site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
सालिक

यहाँ रूनलायक कुन त्यस्तो कुरा छ ? किन रोई त्यो ? म क्षुब्ध भएँ त्यसको रुवाइले ।

किन त्यसरी दौडेकी मूल सडकमा ? के त्यो देखाउन चाहन्छे, त्यससँग मात्रै आँसु छ ? अथवा त्यसले मात्रै रून जानेकी छ ? के अधिकार त्यसको त्यसरी डाँको छोडेर रून ? को हो त्यो ?

आखिर यो सडक नि ? त्यो यस सडकमा यसकारण दौडिई, किनभने, यो सडक छ । सडक नभएको भए कहाँ दौडन्थी त्यो ? यो चिल्लो, चाक्लो सडकमा त्यसरी दौडिँदा त्यसलाई अवश्य आनन्द प्राप्त हुनुपर्ने र त्यही आनन्दको लोभले त्यो दौडेकी हो अन्यथा किन दौडन्थी ? किन म रोइनँ । किन म दौडिन ? के म दौडन सक्तिन ? के म रून सक्तिनँ ?

Dabur Nepal
NIC Asia

त्यसलाई पोइले कुट्यो होला । पोइले त हजारौँलाई सधैँ कुट्छन् । त्यसलाई सासूले निकालिदिई होली । हरेक बुहारी सासूका सौताझैँ हुन्छन् । त्यसको छोरो मोटरले कुल्चिएर मर्‍यो होला । त्यस्ताका छोरा हुनु र मोटरका पाङ्ग्र्रा हुनुको सार्थकता हो त्यो ।

त्यसको पोइ विदेशमा लडाइँमा मर्‍यो होला । नेपाली हुनाको अर्थ त्यही त हो । त्यसकी छोरी खान नपाएर मरी होली । दालभात नपाए दूधभात किन ख्वाइन त्यसले ? त्यसको घर भुइँचालाले भत्कायो, खेत खोलाले लग्यो, अन्न साहूले लगे होलान् ।

यो संसारमा चलेको साधारण चलन हो त्यो, त्यसमा रूनु पर्ने के कारण छ ? किन रोई त्यो ? त्यसको टाउको फोर्नु पर्छ । त्यो बेहोस हुन्छे । अनि चुप लाग्छे । त्यस्ताको ओखती त्यै हो ।

त्यसको छातीमा नीला नसाको जालो प्रस्ट देखिन्थ्यो । डाँको छोड्दा घाँटीका नसा दोब्बर तेब्बर मोटा हुन्थे । झाँक्रो लथालिङ्ग थियो । च्यातिएको चोलो र टालेको गुन्यू अस्तव्यस्त थियो । त्यसको शरीर भन्थ्यो– त्यो चारपाँच सन्तानकी आमा हो ।

के त्यस्तो रूपरङ्ग र हबिगत त्यसको मात्रै छ ? त्यसले कसबाट सहानुभूति पाउन चाहेकी हो ? किन कसैले त्यसलाई माया दिने ? ऐना अगाडि उभिँदा हरेक पैदल हिँड्ने त्यस्तै छैन र ? अनि पैदल हिँड्नेलाई नै किन त्यसले आकृष्ट गर्न खोजेकी ? त्यसरी सडकमा किन रूँदै कुदेकी ?

पक्का पनि त्यो त्यसको अभिनय हो । सिनेमा हेर्दाहेर्दा त्यो अभिनयमा सिपालु भएकी होली । त्यसको सप्को अभिनेत्रीको स्टाइलले पाखुरामा अडेको थियो । त्यसका आँखामा पक्का पनि नक्कली आँसु थिए । त्यो मनैदेखि रोएकी होइन । पक्का पनि होइन... त्यो कुनै सिनेमाकी हिरोइन हो । सुटिङ्गको क्रममा त्यो दौडेकी हो त्यसरी छाल पारेर ।

आखिर यो सडक किन छ ? सडक नभए म यसरी आएर उभिइरहने थिइनँ । मैले केही देख्ने थिइनँ । न रूने । न गाउने । न हाँस्ने । न मोटर । न काग । र म यसरी हरेक चीज हेरेर वा देखेर यसरी क्षुब्ध हुने थिइनँ ।

काग देख्दा जसरी बन्दुकले भुतुक्कै पारिदिउँजस्तो लाग्छ, कार देख्दा त्यसरी नै बमले उडाइदिउँजस्तो लाग्ने थिएन । सालिकझैँ यसरी दोबाटामा उभिएर जिन्दगी बिताउनुपर्ने थिएन र यो क्षुब्ध हुने बानी लाग्ने थिएन । विकृति पलाउने थिएन ।

एउटी तरूनी यै बाटो गै । मलाई त्यसको केशविन्यास मन परेन, किनभने सबभन्दा पैले मेरा आँखा त्यसको कपालमा पर्‍यो । अर्थात् जेमा पर्दथ्यो त्यै मन पर्ने थिएन । मैले केही त मन पराइदिएको भए पनि त हुन्थ्यो ।

एउटा बूढो निस्क्यो, मलाई त्यसको टोपी ढल्काइ मन परेन । एउटा कार दगुर्‍यो, मलाई त्यसको नम्बर लेखाइ मन परेन । एउटा हकर आयो, मलाई त्यसको समाचारको हेडलाइन दोहोर्‍याइ मन परेन ।

अर्थात् म जेमा पनि खोट पाउन थालेको छु । राम्रो, ठीक, मनासिब भन्ने कुरा कतै पनि देख्तिनँ म । त्यस्ता मान्छेलाई चाहिँ मलाई गोली ठोकेर मारिदिइहाल्न मन लाग्छ जो मेरो विपरीत जेमा पनि राम्रो, असल र गतिलो फेला पार्छन् ।

जससँग जम्काभेट हुन्छ, त्यससँग जोरी खोज्न मन लाग्छ । यद्यपि सालिकझैँ उभिनुभन्दा बढी मबाट केही पनि हुन सक्तैन । रूनु, हाँस्नु, प्रशंसा गर्नु, क्षमा याचना गर्नु, मभन्दा परका कुरा हुन् । केवल म क्षुब्ध हुन सक्छु– क्षुब्ध । तर क्षुब्ध सालिकले के गर्न सक्छ ?

मेरा हात, पाखुरा, खुट्टा हाडछालाका नभएर ढुङ्गाका छन् । देशकालको कन्टिन्युअममा, निरन्तरतामा म ढुङ्गाको मूर्ति कुँदिएर जडिएको छु । आफूले आफैंलाई जडेको छु । आफ्ना मूल प्रवृत्ति र कमजोरीबाट मुक्त छैन । न मुक्त हुन सक्छु भन्ने भ्रममा नै छु ।

वस्तुतः म आधा होसमा आधा बेहोसको स्थितिमा हुन्छु । साधारण मान्छेको दोब्बरमात मलाई सधैँभरि लागेको हुन्छ । म असन्तुलित हुन्छु । क्षुब्ध हुन्छु । क्षुब्ध सालिक । विचरा !

भर्खर एउटा मोटर गयो । स्टेरिङ्गको भुँडे यसरी हाँस्तै गयो मानौँ सम्पूर्ण हाँस्ने ठेक्का त्यसैले लिएको छ । किन हाँसेको त्यो यसरी ? के त्यो कार त्यसले चिठ्ठा पारेको हो ? किन कसैले आँखा गाडेको कान्छीलाई फकायो ? म समयौन प्रवृत्तिको भएको भए अवश्य पनि उत्तेजित हुन्थेँ हुँला त्यसको हिन्दुस्तानी हिरोजस्तो, पाक्कपुक्क परेकी आइमाईको जस्ता अनुहार देखेर । जुन अनुहारमा त्यसले हाँस्न रूचायो त्यस अनुहारलाई म थुक्न पनि चाहन्नँ ।

त्यसको कार सय किलोमिटरको गतिमा गयो । के त्यसको कार मात्रै हुइकिन्छ त्यसरी ? किन हाँसे ? आफ्नु प्रभुत्व जमाउन खोजेको ? के मेरो कार छैन ? के म त्यसरी हाँस्न र दौडाउन सक्तिनँ ?

यसरी हाँस्नेहरूलाई जरैदेखि उखेलेर फ्याँक्नुपर्छ । किन हाँस्ने हँ ? बित्थामा । माने न मलतब । के छ हाँसो लाग्ने कुरो ? को छ हास्यास्पद ? किन संसारलाई हाँस्छु, हाँस्न सक्छु भनेर विज्ञापन गर्ने ? कसको हाँसोसँग कसलाई सरोकार छ ? कसको रूवाइ र यातनासँग कसलाई मतलब छ ?

आह ! म यसरी भित्तामा जडान भएर बस्न चाहन्नँ । म यसरी ढुङ्गामा कुँदिएर बस्न चाहन्नँ । म दोबाटामा उभिएर जिन्दगी बिताउन चाहन्नँ । म आफ्नो खोक्रो टाउकामा क्षोभ भर्न चाहन्नँ । मलाई जीवन देऊ । म उन्मुक्त वातावरणमा सास फेर्न चाहन्छु, म आफ्ना खुट्टाले रोपाईं गर्न र आफ्ना पाखुराले धान काट्न चाहन्छु । मलाई खेत देऊ । मलाई नदी देऊ । म पौडन चाहन्छु । मलाई शत्रु चिनाइदेऊ म युद्ध गर्न चाहन्छु । म मुक्ति चाहन्छु । म यो कुनै रमिता हेर्न चाहन्नँ । न काग । न कार । न क्रन्दन । न हाँसो । आह ! मलाई कैद होइन, जीवन देऊ । सक्छौ ?

(२०२० को दशकमा प्रकाशित)
(‘जगदीश घिमिरेका प्रतिनिधि कथाहरू’बाट ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro