site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुप्तचर प्रतिवेदन– ‘अभियान्ता’ प्रर्दशनले सुरक्षा जोखिम, कसले फैलाउँदैछ देशभर ‘बम’ आतंक ?
फाइल तस्बिर

काठमाडौं । चार दिनअघि आइतबार धनगढीमा शंकास्पद वस्तु फेला पर्‍यो । उक्त शंकास्पद वस्तु कांग्रेस सभापति शेरबहादुर देउवाको घर नजिक राखिएको थियो ।  धनगढी उपमहानगरपालिका–४ मा रहेको उक्त घर देउवाकी श्रीमती आरजु राणा देउवा २०७४ को चुनावमा प्रतिनिधि सभा सदस्यको उमेदवार हुँदा खरिद गरेकी थिइन् ।

राति १२ बजे राखेको उक्त बम बिहानमात्रै नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको थियो ।  कैलालीका प्रहरी प्रमुख एसपी पदम विष्टका अनुसार अज्ञात समूहले स्टिलको भाँडाभित्र विभिन्न वस्तु हालेर ‘बम’ को आतंक दिन खोजेका हुन् ।

उनी भन्छन्, “बम होइन । तर, बमजस्तै देखाउन अज्ञात समूहले आतंकित मात्रै गरेका हुन् ।”

कैलालीमामात्रै होइन यसअघि डडेल्धुरामा समेत शंकास्पद वस्तु भेटिएको थियो ।  यसरी नै भदौ ६ गते काठमाडौंको चन्द्रागिरी नगरपालिकाको बलम्बुस्कुलमा समेत शंकास्पद वस्तु फेला परेको थियो । बलम्बुमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको चन्द्रागिरीस्थित श्री शेर गणबाट खटिएको सेनाको टोलीले डिस्पोज गरेको थियो । 

यीबाहेक पनि पछिल्लो समय देशभर ‘बम’ नाममा आतंक गर्न विभिन्न ठाउँमा नक्कली बम ‘होक्स’ राख्ने घटना बढेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले चन्दा माग्ने समूहले आतंक सृजना गर्न अवाञ्छित गतिविधि गर्न खोजेको बताए । 

“कसको समूहले यस्तो गतिविधि गर्दै छ भन्ने बारेमा हामी अनुसन्धान गर्दैछौँ । केही क्लु फेला परेका पनि छन् । समाजलाई आतंकित पार्ने समूहलाई हामी कानुनी दायरामा ल्याउछौँ,” डीआईजी कार्कीले भने ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो डेढ महिनामा मात्रै एक दर्जन ‘होक्स’ फेला परेका छन् । उक्त वस्तुहरुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

२०७७ सालमै भूमिगत राजनीतिबाट नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको पार्टी मूलधारको राजनीतिमा आएपछि कुनै अप्रिय घटना भएका छैनन् ।  विप्लव नेतृत्वको पार्टी भूमिगत हुँदा भने काठमाडौंसहित देशभरमा विभिन्न ठाउँमा बम विस्फोटका घटना हुँदा कतिपयको ज्यानसमेत गएको थियो ।

बाँस्तोला समूह सक्रिय रहेको सुरक्षा निकायको विश्लेषण

काठमाडौं सहित पछिल्लो समय देशभर भेटिएका शंकास्पद वस्तु धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले राख्ने गरेको सुरक्षा निकायको विश्लेषण छ ।

विभिन्न ठाउँमा राखेका शंकास्पद वस्तुबारे प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ ले चन्दा आतंक सृजना गर्ने मूख्य उद्देश्यले नेकपा बहुमतको समूह सक्रिय रहेको निष्कर्ष निकालेको हो ।  विभिन्न ठाउँबाट प्रहरीले नेकपा बहुमत पार्टीले संकलन गर्न छापको चन्दाको रसिदसमेत बरामद गरेको छ ।

प्रहरी स्रोतले भन्यो, “चन्दा संकलन र शंकास्पद वस्तु राख्ने समूह धर्मेन्द्र बास्तोला समूह नै हो । शंकास्पद वस्तु भेटिएको ठाउँमा बाँस्तोला समूहकै केही व्यक्तिको पहिचान पनि भएको छ । हामी चाँडै पक्राउ गर्छौं ।”

यसअघि नेत्रविक्रम चन्द विप्लवसँगै भूमिगत भएका बाँस्तोला ललितपुरको दक्षिण भेगबाट पक्राउ परेका थिए ।  लामो समय नख्खु कारागार बसेका थिए । २०७७ मै विप्लव र तल्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारबीच तीनबुँदे सहमति पछि छुटेका थिए ।

तर, पछि विप्लवसँग नै आन्तरिक द्वन्द्वपछि धर्मेन्द्र बाँस्तोलाले ‘विप्लव’ संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि जनाउँदै २०७९ वैशाखमा नयाँ नेपाल कम्युनिष्ट पार्टी बहुमत गठन गरेका हुन् ।

नयाँ आफ्नो पार्टीको कार्यनीति वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने र मुलुकको समृद्धि र स्वाधिनताको नारालाई अघि बढाउने बताउँदै आएका छन् । तर, उनको समूह राजनीतिक नाराभन्दा पनि चन्दा संकलनमा लागेको सुरक्षा निकाय स्रोतको दाबी छ ।

तर, बहुमत पार्टीका केन्द्रीय सदस्य दिपक चलाउनेले भने आफ्नो पार्टीको उद्देश्य कसैलाई पनि डर र धम्की दिने भन्ने नभएको र बम राख्ने गतिविधिमा पनि संलग्न नरहेको बताए ।

उनले भने, “हामीले कसैलाई पनि धम्क्याएर चन्दा आतंक गर्ने काम गरेका छैनौँ । कसैले सहयोग दिन्छन् भने त्यो छुट्टै कुरा हो । हामीले पार्टीको पर्चासमेत छापेका छैनौँ, कसैले हाम्रो पार्टीमाथि षडयन्त्र पनि गरेको हुन सक्छ । त्यो एक सय प्रतिशत झुटो हो ।”

गुप्तचरको विश्लेषण– अभियान्ताको नाममा सुरक्षा चुनौती

पछिल्लो समय सरकारले शान्ति सुरक्षा र सामाजिक सञ्जालमार्फत राजनीतिक पार्टी र शीर्ष नेताहरुमाथि नै हुने घृणा फैलाउने र गालीगलौच गर्ने प्रवृतिमाथि चासो दिएको छ ।

सोमबार काठमाडौं प्रहरी परिसरको नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा आलीले भनेका थिए, “नेतामाथि घृणा फैलाउने । सामाजिक सद्भाव भड्काउन खोज्ने तत्वलाई विरोध गर्न कारण चाहिँदैन । सामाजिक सञ्जालतिर हेरे हुन्छ । यस्ता मानिसहरु भत्ता पचाउँन र सद्भाव भड्काउन विरोध गर्छन् । यत्तिकै गरिएको छैन ।”

देशको आन्तरिक सुरक्षाको सुक्ष्म ढंगले विश्लेषण गर्ने राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ ले पनि पछिल्लो समय सामाजिक सञ्जालमार्फत हुने सरकारको विरोध र त्यस्ता प्रवृतिका मानिसका कारण सुरक्षा चुनौती बढेको विश्लेषण गरेको छ ।

गुप्तचरका एक उच्च अधिकारीका अनुसार सामाजिक सञ्जालमार्फत विरोध गर्ने, घृणा फैलाउने र त्यही मानिसले विभिन्न खाले प्रर्दशनका नाममा सडकमा युवाहरु उतार्दा हिंसात्मक हुन सक्ने देखिएको विश्लेषण गरिएको छ ।

ती अधिकारीले भने, “धर्म र घृणाबाट फैलिने प्रर्दशन उग्र र हिंसात्मक हुन सक्छ । हामीले पछिल्ला घटनाबारे प्रधानमन्त्रीलाई रिपोर्टसमेत दिइसकेका छौँ ।”

गुप्तचरले दिएको रिपोर्टमा सामाजिक सद्भाव भड्काउने अभियानमा संलग्नहरुको गतिविधिलाई समेत निगरानीमा राखिएको उल्लेख छ । त्यसमा केही अभियान्ताको नामसमेत रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro