site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
झूल

मजस्तो गरिबलाई दुई पैसा खर्च गर्दा त कपालबाट पसिना चुहुन्छ भने एक रुपियाँ एक आना त कुरै के ? त्यसो त मसँग छ रुपियाँ थियो तर यस छलाई दश, दशलाई बीस र यसै गरी सयसम्मन् पुर्‍याई एउटा सानू नुनतेल, मसलाहरूको पसल थाप्ने साह्रै रहर भएकाले झट्ट एउटा तुच्छ झूलको निम्ति सत्र आना खर्च गर्ने आँट आएन ।

तीनपल्ट हीरा साहूको पसलसम्मन् पुगेँ र थरी–थरीका झूलहरू हेरेँ । एक दिन एउटा झूल मन पनि पर्‍यो र मूल्य सोधेँ । एक रुपियाँ आठ आना भन्यो । मैले घटाई एक रुपियाँ एक आनासम्मन् पुर्‍याएँ पनि ।

थैलीबाट सिङ्गो कम्पनी र एक आना खुरुक्क निकाली थसुल्ले मारवाडीको हातमा हत्तपत्त दिन साह्रै गाह्रो लाग्यो । नकिन्ने विचार गरी मैले टाल्नलाई भनेँ, “मन परेन ।”

Dabur Nepal
NIC Asia

मारवाडी भाषामा साहूले के–के सराप्यो मैले केही बुझिनँ । कसूर मेरै भए पनि त्यसले एउटा ग्राहकलाई सराप्ने के हक ? मैले पनि नेपालीमा लाजभाँड गाली गरेँ र बाहिर निस्केँ ।

तर जब राती ट्वीई...ञ, ट्वींई...ञ गर्दै लाम्खुट्टे कानमा कराउन लागे अनि झूल नकिनेकोमा पछुतो हुन लाग्यो । आफैंलाई धिक्कार्दाधिक्कार्दै बिहान भयो । रातभरि नसुतेकाले काम गर्न मन लाग्दैनथ्यो, कुनै तौरले गरे पनि एकैछिनपछि पट्टाई लागी हाई–हाई गर्दै उँघ्न लाग्दथेँ । यसै गरी दिन बित्न लागे ।

दिनभरि त मच्छडको विचारै आउँदैनथ्यो, तर रात के पर्‍यो गाला बजायो, कान पिट्यो, एउटा कोल्टेबाट अर्को कोल्टे फक्र्यो र ब्याहान भयो । जाडो त यसै गरी बित्यो । तर अब गर्मी बित्दिनँ भन्थ्यो ।

एक त वीरगन्जको लाम्खुट्टेको फौज, दोस्रो त्यहाँको गर्मी र तेस्रो मेरो गनाउने छिँडीको डेरा, बितोस् कसरी ? कुनै रात त मेरो छिँडीको कोठा दिउँसोको गर्मीले गुम्सिएर धोबीको भट्टीलाई पनि माथ गथ्र्याे ।

बाँसको पंखा घुमाउँदाघुमाउँदै आँखा लट्ठिनु के थियो लाम्खुट्टेको खुट्टीको प्रहार र बिनासुरतालको ट्वाँट्वाँले फेरि बिउँझन्थेँ । एक दिन राती तन्द्रामा मैले देखेँ– एउटा बगैचामा एउटी राम्री तरुनी जर्जेटको साडी र रेशमी ब्लाउज लगाई आफ्नो सुकुमार, सुकिलो, नरम गोडालाई बिस्तार–बिस्तार बढाउँदै मधुर स्वरमा बिहाग गाउँदै मनजिकै आइरहेकी थिइन् ।

तर अकस्मात् तिनी थामिइन् । म झल्याँस्स बिउँझेँ । युवतीको बिहाग त मच्छडको सुर पो रहेछ । गर्मीले खलखली पसिना आयो, लाम्खुट्टेहरू टोक्न लागे, रछानको गन्धले बस्न मुस्किल पर्‍यो । तर के गर्नु, हवलदार बङ्गला, बाबरलेटको ठूलो झूल, फूलको सुगन्ध, बिजुली पंखाको बतास सोचेर त भएन । यही आफ्नो गरिबीलाई नै भाग्य सम्झनुपर्छ ।

फेरि पंखा घुमाउन थालेँ । अकस्मात् झूल किन्ने विचार आयो–भोलि त अवश्य किन्छु, रुपियाँ भई भईकन किन दुःख भोग्नु । बिहान हुनासाथ त्यही एक रुपियाँ र एक आना–सत्र आनाको झूल किन्ने निश्चय गरेँ । तर बिहान त हुनै खोज्दैनथ्यो !

भोलिपल्ट उठ्नासाथ हीरा साहूको पसलमा पुगेँ । पसले त उही थियो तर उसले मलाई चिनेन । एक दिन सरापेकोलाई मोरोले बिर्सेछ । ठीक भयो नत्र... ! मैले झूल देखाउनलाई भनेँ । एकैछिनमा मेरो अघिल्तिर थरी–थरीका झूलहरूको थुप्रो भयो । तर मलाई छान्नु थिएन, चार महिना पहिला नै छानिसकेको थिएँ । त्यस कारण अरू झूलहरूलाई पन्छाउँदै उही ‘सत्रआने’ झूल खोज्न लागेँ ।

एक्कासि मनमा शंका उठ्यो– ‘कहीं त्यो झूल बिक्री भइसकेको भए !’ मनमनै झसङ्ग भएँ, धेरै खोजेँ तर अन्तमा पाइनँ । अर्कै झूलको मोल गराउनुपर्‍यो । एउटा निकै राम्रो झूल थियो, गौरसँग हेरेँ र दाम सोधँे ।

एक रुपियाँ र छ आना भन्यो । तर धेरैबेर हेर्दा त्यो मन परेन । अर्को हातमा उठाएँ, दाम एक रुपियाँ दश आना । चार आनाको फरकमा यस्तो असल ! फेरि अर्को उठाएँ, दाम दुई रुपियाँ ।

पहिलेभन्दा यो नै राम्रो र मजबुत थियो । यही किन नल्यूँ ? छ आना त बेसी हो नि । फेरि आर्को हेरेँ, तीन आनाको फरक र पहिलेको भन्दा धेर असल । हुँदा–हुँदा बाबरलेटको झूलको पनि दाम सोधेँ, सात रुपियाँ भन्यो ।

पहिले हेरेको मामुली कपडाको झूलभन्दा यो बाबरलेटको झूलमा एक रुपियाँ मात्रै फरक थियो । किन एक रुपियाँ अरू थपेर बाबरलेटको नै नलिनु ? सुनेको थिएँ, बाबरलेटको झूल धेरै वर्ष खप्छ ।

मैले पसलेलाई सोधेँ, “सातभन्दा घट्दैन ?”

उसले भन्यो, “अहँ ।”

यसरी टाउको हल्लाउँदै उसले यो ‘अहं’ भन्यो कि सातभन्दा एक पैसा पनि नघट्ला झैँ लाग्यो । तर मसँग सात थिएन, मैले साढे पाँच भनेँ । धेरै मोलतोल हुँदा–हुँदा अन्तमा छमा मन्जुर भयो ।

तर थैली निकाल्दामा मेरो हात काम्यो । एउटा झूलको छ रुपियाँ । किनूँ कि नकिनूँ, यही फसादमा परेँ । झट्ट मेरो मगजमा रातीको लाम्खुट्टेको घुनुनुन्न र गाला, कान, छाती, गोडालाई केहीबेरको अन्तरमा हातले प्याट्ट प्याट्ट पिटेको याद आयो ।

नाकको टुप्पोमा लाम्खुट्टे बस्दथे, अल्छीले हात उठाई उडाउन मन लाग्दैनथ्यो । त्यस कारण नाकको पोरा चारपल्ट फुलाई उडाउनुपथ्र्यो । त्यो दुःख बेसाउनुभन्दा त रुपियाँ खर्च गर्नु नै बेस हो नि । तर छ रुपियाँ किन खर्च गर्नु ? लाम्खुट्टेको डरले ?

मुटुमा ढ्याङ्ग्रो बज्यो, तर मनलाई दरो बनाई रुपैयाँ मारवाडीको हातमा राखिदिएँ एक किसिमले दान दिएँ–पाँचवटालाई त उसले राखी हेर्‍यो मात्रै, तर एउटा भिक्टोरिया रानीको रुपियाँलाई चाहिँ धेरैबेरसम्मन् कहिले आँखानजिकै टाँसी र कहिले कोट्याई–कोट्याई हेर्न लाग्यो । ‘केही गरी चलेन भने ?’ म डराएँ । तर हैन चल्यो, भुइँमा धेरैबेर ठटाएर कन्तुरको प्वालबाट छिरायो ।

त्यस दिन केही काम गरिनँ । रुपियाँ खर्च गरेकोमा पछुतो भयो । कहाँ सय पुर्‍याउने र पसल थाप्ने विचार, कहाँ एउटा झूल किन्दा नै रुपियाँ सकियो ! त्यो बाबरलेटको झूललाई दिनभरि छिँडीमा बसी हेरिरहेँ ।

यसका एकनासका साना प्वाल, बकुल्लाभन्दा पनि सेतो कपडा–हेर्दाहेर्दै मन फेरि रमायो । बेस भयो । जे भए पनि किनिहालेँ । अब पछुतो गरेर नै के हुन्छ ? कमसेकम सात–आठ वर्ष त खप्ला नि ! मामुली कपडाको किनेको भए दुवै वर्षमा धुजाधुजा हुन्थ्यो ।

साँझ पर्‍यो– छिँडीमा त दिउँसैदेखि साँझ परिसकेको थियो । तर अब सारा वीरगन्जमा झमक्क साँझ पर्‍यो । अब झूल कस्ने सुरसार गर्नुपर्छ भनी फरियाको पारी खोज्न बाहिर निस्केँ । धुइँधुइँती खोज्दा एउटा रातो पारी पाएँ । त्यसलाई च्यातेर चारोटा लामो–लामो त्यान्द्रो बनाई झूल कस्न थालेँ ।

कीला त थिएन, त्यस कारण एकातिरको त्यान्द्रोलाई ढोकाको सिक्रीमा, एउटालाई दलिनको कडीमा, आर्कोलाई चाहिँ आँखीझ्यालमा टाँगीवरी पानस सल्काएँ । अब रामायण पढ्नु थियो । खाटको सिरानतिर एउटा ठूलो टिनको सन्दुकलाई ठाडो पारी राखेँ । र, त्यसमाथि पानस । अनि झूल कसीवरी खाटमा बसी रामायण बाच्न थालेँ– ’एक दिन् नारद सत्यलोक् पुगि गया...।’

झूलको माथिको हिस्साले टाउको छुन्थ्यो, त्यस कारण अलि अप्ठ्यारो लाग्यो– टाउको निहुराइरहनुपर्ने । तपाईंहरू भन्नुहोला ६–६ रुपियाँ हालेको झूल पनि कहीँ सानू हुन्छ ? तर मेरो कुरो पनि त सुन्नुहोस् । झूल सानू थिएन, असाध्य ठूलो थियो, त्यस कारणले ठूलो हुनाले माथिको हिस्सा लत्रिन्थ्यो ।

फेरि तपाईंहरूले मेरो छिँडीको कोठा देख्नु नै भएको छैन । देखेको भए भन्नुपर्थ्यो, “तारे ठीक भन्छ ।”

झूल त कोठाभरिलाई पनि पुग्ने थियो तर खाट भने साह्रै सानू । अब विचार गर्नुहोस्, अवश्य नै लत्रिएको थियो होला । तर जे भए पनि मेरो जस्तो बाबरलेटको झूल तपाईंहरूमध्ये पनि धेरै कम मानिसको छ । मलाई एक दिन मालको सुब्बाकहाँ जाने मौका मिलेको थियो । सुब्बाजस्तोकहाँ पनि मामुली कपडैको झूल देखेँ ।

रामायण बाँचीवरी ढिँडो ओडाली एक भुल्को गुन्द्रुक उमाली खाईवरी सुत्ने सुरसार कसेँ । बिस्तारै झूल खोली जतनसँग खाटमा लडेँ । लाम्खुट्टे त थिएन, तर गर्मी असाध्य थियो । कोठामा एउटा सानू आँखीझ्याल मात्र थियो । त्यसमा पनि बाहिर हावा चलेको थिएन ।

हावा कहाँबाट आओस् ? खलखली पसिना आयो । पंखा हम्केँ । तर कतिबेरसम्मन् हम्किरहनु ? यताउति कोल्टो परेँ । फेरि पंखा हम्केँ । नीद केही गरे पनि परेन । धेरै विचार गर्दा थाहा पाएँ, यै झूलले गर्मी ज्यास्ती खपिनसक्नु भएको हो ।

अन्तमा झूल उठाउनुपर्‍यो । छ रुपियाँ हालेको झूलले केही काम दिएन । झूल उठाएपछि गर्मी त केही कम भयो तर फेरि लाम्खुट्टेको उपद्रव–कहिले मुखमा किटिक्क, कहिले गोडामा र कहिले आँगमा– (लुगा फुकाली सुतेको थिएँ) ।

एक घण्टापछि फेरि झूल कसेँ, फेरि उकुसमुकुस, फेरि खलखली पसिना, थाहा नै पाइएन कहिले भुसुक्क निदाएँछु ।

भोलिपल्ट राती– झूल ठूलो थियो, खाटमा बस्यो कि माथिको झूलको हिस्सा आई मुखमा र टाउकोमा लत्रिने । रामायण बाचें, तर केही बुझिनँ, किनभने टाउकोमा र झूलमा नै मेरो मन अल्झिएको थियो । हातले कति पल्ट पन्छाएँ, तर फेरि लत्रिने । यस्तो अप्ठ्यारो र असजिलो लाग्यो कि के भनूँ ।

जम्मा छ रुपियाँ गाँठ थियो त्यो पनि यही नाथे झूलमा फ्याँकेँ । मनमनै झूलदेखि रिस उठ्यो । एक पटक त जोरसँग झूललाई माथि फ्याँकें पनि तर फेरि आई टाउकोमा हल्लिन लाग्यो । ओह ! मनुष्यको सुख–दुःख कत्रो तुच्छ वस्तुमा निर्भर हुँदो रहेछ, एउटा हलुको झूलले छुँदा कन्सिरी तातेर आउँछ ।

रामायणनजिकै मुख लगी पढ्न थालेँ, झूलले त छोएन तर घिच्रो दुख्न थाल्यो । फेरि टाउको उठाउनुपर्‍यो, फेरि झूल । “धिक्कार यस्तो जीवनलाई”– मैले झोँक्किएर एक पल्ट चिच्च्याएँ । चिच्च्याएर के हुन्थ्यो ! झूल माथि उठेन । अनि फेरि झूलको प्रति क्रोध, जीवनको प्रति घृणा र गरिबीको प्रति आँसु जोरले बढ्न थाल्यो ।

हुन त एउटा मामुली झूलले छोएको मात्रै थियो, तर मलाई यस्तो भान भयो मानूँ झूल मलाई गिज्याउँदै छ । जस्तो मानिसको टाउकोमा एक–एक बुँद पानी धेरैबेर खसालिरह्यो भने त्यो मानिस पागल हुन्छ त्यस्तै मलाई पनि त्यो झूलले बहुला बनायो ।

एकपल्ट फेरि भएभरको जोरले झूललाई माथि हुत्त्याएँ । एकातिर डोरी चुँडियो र सारा झूलले मलाई छोप्यो । डोरी चुँडिनु के थियो मेरो खप्ने सीमा पनि च्वाट्ट गरी चुँडियो । आँगबाट झूल पन्छाईवरी हत्तपत्त खाटबाट ओर्लिएर सारा झूललाई अँगालो हाली आफूतिर तानेँ । बाँकी तीनवटा बन्धन पनि चुँडिए ।

म क्रोधले बहुलाझैँ भएको थिएँ । झूलको एउटा फुर्कोलाई पानसको ज्वालामा डढाएँ । हुरहुर बल्न थाल्यो मेरो बाबरलेटको झूल ! मनमा केही शान्ति भयो, तर कोठाभित्र त बस्नु भएन, घर सल्किने डर थियो । बलिरहेको झूललाई झट्ट चोकमा लगेँ थुप्य्राएँ, धुवाँले सारा घर रङमगियो ।

के–के न भयो भन्दै माथि बार्दलीबाट थुप्रै मानिस हेर्न लागे । म कुक्रुक्क बसेर बल्दो बाबरलेटको झूललाई हेर्दै थिएँ । माथिका मानिसहरूले पनि केही बोलेनन् । छ रुपियाँको झूलको अन्तिम क्रियालाई मैले टाउको निहुराई हेरिरहेँ ।

खरानी भएपछि म जुरुक्क उठेँ र एकपल्ट लामो सास फेरी बिस्तार–बिस्तार आफ्नो धुवाँ र लाम्खुट्टेले रङमगिएको कोठातिर हिडेँ । के त्यस बखत म चिन्तित थिएँ ?

(‘तारिणीप्रसाद कोइरालाका समग्र कथाहरू’ बाट ।)
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro