site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्थानीय तह उपनिर्वाचन लड्दै छ रास्वपा ? 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचन लड्ने तयारी गरेको छ । ०७९ वैशाखमा स्थानीय तह निर्वाचन हुँदा रास्वपा अस्तित्वमै थिएन । त्यसपछि गठित पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ प्रतिस्पर्धा गर्‍यो । त्यहीँबाट राष्ट्रिय पार्टीका रूपमा उदायो । प्रदेशसभा निर्वाचनमा भाग लिएन ।

स्थानीय तहका रिक्त पदमा आउँदो मंसिर तेस्रो साता उपनिर्वाचन गर्ने तयारी छ । त्यससँगै रास्वपा जुर्मुराएको छ । बुधबार (भोलि)का निम्ति पार्टी केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकमा उपनिर्वाचनबारे पनि छलफल गरिने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

उक्त बैठकको पाँचौँ एजेन्डका रूपमा उपनिर्वाचनबारे छलफल समावेश छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले उपनिवार्चनमा भाग लिने/नलिनेबारे बैठकबाट निर्णय गरिने जानकारी दिए ।

“पार्टी गठन भएपछि स्थानीय तहको निर्वाचन वा उपनिर्वाचन भएको छैन । यो उपनिर्वाचनमा जानुपर्छ कि जानु हुँदैन भन्ने राय सुन्छौँ । त्यहीअनुसार निर्णयमा पुग्छौँ,” उनले बाह्रखरीसँग भने ।

एक पदाधिकारीका अनुसार, धेरै नेता उपनिर्वाचन लड्नुपर्ने पक्षमा छन् । “नेतृत्व उपनिर्वाचनमा जानुपर्छ भन्नेमा छ । धेरै नेताहरूको कुरा जानुपर्छ भन्ने नै छ । राजनीतिक दलका रूपमा आइसकेपछि चुनावमा जानुपर्छ, जित्ने र हार्ने भन्ने फरक पाटो हो । सहभागितामूलक छलफलबाट निर्णयमा पुग्छौँ,” ती पदाधिकारीले बाह्रखरीसँग भने ।

रास्वपाले यसअघि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा भाग लिइसकेको छ । रास्वपाका तर्फबाट दुईजनाले उपनिर्वाचन जितेर सांसद पनि बनेका छन् । बारा–२ र पछिल्लोपटक इलाम–२ मा भने रास्वपाका उमेदवार पराजित भएका थिए ।

स्थानीय तहका नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी हाल ३५ पद रिक्त छ ।

निर्वाचन आयोगका पदाधिकारीले मंसिर तेस्रो साता उपनिर्वाचन गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिइसकेका छन् । ती स्थानमा हाल मतदाता नामावलीमा नाम दर्ता र अध्यावधिक कार्य जारी छ । आयोगको परामर्शमा सरकारले निर्वाचको मिति तोक्नेछ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro