काठमाडौंलगायत केही जिल्ला प्रशासन कार्यालयले तीज मनाउँदा तडकभडक नगर्न उर्दी जारी गरेका छन् । उर्दीमा ‘तडकभडक’ गरेको देखिएमा कानुनबमोजिम कारबाही हुने डर देखाएको छ ।
अरू पर्वजस्तै तिज मनाउने शैली पनि बदलिँदै गएको छ । परिवर्तनका क्रममा राम्रोसँगै नराम्रो लाग्ने प्रवृत्ति पनि भित्रिन्छ । यसैले परिवर्तनमा विकृतिमात्र देख्नु दृष्टि दोष हो । विकृति त सामाजिक परिवर्तन रोक्न वा निर्देशित गर्न राज्य सत्ता प्रयोग गर्ने सोचमा हुन्छ । शासकहरूले समय र समाजमा भएको परिवर्तन नबुझेका हुन् कि बुझ पचाएका ?
केही दिन पहिले तीजको गीत पनि कस्तो गाउने र कस्तो नगाउने भन्दै एउटा संस्थाले उर्दी जारी गरेको थियो । एक्काइसौं शताब्दीमा यो मध्ययुगीन सोच कहाँबाट आयो ? तीजको गीत कला हो । कलालाई दण्डको डर देखाएर तह लगाउन खोज्नु मध्ययुगीन अन्धकारमा बाँच्ने चाहनाजस्तै हो । सिर्जनाले कसैको अङ्कुश वा निर्देशन मान्दैन ।
चाडपर्वमा तडकभडक गर्ने कि नगर्ने व्यक्ति वा समूह विशेषको रोजाइमा हुन्छ । गीत कस्तो गाउने भन्ने निर्णय राज्यले नभई गायकगायिकाले नै गर्ने विषय हो । नेपालले अपनाएको राजनीतिक पद्धति, नेपाली समाजमा देखिएको परिवर्तन र जीवन शैली सबै आधुनिक र उदार छन् । यसैले शासक प्रशासकले पनि पञ्चायत कालको नियन्त्रणकारी सोच त्याग्नुपर्छ ।
सरकारी खर्चमा तडकभडक गर्नु अनुचित हो । तीज वा कुनै उत्सव मनाउँदा अरूलाई मर्का पार्नु हुँदैन । यस्तै राज्यले पनि ‘नैतिक प्रहरी’ बन्न खोज्नु हुँदैन ।अहिले कालजयी मानिएका कतिपय कलात्मक सिर्जनाहरूलाई उतिबेलाका शासकले आपत्तिजनक, अश्लील ठानेर प्रतिबन्ध लगाएका थिए । नेपालमै कुनै दिन पुस्तकालय खोल्दा कैद सजाय हुन्थ्यो ।
तीजको नाचगानमा पहिले पुरुषहरू नाच्दैनथे । दरमा पनि पुरुषहरू सामेल हुँदैनथिए । अब पुरुषहरूलाई तीजको उत्सवमा सम्मिलित हुन प्रतिबन्ध लगाउन सम्भव र उपयुक्त होला ?
पञ्चायत कालका अनुदार ऐनहरू उद्धृत गर्दै गरिएको अनुरोध पनि धम्की नै हो । यस्तै ‘उटपट्याङ’ उर्दी जारी गरेर प्रशासकहरूले सरकारी आदेश कसैले नटेर्ने बनाइसके । अग्रगमनका पक्षधर सांसदहरूले यस्ता विसङ्गत आदेशहरू र कानुन खारेज गर्न सरकारको ध्यानाकर्षण गर्नुपर्छ । प्रशासकहरूले पनि युगसापेक्ष उदार सोच र शैली अपनाउनु उचित हुन्छ ।