site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीनवटा टावर नबन्दा रसुवागढीको १११ मेगावाट बिजुली खेर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले समयमै चिलिमे–त्रिशुली प्रसारण लाइन निर्माण नगर्दा १११ मेगावाट रसुवागढी आयोजनाको बिजुली खेर गएको छ । आयोजनाको सम्पूर्ण काम सकिएको छ । तर, प्रसारण लाइन नहुँदा उत्पादन गर्न नपाएको हो । 

आयोजना निर्माणको सम्पूर्ण काम सकिएर परीक्षण समेत गरिसकेको छ । तर, राष्ट्रिय ग्रिड (प्रसारण लाइन)मा जोड्न नपाउँदा १११ मेगावाट बिजुली खेर गएको हो । वर्षायाममा आयोजनाहरू पूर्ण क्षमतामा चल्न सक्छन् ।

यसअघि आयोजनाले २०८० पुस १५ देखि पानी भरेर परीक्षण सुरू गरेको थियो । करिब २ महिना परीक्षणमा कुनै समस्या नदेखिएको आयोजनाले जनाएको छ । प्रसारण लाइन बनेको भए २०८० फागुनको अन्तिबाटै आयोजनाबाट विद्युत् उत्पादन गर्ने तयारीमा रहेको थियो । तर, प्रसारण लाइन नहुँदा ६ महिनादेखि आयोजनाले उत्पादन गर्न सकेको छैन ।

Dabur Nepal
NIC Asia

आयोजनाको सबै परीक्षण सकेर प्रसारण लाइन निर्माण सकिने प्रतिक्षामा रहेको आयोजना प्रमुख छविलाल गैरे बताउँछन् । “आयोजनाको सम्पूर्ण कार्य सकिएर विद्युत् प्रसारण गर्ने तयारीमा छौं । प्रसारण लाइन तयार भएपछि परीक्षण उत्पादन सुरू गर्छौं ,” उनले भने, “चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन बनेपछि उत्पादन सुरू हुन्छ ।” 

आयोजनाले ‘नो लोड’मा गर्नुपर्ने परीक्षण समेत सकिसकेको छ । आयोजनाको पावर हाउसबाट चिलिमे हबसम्म १० किलोमिटर प्रसारण लाइन निर्माण भएर बिजुली प्रवाह गर्ने तयारी हालतमा छ ।

चिलिमे हब–त्रिशुली २२० केभी प्रसारण लाइनको कुल लम्बाइ २८ किमी छ । तर, प्रसारण लाइनका तीनवटा टावर निर्माण भएको ढिलाइका कारण १११ मेगावाट क्षमताको जलविद्युतले उत्पादन गर्न नपाएको हो । 

चिलिमे जलविद्युत् नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी समेत हो । २०६८ कात्र्तिक २८ मा प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरेको आयोजनाको सुरूवाती उत्पादन मिति २०७६ पुस १५ मा थियो । तर २०७२ को भूकम्पको आदि कारण आयोजनाको बिजुली उत्पादन मिति सर्दै आएको थियो । प्रसारण लाइन नभएपछि पूर्ण क्षमतामा चल्ने आयोजनाको उत्पादन ठप्प छ ।

उक्त प्रसारण लाइन आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/१३२/३३ केभीको क्रमशः चिलिमे हब र त्रिशुली थ्री बी हब सबस्टेसन सञ्चालनमा आइसकेको छ ।
 
२८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७९ वटा टावरहरू निर्माण गर्नुपर्नेमा अझै ३ वटाको काम बाँकी छ । चिलिमे–त्रिशुली थ्री बी हब प्रसारण लाइनअन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशुली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मल्टी सर्किट लाइनतर्फको ६० प्रतिशत खर्च माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनाले ब्यहोर्ने सम्झौता छ ।

उक्त प्रसारण लाइनमा चिनियाँ ठेकेदारले समयमै काम नगरेका कारण पाँच महिनाअघि प्राधिकरणले आफ्नै सक्रियतामा प्रसारण लाइन निर्माणको जिम्मा लिएको चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन आयोजना प्रमुख थर्कबहादुर थापाले जानकारी ।

“आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनीले समयमै काम नगरेपछि पाँच महिनादेखि प्राधिकरण आफैं नेतृत्व लिएर काम अघि बढाइरहेको छ । प्रसारण लाइन आयोजनाको स्ट्रिमिङ र तीन वटा टावरको इरेक्सन भइरहेको छ । अबको दुई/तीन हप्तामा सकिन्छ,” उनले भने, “सुरूमा वनले रूख कटानको स्वीकृति नदिएका कारण पनि ढिलाइ भएको हो ।”

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो । आयोजना यसअघि डबल सर्किट रहेको आयोजना २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जडानका लागि मल्टी सर्किट बनाइएको थापाले जानकारी दिए । 

चिलिमे–त्रिशूली प्रसारण लाइन २०७४ पुसदेखि निर्माण सुरू भएको थियो । निर्माण सुरू भएको लामो समयसम्म पनि प्रसारण लाइन नबन्दा आयोजनाको लागत पनि बढेको छ । 

यस्तै १११ मेगावाट क्षमताको रसुवागढी आयोजना पनि निकै ढिलो गरी सकिएको हो । आयोजनाले सुरूमा २०७४ मा उत्पादन गर्ने गरी आयोजना निर्माण सुरू गरेको थियो ।

भूकम्प, नाकाबन्दी र बाढीले गर्दा आयोजनाको समय थप हुँदा लागत बढ्दै गएको आयोजनाले कारण देखाउँदै आएको छ । विनाशकारी भूकम्प, नाकाबन्दी, कोरोना महामारी, भोटेकोसी नदीमा आएको ठूलो बाढीले क्षति पुर्‍याउनुका साथै केही प्राविधिक समस्याले आयोजनाको अवधि लम्बिएको गैरे बताउँछन् । 

रसुवागढी आयोजनाको पहिलो पटक सुरूङलगायत हाइड्रोमेकानिकल संरचना निर्माण चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) गरेको थियो । दोस्रो लट अन्र्तगत इलेक्ट्रोमेकानिकल उपकरणको काम भारतको भ्वाइथ हाइड्रो र प्रसारण लाइनको काम नेपाली कम्पनी मुडभरी एन्ड जोशीले गर्दै आएकामा उसले नसकेपछि ठेक्का तोडेर रोयल कन्स्ट्रक्सन पाएको थियो । रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ ।

आयोजनामा विद्युत् प्राधिकरणको १८, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड ३२.७९, सर्वसाधारण १९.५, रसुवाका स्थानीयबासिन्दाको १५ र ऋणदाता संस्थाका कर्मचारीलाई १० प्रतिशत स्वामित्व रहेको छ ।
 
नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका तीनवटा टर्बाइन जडान छन् । आयोजना नेपाल–चीन सीमा नजिक गोसाइँकुण्ड गाउँपालिकामा पर्छ । आयोजनाले बिजुली बेचेर वार्षिक ३ अर्ब २५ करोड आम्दानी गर्ने कम्पनीले जनाएको छ ।

निर्माण ढिलो हुँदा निर्माण अवधिको व्याजबाहेक लागत बढेर १८ अर्ब ४७ करोड (निर्माण अवधिको व्याज बाहेक) रूपैयाँ पुगेको छ । आयोजनाको निर्माण अवधिको व्याज झण्डै ५ अर्ब २५ करोड रूपैयाँ बढी पुगेको छ । निर्माण अवधिको व्याजसमेत जोड्दा आयोजनाको कुल लागत २५ अर्बको हाराहारीमा पुगेको छ । 

आयोजनाको सुरूवाती लागत १३ अर्ब ६८ करोड ४२ लाख रूपैयाँ थियो । निर्माण अवधि लम्बिँदै जाँदा १७ अर्ब ५६ करोड रूपैयाँ पुगेको आयोजनाको लागत अन्तिम लागत १८ अर्ब ४७ करोड रूपैयाँ पुगेको हो । उत्पादन गर्न नसक्दा आयोजनाले असारमा बुझाउनुपर्ने पहिलो किस्ता समेत बुझाउन सकेको छैन ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro