site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
धर्म 

प्रसिद्ध धार्मिकस्थल । मुलुकमा सुख, शान्ति, समृद्धिको कामना गर्दै त्यस धार्मिकस्थल परिसरमा धार्मिक अनुष्ठान प्रारम्भ गरियो ।

भक्तजनद्वारा गरिने दानानुसार सम्मानको व्यवस्था गरिएको रहेछ । सानो दान गर्नेलाई सानै सम्मान, ठूलो दान गर्नेलाई ठूलै सम्मान । भक्तजनहरूको घुइँचो थामी नसक्नु थियो । यसो भनौँ, उनीहरूबीच सम्मानप्राप्तिको होडबाजी नै चलेको थियो ।

स्वयंसेवकहरूमध्ये कोही मन्दिर परिसरको सफाइमा खटिएका थिए । कोही दूध, घिउ, महको अजस्र धारा खन्याउँदै भगवान्को मूर्तिलाई नुहाइदिँदै गरेका देखिए ।

अनुष्ठानमा सबै तह, वर्गका मानिसको उपस्थिति देखिन्थ्यो । गरिबगुरुवादेखि साहुमहाजनसम्म सबैसबैलाई सुख, शान्ति, समृद्धिको लालसाले डोर्‍याएको थियो सायद ।

अनुष्ठानको अन्तिम दिन तिलको शुद्ध तेलमा सवा करोड दीप प्रज्वलन गरियो । ड्रमका ड्रम तेल खन्याइयो ।

श्रद्धालु एवम् भक्तजनहरू अत्यन्त प्रफुल्लित र सन्तुष्ट देखिए । तिनका चम्किला आँखामा सुख, शान्ति अनि समृद्ध मुलुकको ‘ब्लु प्रिन्ट’ झल्कियो ।

त्यही साँझ उक्त धार्मिकस्थलअगाडि धर्मशालामा बस्ने एउटी महिलाले मृत्युवरण गरिन् । प्रहरी आयो, मुचुल्का उठायो, पोस्टमार्टमका लागि शव अस्पताल लग्यो ।

भोलिपल्ट पोस्टमार्टमको रिपोर्ट आयो । रिपोर्ट थियो– भोको पेटमा धेरै दिनदेखि अन्न नपरेका कारण महिलाको प्राण गएको देखिन्छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro