site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखराले सार्वजनिक सुनुवाइमा नगर सदस्यलाई नबोलाएको हो ?

पोखरा । पोखरा महानगरपालिकाले आज (शुक्रबार) २ बजे  सार्वजनिक सुनुवाइ गर्दै छ । त्यसका लागि महानगरपालिकाले निर्वाचित जनप्रतिनिधीलाई ‘म्यासेज’मार्फत उपस्थित हुन अनुरोध गरेको छ ।

“श्री वडाध्यक्षज्यूहरू सबै, कार्यपालिका सदस्यज्यूहरू सबै, महाशाखा प्रमुखज्यूहरू सबै, पोखरा महानगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिका लागि सादर अनुरोध छ ।” महानगरपालिकाले पठाएको म्यासेजमा भनिएको छ ।

शुक्रबार दिउँसो २ बजे पोखरा सभागृहमा कार्यक्रम हुने पनि जानकारी दिइएको छ । तर, महानगरले पठाएको यो सन्देशलाई लिएर नगरसदस्यहरुले भने विमति जनाएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म्यासेज वडाध्यक्षदेखि कार्यपालिका सदस्य र महाशाखा प्रमुखलाई बोलाइएको छ । तर, नगरसदस्यहरूलाई भने सम्बोधन गरिएको छैन ।

त्यसकै विरोधमा महानगरका चार सदस्यले कार्यक्रमको विरोध गरेका छन् । उनीहरूले जनप्रतिनिधिलाई विभेद गरेको भन्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष लिखित निवेदन पेस गरेका छन् ।

पोखरा ४ का वडा सदस्य प्रकाश कोइराला, ३३ का प्रकाश कार्की, ११ का सुशील बास्तोला र १० का पूर्णचन्द्र न्यौपानेले पत्र लेखेर वडा सदस्यलाई विभेद गरिएको भन्दै विरोध जनाएका छन् ।

उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको पत्रमा वडासदस्यहरूलाई पनि कार्यक्रममा निम्ता गर्न माग गरेका छन् ।

उनीहरूले पत्रमार्फत निम्न माग राखेका छन् :
– आगामी दिनमा आयोजना गरिने यस्ता सार्वजनिक कार्यक्रमहरूमा वडा सदस्यहरूको अनिवार्य सहभागिता सुनिश्चित गरियोस् ।
– वडा सदस्यलाई बेवास्ता गर्ने कुनै पनि कार्य प्रणाली तत्काल सच्याइयोस् ।
– यस प्रकारको असमान र विभेदकारी कार्यशैलीप्रति नगरप्रशासनले ध्यानाकर्षण गराउन चाहान्छौँ ।

शुक्रबारकै सार्वजनिक सुनुवाइ कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ पोखरा बाहिर रहने जानकारी आएको हुँदा उपप्रमुखसँग सम्बन्धित प्रश्नको जवाफ कसले दिन्छ भन्ने प्रश्न पनि उनीहरुले उठाएका छन् । 

“सार्वजनिक सुनुवाइ स्थानीय सरकारको पारदर्शिता प्रक्रियामा अत्यन्त महत्वपूर्ण र निर्णयकारी भूमिका राख्ने संवैधानिक अंग हो । सार्वजनिक सुनुवाइजस्ता सहभागी लोकतन्त्र प्रवद्र्धन गर्ने अवसरहरूमा सम्पूर्ण वडा सदस्यको सहभागिता अपरिहार्य र न्यायसंगत हुनुपर्दछ,” पत्रमा भनिएको छ ।

उनीहरूले वडासदस्यहरूको काम नगरसभामा जाने मासुभात खाने र ताली पड्काउने मात्र नरहेको चेतावनी समेत दिएका छन् ।

पोखरा महानगरपालिकाले भने यसअघि पठाइएको म्यासेजमा गल्ती भएको स्वीकार गरेको छ । वडा सदस्यहरूलाई समेत सम्बोधन गरेर नयाँ म्यासेज पठाएको महानगरले जनाएको छ ।

“हामीले करेक्सन मेसेज पठाएका छौँ, उहाँलाई नबोलाइएको होइन, बोलाएका छौँ,” महानगरका प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले भने ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १४:३४
प्रतिक्रिया दिनुहोस्