site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नकारात्मक बाटोतर्फ उन्मुख हो लघुकथा ? 
SkywellSkywell

पछिल्लो समय लघुकथा लेखनमा सर्जकको सक्रियता बढेको प्रकाशित कृतिहरूले देखाउँछ । कुनै बेला वर्षको एकदुइटा मात्र किताब प्रकाशित गरिन्थ्यो । अचेल एकैदिन २५ संग्रहसम्म विमोचन गर्न थालिएको छ ।

कृति प्रकाशन, संख्या, सर्जकको सक्रियताभन्दा त्यसमा प्रस्तुत लघुकथाको स्तरमाथि हरेक वर्ष चर्चा परिचर्चा हुँदै आएको छ । यति हुँदाहुँदै पनि लघुकथाको स्तर र त्यसले पाठकलाई दिने सन्तुष्टिको अभाव रहेको अग्रज साहित्यकारको गुनासो छ । लेखक, तिनका लघुकथा र कृतिको संख्यात्मक वृद्धिजस्तै स्तरवृद्धिमा पनि जोड दिइए नेपाली लघुकथामाथि कसैले औँला ठड्याउन उनीहरूको भनाइ छ ।

निकैअघि एउटा कार्यक्रममा नेपाली आख्यानसाहित्यका एक अग्रज समालोचकले लघुकथा विधा नै होइन भन्ने तर्क गरे । सम्भवतः उनले नेपाली लघुकथामा देखिएको कमजोर स्तरलाई नै आकलन गरेर त्यसो भनेका हुनसक्छन् । यदि, लघुकथाको अस्तित्व नै नभएको भए उनले यसको उच्चारण किन गर्थे !

Dabur Nepal
NIC Asia

लघुकथाका केही अग्रज सर्जकको चिन्ता अहिलेका लघुकथाकार र तिनका लेखनप्रति छ । आजका सर्जक लेखनप्रति सचेत छैनन्, फितलो लेखनको आत्मरतिमा रमाउँछन् । स्तर पुग्यो कि पुगेन भन्ने हेर्दैनन् र संख्या पुग्नासाथ पुस्तक निकाल्न हतार गर्छन् । र, आफूलाई ठूलै स्रष्टा सम्झिन्छन् ! यसले लघुकथाको विकासलाई सकारात्मकभन्दा नकारात्मक बाटोतिर डोर्‍याउने डर भएको अग्रज साहित्यकारको भनाइ छ ।

१७औँ लघुकथा दिवसको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियामा लघुकथा सर्जक एवं नाट्यकर्मी अशेष मल्ल, ‘लघुकथाको रचनाविधान’ जस्तो सैद्धान्तिक पुस्तक लेखेका प्रा. डा. लक्ष्मणप्रसाद गौतम र लघुकथाका अभियन्ता एवम् लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठले यसको स्तर घटेकामा चिन्ता व्यक्त गरे । यिनै स्रष्टाको चिन्ता यहाँ प्रस्तुत गरिएको छ ।

अशेष मल्ल
अचेल त संख्यात्मक दृष्टिले लघुकथाको उर्वरकालमा छौँ भन्ने लाग्छ । तर, राम्रो लघुकथा लेख्नुभन्दा एउटा किताब छापिहाल्ने हतारमा अहिलेका लघुकथाकारहरू जागरुक देखिन्छन् । अब यहाँ प्रश्न के छ भने ती किताब र त्यसभित्रका लघुकथा कसले पढ्ने !

एउटा प्रसंग सुनाउँछु, केही दिनअघि म गाडीको टायरमा हावा हाल्न वर्कसपमा गएको थिएँ । त्यहाँको कुनामा किताबको चाङ देखेँ । के हो यो ? भनेर सोधेको उनले भने— एकजना मानिस गाडी बनाउन आएका थिए । उनले यी किताबहरू निकालेर ‘पढ’ भन्दै दिएर गए । (अशेष मल्लले यो सुनाइरहँदा हाँसोको फोहोरा छुट्यो ।)

हामी हाँस्यौँ, तर यो गम्भीर विषय हो । यो घटना एउटा संकेत हो, अचेल किताब पढिँदैन भन्ने । अचेल छापिएर बजारमा आएका किताबको अवस्था यस्तो छ । किताब पढ्नुभन्दा त्यसलाई कहाँ मिल्काऊँजस्तो भएको देखाउँछ यसले ।

जहाँसम्म लघुकथाको कुरो छ, अवस्था नाजुक छ । लघुकथा चित्त नबुझे पनि पढ्नैपर्ने बाध्यता छ । त्यसैले किताब छाप्ने हतारो नगर्ने अभियान चलाउने हो कि ! किताब छाप्ने नै हो भने चिन्तन–मन्थन गरेर छाप्ने कि !

(एउटा प्रसंग जोड्नुअघि मल्लले सत्यजीत रेको जीवनीमा उल्लेखित एउटा घटना सुनाए— सत्यजीत रेले १८/१९ वर्षको हुँदै एउटा स्क्रिप्ट लेखे । त्यसपछि उनी निर्माता खोज्नतिर लागे । एकजना निर्माता भेटिए । तर, निर्माताले त्यसका केही अंश हटाउन भनेछन् । रेले उक्त अंश हटाउन मानेनन् । यसरी उनले हटाउँदिनँ भने र निर्माताले म पनि लगानी गर्दिनँ भनेर पन्छिए । पछि रेले आफैँ ‘पाथेर पाञ्चाली’ बनाए, जुन आज पनि विश्वभरका सिनेमा पढाउने स्कुलहरूको कोर्समा पढाइन्छ । रेले भनेका छन्— त्यहाँ मैले निर्मातासँग सम्झौता गरेको भए आज सत्यजीत रे सत्यजीत रे हुँदैनथ्यो ।)

केही समयअघि एक कवि मेरोमा आइन् । उनले मलाई आफ्नो पुस्तकको भूमिका लेख्न भनिन् । मैले पढेर ‘तिमी यो किताब छाप्न हतार नगर’ भनेँ । उनलाई मैले ‘तिमीले योभन्दा अझै राम्रो कविता लेख्न सक्छ्यौ’ भन्दै ‘राम्रो कविता लेखेर मात्रै किताब छाप’ भनेँ । तर, तिनी मसँग रिसाएर गइन् ।

हतारमा किताब छाप्ने जुन काम भइरहेको छ, त्यो मलाई चित्त बुझ्दैन । लेख्नुपर्छ, छाप्नुपर्छ, तर पढिने किताब छाप्नुपर्छ भन्ने सर्जकले सोच्नुपर्छ । 

प्रा. डा. लक्ष्मणप्रसाद गौतम
आजको समयमा लघुकथाका सर्जकले एकदुई कुरामा विशेष सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यो के हो भने चर्चा र प्रतिष्ठा । लघुकथा लेखेर चर्चित हुने कि प्रतिष्ठित ? मलाई के लाग्छ भने पछिल्लो समयमा धेरै स्रष्टाहरू प्रतिष्ठित हुनुभन्दा चर्चित हुनतिर लाग्नुभएको छ । चर्चाको आयु भनेको फेसबुकजत्तिकै हो, २४ घण्टा । अर्को स्टाटस पोस्ट नगरुन्जेलसम्म मात्रै हो, तिनको आयु । तर पनि लघुकथामा बाढी आएको आएकै छ ।

आजका सर्जकमा गम्भीरता आउन सकेको छैन । जहाँसम्म बाढी सङ्लिने प्रसंग छ, मलाई के लाग्छ भने पहिलो कुरा त यतातिर स्रष्टा आफैँ सचेत हुनुपर्छ । हामीले देखेका छौँ कतिपय स्रष्टाले ६०/७० वटासम्म किताब लेख्नुभएको छ । तर, नेपाली साहित्यमा उहाँहरूको स्थान कहाँ छ ? कसैलाई थाहा छैन । कसैलाई एउटै किताबले पनि प्रतिष्ठाको शिखरमा पुर्‍याएको छ ।

आजको समयमा यसरी सोच्नु आवश्यक भएको छ । त्यसो भयो भने मात्रै लघुकथामा देखिएको बाढी सङ्लिन्छ । नभए सङ्लिन गाह्रो छ । अस्ति मात्रै २५ वटा लघुकथाको किताब एकैचोटि सार्वजनिक भयो । तिनले नेपाली लघुकथाका क्षेत्रमा मानक उपस्थिति देखाउँछन् त !

(प्रा. डा. गौतमले सम्झिए लघुकथा समाजले गर्ने गरेको पाण्डुलिपिमाथिको छलफल ।)

पहिले लघुकथाका लेखकहरू लघुकथा समाजसँग जोडिनुहुन्थ्यो । प्रकाशनपूर्व पाण्डुलिपिमाथि अन्तरक्रिया गराउनुहुन्थ्यो । यस्तो धेरैपटक भएको छ । म आफैँ संलग्न छु । त्यसो हुँदा कृति माझिन्थ्यो । परिष्कृत हुन्थ्यो र छापिन्थ्यो । आज त्यो अवस्था नै छैन ।

