काठमाडौं । अनिता अधिकारीले भदौ ६ गते अमेरिकामा रहेकी छोरी मुना पाण्डेसँग कुराकानी गरेकी थिइन् । त्यो कुराकानीमा मुनाले आमा अनितालाई भनेकी थिइन्, “अब एक वर्षमात्र बाँकी छ मम्मी, यति सकेपछि त म पनि नेपाल आइहाल्छु !”
छोरीसँग त्यही कुराकानी अन्तिम होला भन्ने अनिताले सायदै कल्पना गरेकी थिइन् । अमेरिकाको ह्युस्टनमा बसेर नर्सिङ्ग पढिरहेकी मुना सोमबार अपराह्न आफ्नै कोठामा मृत भेटिइन् । उनलाई उनकै कोठमा गोली हानेर मारिएको आशंका गरिएको छ ।
मुनाले नेपालमा रहेकी आमासँग गत बिहीबार (६ भदौ) मा अन्तिम पटक कुराकानी गरेकी थिइन् । अनिता सुनाउँछिन्, ‘‘अस्ती शुक्रबारबाट कुरा भएको थिएन । मैले म्यासेज गरे पनि उनले ‘सिन’ गरेकी थिइन् ।’’
अनितालाई लाग्यो कि छोरी काम र पढाइमा व्यस्त होलिन् । चार दिनसम्म छोरी सम्र्पकमा नआएपछि अनिताको मनमा चिसो पस्यो । ‘‘बिरामी पो भइ कि ! केही समस्या पो पर्यो कि भन्ने लाग्यो,’’ अनिता भन्छिन् ।
सोमबार साँझ मुनाकी साथीले अनितालाई फोन गरिन् ।
मुनालाई कसैले गोली हानेर मारेको कुरा सुनिन् अनिताले । यति सुनिनसक्दै अनिताको संसार अँध्यारो भयो । ‘‘मेरो त संसारै हल्लियो,’’ भक्कानिँदै अनिताले भनिन् ।
छोरीको हत्या भएको खबर सुनेयता अनिताका आँखा ओभाएका छैनन् । त्यो घटना सुनेयता राजधानी काठमाडौंको काँडाघारीस्थित कोठामा अनिता बारम्बार मुर्छा पर्छिन् । छरछिमेकी र आफन्तहरू पानी छम्केर उनलाई ब्युँझाउँछन् ।
सन् २०२१ मा प्लस टु पास गरेर मुना नर्सिङ्ग अध्ययन गर्न अमेरिका गएकी थिइन् ।
अनिताकी एक्ली सन्तान हुन्, मुना । अनिताले श्रीमानबाट निरन्तर घरेलु हिंसाको शिकार भएको भन्दै सातवर्ष अगाडि सम्बन्ध विच्छेद गरेकी थिइन् । भोजपुरकी अनिताले २०५८ मा विवाह गरेकी थिइन् ।
‘‘फोटो स्टुडियो चलाएर मैले छोरीको लालनपालन गरेकी हुँ,’’ उनी सम्झिन्छिन् । विवाहपछि फोटोग्राफीको तालिम लिएकी अनिताले यही पेशाबाट आर्जेको पैसाले छोरीलाई अमेरिका पठाएकी थिइन् ।
अमेरिकामा मुनाको अध्ययन अब एकवर्ष मात्र बाँकी थियो । अन्तिम फोन हुँदा मुनाले आमा अनितासँग भनेकी थिइन्, ‘‘अब एक वर्ष मात्र बाँकी छ मम्मी, यति सकेपछि त म पनि नेपाल आइहाल्छु ।’’ तर अनिताको नेपाल फर्किने त्यो दिन कहिल्यै आएन ।
अमेरिकामा नेपाली विद्यार्थीको गोली हानी हत्या
मुनाको शव राखिएको अस्पतालले अनितालाई फोन गरेर तीन हप्तासम्म शव सुरक्षित राखिदिने जानकारी दिएको छ । ‘‘शव लिन यतै आए पनि हुन्छ नभए नेपाल पनि पठाइदिन्छौं भनेका छन्,’’ अनिताले भनिन् ।
उनलाई अमेरिका पुगेर अन्तिमपल्ट भए पनि छोरीको अनुहार हेर्न मन छ । किनभने अनितालाई छोरीको त्यो कोठा हेर्न मन छ, छोरीले बाँचेको संसार एकपटक चिहाउन मन छ । भन्छिन्, ‘‘विदेशको ठाउँमा के–कसो हुने हो थाह छैन । तर, म एकचोटी उता जान चाहन्छु ।’’
अनिताका अनुसार, एक वर्ष अगाडिसम्म अनितासँग उनका साथी बस्थे । पछिल्लो एक वर्षयता अनिता एक्लै बसिरहेकी थिइन् । गतवर्ष पुसमा एकजना अमेरिकी युवकले आफूलाई प्रेम प्रस्ताव राखेको कुरा आमालाई सुनाएकी थिइन्, अनिताले ।
अनिताका अनुसार, मुना ती युवकसँग प्रेम सम्बन्धमा थिइन् ।
‘‘तीन महिना जति भयो होला, छोरीले त्यो केटा त व्यवहारिक छैन, सम्बन्धमा सिरियस छैन भनेकी थिइन्,’’ अनिताले सुनाइन् ।
समाचारमा उल्लेख भए अनुसार, प्रहरीले अनिताको फ्ल्याटमा भएका सीसीटीभी फुटेज अध्ययन गरिरहेको छ । हत्याराले मुनाको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ ।
मुनाले काम गर्ने गरेको मोबाइल फोन स्टोरका सञ्चालकले जानकारी दिएअनुसार हत्या शनिबार नै भएको अनुमान गरिएको छ । आफूले भोगेको घरेलु हिंसाले छोरीलाई पनि असर गर्न थालेपछि अनिताले श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् ।
अमेरिकामा अपार्टमेन्टभित्रै पसेर गोली हानिएको थियो मुनालाई
‘‘सधैँको टोकेसो सहन सकिनँ, छोरीलाई पनि यातना दिन थालेपछि नानीकै लागि भनेर डिभोर्स गरेकी हुँ,’’ अनिताको भन्छिन् । मुनाको संसार थिइन् अनिता, अनिताको संसार मुना । दुःखको पहाड उचालेर अनिताले छोरीलाई पढाइन् । सुन्दर भविष्य कल्पिदै अमेरिका पठाइन् । एक वर्षपछि फर्केर म नेपालमै काम गर्छु, तपाईंलाई सुविस्ता हुन्छ भन्थिन् मुना ।
जसका लागि अनिताले परिवार, श्रीमान् त्यागिन्, आज उनी नै यो संसारमा रहिनन् । जीवनमा आशाको डोरी चुँडिएपछि एक्ली बनेकी अनिता दैवसँग प्रश्न गर्छिन्, ‘‘भगवानले के गरे यस्तो ? यो कुन जन्मको पाप हो ?’’
उनलाई सान्त्वना दिन आएका छरछिमेकीहरू सान्त्वना दिन खोज्छन्, आफ्नै प्रश्नको जवाफमा अनिता सुस्केरा काढ्छिन् ।
छोरीकै लागि बाँचेकी अनिता यतिखेर असहाय बनेकी छिन्, एक्लिएकी छिन्, ‘‘मेरो त संसारै सकियो । नानीकै लागि बाँचेकी थिएँ । मेरो त संसारै सकियो ।’’ अनिता अमेरिका पुगेर छोरीको अनुहार हेर्न चाहन्छिन् । उनी आफन्त गुहार्दै भन्छिन्, ‘‘मलाई उता पु¥याइदेओ, नानीको अनुहार देखादेओ ।’’