site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अनुसन्धानबाट 'दोषी ठहर' भएका चिकित्सक जोगाउन संघको लबिइङ

काठमाडौं । नेपाल चिकित्सक संघ र प्रजातान्त्रिक चिकित्सक संघले अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने गरी लबिइङमा लागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विशेष अनुसन्धान समितिले 'दोषी ठहर' गरेका चिकित्सकलाई जोगाउन संघहरू नै  पैरवीमा उत्रिएका हुन् ।

घटना १८ महिनाअघि उपचारको क्रममा ज्यान गुमाएकी बालिका प्रशंसा गौतमसँग सम्बन्धित हो । घटनामा आरोपित चिकित्सकलाई उन्मुक्ति दिने गरी उनीहरूले यही साउन २४ गते महान्यायाधिवक्ता रमेश बडाल, गृहमन्त्री रमेश लेखक र कानुनमन्त्री अजयकुमार चौरासियालाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन् ।

उक्त घटनामा अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । तर, मुद्दाको अन्तिम किनारा नलाग्दै चिकित्सक संघहरूले चिकित्सकविरुद्ध लगाइएको कसुर खारेज हुनुपर्ने माग गर्दै सरकारलाई दबाब दिइरहेका छन् ।

Dabur Nepal
NIC Asia

के हो घटना ?

२०७९ माघ २६ गते मोरङकी २८ महिने बालिका प्रशंसा गौतमको उपचारको क्रममा महाराजगञ्जस्थित मेट्रो अस्पतालमा मृत्यु भएको थियो । त्यसअघि प्रशंसाको माघ २३ देखि नक्सालस्थित हिमाल अस्पतालमा उपचार गराइएको थियो ।

उपचारको क्रममा उनको अवस्था जटिल भएपछि अन्तिम समयमा परिवारले मेट्रो पुर्‍याएको थियो । प्रशंसाको मृत्युको कारण उपचारमा संलग्न हिमाल अस्पतालका बालरोग विशेषज्ञ डा. जयदेव यादवको लापरबाही भएको दाबीसहित उनका बुबा गंगा गौतमले कारबाहीका निम्ति नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए । घटनाको अनुसन्धाको माग गर्दै गौतम परिवारले लामो समय आन्दोलन पनि गरेको थियो ।

काउन्सिलको छानबिनबाट चिकित्सकले लापरबाही गरेको देखिए पनि प्रतिवेदन भने डा. यादवलाई जोगाउने हिसाबले सार्वजनिक गरिएको थियो ।

काउन्सिलले २०८० असार ८ गते बुझाएको प्रतिवेदनमा प्रशंसालाई रोगका कारण उत्पन्न जटिलताको थप जाँच नगराएको र डा. यादवले अन्यत्र रिफर गर्दा सावधानी र न्यूनतम उपचार विधि  नअपनाएको र इन्ट्युबेसन नगरेको जस्ता गम्भीर लापरहबाही गरेको उल्लेख छ ।

तर, गम्भीर प्रकृतिको लापरबाही 'पुष्टि' हुँदा पनि काउन्सिलले चिकित्सकको बचाउ गर्ने गरी प्रतिवेदन पेस गरेको हो । काउन्सिलले आगामी दिनमा स्तरीय उपचार विधि प्रयोग गर्न तथा बिरामी रिफर गर्दा उचित सावधानी अपनाउन चेतावनी दिनेमात्रै निर्णय गरेको थियो । बरु अस्पतालका अन्य पदाधिकारीलाई सचेत गराउन भन्दै मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

काउन्सिलको यस्तो निर्णय चित्त नबुझेपछि गंगा २०८० असार २७ गते स्वास्थ्य तथा जसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा पुगेका थिए । महाशाखाको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १८९ (३) बमोजिमको अनुसन्धान समितिले प्राप्त प्रमाणका आधारमा डा. यादवको लापरबाही पुष्टि गरेको छ ।

समितिले डा. यादवको बयान तथा घटनाको तथ्यका आधारमा यही साउन १७ गते काठमाडौंं जिल्ला अदालतलाई निर्णयको फाइल पठाएको थियो । जसमा डा. यादवले यसअघि समितिलाई दिएको बयानमा उपचारको क्रममा सावधानी अपनाएको दाबी गरे पनि त्यसको प्रमाण नभएको र उजुरीकर्ताको दाबी तथा प्राप्त प्राविधिक प्रमाणका आधारमा डा. यादवको बयान विश्वसनीय नदेखिएको उल्लेख छ ।

साथै, बालिकालाई कान्ति बाल अस्पताल रिफर गर्दा पीआईसीयू भए/नभएको हिमालले यकिन नगरेको, कान्तिमा लैजाँदा अक्सिजनको मात्रा मिलाउन चिकित्सकीय सावधानी नअपनाएको, कान्तिसँग समन्वय गरेको भनी झुटो बयान दिएको र कान्तिमा पीआईसीयू उपलब्ध नहुँदा मेट्रो पुर्‍याउने क्रममा अवस्था थप जटिल भई बालिकाको मृत्यु भएको उल्लेख छ ।

Prashansa2-1723553915.jpg

Prashansa1-1723553914.jpg


यसमा काउन्सिलले २०८० असार ८ गते बुझाएको प्रतिवेदन समेतलाई आधार बनाइएको छ । सो प्रतिवेदनमा उल्लेख भए अनुसार डा. यादवले बालिकाको स्वास्थ्य अवस्था जटिल हुँदासमेत थप परीक्षण नगरेको, अवस्था जटिल भई अन्यत्र रिफर गर्दा सावधानी र न्यूनतम उपचार विधि नअपनाएको, इन्ट्युबेसन नगरेको पुष्टि भएको उल्लेख छ ।

उपचारको क्रममा भएका यी हेलचेक्र्याइँले डा. यादवको गम्भीर लापरबाही पुष्टी भएको समितिको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा डा. यादवले मुलुकी अपराध संहिता २०७४ को दफा २३२ उपदफा १ बमोजिमको कसुर गरेको समितिको ठहर छ ।

सबै प्रमाण तथा प्रतिवेदनका आधारमा समितिले डा. यादवलाई मुलुकी अपराध संहिता २०७४ को दफा २३२ उपदफा २ बमोजिम सजाय माग गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १८९ को उपदफा ४ बमोजिम मुद्दा अघि बढाउन अनुरोध गर्दै फाइल पेस गरेको छ ।

घटनाबारे काठमाडौं जिल्ला अदालतमा मेडिकल लापरबाहीबाट हुन गएको मृत्यु, कानुनअनुसार क्षतिपूर्ति र सजायको माग गर्दै प्रंशसाकी आमा आशिका भण्डारी आफैँ मुद्दा लडिरहेकी छन् । मंगलबार समेत पेसी सकेर फर्किएको गंगाले बताए ।

तर, मेडिकल काउन्सिल अझै पनि घटनामा चिकित्सककै पक्षपोषण गरिरहेको छ । काउन्सिलको छानबिन व्यावसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजकसमेत रहेका काउन्सिल सदस्य डा. कालुसिंह खत्री डा. यादवले नियतवश लापरबाही नगरेको बताउँछन् । उपचारको क्रममा बालिकाको मृत्यु भएकाले यादवलाई काउन्सिलले दोषी किटान गर्न नसक्ने उनको तर्क छ । यद्यपि, अदालतले गर्ने निर्णयमा काउन्सिलले कुनै हस्तक्षेप नगर्ने उनले बताए ।

यता नेपाल चिकित्सक संघ, संघअन्तर्गतको जुनियर डक्टर्स कमिटी, प्रजातान्त्रिक चिकित्सक संघ डा. यादवको बचाउमा शक्तिकेन्द्रहरू धाउन थालेका छन् ।

गृहमन्त्री, काुनमन्त्री र महान्यायाधिवक्तासँगको भेटमा उनीहरूले उपचार गर्दागर्दै आइपर्ने भवितव्यलाई फौजदारी मुद्दा चलाउने स्वास्थ्य मन्त्रालयअन्तर्गतको विशेष समितिको सिफारिसप्रति आपत्ति जनाएका छन् ।

यस्ता मुद्दाले चिकित्सकलाई निरुत्साहित गर्ने तर्कसहित समितिको सो कदम खारेज हुनुपर्ने उनीहरूको माग छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्की डा. यादवलाई फौजदारी अभियोग मा मुद्दा चलाउन नहुने संघको स्पष्ट धारणा रहेको बताउँछन् ।

उनी पनि डाक्टरले नियतवश लापरबाही नगरेको जिकिर गर्छन् । आफ्नो अस्पतालमा केस व्यवस्थापन गर्न नसेकपछि बिरामीलाई रिफर गरेको उनको भनाइ छ ।

nma-1723554010.jpg
गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै संघका पदाधिकारी ।


“डाक्टरलाई कारबाही नै नगर्नु भनेको होइन । तर, यसमा फौजदारी कसुर ठहरियो भने सबै चिकित्सकको मनोबल गिर्ने काम हुन्छ,” उनले बाह्रखरीसित भने ।

तर, अदालतमा विचाराधीन मुद्दाको प्रकृति नै फेरबदल हुनुपर्ने आशयका गतिविधि कुनै पनि संगठनबाट गर्न नपाइने वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली बताउँछन् ।

“मन्त्री वा न्याय क्षेत्रका अधिकारीले जो कसैको गुनासो सुन्न बाधक हुँदैन । तर, अदातलमा विचाराधीन विषयमा मुद्दाको प्रकृति नै परिवर्तन हुनुपर्छ, यो वा त्यो ढंगले मुद्दा अघि बढ्नुपर्छ भनि विपक्षीले हस्तक्षेप गर्नु कानुनसम्मत तरिका होइन,” उनले बाह्रखरीसित भने ।

स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय पनि अदालतमा चलिरहेको मुद्दामा कुनै पनि पक्षले कुनै पनि हिसाबले टिप्पणी वा पक्षपोषण गर्न नहुने बताउँछन् ।

यता मृतक छोरीको न्यायका लागि निरन्तर अदालत धाइरहेका गंगा भने जुनसुकै शक्ति र समूहको दबाब आए पनि आफू पछि नहट्ने बताउँछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro