site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भलिबलमा थपिएको उत्साह, संघमाथि सधैँ प्रश्न
तस्बिरहरू : हरिशजंश क्षत्री/बाह्रखरी
SkywellSkywell

काठमाडौं । नेपालमा आयोजना हुने हरेक अन्तर्राष्ट्रिय प्रतियोगितामा कमजोर व्यवस्थापनको कारण आलोचना खेप्नु नेपाल भलिबल संघ (एनभीए)को नियमित प्रक्रिया जस्तै बनिसक्यो ।

बुधबार सम्पन्न काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा पनि व्यवस्थापन उस्तै रह्यो । फाइनलमा दुई परिचित प्रतिद्वन्द्वी  नेपाल र भारतबीचको खेल हेर्न पुगेका दर्शकलाई कुचुक्क परेको कभर्ड हलमा उठेर अडिन समेत ठूलै कसरत गर्नुपर्‍यो । 

कभर्ड हल सानो हुँदा खेल हेर्न पुग्ने दर्शकको सानो संख्याले पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा भिडभाड हुनु स्वभाविक हो । तर, हलभित्र बस्ने ठाउँ सानो छ भन्ने बुझ्दाबुझ्दै अस्वभाविक टिकट बेच्नुले पनि भलिबल संघको लापर्बाहीलाई स्पष्ट पार्छ । 

Dabur Nepal
NIC Asia

संघका महासचिव रोशन श्रेष्ठ नयाँ कभर्ड हल अत्यावश्यक भएको बताउँदै व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार्छन् ।

“हिजो हामीले १२ सय टिकट बेच्न खोजेका हौँ । तर, दुई हजार अट्ने ठाउँमा पाँच हजार दर्शक आए भने कसैगरी थेग्न सकिन्न,” महासचिव श्रेष्ठले बाह्रखरीसँग भने, “राखेपले कभर्डहलको स्तरोन्नति गर्ने र स्थान बढाउने प्रक्रिया गरिरहेको छ भन्ने कुरा छ । तर, यसलाई सुधार गर्नुमात्र सबै कुराको समाधान होइन । नयाँ कभर्ड हल अत्यावश्यक बनिसक्यो । यसका लागि हामी जग्गा खोजिरहेका छौँ । नेपालमा कभर्ड हल बनाउनमा सहयोग गर्न एफआईभीबी, काभा सबै तयार छन् ।”

बुधबारको फाइनल हेर्न खेलकुदमन्त्री, राखेप सदस्य–सचिव, काठमाडौं महानगरका मेयर, उपमेयरसँगै अरु राजनीतिक र अन्य क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति कभर्ड हलमा बाक्लै थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल हेर्न आउने इच्छा देखाए पनि आकस्मिक मन्त्रिपरिषद् बैठकले यसलाई सम्भव बन्न दिएन । तर, बुधबारको माहोल हेर्दा प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम रद्द हुँदा भलिबल संघ झन खुसी बन्ने परिदृश्य कभर्ड हलको थियो । कारण, भीआईपी बक्समा समेत खुट्टा राख्ने स्थान खाली थिएन । प्रधानमन्त्री र उनीसँग आउने अरु १५–२० जनाको लावालस्करलाई व्यवस्थापन गर्नु संघलाई ठूलै चुनौती बन्ने पक्का थियो ।

Woman_Volleyball_Nepal-(3)-1723112725.jpg
 

“भीआईपीको स्थानमा बस्ने ठाउँ नहुँदा प्रहरी आईजीपीलाई पनि राख्न सकेनौँ । अलिकति मिसम्यानेज नै भयो भनौँ,” महासचिव श्रेष्ठले थपे । उनका अनुसार बुधबारको खेलका निम्ति १५० जना प्रहरी कभर्ड हलभित्र र बाहिर परिचालित थिए । यस्तै, गरुड सेक्युरिटीबाट ल्याएको ६ जना गार्ड, संघका ४१ जना पदाधिकारी र २५ जना बल ब्वाइ र स्वयंमसेवक खटिएको श्रेष्ठ बताउँछन् ।

Woman_Volleyball_Nepal-(1)-1723112724.jpg
 

कभर्ड हलमा भरिभराउ समर्थक पुगे पनि उनीहरूलाई नेपाली टिमले उपाधिको सन्तुष्टि भने दिन सकेन । नेपाली टिमको उत्साह भारतको अनुभवसामु कमजोर बन्दा घरेलु समर्थकलाई भारतले ३–२ को सेटमा खेल जित्दै निराश बनायो । यो खेलका लागि एक हजार दर्शक पनि मुस्किलले थेग्ने कभर्ड हलमा समर्थकको भिड निकै ठूलो थियो । युट्युबमार्फत प्रतियोगिताको प्रत्यक्ष प्रसारण हेर्ने दर्शक नै चार लाखभन्दा धेरै भएको आधिकारिक प्रत्यक्ष प्रसारक हाम्रो खेलकुदले जनाएको छ । यो नेपालको कुनै पनि खेलको प्रत्यक्ष प्रसारणमा युट्युबले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘लाइभ अडियन्स’ हो ।

खेलको पहिलो सेट नेपालले २५–२३ ले जित्दै सुखद् सुरुआत गरे पनि अन्त्यसम्म यो कायम रहन सकेन । पहिलो सेट भारत २३–२० ले अघि हुँदा नेपालले लगातार पाँच अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट भारतले २५–१४ ले सहजै जितेपछि खेल १–१ को बराबरीमा आएको थियो । तेस्रो सेटमा पुनः नेपाल हाबी रह्यो । सेट २५–२२ ले जित्दै २–१ को अग्रता बनाएपछि नेपाललाई स्वर्ण जित्न एक सेटमात्र पर्याप्त थियो ।

Woman_Volleyball_Nepal-(10)-1723112728.jpg
 

तर, यसपछिका दुई सेटमा भने अनुभवी भारत नेपाली टिममाथि हाबी बन्दै गयो । चौथो सेट भारतले २५–२१ ले जितेपछि सेट २–२ को बराबरीमा आयो । १५ अंकको अन्तिम सेटमा नेपाली टिम सम्हालिन नपाउँदै भारतले नतिजा आफ्नो पक्षमा पार्‍यो । निर्णायक सेटमा नेपाली टिमको तालमेल झनै बिग्रियो । अन्तिम सेट ५–१५ ले पराजित भएपछि नेपाली टिम घरेलु समर्थकमाझ उपाधि जित्ने सुनौलो अवसरबाट वञ्चित भयो ।

“पाँचौँ सेटमा टिम नै चल्न सकेन । चार वटा सेटमा बलियो खेल खेलेका थियौँ । पाँचौँ सेटमा रिसिभ र अट्याक दुवै कमजोर हुँदा हामी हार्न पुग्यौँ । टिममा एकैपटक जम्नै सकेनौँ,” खेलपछि नेपाली टिमकी कप्तान अरुणा शाहीले भनिन् ।

Woman_Volleyball_Nepal-(6)-1723112726.jpg
 

पाँच सेटको खेलमा नेपालले सर्भिस ‘मिस्टेक’बाट भारतलाई पहिलो सेटमा दुई, दोस्रो सेटमा तीन, तेस्रोमा एक, चौथोमा एक र पाँचौँ सेटमा एक गरी कुल आठ अंक भारतलाई दिएको थियो । भारतले पनि नेपाललाई सर्भिस ‘मिस्टेक’ बाट नौ अंक दिएको थियो ।

उपाधिसँगै व्यक्तिगत विधाका पुरस्कारमा पनि भारतीय खेलाडीकै वर्चस्व रह्यो । भारतकी सालिनी सर्भानन प्रतियोगिताकै उत्कृष्ट खेलाडी र बेस्ट ‘आउटसाइड हिटर’ चुनिइन् । यस्तै, सुरिया थोतन्गल ‘बेस्ट मिडल ब्लकर’ र जुही सा ‘बेस्ट सेटर’ चुनिए ।

नेपालकी सलिना श्रेष्ठ ‘बेस्ट लिबेरो’ र सरस्वती चौधरी ‘बेस्ट अपोजिट प्लेयर’ घोषित भए । 

voll-1723112882.jpg
 

प्रतियोगितामा श्रीलंकालाई हराउँदै तेस्रो स्थान हासिल गरेको इरानकी मसोमेह घदामी ‘वेस्ट आउटसाइड हिटर वान’ र मोबिना घरफान ‘बेस्ट मिडल ब्लाकर टू’ चुनिए ।

“हामीले लक्ष्य भेट्टाउन त सकेनौँ । तर, हाम्रो स्तर पहिलेकोभन्दा माथि आएको छ । सिनियर खेलाडीहरूलाई अवसर थियो, भारतलाई हराएर गोल्ड मेडल ल्याउने । त्यो हुटहुटी थियो, तर त्यसलाई पूरा गर्न सकेनौँ,” खेलपछि अरुणाले थपिन् । 

प्रतियोगिताको लिग चरणमा नेपालले भारतविरुद्ध ३–२ को ऐतिहासिक जित निकालेको थियो । यो नेपालको कुनै पनि राष्ट्रिय भलिबल टिमले भारतविरुद्ध निकालेको पहिलो जित थियो । यो जितपछि उत्साहित प्रशिक्षक जगदीश भट्टले फाइनलअघि भारतलाई सोझो सेटमा हराउने लक्ष्य रहेको बताएका थिए । तर, फाइनलमा पराजित भएपछि प्रशिक्षक भट्टले चौथो सेट जित्न नसक्नु नै हारको कारण भएको प्रतिक्रिया दिए ।

Woman_Volleyball_Nepal-(7)-1723112727.jpg
 

“भारतसँग फाइनल खेल्ने भनेर जुन मनोविज्ञानसहित टिम आएको थियो, त्यसमा सर्भिस र रिसिभ राम्रो हुन सकेन । हामीले चौथो सेटमा जित्नुपर्ने थियो । तर, स–सानो गल्ती धेरै भयो । चौथो सेट नजित्नु नै हारको कारण बन्यो,” प्रशिक्षक भट्टले भने, “भारतलाई सोझो सेटमा हराउने लक्ष्यसहित आएका थियौँ । त्यो अनुसारको तयारी र मेहनत पनि थियो । तर, मुख्य खेलाडी नै चल्न सकेन ।”

देश भलिबलमय बन्दा उपाधि जितेर सरकारलाई समेत लगानी बढाउने दबाब दिन सक्ने अवसरलाई सदुपयोग गर्न नसक्दा निराश बनेका भट्टले खेल जित्न नसकेकोमा नेपाली समर्थकसँग माफीसमेत मागे ।

“सारा नेपालीको ध्यान भलिबलमा थियो । यो उपाधि हामीले जितेको भए भलिबलले एउटा हाइट बनाउन सक्थ्यो । सरकारलाई पनि दबाब बन्ने थियो,” उनले भने, “यो हारले भलिबलप्रेमीहरूलाई निराश बनाएको छ । यो नतिजाप्रति भलिबललाई माया गर्नुहुने सबैमा क्षमा माग्न चाहन्छु । तयारी राम्रो भए काभामा उपाधि जित्नु ठूलो कुरा हो जस्तो लाग्दैन ।”

साउन १७ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित भारत, इरान, श्रीलंका र माल्दिभ्स गरी पाँच टिमको सहभागिता थियो । 

Woman_Volleyball_Nepal-(9)-1723112727.jpg

Woman_Volleyball_Nepal-(8)-1723112727.jpg

Woman_Volleyball_Nepal-(5)-1723112726.jpg

Woman_Volleyball_Nepal-(4)-1723112725.jpg

Woman_Volleyball_Nepal-(1)-1723112724.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu