पान पसलदेखि चिया पसल, भत्केका सडकमा गुड्दै गरेका टेम्पोदेखि बादलमाथि उडिरहेका विमानसम्म नरेन्द्र मोदी समर्थकबीच गएका वर्षहरूमा एउटा प्रश्न थियो, ‘यदि मोदी होइन भने को त ?’ अर्थात् नरेन्द्र मोदीको विकल्प को त ?’
अलि पहिले विपक्षी नेताहरूमध्ये कसैले मोदीको स्थान लिन सक्छ ? प्रश्न गर्ने गरिन्थ्यो । र, अझै पनि प्रश्न गरिन्छ, ‘‘बीजेपी (भारतीय जनता पार्टी) भित्र मोदीको स्थान लिन सक्ने कोही छ ?’’
तेस्रो पटक प्रधानमन्त्री बनेका मोदी सन् २०२५ को अन्तसम्म ७५ वर्षका हुनेछन् । ‘७५ वर्षीय उमेर’को राजनीतिक अर्थ बुझ्न केही तिथि–मिति र भनाईमा घोत्लिनुपर्ने हुन्छ ।
केजरीवालले गरेको प्रश्न ?
२०२४ को मे महिनामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलबाट जमानतमा रिहा भए । जेलबाट बाहिरिएसँगै उनले बीजेपीका बारेमा अनेक दाबी गर्दै भाषण गरे । तर, केजरीवालको एउटा भनाईका हकमा बीजेपीका नरेन्द्र मोदी र अमित शाह समेतले प्रष्टीकरण दिनुपर्यो ।
११ मे २०२४ मा केजरीवालले भनेका थिए, “मोदी १७ सेप्टेम्बर २०२५ मा ७५ वर्षका हुँदैछन् । २०१४ मा मोदीले नै बीजेपीमा ७५ वर्षपछि राजनीतिक सन्यासका नियम बनाएका छन् ।”
यसको प्रतिउत्तरमा अमित शाहले भने, “अरविन्द केजरीवाल र पुरै इन्डिया अलायन्सलाई म भन्न चाहन्छु, मोदीजी ७५ वर्ष पुग्दैमा तपाईं(हरू) आनन्दित हुनुपर्दैन । ७५ वर्ष पुग्दैमा सन्यासमा जानुपर्छ भनेर बीजेपीको विधानमा कतै लेखिएको छैन । मोदीजी नै आफ्नो कार्यकाल पूरा गर्नुहुन्छ र देशको नेतृत्व गरिराख्नुहुन्छ, यस विषयमा बिजेपीभित्र कुनै दुविधा छैन ।”
उता केजरीवालको भनाईको खण्डनमा मोदी पनि उत्रिए ।
मोदीले भने, ‘‘परिवारको मुख्य मान्छेले आफ्ना सन्ततीका लागि केही न केही छाडेर जान चाहन्छ । उसले आफ्ना सन्ततीलाई केही दिएर जान चाहन्छ । तर, मोदीका सन्तती को छन् ? मैले कसका लागि के छाड्नु छ र ? मेरा सन्ततीहरू तपाईं देशवासी हो, तपाईंहरू नै मेरो परिवार हो, तपाईं नै मेरो वारिस (उत्तराधिकारी) हो ।’’
एउटा कुरा ख्याल गर्नुहोस्, यी सबै भनाई २०२४ को लोकसभा चुनाव अगाडिका हुन् । यतिखेर ४०० सिट पार गर्ने बीजेपीको सपना टुटिसकेको छ ।
त्यसो भए के यो चुनावी नतिजापछि बीजेपीभित्र नयाँ उत्तराधिकारीका बारेमा चर्चा सुरु भएको छ ? बीजेपीभित्र नरेन्द्र मोदीको उत्तराधिकारी को हुन सक्छ ? उत्तराधिकारी चयनमा राष्ट्रिय स्वयं सेवक संघ (आरएसएस) को भूमिका के हुन सक्छ ?
जानकारहरूका अनुसार आरएसएसको भूमिका यसकारण महत्वपूर्ण हुन्छ– जतिखेर बीजेपी कमजोर हुन्छ त्यतिखेर बीजेपीमा आरएसएसको भूमिका बढ्छ ।
कैयौं राजनीतिक जानकारहरूले योगी आदित्यनाथ र गृहमन्त्री अमित शाहबीच राजनीतिक रस्साकस्सी चलिरहेको अनुमान गरिरहेका बखत मोदीको उत्तराधिकारी को हुने भन्ने प्रश्न झन् महत्वपूर्ण हुन्छ ।
७५ वर्षमा अवकाशको कुरा कहाँबाट आयो ?
२०१४ मा नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री बन्दा लालकृष्ण आडवाणी र मुरली मनोहर जोशी जस्ता शीर्ष नेताका लागि संसदीय बोर्ड वा क्याबिनेटमा ठाउँ भएन ।
यी दुवै नेताले त्यस्तो ठाउँ पाए, जुन थियो, ‘मागदर्शक मण्डल’ ।
आडवाणी त्यतिखेर ८६ र जोशी ८० वर्षका थिए ।
सन् २०१६ को जुन महिनामा मध्य प्रदेशको मन्त्रिपरिषद् बिस्तारका क्रममा ७५ वर्ष पार गरेका बाबुलाल गौर र सरताज सिंहले मन्त्री पदबाट राजीनामा दिनुपर्यो । यसैगरी ८० वर्ष पार गरेकी पूर्व लोकसभा अध्यक्ष सुमित्रा महाजनले कुनै जिम्मेवारी पाइनन् । हिमाञ्चलका दिग्गज नेता शान्ता कुमार पनि यसरी नै किनारा लगाइए ।
त्यतिखेर अमित शाहले भनेका थिए, “७५ वर्ष पार भइसकेका नेतालाई चुनाव लड्न अनुमति नदिने भनेर पार्टीमा कुनै नियम वा परम्परा छैन ।” कर्नाटकको येदियुरप्पा यो विषयका एक उदाहरण थिए, जो ८० वर्षका भएर पनि कनार्कटकमा बीजेपीको कमान सम्हालिरहेका थिए ।
२०१९ को लोकसभा चुनावममा ९१ वर्षीय लालकृष्ण आडवाणी र ८६ वर्षका मुरली मनोहर जोशीलाई बीजेपीले टिकट दिएन । अप्रिल २०१९ को एक अन्तर्वार्तामा अमित शाहले भनेका थिए, “७५ वर्ष पूरा भइसकेका कसैलाई पनि पार्टीले टिकट दिएन, यो पार्टीको निर्णय हो ।”
त्यसैगरी एक पुरानो भिडियोमा अमित शाह भन्छन्, “७५ वर्षभन्दा बढी उमेरका नेतालाई कुनै जिम्मेवारी नदिने फैसला भएको छ ।”
यद्यपि विगतमा कलराज मिश्र, नजमा हेपतुल्ला र यतिखेर जीतनराम माझी ७५ वर्ष पुगेर पनि मोदी क्याबिनेटमा आफ्नो स्थान बनाउन सफल भए । यीमध्ये माझी बीजेपीका सदस्य नभई सत्ता गठबन्धका नेता हुन् ।
७५ पछि सन्यासको नियम मान्लान् मोदीले ?
कुनै समय मोदीका चुनावी रणनीतिकार रहेका प्रशान्त किशोरले एक अन्तर्वार्तामा भनेका थिए, “यो नियम बनाउन त मोदीले नै बनाएका हुन्, अब यसलाई मान्ने वा नमान्ने उनमा नै भर पर्छ ।”
आरएसएस र बीजेपी विचारधाराका समर्थक डा. सुर्वोकमल दत्ता भन्छन्, “७५ वर्ष पुगेपछि प्रधानमन्त्रीले यसमा विचार गर्छन् वा गर्दैनन् भन्ने कुरा उनैमा निर्भर छ । मानिलिनुहोस् यदि उनले सन्यास लिनुपर्छ भनी सोचे भने त्यो उनको निजी सोच हुन्छ । यो विषयमा संगठन विचारधाराको तर्फबाट यसमा कुनै प्रकारको दबाब छैन ।”
बेजेपी, आरएसएस, अटलबिहारी वाजपेयी र योगी आदित्यनाथमाथि किताब लेखिसकेका वरिष्ठ पत्रकार विजय त्रिवेदी भन्छन्, “७५ वर्ष पुग्ने बित्तिकै मोदी आफ्नो कार्यकाल पूरा नगरुन् र आरएसएसले पनि कोही अर्कोलाई खोजिरहेको होस्, यस्तो अवस्था यतिखेर छ जस्तो लाग्दैन ।”
वरिष्ठ पत्रकार राकेशमोहन चतुर्वेदी भन्छन्, “नरेन्द्र मोदी अझै पनि निकै सक्रिय छन् । यस्तो लाग्छ २०२९ सम्म नरेन्द्र मोदीको हातमा नै कन्ट्रोल हुन्छ होला ।”
तर, राजनीति अनिश्चतताले भरिएको हुन्छ । विशेषगरी बीजेपी र आरएसएसको मामिलामा कुनै पनि चिजको तयारी निकै पहिलेदेखि नै सुरु भईसकेको हुन्छ । ‘संघम् शरणम गच्छामी’ किताबका लेखक विजय त्रिवेदी भन्छन्, ‘नम्बर एक हुन लडाईं सुरु भएकै छैन । तर, मलाइ लाग्छ खोज भने सुरु भइसकेको होला ।
आरएसएसलाई हामीले बुझे अनुसार उसले दूरगामी निर्णय र नीतिमा विश्वास गर्छ । उसँग लामो समयका लागि के कार्ययोजना हुन्छ, त्यसमा उनीहरू लागिरहन्छन् । थाहै छ, बीजेपीमा प्रधानमन्त्री मोदीका अलवा अर्को नेतृत्वको खोज पनि आरएसएस गरिरहेको होला ।’
त्यसो भए के आरएसएसले साँच्चिकै मोदीको उत्तराधिकारीको तयारी सुरु गरिसकेको छ ? यो प्रश्नको जवाफभन्दा पहिले विगत दश वर्षमा नरेन्द्र मोदी र आरएसएसबीच सम्बन्ध कस्तो रह्यो भनेर बुझ्नुपर्छ ।
आरएसएस, बीजेपी र नरेन्द्र मोदी
आरएसएसका दोश्रो संघ चालक माधवराज गोलवलकरले नवगठित राजनीतिक दल जनसंघमा गएका आफ्ना स्वयंसेवकका लागि दशकौं पहिले भनेका थिए, “उनीहरूले आकाशमा जतिसुकै अग्लो छलाङ्ग लगाउन्, आखिर धर्तीमा आउनै पर्छ ।”
त्यही भारतीय जनसंघ १९८० मा गएर भारतीय जनता पार्टी बन्यो । गोलवलकरले यस्तो भनेको धेरै दशक बितिसके तर, आरएसएसले आफ्ना नेतालाई विगतमा आकाशबाट धर्तीमा ओरालेका कयौं उदाहरण छन् ।
बलराज मधोक, जसवन्त सिंह, लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी यस्ता केही उदाहरण हुन् । भन्ने गरिन्छ जब यी ठूला नेता बोझ बन्न लागे, तब आरएसएसले यिनलाई तल झारिहाल्यो ।
संघको यो व्यवहार आज पनि यस्तै देखिन्छ । हालसालै आरएसएस प्रमुख मोहन भागवतले भनेका यी भनाई हेर्नुहोस् ।
१० जुन २०२४ मा भागवतले भने, “जो वास्तविक सेवक हुन्, जसलाई वास्तविक सेवक भन्न सकिन्छ उनीहरू मर्यादा अनुसार चल्छन् । मर्यादा पालन गरेर हिँड्नेहरू कर्म गर्छन् तर, कर्ममा लिप्त रहँदैनन् । मैले गरेको छु र म नै सेवक भनिनुपर्छ भन्ने अहंकार उनीहरूमा आउँदैन ।”
१८ जुलाई २०२४ मा भागवनतले फेरि भने, “मान्छे हो तर, मानवता होइन । उनी पहिला मान्छे बनुन्... । फेरि मान्छे अलौकिक, सुपरम्यान अति मानव बन्न चाहन्छ । यही रोकिँदैन, फेरि उसलाई लाग्छ देवता बन्नुपर्छ । फेरि देवता भन्छन्, हामीभन्दा ठूला त भगवान हुन् । अनि उ फेरि भगवान बन्न चाहान्छ । भगवान भन्छन्, म त विश्वरुप हुँ । यहाँ रोकिने ठाउँ छ कि यहाँभन्दा पनि अगाडि केही छ ?”
मोहन भागवनतका यी भनाइमा कतै पनि प्रधानमन्त्री मोदीको नाम छैन ।
आरएसएसमार्फत आउने सन्देश परम्परागत रुपमा यस्तै हुन्छन् । यी सन्देश कसका लागि हुन् भनी ठोकुवा गर्न सकिँदैन । यद्यपि यी भनाईसँग प्रधानमन्त्री मोदीको कुनै सम्बन्ध छैन भन्न पनि मुस्किल छ ।
आरएसएससँग जोडिएका कयौं मानिस र जानकारहरूका अनुसार २०२४ को चुनावमा बीजेपीका लागि आरएसएसले पहिला जसरी काम गथ्र्यो यसपटक गरेन । चुनावमा मतदाताबीच बीजेपीलाई फाइदा हुनेगरी भाष्य र माहोल बनाउने मुख्य काम हो आरएसएसको ।
आरएसएसकै सहमतिमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको दौडमा २०१३ मा आफूलाई अगाडि सारेका थिए । त्यसो भए पछिल्ला वर्षमा यस्तो के भयो जसले गर्दा मान्छेहरू आरएसएस प्रमुखको भनाईले मोदीलाई संकेत गरेको देख्छन् ?
किन मोदी र आरएसएसबिचको दुरी बढेको अनुमानलाई बल पुगिरहेको छ ? २०२४ को लोकसभा चुनावमा आरएसएसले २०१९ वा २०१४ को चुनाव जस्तै बिजेपीलाई किन सहयोग गरेन ?
आरएसएस र मोदी– दुरीको कुरा कहाँबाट आयो ?
सन् २०२४ मा बीजेपीका राष्ट्रिय अध्यक्ष जेपी नड्डाले एक अन्तर्वार्तामा भनेका थिए, “सुरुवातमा हामी अक्षम थियौं होला । हाम्रो संख्या थोरै थियौं, र हामीलाई आरएसएसको आवश्यकता पथ्र्यो । आज हामी बढेका छौं, सक्षम भएका छौं बिजेपी आफूले आफूलाई चलाउँछ ।”
जानकारका अनुसार, यो भाइपछि आरएसएस बीजेपीसँग रिसाएको थियो । एक पत्रिकाका सम्पादकले भनेका थिए, “यो भनाईपछि आरएसएसमा आक्रोश थियो । चुनावका दौरान हुने प्रशिक्षण शिविर पनि यसपटक भएनन् । तपाईं आरएसएसको कुनै पनि सदस्यलाई सोध्नुहोस् उनीहरू यसपटक (चुनावमा) लगभग निस्किएका छैनन् । उनीहरूले मध्यप्रदेशमा भने जमेर मेहनत गरे किनभने शिवराज सिंह चौहानले सँधै (आरएसएसको) आदर–सत्कार गरेका थिएर, त्यहाँ नतिजा पनि देखियो ।”
तर, आरएसएसको आक्रोश यतिमै सीमित रहेन । ७ जुन २०२४ मा नीतीश कुमारले पुरानो संसद् भवनको सेन्ट्रल हलमा भनेका थिए, “हाम्रो पार्टी जेडियु, बीजेपी संसदीय दलका नेता नरेन्द्र मोदीलाई भारतको प्रधानमन्त्री पदका लागि समर्थन गर्छ ।”
नीतीश जुन संसदीय दलको नेता हुन मोदीलाई भनिरहेका थिए, बीजेपीको संसदीय दलको बैठक बस्यो त यसपटक ?
बीजेपी र संघको समाचार लेख्ने एक वरिष्ठ पत्रकारको दाबी अनुसार, ‘४ जुनको साँझ बीजेपीका शीर्ष नेता र एक वरिष्ठ क्याबिनेट मन्त्री दिल्लीस्थित आरएसएस अफिसमा गए । आरएसएसको तर्फबाट संसदीय दलको बैठक बोलाउँदै नेता चुन्नुहोस् भनियो । यो कुरालाई आरएसएसे निकै हल्का रुपमा भनेको थियो तर, यही कुरा अगाडि सुनाइएपछि त इशारा बुझियो ।’
यसपछि बीजेपी संसदीय दलको बैठक बोलाइएन । बरु यसको सट्टा एनडीए बैठक भयो । बीजेपीको वेबसाइटमा पनि २०२४ को चुनावको नतिजापछि बीजेपी संसदीय दलको नभई एनडीए बैठकको प्रेस रिलिज जारी गरिएको छ ।
जबकि २०१९ मा चुनावी नतिजा सार्वजनिक भएको पछिल्लो दिन एनडीएको नभई बीजेपी संसदीय दलको बैठक भएको थियो ।
स्रोतहरूको दाबी अनुसार, “आरएसएसका मानिसहरू अनौपचारिक रुपमा भन्ने गर्छन् कि २४० मध्ये १४० सांसद हाम्रा हुन् । यदि बीजेपी संसदीय दलको बैठक हुन्थ्यो भने त्यसमा मोदी सायद संसदीय दलको नेता हुँदैन थिए होला । यसैकारण बैठक बोलाइएन । यसको सट्टा चन्द्रबाबु नायडु र नीतिश कुमारलाई बोलाएर एनडीको मामिला सुरु गरियो । यो कुरा आरएसएसलाई मन परेन । (मोदीले) आफूले आफैँलाई (पद) थोपरे जस्तो भयो ।”
रिसाएको आरएसएस र बीजेपीको फकाउने प्रयास
आरएसएस बुझ्नेहरूका अनुसार, आरएसएस व्यक्तिभन्दा बढी विचार वा संगठनलाई महत्व दिन्छ । ‘द आरएसएसः आइकन्स अफ इन्डियन राईट’ किताबका लेखक र वरिष्ठ पत्रकार निलान्जन मुखोपाध्य भन्छन्, “एउटा कुरा प्रष्ट छ मोदीसँग आरएसएएस रिसाएको देखिन्छ । जसले (मोदीको) पछाडि हात राखेको थियो, त्यो विस्तारै उठ्दै गरेको देखिन्छ, यसभन्दा ठूलो कुरा त आरएसएस मोदीको नाम नलिइकनै आलोचना गरिरहेको छ ।”
तर, मोदी र आरएसएसबीच दुरी निकै बढिसक्यो भन्नु पनि ठीक हुँदैन । सन् २०२४ को चुनाव प्रचारका दौरान मोदीले नागपुरमा रात बिताएको खबर आयो । गएको दश वर्षमा मोदीले नागपुरमा पहिलोपटक रात बिताए । नागपुरमा आरएसएसको मुख्यालय छ ।
मुखोपाध्याय भन्छन्, “व्यक्तिलाई संगठन भन्दा बढी महत्व दिनु, मोदीको ‘कल्ट’को प्रमोशन गर्नु आरएसएस आक्रोशित हुने एक मुख्य कारण थियो ।”
जेपी नड्डा नरेन्द्र मोदी र अमित शाहका मान्छे हुन् । त्यसकारण जेपीले भनेका कुरालाई उनको व्यक्तिगत धारणाका रुपमा मात्र नलिई गम्भीरतापूवर्क लिईयो ।
त्यसो त, जुलाई २०२४ पछि बीजेपीको तर्फबाट आरएसएससँगको सम्बन्धमा मिठास भर्ने कोशिस भइरहेको देख्न सकिन्छ । मोदी सरकारले सरकारी कर्मचारी आरएसएसको सदस्य हुन नपाउने पाँच दशक पुरानो प्रतिबन्ध हटायो ।
आरएसएस र बिजेपीसँग जोडिएका सुत्रका अनुसार, बीजेपीमा सिट थोरै आउँदैमा केही बद्लिएको छैन ।
मन्त्री बद्लिएका छैनन्, अध्यक्ष बद्लिएका छैनन्, सभामुख बदलिएका छैनन् भन्ने देखाउन चाहन्छ । तर, बीजेपीलाई थाह छ आरएसएस रिसाएको छ । बिजेपीले आफू न झुकिकनै आरएसएस प्रेमपूर्वक फकाउने प्रयास गरेको छ ।
आरएसएसका प्रवक्ता सुनिल आम्बेकरले सरकारको कदमको प्रशंसा पनि गरे । तर, सम्भवतः आरएसएस बीजेपीसँग धेरै नि रिसाएको थियो । ९ जुलाईमा सरकारले जारी गरेको आदेशपछि १९ जुलाईमा आरएसएस प्रमुख मोहन भागवतले सुपरम्यान र भगवानवाला भनाई सार्वजनिक गरे ।
मुखोपाध्या भन्छन, “यो प्रतिबन्ध हटाएपछि भागवतजीको भनाईबाट यस्तो लाग्छ मोदीजीलाई जुन लाभ मिल्नुपर्थ्यो त्यो मिलेन । आरएसएसका भनाइलाई गम्भीरतापूर्वक हेरिरहनुपर्छ । आलोचना कुन दिन कसलाई कसरी बसाउन (थेचार्न) खुला रुपमा निमन्त्रणा हुन्छ भनेर हेर्नुपर्छ ।”
खोजी, तयारी र विवाद
एकातिर आरएसएसको तर्फबाट आरएसएस मोदीसँग रिसाएको संकेत आउनु र अर्कोतर्फ देशको राष्ट्रिय राजीतिमा राहुल गान्धी, अखिलेश यादव जस्ता नेताको उदय हुनु । फेरी मोदीको बढ्दो उमेरको चिन्ता, जनताको बद्लिदो रुझान र सहयोगीको सहारामा चलिरहेको छ, मोदी सरकार ।
यी सबै कारणले गर्दा तत्कालै मोदीलाई हटाउने सम्भावना देखिँदैन । तर, अर्को अनुहारको खोजी र बहस भने सुरु भइसकेको छ । पछिल्लो समय उत्तर प्रदेशमा योगी आदित्यनाथको विषयलाई लिएर जे–जस्ता अनुमान गरिए त्यसले नयाँ अनुहारको खोजी र बहसको अनुमानलाई झन् बलियो बनाउँछ ।
उत्तर प्रदेशका एकजना बीजेपी सांसदले भने, “आजको दिनमा सडकमा बसेको मानिसलाई पनि थाह छ बाबा (योगी)ले केही पनि काम गरे भने दिल्लीबाट नम्बर २ (अमित शाह) ले डिस्र्टब गर्छन् ।”
इलाहावाद विश्वविद्यालयमा राजनीतिक विज्ञानका प्रोफेसर डा. पंकज कुमार भन्छन्, “अमित शाह योगीलाई कसरी हटाउने भनेर दाऊ कुरेर बसेका छन् । उनलाई सही मौका मिलिरहेको छैन । अमित शाहसँग व्यवस्थापनको शक्ति त होला तर, जनताको नजरमा भने उनी अब्बल छैनन् ।”
बीजेपीमाथि नजर राख्ने एक वरिष्ठ पत्रकार भन्छन्, “बीजेपी जुन मतदाताबीच प्रिय छ, त्यहाँ मोदी मात्र होइन योगी पनि लोकप्रिय छन् । उत्तर प्रदेशमा मात्र होइन, अरु राज्यमा पनि । अमित शाहभन्दा योगीको अपिल बढी छ, यो कुरा त योगीलाई पनि थाह छ ।”
योगी आदित्यनाथ बीजेपीका स्टार प्रचारक हुन् । नाथ सम्प्रदायको महत्वपूर्ण धाम गोरखधाम मठका महन्त भएका कारण पनि योगीको लोकप्रियता देशका अनेक भागमा छ ।
आरएसएसप्रति झुकाव राख्ने डा. कमलसुर्वो दत्ता भन्छन्, “कुनै पनि गतिशील पार्टीमा यसलाई लडाई नभई स्वस्थ प्रतिस्पर्धा भन्छन् । यस्तो हुन जरुरी छ र यो सकारात्मक हुन्छ ।”
योगी भर्सेस शाह
आरएसएस, बीजेपी र अन्य सूत्रसँगै कयौं वरिष्ठ पत्रकारका अनुसार, लडाईं योगी र शाहका बीचमा देखिन्छ । यस्तोमा आरएसएस कसको पक्षमा छ ?
एक दैनिक अखबारका सम्पादकका अनुसार, ‘आरएसएस योगीको साथमा छ । नम्बर २ (अमित शाह) योगी हटे भने यो लडाईं नै समाप्त हुन्छ भन्ने ठान्छन् । तर, आरएसएसको हात योगीसँग यति बलियोसँग जोडिएको छ कि उनलाई हटाउन मुस्किल छ ।’
बीजेपीसँग जोडिएका सूत्रका अनुसार ‘मोदी आफ्नो स्थान अमित शाहले लिउन् भन्ने चाहन्छन्, यता शाह योगीको काममा दखल दिन्छन् । उता उत्तर प्रदेशमा योगी शाहका आफ्ना मान्छेलाई झट्का दिन्छन् ।’
वरिष्ठ प्रशासनिक अधिकारीहरूलाई लिएर भएको खिँचातानीमा उत्तर प्रदेशमा स्मार्ट मिटरको रेसमा अडानी आउनु र उनको टेण्डर रद्द हुनु । यी केही यस्ता घटना हुन जसको आधारमा योगी भर्सेस मोदी सरकारको दुरीतर्फ संकेत गर्न सकिन्छ ।
वरिष्ठ पत्रकार राकेश मोहन चर्तुवेदी भन्छन्, “योगी र शाहको नाम आउँछ । योगी हिन्दुत्वको अनुहार हुन् । अर्कातिर मोदीका योजना लागू गर्न शाहको अहम् भूमिका छ ।”
नितिन गडकरीलाई २००९ मा बीजेपी अध्यक्ष बनाउन होस्, योगीलाई उत्तर प्रदेशमा मुख्यमन्त्री बनाउनु होस् वा, जुन २००५ मा मोहम्मद अली जिन्नालाई सेक्युलर भनेपछि आडवाणीबाट बिजेपी अध्यक्षको कुर्सी खोसिनुमा होस् । बीजेपीसँग जोडिएका यस्ता कोही ठूला निर्णयका पछाडि आरएसएसको हात छ ।
योगी र शाहको दाबी गर्दै पत्रकार विजय त्रिवेदी भन्छन्, “मलाई लाग्छ जहिले निर्णय हुन्छ त्यो संघको सहमति र दिशानिर्देश तथा आपसी कुराकानीबाटै तय हुन्छ ।”
कतातिर छ आरएसएसको झुकाव
योगी भर्सेस शाहको अड्कललाई सही मान्ने हो भने आरएसएसको झुकाव कतातिर छ ? संघ आधिकारीक वा सार्वजनिक तौरमा यी मुद्दामा टिप्पणी गर्दैन ।
संघमा महत्वपूर्ण भूमिका सम्मालिरहेका एक व्यक्तिका अनुसार ‘समय आएपछि जसकाबारे सहमति हुन्छ त्यो कुरा बीजेपी तय गरिहाल्छ । यी विषयमा बीजेपीलाई सहयोग चाहिएमा त्यतिखेर आरएसएसका मान्छे उनीहरूको सम्र्पकमा रहन्छन् । यस विषयमा संघका मानिस कुरा राख्छन्, जुन सुझाव दिनुपर्छ त्यो दिन्छन् । अन्तिम निर्णय बीजेपी नै गर्छ ।’
उनी अगाडि भन्छन्, “कुनै परिवर्तन हुँदैछ जस्तो हामीलाई लाग्दैन । मान्छेहरू कुरा गरिरहन्छन, अनेक अनुमान लगाइरहन्छ ।”
यही अनुमानका बारेमा आरएसएस समर्थक डा. कमलसुर्वो दत्तालाई सोध्यौं । उनले भने, “मुख्य रुपमा म बुझ्छु, महन्त योगी आदित्यनाथ । उनका साथसाथगै हिमन्त विश्वा सरमा, शिवराज सिंह चौहान, पियूष गोयल, अनुराग ठाकुर जस्ता कयौं नेता छन्.... ।”
तपाईंले कयौं नाम लिनु भयो तर, अमित शाहको नाम लिनु भएन ?
यो प्रश्नमा डा. दत्ता जवाफ दिन्छन्, “मैले बुझेअनुसार अमित शाह मोदीजीपछि दोस्रो नम्बरमा छन् । कतै न कतै पुरै देशमा उनको पहिचान छ । उनको छवि, युएसपी निकै हार्डकोर नेताको हो । उनलाई दोस्रो लाइनमा गन्ती गर्नु उचित होइन ।”
आरएसएसको नजरमा योगी र शाह
बीजेपीको संगठनमा अमित शाहको बलियो पकड छ । सूत्रका अनुसार शाह संगठनमा बढी भन्दा बढी आफ्ना मान्छे बनाउन चाहान्छन्, ताकि भोलि आवश्यक पर्यो भने संगठनले आफ्नो पक्षमा बोलोस् । शाह र मोदीलाई पृथक रुपमा हेर्न सकिँदैन । दुवैजना पुराना साथी हुन् । यद्यपि शाहकाबारेमा जान्नेहरूका अनुसार उनको साथमा जाति वा लोकप्रियता जस्ता फ्याक्टर छैनन्, ती फ्याक्टर योगीको साथमा छन् ।
वरिष्ठ पत्रकार प्रदीप सिंह भन्छन्, “योगी संगठनबाट उदायका व्यक्ति होइनन् । उनको बीजेपीमा हस्तक्षेप वा भूमिका कहिल्यै रहेन । संगठनमा भएका पदाधिकारीहरू योगीलाई स्वीकार्न सकिरहेका छैनन् ।”
योगी आदित्यनाथका पछाडि आरएसएसको भूमिकालाई लिएर अतुलचन्द्रा र शरत प्रधान आफ्नो किताबमा बिस्तृतमा लेख्छन् । आफ्नो किताब ‘योगी आदित्यनाथ’मा उनीहरू लेख्छन्, हिन्दुत्वको मुखर र बलियो आवाज भएका कारण आदित्यनाथलाई संघ (आरएसएस) प्रमुख मोहन भागवतको आशीर्वाद प्राप्त छ ।
किताब अुनसार, ‘२०१७ मा भागवतले नै मोदीलाई उत्तर प्रदेशमा आईआईटी ग्रयाजुएट नेता मनोज सिन्हाभन्दा बढ्ता राजनीतिक व्यक्ति भगवाधारी महन्त योगी आदित्यनाथ हुन्छन् भनेर मनाएका थिए ।
यसले पार्टीको हिन्दुत्वको एजेण्ड उत्तर प्रदेशमा प्रष्ट हुन्छ ।’ योगी उत्तर प्रदेश र भारत हिन्दू राष्ट्र बनाउने विषयमा आफ्ना भनाई सार्वजनिक गरिरहन्छन् । ‘माया मोदी आजाद’ किताबका लेखक तथा राजनीतिक मामिलाका जानकार सुधा पाई र सज्जन कुमारले २०१७ मा एक लेख लेखेका थिए ।
उक्त लेखका अनुसार, ‘बीजेपी र आरएसएसको लक्ष्य चुनाव जित्नु मात्र नभई भारतलाई बढीभन्दा बढी हिन्दु बनाउनु हो । ठूला दंगाबेगर नै आम मानिसको नजरमा हिन्दुत्वलाई स्विकार्य बनाइयोस् र मुसलमानलाई ‘अन्य’ जसरी प्रस्तुत गरियोस् भन्ने बीजेपीको आईडिया हो ।
योगी आदित्यनाथ यो काम सफलतापूर्वक गरिरहेका छन् । यस्तोमा आरएसएसले यस विषयमा योगीलाई सफल व्यक्ति मान्यो ।’
पत्रकार विजय त्रिवेदी भन्छन्, “बीजेपी योगीलाई पुरै देशमा प्रचारका लागि खटाउँछ । त्यही उत्तर प्रदेशमा भएको सत्ता संघर्षमा आरएसएस योगीका साथमा उभिएको देखिन्छ । यस्तोमा योगीको सम्भावना बढ्ता देखिन्छ ।”
यद्यपि योगी र शाहको सम्भावनाबीच केही अरु नाम र बद्लिदो राजनीतिमाथि पनि ध्यान दिनुपर्छ ।
हिन्दुत्वको राजनीति कि जातिको ?
