site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जीवनको मूल्य के हो ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मलाई पशुपति परिसर नेपाली जीवनको मिलनविन्दुजस्तो लाग्छ । ईश्वरको खोजीमा निस्केकाहरू, प्रेममा धोका पाएका घायल आत्माहरू, वास्तविक र तथाकथित विरक्त जोगीहरू, कथित ज्योतिषीहरू, प्रभातफेरीको सिलसिलालाई पशुपतिसँग जोड्ने बटोहीहरू, मलामीहरू र मदिरापानले लट्ठ भएर सुरक्षित पेटीमा पल्टन आउने मजदुरहरूको शरणस्थली हो यो परिसर ।

म एक ठाउँमा बसेर तमासा हेरिरहेको थिएँ । त्यसै क्रममा पठित र भलादमी देखिने दुईजना सज्जनहरू मेरो नजिकै आइपुगे । कसैको मलाम आएका उनीहरूले उता चिता जलेर भस्मीभूत नहुँदासम्म समय कटनी गर्नु थियो । सायद उनीहरू कुनै गम्भीर विषयमा बहस गरिरहेका थिए । बसिसकेपछि चञ्चल र जिज्ञासु प्रतीत हुने एकजनाले अर्कालाई प्रश्न गरे, ‘त्यसो भए मेरो जीवनको मूल्यहीनता के हो त ?’

अर्का शान्त र धीर देखिने सज्जनले उत्तर दिँदै भने, ‘तपाईंको जीवनको मूल्यहीनता सुन्नुहोस्– यदि तपाईं अहिले भर्खरै यहीँको यहीँ मर्नुभयो भने पनि यो दुनियाँलाई केही नोक्सान हुँदैन । यो संसारमा आठ अरब मानिस छन्, तीमध्ये तपाईंलाई चिन्ने कति छन् ? पचास ? सय ? पाँच सय ? ती चिन्नेमध्ये तपाईंलाई नजिकबाट चिन्ने कति छन् ? बीसजना ? तीसजना ? ती नजिकैबाट चिन्नेमध्ये तपाईंको चाहना गर्ने कति छन् ? दशजना ? बाह्रजना ? चाहना गर्नेमध्ये तपाईंलाई ‘मिस गर्ने’ अर्थात् तपाईंको अभाव महसुस गर्ने कति होलान् ? पाँचजना ? सातजना ? तीमध्ये तपाईंको अभावमा वेदनाले छट्पटाउने कति होलान् ?

KFC Island Ad
Dabur Nepal
NIC Asia

धेरै वर्षअघिको कुरा हो । तपाईंले प्रथम श्रेणीमा अमूक परीक्षा पास गर्नुभयो । तत्पश्चात् खोजेजस्तो नोकरी पाउनुभयो । तपाईंले व्यापारमा पनि हात हाल्नुभयो । जीवनसाथी पनि चाहना गरेझैँ सुन्दर, सुशील र सुयोग्य पाउनुभयो ।

व्यापार दिन प्रतिदिन फस्टाउँदै गयो । फेरि तपाईंले तारे होटेल खोल्नुभयो । तपाईं सभ्य, शान्त र भव्य देखिन थाल्नुभयो । ल भन्नुहोस् त, तपाईंको त्यो उन्नतिमा कोको खुसी भए र किन खुसी भए ?

Royal Enfield Island Ad

एक क्षण गम खाएर विचार गर्नुहोस् त मित्र, तपाईंको अभ्युदयमा कोको निःस्वार्थ तथा सच्चा मनले प्रसन्न भए र कोकोलाई मनमनै जलन भयो ? तपाईंको सौभाग्यदायी समृद्धिमा को टाढा र को नजिक भए ?’

त्यसरी अत्यन्तै कर्णकटु र खरो उत्तर पाएका मित्र सोचमग्न भएर केही बेर टाढा क्षितिजतिर हेर्दै टोलाए । अनपेक्षित उत्तर पाएका उनका चञ्चल आँखामा विषादको छाया देखिन थाल्यो ।

उनले गम्भीर हुँदै भने, ‘मेरो यतिका उमेर बितिसक्यो । म जसोतसो आफ्नै किसिमको जीवन जिउँदै आएको थिएँ । आज तपाईंले मसानघाटमा आएको मौका छोप्दै अकस्मात् यो अनर्गल प्रश्न गरेर मलाई सोच्न बाध्य पारिदिनुभयो । यो तपाईंले मेरो आँखा खोलिदिएको कि फुटालिदिएको ?

आज तपाईंले एउटा शान्त तलाउमा ढुंगा फालेर लहर उठाइदिनुभयो । तपाईंले एउटा सुस्थिर आत्मालाई झकझक्याएर हल्लाइदिनुभयो । त्यसो भए अब तपाईं आफैँ भन्नुहोस्, जीवन के हो ?’

शान्त र सुधीर मित्रले झन् शान्त हुँदै जवाफ दिए, ‘एक दिन अचानक तपाईंको नोकरी खोसियो । व्यापारमा पनि घाटा लाग्दै गयो । शरीर रोगी हुँदै गयो । तपाईं कुरूप देखिन थाल्नुभयो । तपाईंको सम्पत्ति लिलाम भयो । दैवलीलाले गर्दा तपाईंमाथि अनेकौँ आरोप आइलागे ।

तपाईंमाथि फौजदारी मुद्दा लाग्यो । तपाईं जेल पर्नुभयो । हेर्दाहेर्दै तपाईं सुकुम्वासी हुनुभयो । ल भन्नुहोस् त मित्र, तपाईंको अवनतिमा को दुःखी भयो ? कसले सहयोगको हात बढायो ? कसले ‘म छु, चिन्ता नगर’ भन्यो ? को साथमा रह्यो र कसले साथ छाडिदियो ?’

म सुनिरहेको थिएँ । मलाई परतिर महायज्ञमा भइरहेको पुराणवाचनभन्दा यी सज्जनहरूको संवाद रुचिकर लागिरहेको थियो । उनीहरूलाई पनि मेरो सामुमा कुरा गर्नमा कुनै संकोच थिएन ।

क्रमशः साँझका बत्तीहरू बल्दै गए । हामीले बलिरहेका दीपकहरू हेर्न थाल्यौँ । उता एउटा पाटीमा सन्ध्याकालीन घण्टहरू बजिरहेका थिए । कोही देवाधिदेव महादेवको भव्य मनमोहन रूपको गुणानुवाद गरिरहेको थियो– 
चलत्कुण्डलं भ्रू सुनेत्रं विशालं । प्रसन्नाननं नीलकंठं दयालं
मृगाधीशचर्माम्बरं मुण्डमालं । प्रियं शंकरं सर्वनाथं भजामि

कति सार्थक नामकीर्तन । हलाहल विष पिएर सारा कष्ट कण्ठमा धारण गर्दा पनि कति निर्मल र प्रसन्न अनुहार ! सुन्दर आँखाहरूमा पनि उस्तै दीप्ति र विशालता । शरीरमा बाघको छाला र गलामा मुण्डमाला पहिरिएर रनबन विचरण गर्दा पनि कस्तो प्रफुल्लता ! अनि, असीम कंगालीमा पनि कस्तो खुसहाली र मानसिक सम्पन्नता !

आज मेरा नवमित्र सुधीर बडो अबन्ध्य मनस्थितिमा थिए । सायद उनी आफ्नो मनका साराका सारा भावहरू भोलेनाथालाई साक्षी राखेर पोख्ने फिराकमा थिए । उनी भन्दै गए, ‘यहाँ सयौँ भक्तजन जम्मा भएका छन् । सबैको शिवमा अगाध भक्ति छ । किन भक्ति छ थाहा छ ? किनकि, प्रायः सबका सब माग्न आएका हुन् । प्रायः सबै मगन्ते र स्वार्थी अतृप्त आत्माहरू । हे प्रभु, मेरो छोरो परीक्षामा उत्तीर्ण होस् । बुहारी मैले खोजेजस्तै असल परोस् । व्यापारमा नाफा होस् । सुन्दर, असल, धनाढ्य र  भनेको मान्ने पति पाऊँ ।’

सायद मित्र ठिक भन्दै थिए । मलाई पनि महसुस भयो कि सायद त्यहाँ कसैले पनि हरेक अवस्थामा प्रसन्न रहने सदाशिवको महनीय व्यक्तित्वको विम्बलाई महसुस गर्न चाहेन । कसैले पनि जीवनमा कहिलेकाहीँ अनपेक्षित विषको घुट्को पिउन तयार हुनुपर्छ भन्ने महसुस गरेन ।

सदाशिवले विष पिए त पिए, त्यो उनको निजी मामिला हो । उनी अभावमा पनि मुस्कुराए त मुस्कुराए, त्यो उनको निजी मामिला हो । कसैले पनि महादेवको आँगनमा खडा भएर प्राप्तिमा पनि र अभावमा पनि समान भावमा रहनेछु भनेर प्रतिज्ञा गरेन । पशुपतिको परिसरमा पुगेर पनि कसैले आफ्नो गल्ती स्वीकार गरेन । त्यहाँ कसैले पनि पनि आफ्नो भागको कर्मलाई सम्यक् तरिकाले सम्पादन गर्ने प्रतिज्ञा गर्न चाहेन ।

त्यहाँ थुप्रै बिग्रेका मानिस पुगेका थिए, किन्तु कसैले पनि सुध्रने प्रण गरेन । हरेक व्यक्ति मनमनै आफूबाहेक सबैलाई आफूअनुकूल भएको देख्ने अभिलाषा बिसाएर फर्क्यो । त्यहाँ अत्यन्तै थोरैले मात्र सत्, चित् र आनन्दको अनुभव गरे ।

यो त भयो पशुपतिनाथको आँगनको प्रसंग । मित्र सुधीरको सुधीर समझ र ज्ञानले पशुपति दर्शन गर्न जाने मनुष्यको मनभित्र देखेको कुरा हो यो । उनले कति सत्य र कति मिथ्या देखे मैले यसै भन्न सक्ने कुरा भएन । परन्तु, उनी सत्यको निकै नजिक छन् भन्नेमा शंका मान्नुपर्ने कारण छैन ।

जीवन एक नीलकण्ठ हो । किन नीलकण्ठ हो ? किनकि, हलाहल विष पेटमा पुगे मार्छ र मुखमै राखे जलाउँछ । जीवनको विसंगतिलाई घाँटीमा राख्नुपर्छ, न तल न त माथि ।

वास्तवमा यही हो जीवनको सन्तुलन । त्यसो भए जीवनको संगति के हो त ? संगति त्यो जीवनमा छ, जो नीलकण्ठजस्तो छ । संगति त्यहाँ छ, जब मनुष्यले सिसिफसले झैँ दायाँबायाँ नगरी अहर्निश जीवनको बोझिलो पत्थर बोकिरहन्छ । तर्क गरेर होइन, कर्म गरेर ।

जीवनको अर्थ खोजेर होइन, भारवहन गरेर । भारी बिसाएर होइन, भारीको व्यवस्थापन गरेर । रोएर होइन, जब्बर परिश्रम गरेर । सुधीर भन्दै थिए, ‘तपाईं रोएर कसलाई के फरक पर्छ ? तपाईंले आफूलाई बिचरा देखाएर कसको दिल पग्लन्छ ?’

व्यथित साथीले फेरि सोधे, ‘त्यसो भए सुख के हो ?’

यहाँनिर भने सुधीर पनि असमञ्जसमा परे । भने, ‘बडो जटिल प्रश्न गर्नुभयो । सुख एक मानसिक अवस्था हो । सुख एक अस्थायी प्रसन्न मनस्थिति हो । सुख एउटा तात्तातो जेरी मुखमा राखेको क्षणजस्तै हो । मरुभूमिमा अत्यन्तै तिर्खा लागेको बेला एक गिलास लस्सीजस्तो । दिसाले अत्याएर आच्छु आच्छु पारेको बेला शौचालयमा छिर्न पाएजस्तो । थाकेको बटोहीले पाटीमा एकराते वास पाएजस्तो । जेठको गर्मीमा तिर्खाले तड्पिरहेकी ढाक्रे बहिनीले एक गिलास ठन्डा सर्बत पिउन पाएजस्तो ।’

फेरि प्रश्न, ‘जीवन कस्तो निरर्थक हगि ?’

‘हो त नि । निरर्थक छ र त मजा छ । म निरर्थकतामा पनि जिउन सक्षम छु । नियतिले प्रदत्त गरेको आजीवन उपहार गरुंगो पत्थर बोकेको बोक्यै छु । कण्ठमा विष धारण गरेको छु, परन्तु कुनै दुःखमनाउ गर्दिनँ । कंगाल छु, तैपनि झुक्दिनँ । भोको छु, तर रुँदै हिँड्दिनँ । कसैको दयाको पात्र होइन म । म आफैँ अस्तित्व हुँ । म आफैँ मेरो स्व हुँ । म आफैँ पूर्ण हुँ । मविना कसैलाई पर्वाह छैन भने नहोस्, मलाई पनि कसैको पर्वाह छैन ।

म रनबन भौँतारिने महादेवको रोमकूपबाट निस्केको नुनिलो पसिना हुँ । मेरा लागि महादेव कुनै स्थूल अस्तित्व होइन । महादेव त एक प्रतीक मात्र हुन्, जीवन जिउन प्रेरणा दिने एक मनोमय सौगात । म परिश्रमी, अटल र धैर्यशाली सिसिफस हुँ । म गल्दिनँ, म डग्दिनँ, म डर्दिनँ, म कसैको खुसामद गर्दिनँ ।

मलाई मेरो अवसानको चिन्ता छैन । कसैले मेरो जयन्ती मनाओस् भन्ने चाहना छैन । म सदाका लागि जाँदा कसैको केही गुम्ने छैन । नगुमोस् न, मलाई कुनै चिन्ता छैन । कसैप्रति कुनै गुनासो छैन । कसैलाई दुई थोपा आँसु देखाउनु छैन । मलाई कसैको सहानुभूतिको दरकार छैन । मलाई कसैले ‘कठै’ भनेर दया गरोस्, चाहना छैन ।’

प्रश्न– के यो अभिमान हो ?

‘अभिमान होइन मित्र । यो अभिमान होइन, बरु अभियान हो । यो अभिमान होइन, बरु स्वाभिमान हो । मैले पारस्परिकता र करुणा चाहिन्न भनेको होइन । महादेवको विम्बात्मक वरद हस्त चाहिन्न भनेको होइन । स्वयम्भूको दुई आँखाभित्र निवास गर्ने न्याय–अन्यायको विवेक चाहिन्न भनेको होइन ।

‘ॐ सह नाववतु । सह नौ भुनक्तु । सह वीर्यं करवावहै । तेजस्वि नावधीतमस्तु मा विद्विषावहै । ॐ शान्तिः शान्तिः शान्तिः’ को उदात्त सहभाव र शान्तिभावको महत्त्व छैन भनेको होइन । वसुधैव कुटुम्बकम् मिथ्या छ भनेको होइन ।

मैले त केवल कसैको ‘कठै’ चाहिन्न मात्र भनेको हुँ । कर्ममा विश्वास छ भनेको हुँ  । एकोहोरो रोटी पकाउने चेष्टा नगर भनेको हुँ । मैले जीवनमा सबैभन्दा मायालु वस्तु आफ्नै जीवन हो भनेको हुँ । हवाईजहाजमा अक्सिजनको अभाव भएर मास्क लगाउनुप¥यो भने पहिले आफूलाई लगाएर मात्र अरूलाई लगाइदेऊ भनेको हुँ ।

पहिलो स्याहार आफ्नै गर । आफ्नो भागको पत्थर प्राथमिकतामा बोक । आफूलाई सहायता गरेर समय बचत रह्यो भने अरूलाई पनि सहायत गर । तिमी अगाडि बढ्दै जाँदा कोही पछाडि छुट्यो कि भनेर चिन्ता नगर । जीवन हो, तिमी अघि बढ्दा कोही पछाडि पर्छ भने पर्न देऊ । सक्छौ कसैको हात तान, किन्तु पछाडिबाट खुट्टा नतान ।’

फेरि प्रश्न– जब कसैसँग कुनै वास्ता छैन भने चिरायु हुनु र अल्पायु हुनुमा के फरक छ ?

धेरै बाँच्नु या थोरै बाँच्नुको चक्कर किन ? तिम्रो नियन्त्रणमा नरहेको कुराको सरोकार किन ?

तथापि, सबैको जीवनको आ–आफ्नो भाग र भोग हुन्छ । एउटा झिँगा कति समय बाँच्छ ? झिँगाको परम आयु जम्मा तीस दिन होला । मनुष्यको नजरमा ऊ साह्रै अल्पायु प्राणी हो । किन्तु, झिँगाको समुदायमा पनि कोही चिरायु र कोही अल्पायु हुन्छ ।

कति अवधि बाँचियो भन्ने कुराले महत्त्व राख्दैन साथी । आफ्नो भागको पत्थर कसरी बोकियो ? महत्त्व त्यसमा छ । आफ्नो भागको नीलकण्ठत्वको पालनामा कति सफल हुन सकियो ? महत्त्व त्यसमा छ । समय त उडिरहेको छ हरपल । तर, त्यो पललाई कसरी समात्न सकियो ? निरर्थकताबीच पनि जीवनलाई कति मात्रामा सार्थक बनाउन सकियो ? महत्त्व त्यसमा छ ।

जीवन जिउने सिलसिलामा तपाईं शिशुको मुस्कान र चरीको उडानको दृश्यबाट कत्तिको मोहित हुनुभयो ? गर्मीले चिटचिट पसिना आइरहेको बखतमा शीतल समीरको स्पर्श पाउँदा शरीर र मन कत्तिको प्रसन्न भयो ? बिहान सबेरै उदाउँदो सूर्यको रश्मि पाएर हाँसेको धौलागिरिको दर्शन पाउँदा तपाईंको चित्त कत्तिको उत्फुल्ल भयो ? वन, पाखा र पहराको भ्रमण गर्दा सुनिएको कोइलीको कोहोकोहो र न्याउलीको न्याउन्याउले तपाईंको हृदय कत्तिको आह्लादित भयो ?

झरनाले भनेको कविता, वर्षाले भनेको श्लोक र गण्डकी नदीको शान्त सुसाइले तपाईंको चेतना कत्तिको कवितामय भयो ? ढिकी, जाँतो र पानीघट्टको संगीत सुन्नुभएको छ ? छ भने त्यहाँ के बुझ्नुभयो ? वनका तिखा काँडाको घोचाइ र मनुष्यका वचनरूपी काँडाको घोचाइको फरक थाहा पाउनुभयो कि भएन ? भोक,  तिर्खा, नग्नता र कंगालीको दुःख थाहा छ कि छैन ? ईष्र्या, द्वेष, उत्साह, दुरुत्साह र मात्सर्यको संसारलाई कत्तिको नजिकबाट अनुभव गर्नुभएको छ ?

म यस धरामा आउँदा रोएको थिएँ रे, तर मैले सुनिनँ । शैशवावस्थामा म दिसापिसाबको कुण्डमा डुबेको थिएँ, तर मैले बिर्सें । मलाई किरा र कमिलाले टोके होलान्, पेट दुख्यो होला, कति दिग्दार लाग्यो होला, तर मलाई केही पनि याद छैन ।

निर्दोष उमेरमै जीवन मूल्यहीन र विसंगत लाग्यो होला मलाई । मलाई हुर्केकाहरूको मस्ती देखेर ईष्र्या लाग्यो होला । कति अर्थहीन र दुःखदायी थियो होला मेरो बाल्यजीवन ? परन्तु, हुर्केकाहरूले बालबालिकाको जीवनलाई ‘आहा !’ भने, किनकि उनीहरूले मेरो बालककालीन जीवनलाई आफ्नै नजरले हेरेका थिए ।

जीवनको मर्म आफ्नै स्वले मात्र बुझ्छ, अर्कोले बुझ्दैन । अर्काको दुःख र मर्म को देख्छ ? अर्काको मनको वह र वेदना को बुझ्छ ?

अर्को प्रश्न– त्यसो भए सच्चा सन्देश के हो ?

प्रत्येक व्यक्ति नीलकण्ठ बन्नुपर्छ, यही नै सर्वोपरि सन्देश हो । स्वयम्भूका दुई आँखाको सन्देश विवेक हो । अलमस्त ढलिरहेका बूढानीलकण्ठ नारायणको सन्देश जीवनको नियतिको दृष्टान्त हो । कामाख्या देवीको सन्देश जीवनशक्ति, पुनरुज्जीवन र मातृशक्ति हो ।

बुद्धको ‘दुःख छ’ मा जीवनको वास्तविकतालाई स्वीकार गर्ने सन्देश निहित छ । बुद्धको सिंगो जीवनको सन्देश सहनशीलता, करुणा र ‘अप्प दीपो भव’मा छ । युनानी पौराणिक कथाको पात्र सिसिफस अस्तित्ववाद र अविश्रान्त कर्मको सन्देश हो ।

प्राप्त जीवनलाई स्वीकार गर्दै यी सन्देशहरूलाई मनन गर, परन्तु जीवनको अर्थ खोज्नेतर्फ नलाग । यदि, जीवनको प्रयोजन खोज्न थाल्यौ भने अन्तहीन भ्रान्तिको सागरमा हराउनेछौ । नियतिले जिम्मा लगाएको पत्थर बोकिराख बोकिराख । कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन । चरैवेति चरैवेति ।

तपाईं मोटामोटी तवरले खुसी हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईंले जीवनलाई स्वीकार गर्नुभएको छ । स्वीकार गर्नुभएको छ भने तपाईं सिकायती हुनु हुन्न । सिकायती नहुनुको अर्थ हो, तपाईं भाग्यलाई धिक्कारेर आफ्नै हृदयमा घाउ बनाउने फिराकमा हुनु हुन्न ।

तपाईं एक बुझकी मानव हो । तपाईंले घडीमा बिहान उठ्ने ‘अलार्म’ फिट गर्नुभएको छ । तपाईं कहिलेकाहीँ भविष्यमा यो गर्छु, त्यो गर्छुका गुलिया योजना बुन्नुहुन्छ र त्यो पाएपछिको काल्पनिक सुखमा रम्नुहुन्छ नि, त्यही हो जीवनको सुख ।

तपाईं योजना बनाउँदै बिर्संदै गर्नुहुन्छ ? कविता लेख्दै मेट्दै गर्नुहुन्छ ? नदीझैँ हिँड्दै पाइला मेट्दै गर्नुहुन्छ ? हो, त्यही हो जीवन । याद गर्नुहोस्, तपाईंको अस्तित्वको सबैभन्दा मूल्यवान् उपहार तपाईंको स्वतन्त्र चेतना हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro