नेपाली निबन्ध र समालोचना लेखनका क्षेत्रमा विगत लामो समयदेखि सक्रिय साहित्यकार तथा पूर्वप्रशासक (निजामती सेवाका सचिव) गोपी मैनालीको हालसालै पहिलो कथाकृति सार्वजनिक भएको छ, ‘वृशृङ्लित सपना’ । यसअघि तीन निबन्धकृति, एक नियात्रा दैनिकी, तीन समालोचनाकृति प्रकाशनमा ल्याइसकेका उनको व्यवस्थापन र विकास विषयका पनि पाँच कृति प्रकाशित छ । यसपटकको किताब वार्तामा उनै साहित्यकार गोपी मैनालीसँगको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
वर्तमान साहित्यलाई कसरी हेरिरहनुभएको छ ?
अहिले लेख्ने मानिसहरू धेरै छन् । केही नयाँ कुरा, केही नयाँ विधाको विकासमा लागिरहनुभएको छ साथीहरू । कोही काव्यमा दुई अक्षरको सानोभन्दा सानो स्वरूपमा लाग्दै हुनुहुन्छ भने कोही नियात्रालाई यो निबन्ध होइन, अलग्गै विधा हो भनेर लागिरहनुभएको छ । समग्रमा हेर्दा साहित्यको संख्यात्मक वृद्धि भएर गएको स्पष्ट देखिन्छ । त्यसको दूरगामी प्रभाव र कालजयी क्षमता, साहित्य कुन गुणस्तरको छ र त्यसलाई कसरी हेरिएको छ भन्ने त आउँदा दिनमा पाठक समालोचकहरूले लेख्नु नै हुनेछ ।
हुन त संख्यात्मक रूपमा बढी आउनुलाई धेरै राम्रो मानिएको पाइँदैन । तथापि, त्यसले लेखनलाई अगाडि बढाइरहेको नै हुन्छ । मैले बीपी कोइरालाको आत्मकथामा कतै पढेको थिएँ, उहाँले धेरै लेखिने तर त्यसमा परिपक्वता नआउने र अध्ययन नगर्ने परम्परा बढ्यो भनेर चिन्ता व्यक्त गर्नुभएको रहेछ । त्यस्तै प्रकारको चिन्ता रमेश विकलले गरेको पनि मैले पाएँ । म्याक्सिम गोर्कीले पनि अध्ययन र साधनालाई महत्त्व दिनुभएको मैले पढेको हुँ ।
उहाँहरूको चिन्तन र अभिव्यक्तिमाथि ध्यान दिने हो भने साहित्यमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धिको महत्त्व विशेष हुन्छ भन्ने स्पष्ट देखिन्छ । सायद मानक पनि त्यही नै हो । त्यस दृष्टिकोणबाट हेर्ने हो भने हिजोआज अलि बढी नै लेखिएको हो कि !
अचेल सामाजिक सञ्जालमा रचना तत्कालै पोस्ट गर्ने चलन छ, यसको प्रभाव कस्तो देख्नुहुन्छ ?
म सानो हुँदा ‘रूपरेखा’, ‘रचना’, ‘अभिव्यक्ति’, ‘मधुपर्क’, ‘गरिमा’ जस्ता साहित्यिक पत्रिकाहरू मात्रै थिए । त्यसबखत रचना छाप्नुपर्दा गाह्रो हुन्थ्यो । ‘गरिमा’मा मेरो रचना दुईतीन वर्षपछि मात्रै छापियो । प्रज्ञामा चारपाँच वर्षपछि मात्रै छापियो । केही पत्रिकामा चिनेका व्यक्ति हुनुहुन्थ्यो र छापियो पनि । तर, अहिले सामाजिक सञ्जालले त्यो प्रचलन भत्काएको छ । एउटा समूह खडा गर्यो र लेखेर पोस्ट गर्यो । त्यसमा टिप्पणी र छलफल गर्यो । सामाजिक सञ्जालको सकारात्मक पक्ष हो यो । यसले धेरै साहित्यकारहरूलाई जन्माएको छ ।
तर, कमजोर पक्ष के हो भने सामान्य खेस्रा सामग्रीहरू सञ्जालमा पोस्ट गरिदिने चलन । जे लेख्यो त्यही हालिदिने, त्यसको अलिकति पनि सम्पादन नगर्ने, कच्चापदार्थ नै सञ्जालमा हालिदिने । त्यसले असर त गर्छ नै । कतिपयले यस किसिमको गल्ती भएको स्वीकारेको पनि मैले पाएको छु ।
खासमा सामाजिक सञ्जालको राम्रो/नराम्रो दुवै पक्ष छ । हामीले त राम्रो पक्षलाई नै समाउने प्रयास गर्नुपर्छ ।
लेखकले गर्नुपर्ने साधनालाई यसले खल्बल्याउँदैन ?
केही विशेष क्षमता भएकाहरूका लागि त साधना कम भए पनि पुग्छ होला । उहाँहरू स्वैरकल्पनामा उडन सक्नुहुन्छ होला । छन्द विधानलाई टपक्क टिपेर रचना गर्नुहुन्छ होला । तर, त्यसबाहेककाको हकमा साहित्य लेखनमा साधना गर्नेहरूको संख्या कम भएको मैले पनि अनुभव गरेको छु । साहित्य लेखनले लामो समय लिन्छ । त्यसले चिन्तन र साधना खोज्छ । तर, आजभोलि धेरैजसो रहरले लेख्नुहुन्छ । साहित्यमा रहर भनेको भुल्का हो । त्यो भुल्कालाई उजिल्याउने काम उहाँहरूले गर्नुभएको छैन ।
साहित्य लेखनमा साधना आवश्यक छ । साधनाको प्रत्यक्ष असर साहित्य र समाज दुवैमा पर्छ । साहित्य समाजसँग समयसापेक्ष रूपमा आउँछ । समाजलाई नबोक्दा कहिलेकाहीँ समाज दिग्भ्रमित हुन्छ । एउटा प्रसंग सुनाऊँ, एकपटक प्लेटोले कविहरूलाई देश निकाला गर्नुपर्छ भन्नुभएको रहेछ । किन त्यसरी बोल्नुभएको रहेछ भन्ने पछि व्याख्या गरियो, कवितामा स्थापित सामाजिक मूल्यहरू, ईश्वरविरुद्धका अभिव्यक्तिहरू दिइएको रहेछ । त्यस्ता अभिव्यक्तिले समाजव्यवस्था र एथेन्सलाई आदर्श राज्य बनाउन असर पुर्याउने रहेछ । ‘सत्यभन्दा ठूलो केही हुँदैन, त्यसैले सत्यलाई उजागर गर ।’
अहिले पनि मलाई के लाग्छ भने कतिपय रचनाले समाजमा नकारात्मक असर पुर्याउँछ । त्यस्तोमा नमाझिएका विचारहरू अभिव्यक्त हुन्छन् । कहिलेकाहीँ त लेखाइमा के देखिन्छ भने सुरुमा एउटा विचार प्रस्तुत हुन्छ, अन्त्यतिर विपरीत विचारमा कुरो पुगिसकेको हुन्छ । यसले देखाउँछ, लेखकले विचार माझ्ने काम नै गरेका छैनन् । पत्रपत्रिकामा पठाउँदा कम्तीमा सम्पादकको जिम्मेवारीमा बसेकाले सम्पादन गरेर मात्रै छाप्छन् । तर, रचना त्यत्तिकै असम्पादित रूपमा आउँदा त्यसले समाजलाई दिग्भ्रमित त तुल्याउँछ नै ।
मलाई लाग्छ, साधना नगर्ने लेखकले आफैँप्रति अन्याय गरिरहेको हुन्छ । त्यसले लेखकलाई स्थापित हुन दिँदैन र उसको पहिचान भत्काउँछ ।
पहिलो कथाकृति ‘विशृङ्खलित सपना’ ल्याउनुभयो, तपाईं निबन्ध र समालोचनामा बढी सक्रिय हुनुहुन्थ्यो नि !
एउटा उमेरमा म काव्य विधामा लागेँ । तर, पछि मेरो लगाव निबन्धतिर बढेर गयो । मलाई मन पर्ने विधा पनि निबन्ध नै हो । किनभने, म आफ्ना मनका कुराहरू निर्बन्ध रूपमा अभिव्यक्त गर्न सक्छु । त्यसबाट मैले निजत्वको आनन्द लिन सक्छु । तर, पछि गएर मैले समालोचना लेख्न सुरु गरेँ । मेरा तीनवटा समालोचनाका पुस्तक प्रकाशनमा आइसकेको छ । यसरी कृति समालोचनातर्फ लागिरहँदा नेपालका लेखक, विश्वका लेखकहरूका रचनालाई हेरेँ । पछि मलाई आफ्नो समालोचकीय मान्यतामा स्थापित रहेर एउटा कथाकृति लेखौँ भन्ने लाग्यो । कथा कस्तो हुनुपर्छ, त्यो कथाले के देला भन्ने मेरो आफ्नो मान्यताअनुसार नै कथा लेख्ने सोच बनाएँ । त्यही मानसिक योजनाको उपज नै ‘विशृङलित सपना’ हो ।
मैले आफ्नो भूमिकामा पनि भनेको छु– व्यक्ति आफैँ कथा हो । कतिपयले व्यक्त गर्न सक्छन्, कतिपयले सक्दैनन् । व्यक्तिको आवेग, संवेग र अनुभूतिलाई राखेर घटनालाई शिल्पगत रूपमा प्रस्तुत गर्नुपर्छ भन्ने अवधारणाअनुसार नै मैले यो कृति लेखेको हुँ ।
हामीले बीपी कोइराला, रमेश विकल, पारिजात र ध्रुवचन्द्रका कथाहरू हेर्यौँ भने माथि उल्लेखित तत्त्व पाइन्छन् । तर, अहिले बग्रेल्ती आएका कथाहरू वा आख्यान हेर्दा केही कथा–निबन्धजस्ता लाग्छन्, कोही नियात्रा–कथा लाग्छन् । त्यस कारण यस्तो भइदिए हुन्थ्यो वा यसरी लेखिदिए हुन्थ्यो भन्नुभन्दा पनि आफैँले लेखौँ न त भन्ने लागेर मैले यी कथा लेखेको हुँ ।
सुरुमा कथा लेख्ने सोचाइ थिएन ?
त्यसो होइन । यस पुस्तकमा मेरा पुराना कथाहरू छन् । कुनै पनि नयाँ छैनन् । मैले २०४७/४८ सालतिरै कथाको प्लट लेखेर राखेको थिएँ । कथाका प्लटहरूले मेरो डायरी भरिएको थियो । बस्, मैले कथाको आकार दिएको थिइनँ । ‘सुखरामको रेडियो’ भन्ने कथाको प्लट डोल्पामा जागिर खाँदा भेटिएको पात्रको जीवन हो । त्यसै बेला प्लट तयार गरेको हुँ, त्यसको । काभ्रेको रोशीखोला किनारको मानिस म, मैले त्यहाँकै घटना–परिघटनालाई कथाको प्लटको रूपमा लेखेँ । जसमा मेरा बालमनोविज्ञान प्रस्तुत छ । त्यस्ता अनेक विषय र प्लट मेरा कथामा छन्, जुन मैले उहिल्यै लेखेको थिएँ । आकार मात्रै पछि दिएको हुँ ।
यस कथाकृतिभित्रका कथाहरू यथार्थपरक छन् । मैले हाम्रो भोगाइ, हाम्रो माटो र समाजलाई कथामा प्रस्तुत गरेको छु । त्यो मेरो गाउँठाउँको होस्, मैले काम गरेको ठाउँको होस् वा मैले गरेको विदेश भ्रमण वा अन्य कुनै विषयको होस् । मूलतः म समाजमा छु र मेरो कथाले समाजको कथा बोलेको छ ।
कथाको तुलनामा निबन्ध लेख्न सजिलो मानिन्छ । कथामा त्यो सजिलोपन हुँदैन भनिन्छ । तर, तपाईं कथामा लाग्नुभयो ?
एउटा सर्जक भावनामा पनि बग्छ र यथार्थमा पनि जीवन जिउँछ । त्यसैले यथार्थतिर कथाको प्लट लेखौँ भन्ने लागेर प्लट बनाउँदै गएँ । तर, कथा लेखिनँ । पछि फुर्सदमा पहिले नै लेखेका कथाका प्लटहरूलाई कथाको आकार दिँदै गएँ । यसरी यो कथासंग्रह तयार भएको हो ।
मैले मेरा कथामा मभित्रको मान्छे र मबाहिरको मान्छेबीचको दूरी घटाउने प्रयास गरेको छु । मेरा कथाले जीवनलाई बोकोस् भन्ने चाहना पनि हो मेरो । त्यसैअनुरूप कथाहरू लेखेको छु । जीवन जसरी हिँड्छ, त्यसलाई त्यसैगरी टिपेर कथामा उनेको छु ।
कथा मनले र समालोचना अनि निबन्ध मस्तिष्कले लेखिन्छ भनिन्छ, तपाईं के भन्नुहुन्छ ?
सही भन्नुभयो । कथामा हामी बरालिन पाउँदैनौँ । कथा त मनको अनुभूति नै हो । तथापि, केही निबन्ध मनले पनि लेख्नुपर्ने अवस्था आइदिन्छ । निबन्धमा भने मन र मस्तिष्क दुवैको प्रयोग हुन्छ भन्ने मलाई लाग्छ । समालोचना भने अधिकांशतः मस्तिष्कबाटै लेखिन्छ ।
सचिव पदले तपाईंको साहित्यकारको छविलाई थिचेको हो भन्न सकिन्छ ?
तपाईंले ठिक भन्नुभयो । एउटा व्यक्तिको अनेक पहिचान हुन्छ । एउटा पहिचानले त्यसलाई थिच्छ । मैले जागिर नखाँदै एउटा निबन्धसंग्रह लेखेँ । जब जागिर खान सुरु गरेँ, एउटा समालोचनाको किताब लेखेँ । तर, त्यसलाई परिमार्जन गरेर प्रकाशित गर्दा १६ वर्ष कुर्नुपर्यो । किनभने, म निश्चित जिम्मेवारीमा थिएँ । पुस्तकको तयारी गरे पनि प्रकाशन गर्न म हतारिइनँ । कारण, म कुनै विशेष जिम्मेवारीमा थिएँ । र, मेरा लागि महत्त्वपूर्ण मैले पाएको त्यो जिम्मेवारी थियो ।
प्रस्तुति : राजेश खनाल ।