site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
अन्तरिक्षमा फसेका दुई अन्तरिक्षयात्री फेब्रुअरीमा फिर्ता हुने, के हो समस्या ?
तस्बिर : एएफपी ।

काठमाडौं । अन्तरिक्षमा दुई महिनाभन्दा लामो समयदेखि फसेका अन्तरिक्षयात्री आउँदो फेब्रुअरीमा पृथ्वीमा फिर्ता हुने भएका छन् । अन्तरिक्षयात्री सुनीता विलियम्स र ब्यारी विल्मोर अन्तरिक्षबाट करिब नौ महिनापछि मात्र पृथ्वीमा फर्कने भएका हुन् ।

उनीहरू दुवैजना बोइङको स्टारलाइनर अन्तरिक्षयानबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा पुगेका थिए । आठ दिनको अन्तरिक्ष मिसनका निम्ति गएको जुन ५ मा उनीहरू त्यहाँ पुगेका थिए ।

उनीहरू अन्तरिक्षतर्फ उडेको बोइङको यान स्टारलाइनरमा बाटोमै हिलियमको चुहावटदेखि थ्रस्टरले काम नगरेपछि समस्या आएको थियो ।

नासाले बोइङ र स्पेसएक्ससँग व्यावसायिक उडान उपलब्ध गराउन अर्बाैँ डलरको सम्झौता गरेको थियो । त्यसअन्तर्गत एलन मस्कको स्पेसएक्सले २.६ अर्ब डलर मात्र पाएको थियो । बोइङले ४.२ अर्ब डलर पाएको थियो ।

स्पेसएक्सले हालसम्म नौ यात्रुसहितका सफल उडान गरिसकेको छ । केही व्यावसायिक उडान पनि गरिसेकेको छ । बोइङको भने पहिलो यात्रुसहितको अन्तरिक्ष उडानमै अन्तरिक्षयात्री त्यहाँ अडिन पुगेका हुन् ।

बोइङ र नासाका इन्जिनियरले अन्तरिक्ष र पृथ्वीबाट डाटा संकलन गरी स्टारलाइनर यानको समस्या पहिचान गर्न खोजिरहेका छन् ।

नासाका प्रशासक बिल नेल्सनले शनिबार एक पत्रकार सम्मेलनमा अन्तरिक्षयानमा कस्ता सुधार गर्नुपर्ने भन्ने बुझ्न बोइङले आफूहरूसँग मिलेर काम गरिरहेको बताएका थिए । उनले सबैभन्दा सुरक्षित उडानमा समेत जोखिम हुने भन्दै सुरक्षा प्रमुख प्राथमिकता भएको उल्लेख गरे ।

आईएसएसमा रहेका दुवै अन्तरिक्षयात्रुलाई अब स्पेसएक्सको क्रु ड्र्यागन अन्तरिक्षयानबाट फिर्ता ल्याइनेछ । स्पेसएक्सले सेप्टेम्बरको अन्त्यतिर यान आईएसएसका निम्ति प्रक्षेपण गर्नेछ । उक्त यानमा पहिले चारजना जाने तय थियो । अब आईएसएसमा फसेका दुईजनालाई ल्याउन दुई सिट खाली राखिनेछ ।

५८ वर्षीय विलियम्स र ६१ वर्षीय विल्मोरले यसअघि नै लामो समय अन्तरिक्षमा बिताइसकेको हुँदा उनीहरूलाई जोखिम थाहा भएको नासाले जनाएको छ ।

बाँकी समय त्यहाँ रहँदा उनीहरूले वैज्ञानिक खोज, मर्मतसम्भार र अन्तरिक्षवाक गर्ने बताइएको छ । आईएसएसमा पहिलेदेखि रहिआएका सातसहित हाल नौ अन्तरिक्षयात्री छन् ।

पृथ्वीबाट ४०८ किलोमिटर टाढा अन्तरिक्षमा २८ हजार किलोमिटर प्रतिघण्टाको गतिमा पृथ्वीको परिक्रमा गरिरहेको आईएसएस सन् १९९८ मा स्थापना गरिएको थियो । अन्तरिक्षसम्बन्धी विभिन्न अध्ययन, अनुसन्धान एवं प्रक्षेपण गर्न स्थापित आईएसएसमा हालसम्म करिब १५० अर्ब अमेरिकी डलर खर्च भइसकेको छ । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro