काठमाडौं । “सामान्यतया जब खेलमा ३० वटा प्रहार हुन्छन्, यसमा २५ प्रहारसहित संयुक्त राज्य अमेरिको नै हुने गर्दछ । तर, आज त्यसो भएको होइन,” त्यसबेला ईएसपीएनमा कमेन्ट्री गर्ने कमेन्टेटरमात्रै अचम्ममा परेका थिएनन् । यो कुरा सन् २००७ मा भएको महिला विश्वकपको हो ।
हेथर ओ‘रेलीले तत्कालीन विश्व नम्बर एक अमेरिकाबाट बराबरी गोल गर्दै दुई पटकको विश्व च्याम्पियनलाई उत्तर कोरियाबाट एक अंक दिलाउन सफल भएकी थिइन् । विश्वकपको पहिलो खेलमै महिला फुटबलको ‘जायन्ट’ अमेरिकाले उत्तर कोरियाविरुद्ध गरेको संघर्षले विश्व फुटबल नै चकित थियो ।
तर, ओ‘रेली यो स्कोरलाइन र प्रतिस्पर्धात्मक खेलबाट अच्चमित थिइनन् । उनलाई थाहा थियो– यो खेल कठिन हुने छ ।
खेलको अन्तिम ह्विसिल बज्दा विश्व नम्बर एकबाट एक अंक लिन सफल भएकामा उत्तर कोरियाली टिमले खुसियाली मनाएन, बरु सन्नाटा देखिन्थ्यो । उत्तर कोरियाली टिममा अंक लिएको भन्दा पनि जित्नैपर्ने खेल बराबरीमा रोकिनु पर्दा निराश भाव देखिन्थ्यो ।
“मलाई याद छ, खेलपछि उत्तर कोरियाली टिम निराश देखिन्थ्यो । उनीहरूको शारीरिक हाउभाउ हेर्दा लाग्थ्यो ‘हामी महिला फुटबलको जायन्टलाई निराश बनाउन सक्षम थियौँ,’” ओ‘रेली त्यसबेला उत्तर कोरियाली टिमको माहोल यसरी सम्झिन्छिन् ।
विश्वबाटै अलग रहेको देश हो, उत्तर कोरिया । उत्तर कोरिया देशको सर्वोच्च नेता किम जोन उनको अपरिर्वतनशील नीति र बाहिरी संसारप्रति गहिरो शंकामा आधारित छ ।
अरू देशको जीवनशैलीभन्दा निकै पछि रहे पनि उत्तर कोरियासँग विश्वकै सबैभन्दा बलियोमध्येमा पर्ने महिला फुटबल टिम छ ।
सन् २००७ मा अमेरिकाविरुद्ध मैदान उत्रिँदा उत्तर कोरिया विश्व वरीयताको पाँचौँ स्थानमा थियो । र, उनीहरूले एक दशकमा तेस्रो एसियाली उपाधिको दौडमा थिए ।
युवास्तरमा उत्तर कोरियाको इतिहास अझ बलियो छ । सन् २०१६ मा उनीहरूले फाइनलमा स्पेनलाई निराश बनाउँदै यू–२० विश्वकप जिते । उक्त प्रतियोगिताको नकआउट चरणमा उत्तर कोरियाले फ्रान्स र अमेरिकाजस्ता बलिया राष्ट्रलाई निराश बनाएको थियो । सोही वर्ष यू–१७ टिमले आफ्नो उमेर समूहको विश्वकप जित्यो ।
“सन् २००७ को खेल चुनौतीपूर्ण थियो । निकै कठिन पनि,” उत्तर कोरियाली सिनियर टिमसँगको प्रतिस्पर्धा उनी ओ‘रेली सम्झिन्छिन्, “उनीबाट बल लिनु निकै कठिन काम थियो । उनीहरू फुर्तिलो र छरितो थिए । उत्तर कोरियासँग खेल्नु सधैँ रहस्यमय हुन्थ्यो ।”
डोपिङ विवाद र चार वर्ष अन्तर्राष्ट्रिय फुटबल मञ्चबाट गायब रहे पछि उत्तर कोरियाले पुनः सोही लय कायम राख्ला ? भन्ने अर्को रहस्य थपिएको छ ।
ओ‘रेली र उनको अमेरिकी सहकर्मीलाई उत्तर कोरियाको भिडियो फुटेज भेटाउन कठिन भयो होला, तर, ब्रिगिटे वेइचलाई यस कुरामा पक्कै कुनै कठिनाइ भएन ।
अस्ट्रियन फिल्ममेकरले पाँच वर्ष उत्तर कोरियाली टिममा बिताइन् । त्यसबेला उनले सन् २००९ मा आएको डकुमेन्ट्री हाना, डुल, सेडका निम्ति उत्तर कोरियामा असाधारण पहुँच पाइन् ।
उनका अनुसार उत्तर कोरियाको अरू चिजहरूजस्तै महिला फुटबलमा पनि उच्च पदमा रहेका पुरुषहरूको भूमिका प्रमुख छ ।
“खेलाडीहरू निरन्तर प्रमुख नेता किम जोन उन ली (किम जोन उनअघिका प्रमुख)ले व्यक्तिगतरूपमा महिला फुटबललाई समर्थन गरेको बताउँछन्,” वेइच भन्छिन्, “पक्कै पनि उनीहरू आवश्यक सबै कुरा सर्वोच्च नेतासम्म पुर्याउँछन्, उनको पथ प्रदर्शन र समर्थनबिना कुनै कुरा सम्भव छैन ।”
वेइच सन् १९८६ मा मेक्सिकोमा भएको एक अन्तर्राष्ट्रिय मञ्चबाट उत्तर कोरियाले महिला फुटबलमा ध्यान केन्द्रित गरेको बताउँछिन् । त्यो वर्ष फिफा कंग्रेसमा ४ फिट ११ इन्चकी नर्वेजियन एलेन विलीले महिला खेलालई फिफाले आवश्यक ध्यान नदिएको बताइन् । उनी फिफाको कंग्रेसमा मन्तव्य दिने पहिलो महिलासमेत थिइन् ।
उनले महिला विश्वकपको माग गरिन् । फिफा चकित त बन्यो तर सहमत पनि जनायो । त्यसपछि उत्तर कोरियाली प्योङप्याङ फर्किए, महिला फुटबलको योजनासहित ।
“सायद त्यसबेला कसैले किम जोन लिलाई भने होला, ‘यो अवसरलाई हामीले सदुपयोग गर्नुपर्छ’ । उत्तर कोरिया अर्थ, विज्ञान, मानव अधिकार र अरू कुरामा साख राम्रो छैन । तर, उनीहरू यस्ता खेलमा भने राम्रो बन्न सक्छन् । किनकि, उनीहरू माथिदेखि तलसम्म प्रशिक्षणमा मात्र केन्द्रित रहन सक्छन्,” वेइच भन्छिन् ।
“नेता किम जोन लि महिला फुटबलमा चासो राख्ने कुरा कुनै असत्य होइन । उनी यसमा इच्छुक थिए, किनकि महिला फुटबलकै माध्यमबाट उत्तर कोरियालाई विश्व मञ्चमा उच्च स्थानमा राख्न सकिन्छ ।”
उत्तर कोरियाको योजना साधारण तर प्रभावकारी थियो– विद्यालयस्तरदेखि नै सामान्य फुटबल प्रशिक्षण सुरु गर्ने, उनीहरूको स्काउटिङलाई देशभर सम्बन्धित स्वयंसेवक खटाउने र राम्रो प्रदर्शन गर्नेलाई केन्द्रमा आर्मीको उत्कृष्ट प्रशिक्षणमा राख्ने । उनीहरूको विकासका लागि सबै खर्च राज्यले नै बेहोर्ने थियो ।
यी कुराहरूले उत्तर कोरियाली खेलाडीलाई ठूलो आर्थिक सम्झौता वा विदेश क्लबबाट खेल्ने अवसर दिँदैन थियो । उनीहरूले ठूलो पारिश्रमिकको सट्टा उचित स्थानान्तरणको अवसर पाउँथे । यो एउटा प्रलोभन थियो ।
धेरै उत्तर कोरियालीका निम्ति जीवन निकै कठिन छ । विशेषगरी गाउँ क्षेत्रमा खाद्यान्न अभाव र उचित स्वास्थ्य स्थिति नहुनु सामान्य कुरा हो । सन् २०२३ मा संयुक्त राष्ट्र संघको रिर्पोटअनुसार हिरासत केन्द्रमा जबर्जस्ती श्रममा लगाइनु र यौन हिंसा हुनु उत्तर कोरियामा सामान्य हो ।
तर, राजधानी प्योङप्याङ यी सबै कुराबाट केही उच्चस्तरमा छ । अन्य राज्यको तुलनामा राजधानीमा कामको अवसर र जीवनस्तर राम्रो छ । अग्ला अपार्टमेन्ट, एक लाख ५० हजार दर्शक क्षमताको रंगशाला, डिपार्टमेन्ट स्टोर र चिडियाघरजस्ता कुरा राजधानीमा देख्न पाइन्छ ।
“अरू क्षेत्रको तुलनामा प्योङप्याङमा बस्न पाउनु विशेषाधिकारजस्तै हो । खेलाडीले नेताबाट पुरस्कार पाउँछन् । प्योङप्याङमा अपार्टमेन्ट पनि पाउँछन् र आफन्तलाई गाउँबाट प्योङप्याङमा ल्याउन पाउँछन् । राष्ट्रिय टिममा पर्न सक्नु भनेको महिला खेलाडी र उनीहरूको परिवारका निम्ति राम्रो करियर हुनु हो । यसले जीवनशैली नै परिवर्तन गरिदिन सक्छ,” वेइच थप्छिन् ।
सन् २००० को दशकमा इंग्ल्यान्डमा हुने महिला फुटबलले मुस्किलले पाँच अंकमा दर्शक पाउँथ्यो । तर, त्यही समयमा उत्तर कोरियामा हुने महिला फुटबल हेर्न ५० हजार क्षमता भएको किम इल सुन रंगशाला भरिभराउ हुन्थ्यो । उत्तर कोरियामा खेलाडीहरूको व्यक्तित्व उच्च हुन्छ ।
“उनीहरूलाई समर्थकले चिन्छन्, उनीहरूसँग अटोग्राफ माग्छन् । उनीहरू देशका स्टार बन्छन्,” वेइच भन्छिन् ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले खेलाडीहरूलाई अन्य देशको वास्तविकतासँग परिचित गराउँछ ।
“मसँग खेलाडीहरू ‘हामीभन्दा अमेरिकीहरू अग्ला र बलिया हुन्छन् । किनकि, उनीहरू हामीभन्दा राम्रो खानपान गर्छन् । यस्ता कुरा हामीसँग छैन । तर, हामी मानसिकरूपमा बलियो छौँ । यो कुरा कसैले अनुमान लगाउन सक्दैनन्’ भन्थे,” वेइच थप्छिन्, “उनीहरू सबै फुटबल मन पराउँछन् । तर, योभन्दा ठूलो प्रेरणा उनीहरूको नेता र देश हो । व्यक्तिगत उपलब्धिभन्दा देशको जित नै सबैथोक हो भन्ने संस्कारमा उनीहरू हुर्किन्छन् ।”
२००७ को विश्वकपमा अमेरिकालाई बराबरीमा रोकेको उत्तर कोरियाले स्विडेन र नाइजेरियालाई पछि पार्दै नकआउट चरणको यात्रा तय गरेको थियो । तर, उक्त संस्करणको विजेता जर्मनीसँग क्वार्टरफाइनलमा पराजित भएपछि उत्तर कोरियाको विश्वकप यात्रा समाप्त बनेको थियो ।
“२००७ को विश्वकपमा हामी एउटै होटलमा बसेका थियौँ । एकपटक हामी र उत्तर कोरियाका केही खेलाडी एउटै एलेभेटरमा थियौँ । मलाई उनीहरूसँग कुरा गर्नु, उनीहरूको संस्कारबारे जान्ने उत्सुकता थियो । तर, उनीहरूसँग एक शब्द पनि आदान–प्रदान भएन । एलेभेटरमा उनीहरू आफ्नै धुनमा थिए,” ओ‘रेली सम्झिन्छिन् ।
यसपछि सन् २०११ को संस्करण उत्तर कोरियाली टिमका निम्ति केही फरक अनुभव रह्यो । उत्तर कोरियाली टिम फुटबलकै सबैभन्दा ठूलो डोपिङ मुद्दामा मुछियो ।
टिमका पाँच खेलाडीमा दुर्लभ 'स्टेरोइड' पाइयो । यो घटनामा उत्तर कोरियाको प्रतिक्रिया झनै रोचक थियो ।
उत्तर कोरियाली अधिकारीका अनुसार डोपिङ पोजेटिभ भेटिनुमा उनीहरूले प्रयोग गर्ने औषधि परम्परागतरूपमा कस्तुरी मृगको ग्रन्थीबाट बनाइएको थियो । उनीहरूका अनुसार प्रशिक्षणका दौरान खेलाडीहरू चट्याङबाट प्रभावित बनेपछि उनीहरूलाई यो परम्परागत औषधि दिइएको थियो ।
यही शंकास्पद घटनाका कारण फिफाले उत्तर कोरियालाई सन् २०१५ को फिफा विश्वकपमा प्रतिबन्ध लगायो । यसपछि उत्तर कोरियाले सन् २०१९ को विश्वकप संस्करणमा पनि स्थान बनाउन सकेन । कोभिड–१९ महामारीका दौरान विश्वव्यापीरूपमै कडाइका साथ लागु भएको खोपका विभिन्न नियम र बन्देजहरूका कारण उत्तर कोरियाले २०२३ को विश्वकपमा पनि सहभागिता जनाएन ।
तर, चीनमा भएको एसियाली खेलकुदबाट महिला फुटबलमा पुनरागमन गरेको उत्तर कोरियाले त्यहाँ रजत पदक जित्दै पुनः सनसनी मच्चायो । छनोट चरणमा जापानसँग २–१ को साँघुरो नतिजामा पराजित भएपछि उत्तर कोरिया पेरिस ओलम्पिकमा छनोट हुन असफल बन्यो । आगामी दिनमा उत्तर कोरिया महिला फुटबलको कस्तो शक्ति बन्नेछ भन्ने आकलनसमेत कसैको छैन ।
के साँच्चै उत्तर कोरियाली युवा महिलामा देखिएको प्रतिभाले सिनियर टिममा निरन्तरता पाउला ? वा बाँकी विश्वमा महिला फुटबलको विश्वमा महिला फुटबल तीव्र गतिमा विकास हुँदा अलग्गै रहेको उत्तर कोरिया पछि छुट्ला ?
उत्तर कोरियाको अन्य धेरै कुराहरू जस्तै, ठूलो जानकारीदेखि सानो विवरणसम्म, यी सबै प्रश्न अझै पनि रहस्यमय छन् ।
बीबीसीमा प्रकाशित स्टोरीको भावानुवाद ।