आजले हिजोलाई बिर्सेदेखि
आज आजजस्तो छैन
आजसँग हिजोको आवाज छैन, स्मरण छैन
चेतना छैन
एक्लो छ आज
अँध्यारो छ आज, सन्नाटा छ आज
हिजो धुलोमा पनि आवाज थियो
आज पूरा भूगोल शून्य
हिजो हरमुटुमा आकाश थियो विशाल
आज मनमनमा खाडल
हिजोको आवाज बुलन्द,
अनन्त अनि जीवन्त
आज विलीन अनि मृत
शिरमाथि माटोकै सम्पदा बोकेको हिजो
आफ्नै घरमा पराईजस्तो
परदेशीजस्तो
शरणार्थीजस्तो
गुहार माग्दै छ
कसलाई चासो ?
यहाँ मान्छेहरू आज साँच्चिकै सालिकसमान छन्
निर्जीव, निरीह अनि मौन
संवेदनाविहीन
घर जले पनि हेरिरहने
मन जले पनि हेरिहरने
बरु, कताकता सालिक मान्छेजस्ता
बोलिहाल्छन्, उठिहाल्छन् जस्ता
तरबार, खुकुरी नचाइहाल्छन् जस्ता
माटो उठाइहाल्छन् जस्ता
जब फूलले पात
पातले हाँगा
हाँगाले रुख
अनि रुखले जरो बिर्सिन्छ
फूल फुल्नुको के अर्थ ?
मूल बिर्सेको नदीजस्तो
माउ बिर्सेको हरिणजस्तो
हिजो बिर्सने आजको के अर्थ ?
बाँच्नुको अर्थमा बिल्कुल बाँचेन आज
सास मात्र चलाइरह्यो
पुतली बन्न नसक्ने झुसेझैँ
छटपटाइरह्यो
शिर झुकाउँदै
केवल हिजो बिर्संदा
खै, अब आजले भोलि देख्छ कि देख्दैन ?
देखे पनि अँध्यारो र सुनसान मात्र
आँखा, कान र मुखबिनाको भोलि
जो बोल्दैन, देख्दैन अनि सुन्दैन
अनि आजलाई चिन्दैन
अस्तु ।