site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मंकीपक्सविरुद्धको खोपको उत्पादन बढाउन डब्ल्यूएचओको आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले एमपक्स भाइरसको थप खतरनाक भेरिएन्टको फैलावटलाई नियन्त्रण गर्न खोपको उत्पादन बढाउन शुक्रबार उत्पादकलाई आग्रह गरेको छ । डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगोबाट सुरु भएर अरू देशमा फैलिएपछि एमपक्सलाई बुधबार दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको हो ।

“एमपक्सको प्रकोपलाई नियन्त्रण गर्न हामीलाई साँच्चै नै खोपको उत्पादन बढाउन आवश्यक छ,” डब्ल्यूएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले सञ्चारकर्मीसित भनिन् ।

डब्ल्यूएचओले एमपक्स खोपको भण्डार भएका देशलाई हाल प्रकोप फैलिएको मुलुकलाई वितरण गर्न आग्रह गरिरहेको छ । हालैका वर्षहरूमा डेनमार्कको औषधि उत्पादक बवेरियन नर्डिकद्वारा उत्पादित एमभीए–बीएन  र जापानको एलसी१६ गरी दुई प्रकारका एमपक्सविरुद्धको खोप प्रयोग भइरहेको छ । 

पाँच लाख एमभीए–बीएन खोप हाल भण्डारमा रहेको उनले उल्लेख गरिन् । आवश्यकताअनुसार २४ लाख खोप तत्काल उत्पादन गर्न सकिने उनले बताइन् । सन् २०२५ का निम्ति खरिद अनुरोधमा थप एक करोड खोप उत्पादन गर्न सकिने उनको भनाइ छ ।

“एलसी१६ खोपको भने व्यावसायीकरण गरिएको छैन । यो जापान सरकारको तर्फबाट उत्पादन गरिएको हो । यस खोपको पर्याप्त भण्डार छ,” ह्यारिसले भनिन् ।

डब्ल्यूएचओले एलसी१६ खोपको वितरणका निम्ति टोकियोसँग सहकार्य गरिरहेको जनाएको छ ।

द डक्टर्स विदाउट बोर्डर्स च्यारिटी नामक संस्थाले खोपको भण्डार भएका तर भाइरसको कुनै प्रकोप नभएका देशहरूले अफ्रिकाका प्रभावित मुलुकलाई सकेसम्म धेरै खोप वितरण गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओले सन् २०२२ मा पनि ७० भन्दा बढी देशमा फैलिएपछि मंकीपक्स भनेर चिनिने एमपक्सलाई विश्वव्यापी आपत्काल घोषणा गरेको थियो । यो वर्ष १० अफ्रिकी राष्ट्रमा एमपक्स पत्ता लागेको छ ।

“एमपक्सको संक्रमण अफ्रिकाभित्र र त्योभन्दा बाहिर फैलन सक्ने सम्भावना रहेकाले यो चिन्ताजनक अवस्था हो,” डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयसस भने ।

प्रकोपलाई नियन्त्रण गर्न एक समन्वयकारी अन्तर्राष्ट्रिय प्रतिक्रिया आवश्यक रहेकामा उनले जोड दिएका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro