दाङ । दाङमा यात्रुवाहक जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । आज साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जिप शान्तिनगर–१ हाँडिचारमा दुर्घटना हुँदा सातजना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार रा १ ज ७७० नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनाबाट सल्यान त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी, सोही ठाउँका ४५ वर्षीय ऐश्वर्य केसी, सोही ठाउँकी ४५ वर्षीया पार्वती केसी, ३४ वर्षीया रेखा ओली घाइते भएका छन् । त्यस्तै, रुकुम–पश्चिम त्रिवेनी गाउँपालिका–३ निवासी २५ वर्षीया सरिता खड्का, सल्यान त्रिबेणी गाउँपालिका–३ निवासी ३१ वर्षीया रोजिका ओली र लमजुङको मध्येनेपाल नगरपालिका–७ निवासी २४ वर्षीया लिला बाँस्तोला घाइते भएका छन् ।
घाइतेमध्ये टोट्के निवासी केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टोउको र छातीमा चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
जिप आफैँ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको र दुर्घटनापछि चालक फरार छन् । रासस