापमा परिर्वतन अनि परिमार्जन पनि भइरहेको छ ।
परम्परागत रुपमा चलिआएका दर खाने, तीज मनाउने तरिका परिर्वतन भएको धेरै जसोले महसुस गर्नुभएकै होला । समयको बदलिँदो क्रममा यो पर्वले महिलामा आ–आफनो गक्ष अनुसारको सकारात्मक परिर्वतन, दृढता र सशक्तीकरणका आयाम थपिँदै जानेछ कि भनेर आशा गर्न मन लाग्यो ।
यसै क्रममा तीजको एउटा पक्षको चर्चा गर्न मन लाग्यो । त्यो हो, ऋषिपञ्चमी जसमा भगवानको पूजा होइन कि सप्तऋषिहरूको पूजा गरिन्छ । ब्रत बसिन्छ । भनिएको छ महिला रजश्वला भएका बेलाको सम्पूर्ण दोष अर्थात् पापबाट छुटकारा पाइन्छ रे ।
त्यसो त, म यहाँ रजश्वला के हो र यसलाई महिलाको प्रजनन् स्वास्थ्यको महत्वपूर्ण प्रक्रिया हो जसले भोलिका सन्ततिलाई जन्मदिन महत्वपूर्ण भूमिका रहन्छ । यो पाप होइन भनी दोहोर्याएर बुझिसकेको मानसपटललाई वाक्क बनाउन लागेको होइन ।
कुरा के हो भने, ऋषिपञ्चमीमा, पञ्चमीपूजा, गौदान आदि इत्यादि भनेर पूजा लगाउने भन्ने परम्परा छ । सायद, महिलाहरू वरिपरि बसेर बीचमा ब्राह्मणलाई राखेर पूजा गरिरहेको, हातमा कुश–जल समातेर बसेको देख्नु भएको छ होला ।
यसै सन्दर्भमा मेरो आफ्नो अनुभव पनि सुनाउन मन लाग्यो । हुन त, म तीजको ब्रत बस्ने, ऋषिपञ्चमीको ब्रत बस्ने, अनि पञ्चमी पूजा लगाउने मान्छे होइन । तर एकपटकको तीजमा कति हासको बथानमा बकुल्ला हुनु, म पनि अरुसँगै मिल्नु पर्यो भनी ऋषिपञ्चमीमा, पञ्चमीको पूजा गर्न भनि मन्दिर गएँ ।
मन्दिरमा रातो साडी लगाएका हामी सबै बाह्मण वरिपरि पूजा लगाउन बस्यौ । पूजाकै क्रममा जौ–कुश समाएर बाह्मणले हात जोड्न लगाए, अनि सोधेँ, ‘तपाईको गोत्र के हो ?’
मेरा भाउजु, काकी, बहिनीहरूले आ–आफनो गोत्र भने, मैले पनि मेरो उही गोत्र भने । त्यसपछि बाह्मणले हप्काए, ‘विवाह भइसकेको होइन कसरी एउटै गोत्र हुन्छ ?’
त्यसपछि एक त म तीजब्रत, तीर्थ नै नमनाउने खालको धार्मिक मान्छे झन् यो गोत्रको लफडा बीचमा ल्याएपछि मेरो सहनशीलताको बाँध टुटयो । म त्यही त्यो जल चढाएर उठेँ । त्यहाँ विवाद गर्ने खालको वातावरण पनि थिएन ।
त्यसपछि मैले आफैँलाई प्रति प्रश्न गरिरहेँ । मेरो बुवा फलानो गोत्र, म उसको सन्तान अनि गोत्र भनेको जन्मसँग सम्बन्धित छ रे । परम्परादेखि ऋषि–मुनिका सन्तानको रुपमा जन्मदै आए अनुसारको गोत्र छुट्टिँदै आएको छ रे ।
तर म विवाह गर्ने बित्तिक्कै मेरो गोत्र परिर्वतन कसरी हुन्छ ? कतै यो टाउकोमा सिन्दुर हालेपछि र गलामा पोते लगाएपछि परिर्वतन हुने हो कि ? त्यसो हो भने त संसारमा धेरै महिलाले दोस्रो विवाह पनि गरेका छन्, के यो विवाह नै पिच्छे फेरिने हो त ? यो प्रश्नले धेरै समयसम्म म भौतारिरहेँ ।
अब तपार्इंलाई पनि लाग्यो होला गोत्र त विवाह गरे पछि कहाँ उही राख्न पाइन्छ त ? श्रीमानसँग बसेपछि श्रीमानकै गोत्र हुनुपर्छ नि । तर होइन, मैले बुझेको गोत्र जसको परम्परा एक मूल पुरुषसँग सम्बिन्धित रहेछ, अर्थात् व्यक्तिको जो पूर्वज हुन्छ त्यो एकै मात्र पुरुषसँग जोडिएको हने भन्ने थाहा पाएँ ।
अर्थात् कुनै एक ऋषिबाट उत्पन्न सन्तान समूह नै गोत्र भनिने रहेछ । यसमा रगतको सम्बन्ध पनि हुने रहेछ । भनेपछि जब रगतको सम्बन्ध छ, एक ऋषिबाट उन्पन्न सन्तानको सम्बन्ध छ भने मेरो गोत्र मेरो श्रीमान्को गोत्र कसरी हुन सक्छ ? के रातारात वा चौबिस घण्टा नबित्दै मेरो पूर्वज पनि परिर्वतन हुने हुन् र ?
ती त हुँदैनन् भने हाम्रा केही परम्पराले यहाँदेखि नै महिलालाई झुक्न र अर्काको शरण पर्न बाध्य बनाएको रहेछ । पुरुष जन्मदेखि मरणसम्म त्यही गोत्रमा रहने तर महिला भने विवाहपश्चात गोत्र परिर्वतन गर्दै हिँडने ।
लैङ्गिक विभेद, लैङ्गिक हिंसा, र महिलाको आफ्नो अस्तित्व, परिचयमा जन्मसिद्ध भनी आएको ऋषि वंशजलाई पनि परिर्वतन गरिदिएको रहेछ । अर्थात्, पितृसत्ता त सँधै पुरुषको अस्तित्व निरन्तर रहेको वंशजको लागि लालायित छ, अर्को पुरुष जन्माउनु छ र समाजमा वंशजको त्यो पनि पितृसत्ताको परम्परा कायमै राख्नु छ ।
यसका अर्को स्वार्थ पनि रहेछ त्यो के भने यदि महिलाले श्रीमानको गोत्र नचालाए त उसको परिवारप्रति समर्पित हँुदिन रे । परिवारको अनुष्ठान, रितिरिवाज मान्दिनन् अनि त महिला आफ्नो अस्तित्वमा आउने भइन् । पुरुष प्रधान समाजको कडीकडाई नटेर्ने भइन् ।
यी यावत कारणले पनि महिलाको गोत्र विवाहपश्चात् परिर्वतन गराउन लगाइएको हुन सक्ने दखियो । त्यसैले यहाँ सम्झिन पर्ने के छ भने महिलाको गोत्र विवाहपश्चात आफैँ परिर्वतन हुने होइन यो परिर्वन गराउन लगाइएको हो वा परिवर्तन गर्ने परम्परा बसाइएको हो ।
लैङ्गिक विभेदको धरातलबाट हेर्दा एक महिलालाई उसको आत्मसम्मान, उसको अस्तित्वमा अडिने, तिमी केही होइनौ । यो सबै हामीले दिएका हौं, त्यसैले तिमीले हाम्रो हैकम नै मान्नुपर्छ । हिङ नभए पनि हिङ बाधेर राखेको टालो नै बाँकी भए पनि तिम्रो पुरुषार्थ केही हैन तिमी हामीभन्दा पछि हौँ । अनि हामीभन्दा पछि नै रहने हौँ भनिरहेकै हुन्छ चाहे त्यो घर या समाज, या राज्यसत्तामा होस् महिलामाथि हेर्ने दृष्टिकोणका कारण महिला पछाडिनै छन् ।
सप्तऋषिले सन्तान जन्माउँदा त छाडेका थिएनन् होला नि कि महिला र परुषमा यसरी भेदभाव गर्नुपर्छ भनेर विभेदका परम्परा बसालेर गएका थिएनन् होला नि ।
चाहे प्रसंग तीज या ऋषि पञ्जमीको होस् चाहे परम्परागत पहिचानको होस्, आज तीजको रमाइलो गर्ने चलन, परम्परा परिमाजर्नन गर्न सक्ने महिलाले यसभित्र रहेका विभेद र वाधाहरू जसले महिला आत्मनिर्भर हुन, सशक्त हुँदै घरदेखि देश हाँक्न सक्ने प्रयासमा अघि बढ्छन् होला भन्ने भरोसा राख्न संकोच ल्याउँछ त्यस्ता अभ्यासलाई नियाल्ने बेला आएको छ ।
रमाइलो र मनोरञ्जनभित्र पनि नारी तिमीले आफू र आफ्नो अस्तित्वलाई चिन्नुपर्ने समय आइसकेको छ । चाडपर्व र धर्मले सधैं भाइचारा, सत्कर्म, सद्विचार, सद्भाव, सदाचार र परोपकार नै सिकाउँछ ।
यसको मूल मर्म बुझेर अघि जाने हो भने यसमा भएका कुरीति र कुप्रथालाई परिमार्जन गर्दै विभेदरहित परम्परा बसाल्ने हो भने हाम्रा चाडपर्वले हामीलाई सधै एक नयाँ उर्जा र उत्प्रेरण दिन्छ । यसमा महिला शसक्तीकरणका प्रयासहरू प्रत्यक्ष व्यवहारिक रुपमा उब्जिरहेको देख्न सकिन्छ कि भन्ने आशा पलाएको छ ।