
काठमाडौं । बंगलादेशमा हुने साफ यू–२० महिला च्याम्पियनसिपको निम्ति नेपाली राष्ट्रिय यू–२० महिला टिम घोषणा भएको छ ।
सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षक यामप्रसाद अधिकारीको नेतृत्वमा २३ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरेको हो ।
टोलीमा लिला जोशी, शुशीला केसी, करुन बुढाथोकी, अस्मिता गुरुङ, सुजाता तामाङ, बिरसना चौधरी, सरिता कुमारी नाथ, सेनु परियार, माया मास्के, कुसुम खतिवडा, सेमीहाङमा लिम्बू पन्ढक, सुक्रिया मिया, सिम्रन राई, मनिशा सेन, झुमा विश्वकर्मा, वर्षा ओली, गंगा रोकाया, पूर्णिमा राई, अनिशा राई, मेनु देउवा, सीता रोकाया, समीक्षा मगर र कविता गुरुङ छन् ।
यो टोलीले बंगलादेशमा आगामी जुलाई ११–२१ सम्म आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ । नेपालले डबल राउन्ड रोबिन प्रणालीबाट सञ्चालन हुने यो प्रतियोगितामा आगामी जुलाई ११ मा भुटान, १३ जुलाईमा बंगलादेश, १५ जुलाईमा श्रीलंका, १७ जुलाईमा पुनः श्रीलंका, १९ जुलाईमा पुनः भुटान र २१ जुलाईमा पुनः बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि राष्ट्रिय टोलीको निम्ति प्रशिक्षक अधिकारीले एन्फा मैदानमा सम्पन्न खुल्ला छनोटबाट ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । उनले उक्त संख्यालाई ३० खेलाडीमा पुयाई अन्तिम टोली छनोट गरेका हुन् ।