लोकसभा चुनाव २०२४ मा जाति एक महत्वपूर्ण मुद्दा रह्यो । राहुल गान्धीसमेत कैयौं विपक्षी नेता आज पनि जाती जनगणनाको मुद्दा लगातार उठाइरहेका छन् । उत्तर प्रदेशको चुनावी नतिजामा समाजवादी पार्टीको सफलताका पछाडि पिछडिएका, दलित र अल्पसंख्यक गठजोडलाई निकै अहम् मानिएको छ ।
गएका दश वर्षमा राजनीति हिन्दुत्वको रथमा सवार देखिएको थियो । तर, अब विस्तारै भारतीय राजनीति आफ्नो रथ परिवर्तन गरिरहेको देखिन्छ ।
बीबीसी हिन्दीको ‘द लेन्स शो’ मा वरिष्ठ पत्रकार नीरजा चौधरीले भनेकी थिइन्, “राजनीतिक मुद्दाका रुपमा धर्म पछाडि र जाति अगाडि आएको देखिदैँछ ।”
जानकारहरूका अनुसार, यदि हार्ड हिन्दुत्वको ‘टेम्पलेट’ बदलियो र लोकसभा चुनाव जस्तै बिजेपी ओरालो लागिरह्यो भने मोदी–योगीको टेम्पलेट बदलिन सुरु हुन्छ । मुद्दा बद्लियो भने संघले मोदीको उत्तराधिकारीका रुपमा तेस्रो व्यक्ति पनि ल्याउन सक्छ ।
मोदी, योगी शाह होइनन् भने को ?
वरिष्ठ पत्रकार मोहन चतुर्वेदी भन्छन्, “एक नीतिन गडकरी अर्को राजनाथ सिंह । दुवैजना यस अगाडि पार्टी अध्यक्ष भइसकेका हुन् । राजनाथ मोदीको उमेर बराबरकै हुन्, गडकरी अलिक युवा छन् । उनी लोकप्रिय पनि छन् र आरएसएससँग सम्बन्ध पनि छ । शिवराज सिंह चौहान लामो समयसम्म मुख्यमन्त्री भए, उनी पनि लोकप्रिय नेतामध्ये हुन् । उनको पनि संभावना प्रसस्तै छ ।”
यद्यपि पाटी स्रोतको दाबी अनुसार, “बीजेपीभित्र मोदी र शाहले आफ्ना मान्छे भरेका छन्, उनीहरू गडकरी, शिवराजलाई अगाडि आउन दिँदैनन् ।”
पत्रकार विजय त्रिवेदी भन्छन्, “हिन्दुत्वको राजनीति नै प्रमुख रहन्छ कि पिछाड वर्गको ? यो मुख्य प्रश्न हो । यी दुई चिजले उत्तराधिकारको नाममा प्रभाव पार्छ । जातीगत राजनीति अगाडि आयो भने उपलब्ध नाममा शिवराज सिंह चौहानको नाम अगाडि आउने देखिन्छ ।”
२०२९ मा आरएसएस, बीजेपी र उत्तराधिकारी
प्रायःजसो उत्तराधिकारी आफ्नालाई बनाउने गरिन्छ तर राजनीतिमा आफ्नाको परिभाषा फेरिरहन्छ । पत्रकार पूर्णिमा जोशी भन्छिन्, “मोदी जस्ता नेतााहरू आफूबाहेक अर्कोलाई हुर्कन दिँदैनन् ।”
तर, यहीनेरबाट आरएसएसको भूमिका र तयारी सुरु हुन्छ ।
निलान्जन मुखोपाध्याय भन्छन्, “आजको मितिमा आरएसएस र बिजेपीबीच हनिमुन छैन । आरएसएससँग जोडिएका संगठन एबीवीपी, ट्रेड युनियन, किसान संगठनले जनताको आक्रोशलाई कसरी व्यक्त गरिरहेकाछन्, यसलाई बुझ्न जरुरी छ ।”
यो कुरा बुझ्न केही दिनपछाडि फर्किनुपर्छ, २७ जुलाई २०२४ दिल्लीमा मुख्यमन्त्री परिषद बैठक थियो ।
अन्जानमै सही अमित शाह र योगी आदित्यनाथ एक–अर्काको आमने सामने हुनेगरी बसेका थिए । यी दुई नेताको बीचमा नरेन्द्र मोदी र बीजेपी अध्यक्ष नड्डा बसेका थिए । यो तस्वीर केही मान्छेलाई रेसको सुरुवाती लाइनको त्यो क्षण लाग्न सक्छ, प्रतिस्पर्धी लाइनमा उभिएपश्चात् खट्याकक् ठूलो आवाज आउन्छ र नम्बर एक बन्न रेस सुरु हुन्छ ।
राजनीतिक ओलम्पिकमा प्राय ती खेलाडीले गोल्ड मेडल जित्ने गर्छन, जो रेसमा दौडिरहेका देखिँदैनन् ।
(बीबीसी हिन्दीका लागि विकास त्रिवेदीले लेखेको समाचारको भावानुवाद)