अहिले त जसलाई जे मन लाग्यो लेख्यो र किताबमा ल्यायो । लघुकथासँग सम्बद्ध संस्थाहरूले यसलाई फेरि थाल्नुपर्छ । हैन भने बाढी आई नै रहन्छ, सङ्लिन सक्दैन । वा सङ्लिए पनि त्यसले निकै समय लिन्छ ।

खासमा राम्रो लघुकथा लेखकलाई प्रचार चाहिँदैन । उसको लेखनले उसको प्रचार गरिरहेको हुन्छ । जसको लघुकथाले मस्तिष्कलाई झङ्कृत बनाउँछ । अहिलेका लघुकथा पढ्दा मस्तिष्कले त कुरै छोडौँ, हृदयले पनि काम नपाउने भयो ।

लघुकथासँग सम्बद्ध संस्थाहरूले यसमा सहकार्य गर्नुपर्छ र जस्तो पायो त्यस्तो लघुकथाकृति छापिहाल्ने र निकालिहाल्ने गर्नु हुँदैन । यतिवटा किताब छापेँ भन्ने कुराले कुनै अर्थ राख्दैन । इतिहास लेखिने भनेको पनि छानिएर आएका किताबहरूको मात्रै हो ।

श्रीओम श्रेष्ठ रोदन
लघुकथामा अहिलेको कमजोरी भनेको सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालकै कारण लघुकथाको ‘ल’ पनि नबुझ्नेहरू लघुकथाकार भएका छन् । हरेक दिन लेख्यो र पोस्ट गर्‍यो । त्यहाँ एउटा समूह हुन्छ, त्यही समूहले ताली पनि बजाउँछ, धाप पनि मार्छ । र, भेट्दा वाह ! वाह ! पनि गर्छ ।

अनि, त्यही सञ्जालमा हालेका लघुकथालाई दोहोर्‍याएर पनि नहेरेर पुस्तक निकाल्ने प्रचलन बढेर गएको छ । यही प्रचलनका कारण लघुकथा लघुकथाजस्तो हुन सकेन । अचेल लघुकथा हुनुपर्नेजस्तो नभएर नहुनुपर्नेजस्तो भइरहेको छ ।

देखिएको के छ भने सामाजिक सञ्जालमा सामान्यतया बौद्धिक कुरो बिक्दैन । सस्तो र सजिलो कुरो मात्रै बिक्छ । त्यसैकारणले गर्दा समग्र नेपाली साहित्यको स्तर खस्किँदो छ ।

नेपाली साहित्यको दुर्भाग्य के हो भने अहिले नेपाली भाषामा लेख्ने लेखेकको संख्या १० हजार नाघिसकेको मानिन्छ । ३० को दशकमा साझा प्रकाशन र रत्न पुस्तक भण्डारजस्ता प्रकाशनले एक हजार प्रति पुस्तक छाप्ने गरेको थियो । आज चर्चित लेखकको पनि पाँच सय प्रति मात्र छापिन्छ !

यसरी लेखकको संख्या क्रमशः बढ्दै जाने र पाठकको संख्या घट्दै जानुलाई दुर्भाग्य होइन कि साहित्यका लागि ठूलो दुर्घटना मान्छु म ।

लेखक पाठक पनि बन्नुपर्छ भन्ने चेतना भासिँदै गएको छ । पढ्ने पाठक भनेको आफ्नै वरपरका मात्रै छन् । लेखकहरूको समूह सानोसानो टापुजस्तो हुँदै गएको छ ।

पछिल्लो समय नेपाली साहित्यमा आफैँ राजा हुने प्रचलन बढेको छ । लघुकथामा त झन् धेरै देखिएको छ । पहिले लघुकथा समाजलाई देशभित्रका मात्रै हैन, विदेशका लघुकथा लेखकले समेत अभिभावक मान्थे । समाजमार्फत कार्यक्रम गर्थे । समाजका कोहीलाई नदेखाई किताब प्रकाशनमा ल्याउँथेनन् । तर, आज त्यो अवस्था छैन ।

आज लघुकथाको किताब निकालेर लघुकथा नबुझेको प्रमाणित गर्नेहरू लघुकथाको प्रशिक्षण दिइरहेका छन् । दुर्भाग्य ! नजानेको विषयमा जान्ने बनेर सिकाएपछि सिक्नेहरूको हविगत के होला ? लघुकथामा सबैभन्दा तितो यथार्थ यही नै हो ।

खासमा बलियो हुने ठाउँमा हामी दिनदिनै कमजोर हुँदै गइरहेका छौँ । लघुकथा मात्रै होइन, सबै विधा र विषय कमजोर भएको छ । साहित्यका क्षेत्रमा समालोचकहरूले पनि धर्म निर्वाह गर्न सकिरहेका छैनन् । लेखकहरू छाडा बन्दै गएका छन् । त्यसैले आजको समयमा संयमित र गम्भीर भएर लेख्नुको विकल्प छैन ।

(अब सुधारको बाटो के त ? अन्तरक्रियाका बखत कुरा उठाइनु स्वाभाविक थियो र उठाइयो पनि । त्यस सन्दर्भमा तीनै सर्जकले आफ्नो दृष्टिकोण यसरी राखे ।)

मल्ल 
आज हामी २१औँ शताब्दीको डिजिटल युगमा छौँ । यतिखेर सामाजिक सञ्जाल कमजोरी मात्रै होइन कि वरदान पनि हो भन्न सकिन्छ । डिजिटल युग ठूलो सन्देश हो हाम्रा लागि । यो दुस्मन होइन । तर, त्यसको सार्थक प्रयोग गर्न सक्नुपर्छ ।

लेखनमा सबैभन्दा महत्त्वपूर्ण कुरो भनेको कला र सौन्दर्य चेत नै हो, जुन कुराबाट आज हामी धेरै टाढा छौँ । कुनै पनि विषयवस्तुलाई सर्जकले त्यही कला र सौन्दर्यले सजाउन सक्नुपर्छ । सर्जकले कुनै पनि कुरालाई राम्ररी कम्युनिकेट गर्न सक्नुपर्छ, त्यो नाटकमा होस् वा साहित्यमा ।

लघुकथा लेखन होस् वा साहित्यका अरू कुनै विधा, त्यसको प्रस्तुतिले विशेष महत्त्व राख्छ । र, प्रस्तुतितर्फ हरेक लेखकले ध्यान दिनुपर्छ । त्यसले नै साहित्यिक रचनालाई सुधारको बाटोतिर लैजान्छ ।

प्रा. डा. गौतम
लघुकथाका सन्दर्भमा हामी सबैको चिन्ता भनेको राम्रा, स्तरीय लघुकथा बाहिर न आउनु हो । एउटा मानक उपस्थिति नेपाली साहित्यमा लघुकथाले देखाओस् भन्ने सोच्नुपर्छ लेखकले । हामी सबै सर्जकले यतातिर सचेत हुनुपर्छ ।

एकजना कथाकार मकहाँ कथाकृतिको भूमिका लेखाउन आउनुभयो । मैले उहाँलाई ‘तपाईंको यो भएन, हटाउनुस्, कथामा यस्तो गर्नुस्’ भनेर सुझाएँँ । उहाँले मान्नुभयो र त्यसपछि मात्रै मैले भूमिका लेखेँ । कम से कम त्यति गर्नुस् । तर, एउटा कविलाई मैले त्यस्तै भन्दा उहाँ फर्केरै आउनु भएन । पछि जस्ताको त्यस्तै किताब निकाल्नुभएछ ।

मूल कुरा के हो भने सबैले आफ्नोतर्फबाट ‘म म’ भनेर अगाडि बढ्नुपर्छ । राम्रो लेख्नुपर्छ । लघुकथाका सन्दर्भमा देखिएको कमजोरी के हो भने लघुकथाका समालोचक पनि लघुकथाका महापण्डित भइदिन्छन् ! लघुकथा सर्जक पनि एउटा कृति निस्कन पाएको छैन आफूलाई पूर्णप्रसाद ब्राह्मणभन्दा माथिल्लो सम्झिन्छन् । यो दुर्भाग्य हो ।

सबै रचना कसैको पनि राम्रो हुँदैन । तर, केही यस्ता रचना हुन्छन् जसले कालान्तरसम्म पाठकको मनमस्तिष्कमा छाप छोड्छ । अबको हाम्रो दिशा त्यतातिर हुनुपर्छ ।

रोदन
हामी अल्मलिएका छौँ । तर, सम्हालिन सक्छौँ । त्यसका लागि सबैको प्रतिबद्धता आवश्यक छ । अहिले लघुकथाका संस्थाहरूमध्ये समाजसहित तीनवटा संस्था मात्रै दर्ता छ । बाँकी खुला टापुजस्ता छन् । ती एकले अर्काको अस्तित्व स्वीकार गर्दैनन् । गरिरहेका छैनन् । युक्रेन र रुसको जस्तो द्वन्द्व छ तिनमा ।

लघुकथा समाजले फेरि दृढतापूर्वक अभियान चाल्ने हो भने यो बाटो सफा हुन्छ । सङ्लिन्छ । अब राम्रो काम गरेर जित्दै जाने हो । आफ्नो अस्तित्व कायम गर्दै सद्बुद्धिले काम गर्ने हो भने लघुकथामा बिथोलिएका सारा कुरा सम्हालिएर जान्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu