काठमाडौं । गएको असार २३ र २४ गते (२४ घण्टा) कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ वर्षा भयो । २४ घण्टामा नेपालमा त्यसअघि मापन गरिएको वर्षाको रेकर्ड त्यहाँ तोडिएको थियो । विशेष गरी असार २३ गते राति अत्यधिक वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागले त्यो अवस्थालाई ‘तराई क्लाउडबर्स्ट’ भनेको छ ।
के हो त क्लाउडबर्स्ट ?
सामान्यतया कुनै स्थानमा एक घण्टाभित्र कम्तीमा १०० मिलिमिटर पानी परे क्लाउडबर्स्ट भनिन्छ । तर, देशानुसार यसको मापदण्ड फरक हुन सक्ने विभागका मौसमविद् सुदर्शन हुमागाईंले बताए ।
“सामान्यतया १०० मिलिमिटर पानी एक घण्टाभित्र पर्यो भने हामी त्यसलाई क्लाउडबर्स्ट भन्छौँ,” उनले बाह्रखरीसित भने, “योचाहिँ फरक देशले फरक–फरक क्राइटेरिया (मापदण्ड) अपनाउँछन् ।”
नेपालमा यसलाई नै क्लाउडबर्स्ट भन्ने भनेर ‘क्राइट एरिया’ छैन । “तर, हामीले सबैले मानिआएकोलाई लिँदाखेरि १०२ मिलिमिटर पानी परेको देखिन्छ, हनुमाननगरमा । त्यो हेर्दाखेरि नेपालमा पनि क्लाउडबर्स्ट भएको थियो भनिएको हो,” उनले भने ।
असार २४ गते बिहान ८ः४५ बजे पछिल्लो २४ घण्टाको विवरणमा कञ्चनपुरका विभिन्न स्थानमा अति भारी वर्षा मापन गरिएको थियो । वर्षा मापनमा उक्त समय (अघिल्लो दिन बिहान ८ः४५ देखि भोलिपल्ट बिहान ८ः४५)लाई आधार मान्ने गरिएको छ ।
त्यस अवधिमा कञ्चनपुरको दोधारामा ६२४ मिलिमिटर वर्षा मापन गरिएको थियो । कञ्चनपुरकै हनुमाननगरमा ५७३.६ र सुन्दरपुरमा ५५६.४ मिलिमिटर वर्षा मापन गरिएको थियो । असार २३ गते राति २२ः०५ देखि २३ः०५ सम्मको एक घण्टाको अवधिमा हनुमाननगरमा १०२ मिलिमिटर वर्षा मापन गरिएको विभागले जनाएको छ ।
“अरू देशमा पनि एक घण्टामा १०० मिलिमिटरभन्दा बढ्ता पानी पर्दाखेरि क्लाउडबर्स्ट भएको भन्ने गरिएको छ । आधारभूत मापन त्यही हो,” उनले भने ।
एक स्थान भनेको क्षेत्रफलका हिसाबले कति ? जलवायुविज्ञ डा. धर्मराज उप्रेतीलाई यो प्रश्न गरियो । “एक घण्टामा मिनिमम १०० मिलिमिटर पानी एकैठाउँमा, लगभगलगभग २५ किलोमिटरदेखि ४० किलोमिटरको रेडियस (क्षेत्रफल)मा त्यति वर्षा भयो भने त्यस्तो अवस्थालाई क्लाउडबर्स्ट अवस्था भनिन्छ । त्यो त्यहाँ (कञ्चनपुर) भएको देखिन्छ,” उनले स्पष्ट पारे ।
क्लाउडबर्स्टको ठ्याक्कै नेपाली शब्द छैन । अर्थात्, तोकिएको छैन । “त्यसलाई नेपाली शब्द के भन्ने भनेर ठ्याक्कै भनिएन । तर, यो क्लाउडबर्स्ट हो भनेर हामी कन्फर्म छौँ,” हुमागाईंले भने ।
त्यसलाई नेपालीमा के भन्ने भनेर छलफल हुँदै गरेको विभागअन्तर्गतकै मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । आरीघोप्टे वर्षाका रूपमा त्यसलाई बुझ्न सकिने उनले उल्लेख गरे ।
“हामीले आरीघोप्टे वर्षा वा के भनेर भन्छौँ नि, वर्षा एकदमै घोप्टिएको टाइपकोलाई क्लाउडबर्स्ट भनिन्छ,” उनले भने, “त्यो हाम्रो भाषा ठ्याक्कै यही हो भनेर छैन, डिफाइन हुँदै छ ।”
विज्ञ उप्रेतीले पनि त्यसलाई आरीघोप्टे वर्षा भन्न सकिने बताए ।
एउटै स्थानमा एक घण्टामा १०० मिलिमिटरभन्दा केही कम पानी पर्नुलाई पनि विश्वका कतिपय देशमा क्लाउडबर्स्ट भन्ने गरिएको हुमागाईंले जानकारी दिए । यसमा वायुमण्डलको विषय जोडिने उनले बताए ।
“त्योचाहिँ मात्रा नभएर वायुमण्डलको ताप कस्तो छ, वायु एक ठाउँबाट अर्को ठाउँमा कसरी मुभ भइरहेको छ, बादल बन्ने प्रक्रिया कसरी भएको छ, त्यो सबै चिजहरू विचार गरेर भन्ने गरेको पाइन्छ,” उनले भने, “सिनोप्टिक फिचर कस्तो छ, सिनोप्टिक सिस्टम कस्तो छ भन्ने पनि हेरिन्छ ।”
क्लाउडबर्स्टको अवस्थामा वर्षासँगै बिजुली चम्किने, चट्याङ पर्ने पनि हुने लामिछानेले बताए । वर्षा मात्र हुने अवस्था भनेर बुझ्न नहुनेमा उनले जोड दिए ।
“गड्याङगुडुङ पनि हुन्छ । मेघगर्जन, चट्याङ पनि हुन्छ । पानी मात्र पर्ने हुँदैन,” उनले भने, “केही समय मेघगर्जन, चट्याङ भएर पानी मात्र पर्ने खालको पनि हुन्छ । विभिन्न प्रकारको हुन्छ ।”
विभाग/महाशाखासहित अरू विज्ञले समेत त्यस दिन उक्त क्षेत्रमा धेरै वर्षाको सम्भावनाबारे पहिल्यै अवगत गराएका थिए । विभिन्न ‘मोडल’मा त्यहाँ भारी वर्षाको सम्भावना देखिएको थियो ।
उक्त वर्षापछि विभागको एक विज्ञ टोलीले त्यस क्षेत्रको स्थलगत अनुगमन समेत गरेको थियो । वर्षा मापन उपकरणको अवस्थालगायत विषयमा त्यसक्रममा अध्ययन गरिएको थियो । “विभागको पूर्वसूचनाको आधारमा पूर्वतयारी तथा अग्रिम प्रतिकार्य गरेकोले भीषण वर्षाको विपद्जन्य प्रभाव कम भएको देखिन्छ,” स्थलगत अनुगमन प्रतिवेदनको निष्कर्षखण्डमा उल्लेख छ ।
कञ्चनपुरबाट केही दूरीस्थित भारतको वनवासामा समेत त्यस दिन भारी वर्षा भएको जलवायुविज्ञ उप्रेतीले बताए । भारतको मौसम विज्ञान विभागको त्यस दिनको विज्ञप्ति आफूले अध्ययन गरेको उनले सुनाए ।
“भारतको वनवासामा पनि ४२० मिलिमिटर वर्षा भएको छ, त्यस (कञ्चनपुर)को नजिकै २४ घण्टामा । इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्टको डेटाबाट देखिन्छ, त्यो दिनको विज्ञप्ति हेर्दाखेरि,” उनले भने ।
त्यसलाई आधार मान्दा दोधाराचाँदनी केन्द्र रही उक्त क्षेत्रमा ठूलो वर्षा भएको देखिने उनले उल्लेख गरे । दोधाराचाँदनीको २५–३० किलोमिटरको ‘रेन्ज’मा ठूलो वर्षा भएको उनले स्पष्ट पारे ।
“वनवासादेखि लिएर, दोधाराचाँदनीको अवस्थादेखि लिएर अनि भीमदत्त नगरपालिकाको हनुमाननगर र शान्तिनगरसम्मको अवस्थामा, शान्तिनगरमा पनि ४२०/४२४ को हाराहारीमा वर्षा भएको छ । सेन्टर दोधाराचाँदनी भयो, त्यसको २५ देखि ३० किलोमिटरको रेन्जमा ठूलो वर्षा भएको देखिन्छ,” उनले भने ।
‘तराई क्लाउडबर्स्ट’ भन्नुको कारणचाहिँ स्पष्ट छ, तराईमा भएकाले । पहाडतिर त्यस्तो अवस्था भएको भए के भनिन्थ्यो ? उक्त स्थलगत अध्ययन टोलीका सदस्य समेत रहेका विभागका मौसमविद् हुमागाईंलाई प्रश्न गरियो । “तराईमा भएको भएर तराई क्लाउडबर्स्ट भनिएको हो । पहाडतिर भएको भए १०० मिलिमिटरको ठाउँमा थपघट केही अरू नै हुँदा पनि क्लाउडबर्स्ट भन्ने कि भन्ने कुरा भएको हो,” उनले भने ।
ठाउँविशेष हेरेर त्योभन्दा ‘अलिकति’ बढी वा कमलाई पनि क्लाउडबर्स्ट भन्ने कि भनेर विभागमा छलफल गरिएको उनले बताए । थप स्पष्ट पार्न उनले भने, “भन्नुको मतलब, अर्को कुनै यस्तै इभेन्टमा एमएम फरक पर्दा पनि क्लाउडबर्स्ट हुनसक्छ, अवस्था हेरेर भन्ने हो ।”
क्लाउडबर्स्ट कसरी ?
क्लाउडबर्स्टबारे विभागले यसअघि नै जानकारी गराइसकेको छ । “उक्त क्षेत्रमा सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमी वायुमा विकास भएको न्यूनचापीय प्रणालीहरूको सम्मिश्रणको कारण अत्यधिक वर्षा भएको देखिन्छ,” विभागबाट जारी विज्ञप्तिमा उल्लेख छ, “यी प्रणालीहरूको सम्मिश्रणको प्रक्रिया तथा वर्षाको परिमाणको आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडबर्स्ट’ मान्न सकिन्छ ।”
एकदमै ‘हाई मोस्चर’ भएको हावा वा वायु एकैठाउँमा आउँदा त्यस्तो खालको ‘सिचुएसन’ पैदा हुने विज्ञ उप्रेतीले बताए । त्यस दिन त्यहाँ वायुबीच टकराब भएको उनको भनाइ छ ।
“त्यो दिन भएको के हो भने एकदमै मोस्चर बोकेको हावा (जलवाष्पयुक्त वायु) अरबसागरबाट आउनु र त्यही बेला पश्चिमी वायुको पनि नेपालमा प्रवेश हुनु । दुइटै वायु र स्थानीय वायुको एकखालको टकराब भएको देखिन्छ,” उनले भने ।
त्यस्तो टकराबको परिणाम र क्लाउडबर्स्टको परिभाषा ‘म्याचिङ’ भएको उनले बताए ।
उक्त वर्षाका कारण कञ्चनपुरका समथर भूभाग डुबान भएको थियो । विभिन्न नदीनालामा बाढी आएर क्षति समेत भएको विभागले जनाएको छ । “...कञ्चनपुर जिल्लाको करिब ९८ वर्गकिलोमिटर क्षेत्रफल (कुल क्षेत्रफलको करिब ६ प्रतिशत) भूभाग डुबानमा परेको देखिन्छ, जसमध्ये करिब ८५ वर्गकिमि कृषियोग्य भूभाग रहेको तथा स–साना संरचनाहरू समेत गरी १४,००० भवनहरू प्रभावित भएको देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।
विशेष मौसमी प्रणाली नबनी क्लाउडबर्स्ट नहुने मौसमविद् लामिछानेले बताए । एकदमै ठूलो बादल बन्ने र धेरै पानी पर्ने अवस्थालाई उनले क्लाउडबर्स्टका रूपमा अर्थ्याए ।
“लो प्रेसर सिस्टमहरू कुनै एक ठाउँमा केन्द्रित भएर बस्यो, अरू सिस्टमहरूले पनि सपोर्ट गर्यो – जस्तै, तल्लो वायुमण्डलमा एउटा सिस्टम बनिरहेको छ, त्यो माथिल्लो वायुमण्डलसम्म पुगिरहेको छ अनि न्यूनचापीय क्षेत्र भन्छौँ, त्यो माथिसम्म एकदमै बलियो बनेर बसेको छ भने त्यो कन्डिसन पनि हुनसक्छ,” उनले भने ।
वर्षाबारे विभागसँग वि.सं. २००३ (सन् १९४७) देखिको तथ्यांक छ । त्यसानुसार, दोधारा, हनुमाननगर र सुन्दरपुरको उक्त वर्षा नेपालमा हालसम्म मापन गरिएमध्येकै सर्वाधिक हो ।
“यसअघि मिति २०७४/०४/२९ गते (सन् २०१७ अगस्ट १३) यस विभागको तथ्यांकानुसार हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भूसंरक्षण विभागको तथ्यांकानुसार मिति २०५०/०४/०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ वर्षा केन्द्रमा ५४०.० मि.मि. वर्षा मापन गरिएको थियो,” स्थलगत अनुगमन प्रतिवेदनमा उल्लेख छ ।
यस्तो छ प्रतिवेदन