site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कहाँ जान्छ स्वास्थ्य कर कोषको रकम ? बिमाको दायरा बढाउन प्रयोग गर्न मिल्छ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कार्यकालको सुरुदेखि नै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजनामा जोड दिँदै आएका छन् । त्यसका निम्ति उनले बिमा सुविधाको दायरा बढाउने र सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई बिमामा समेट्ने प्रस्ताव अघि सारेका छन् ।

हाल एक लाख रुपैयाँ रहेको बिमाको सुविधाको दायरा पाँच लाख रुपैयाँ पुर्‍याउने मन्त्री पौडेलको पछिल्लो घोषणाले स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाएको छ । हालकै प्रिमियम रकम (तीन हजार ५०० प्रति पाँच जनाको परिवार) बाट पाँच लाख रुपैयाँसम्मको सुविधा दिलाउन मन्त्री पौडेलका मुख्य दुईवटा माध्यम अपनाउने बताएका छन्– सुगर ट्याक्स र स्वास्थ्य कर कोष ।

कोल्ड ड्रिंक्स तथा चिनीजन्य खाने कुरामा सुगर ट्याक्स लगाएर त्यसबापत उठ्ने कर स्वास्थ्य कर कोषमा जम्मा गर्ने मन्त्री पौडेलको एउटा प्रस्ताव छ । अर्को भने कर कोषमा रहेको रकम ऐनबमोजिम बढाएर हाल जम्मा हुने प्रिमियममा थप गर्ने उनको अवधारणा छ ।

Dabur Nepal
NIC Asia

“हाल स्वास्थ्य बिमा कार्यक्रममा बिमितबाट उठ्ने र सरकारले विनियोजन गर्नेगरी करिब ९ अर्ब रुपैयाँ प्रिमियम रकम जम्मा भइरहेको छ । यो रकम सुविधाको दायरा बढाउन पर्याप्त छैन । स्वास्थ्य कर कोषको रकम बढाउन सके नागरिकलाई भार नपर्ने गरी सुविधाको दायरा पाँच लाखसम्म पुर्‍याउन सकिन्थ्यो,” उनले सञ्चारकर्मीमाझ भनेका छन् ।

अहिले स्वास्थ्य कर कोषको रकम कहाँ खर्च भइरहेको छ ?

सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ मा स्वास्थ्य कर कोषको व्यवस्था गरिएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने नियमावली, २०६८ को दफा १८ मा नेपाल सरकारले आर्थिक ऐनद्वारा लगाएको धूम्रपान तथा सुर्तीजन्य पदार्थको अन्त:शुल्क कर बाट उठेको कुल रकमको कम्तीमा २५ प्रतिशत रकम स्वास्थ्य कर कोषमा जम्मा गरिने व्यवस्था छ ।

नियमावलीको दफा १९ मा कोषको रकम बाँडफाँट र खर्चबारे प्रस्ट पारिएको छ । जसमा, धूम्रपान तथा सुर्तीको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान, उपचार तथा अनुसन्धान गर्न ७५ प्रतिशत रकम खर्च गरिने उल्लेख छ । सो रकम सरकारी स्वामित्वका अस्पतालहरूले पाउने छन् ।

यस्तै, स्वास्थ्य संस्थाले गर्ने धूम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि स्वास्थ्य शिक्षा जनचेतनामूलक र सेवामूलक कार्यक्रम सञ्चालन गर्न १५ प्रतिशत रकम खर्च गरिने नियमावलीमा व्यवस्था छ । यो रकम मन्त्रालयअन्तर्गतका केन्द्र वा महाशाखाहरूले खर्च गर्ने भनिएको छ ।

यस्तै, धूम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सामाजिक संस्था वा गैरसरकारी अस्पताललाई १० प्रतिशत रकम उपलब्ध गराइने नियमावलीमा उल्लेख छ ।

कोषलाई स्वास्थ्य कर कोषको सचिवालयमार्फत स्वास्थ्यसचिव अध्यक्ष रहने समितिले सञ्चालन गर्छ ।

गत आर्थिक वर्ष २०८०/०८१ मा कोषमा ४० करोड रुपैयाँ उपलब्ध गराइएको थियो । सो रकम नियमावलीले तोकेबमोजिम ७४ वटा संस्थालाई उपलब्ध गराइएको कोषका सदस्य सचिव गोपीकृष्ण रेग्मीले जानकारी दिए ।

चालु आर्थिक वर्षका निम्ति कोषले ३८ करोड ४० लाख रुपैयाँ पाएको छ । यसको बाँडफाँट भदौभित्र टुंगो लगाउने गरी कोषले प्रक्रिया अघि बढाएको छ ।

कोषमा अर्थ मन्त्रालयले ऐनले तोकेबमोजिम २५ प्रतिशत रकम उपलब्ध नगराउँदा पनि यसबाट ठूलो उपलब्धि हासिल गर्न नसकिएको सरोकारवाला बताउँछन् ।

आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा चुरोटबाट मात्रै २६ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भएको छ । तर, कोषमा ऐनले तोकेको मापदण्डअनुसार नभई त्यसको ५ प्रतिशत रकम पनि नराखिएको तथ्यांकले देखाउँछ ।

ऐनअनुसार २५ प्रतिशत रकम पाउनुपर्ने दाबी कोषले पटकपटक गरिरहँदा पनि अर्थ मन्त्रालयले रकम अपुग हुने भन्दै दिन आनाकानी गर्ने गरेको सदस्य सचिव रेग्मी बताउँछन् ।

चालु आर्थिक वर्षका निम्ति पनि बजेट सिलिङमा ६० करोड रुपैयाँ माग गरिएको तर अर्थले नपुग्ने भन्दै गत आर्थिक वर्षको भन्दा झनै घटाएर पठाएको रेग्मी बताउँछन् ।

बिमामा कोषको रकम खर्च गर्न मिल्छ ?

स्वास्थ्य कर कोषको रकम कहाँ कसरी र कति खर्च गर्ने भन्नेबारे सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ र यसको नियमावलीले प्रस्ट तोकेको छ । मन्त्री पौडेलले भनेजस्तै तत्काल कोषको रकम बिमाको प्रिमियममा खर्च गर्न कानुनअनुसार मिल्दैन ।

तर, ऐन नै परिमार्जन गरेर रकम खर्च गर्ने शीर्षक थप गर्न भने सकिने सदस्य सचिव रेग्मी बताउँछन् ।

मन्त्री पौडेलले भर्खरै सार्वजनिक गरेका १४ बुँदे कार्ययोजनामा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन, २०६८ परिमार्जन गरिने विषय समेटिएको छ । स्वास्थ्य बिमा ऐन, २०७४ लाई समेत संशोधन गरेर यसअन्तर्गतका सेवा सहज र प्रभावकारी बनाइने उनले बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro