काठमाडौं । गायिका शान्तिश्री परियारले गएको बुधबार विज्ञप्ति जारी गर्दै आफूले आगामी दिनमा गीतको शब्द चयनमा ध्यान दिने बताइन् । आफूले गाएको गीत ‘बिस्तराले पोल्यो’को भिडियोका केही दृश्यले दर्शकस्रोताको भावनामा ठेस र लोक तथा दोहोरीगीत प्रतिष्ठानको प्रतिष्ठामा आँच पुगेको भन्दै उनले क्षमा पनि मागिन् ।
भिडियोले सामाजिक रूपमा नकारात्मक प्रभाव परेको उनले उल्लेख गरेकी छन् । त्यसैले आगामी दिनमा शब्दसंगीत छनोट गरेर मात्र गाउने उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।
तर, उनले त्यही एउटा गीत, भिडियो र त्यसका केही दृश्यांशमा मात्र समस्या रहेको बताएकी छन् । त्यसैप्रति दर्शकको आलोचना रहेको उनले स्पष्ट पारेकी छन् ।
सँगै उनले ‘बिस्तराले पोल्यो’ गीत तिज विशेष, लोक वा दोहोरी विधाको नभएको बताएकी छन् । यसको आशय लोकसंस्कृतिसँग जोडिएको तिजगीत होइन, लोकपरम्परासँग सम्बन्धित लोक वा दोहोरी पनि होइन भने किन प्रतिष्ठानले प्रश्न उठाउनुपर्यो भन्नेजस्तो देखिन्छ ।
भलै, उनले ‘प्रतिष्ठानको प्रतिष्ठामा आँच आएकामा क्षमाप्रार्थी छु’ भनेकी छन् । उनी आफैँ प्रतिष्ठानको केन्द्रीय सदस्य भएकाले बाध्य भएर माफी मागेको विज्ञप्तिमा उनले चयन गरेको शब्दले प्रस्ट्याउँछ । उनले भिडियोका केही दृश्यमा कमजोरी रहेको भन्दै त्यो कुनकुन भनेर उल्लेख नै गरेकी छन् । यसको अर्थ गीतका अरू दृश्यप्रति उनी सन्तुष्ट छिन् भन्ने हो ।
त्यही ‘बिस्तराले पोल्यो’ गीतका शब्दबारे उनले केही बोलेकी छैनन् । गीतमा दोहोरो अर्थ लाग्ने शब्द छन् । भिडियोमा त्यस्तै प्रस्तुति छ । तर, यसबारे बोल्न उनले आवश्यक ठानेकी छैनन् । केही नबोल्नु भनेको मौन समर्थन पनि हो ।
शान्तिश्रीका यो वर्ष तिजलक्षित थुप्रै गीत ल्याइएको छ । तिनमा द्विअर्थी शब्द छन् । संस्कृतिसँग जोडिएर ल्याइने गीत सभ्य हुनुपर्छ कि पर्दैन भन्ने प्रश्नमा स्रष्टाले जवाफ दिनु पर्दैन ? सर्जक तथा प्रस्तोता जिम्मेवार हुनु पर्दैन ?
तिज विशेष र लोक तथा दोहोरी होइन भनेर जस्तो गीत पनि गाउन मिल्छ ? त्यसो भए र्याप गाए भयो नि, अरू किन गाउनु !
लोक वा दोहोरी र तिजगीत होइन भन्दैमा जस्तोसुकै शब्द भएका पनि गाउन मिल्छ ? ‘बिहेअघि दिन्छु बरिलै, दिन्नँ बरिलै’ जस्तै गीत गाउने अफर आए के गर्ने ?
उनी आफैँ स–गौरव १४ वर्ष सांगीतिक करिअरमा दुई हजार गीत आएको बताउँछिन् । उनले गाएका दुई हजार गीतमा अधिकांश अरूकै कलेक्सन एल्बम र सिंगल ट्रयाक हुन् । अरूका एल्बममा रेकर्डिङ मात्र होइन, स्टेज कार्यक्रममा पनि उनी उत्तिकै व्यस्त गायिका हुन् ।
यति व्यस्त गायिकालाई ‘सी ग्रेड’का भिडियो मेकरसँग काम गर्ने गीतकारका गीत गाउन केको बाध्यता थियो भन्ने प्रश्न गरिनु स्वाभाविक हो । यतिका गीत गाउने, लोकप्रिय र व्यस्त हुने कलाकार नै १०/१५ हजारको लोभमा फसे नेपाली सांगीतिक क्षेत्र कता जाला ?
सम्भावित यही समस्याको आकलन गर्दै लोक तथा दोहोरीगीत प्रतिष्ठानले लोक, लोकदोहोरी र तिजगीतमा विकृति फैलाउने आफ्ना सदस्यलाई सचेत गराउँदै आएको छ । प्रतिष्ठानबाहिरका गायकगायिकालाई त्यस्ता गीत नगाउन आग्रह गर्दै आएको छ । गाएर युट्युबमा अपलोड गरिएको भए हटाउन अनुरोध गर्दै आएको छ ।
प्रतिष्ठानकी अध्यक्ष रीता थापाले राज्य निरीह भएको परिणाम लोकसंगीतले भोगिरहेको केही दिनअघि बाह्रखरीसँगको कुराकानीमा बताएकी थिइन् । राज्यले चाहेको खण्डमा मात्र विकृति र विसंगति न्यूनीकरण गर्न सकिने अन्यथा यो क्रम अझ बढ्दै जाने उनको भनाइ थियो ।
बाटो बिराउँदै गएको नेपाली लोकसंगीतलाई पुरानै लयमा फर्काउने पहलस्वरूप प्रतिष्ठानले नेपाल प्रहरीसँग आग्रह पनि गरिसकेको छ । राज्यले तत्काल नियन्त्रण सुरु नगरे अझै खराब लोक तथा दोहोरीगीत गाउन कलाकार तयार रहेको रीताको धारणा थियो ।
तिज नेपाली संस्कृति हो, तिजगीत तिजको संस्कृति संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने माध्यम हुन् । तिजगीतसँगै रमाइलो पनि पनि आउला, त्यो बेग्लै पाटो भयो । तर, तिजगीतलाई रत्यौली बनाए तिजको मर्म नै मर्छ ।
गीत श्रृंगारिक हुन्छ, हुनु पनि पर्छ । सुन्दर ढंगले नियत खराब नराखी गीत लेख्ने हो भने द्विअर्थी शब्दले पनि विम्बको काम गर्छ । त्यो सुन्दर हुन्छ । तर, अहिले त द्विअर्थीभन्दा पनि प्रष्टै अर्थ लाग्ने गीत आउन थाले । संगिनी सुई, विस्ताराले पाल्यो, बिहे अघि दिन्छु, मायाको पोकोजस्ता शब्दले सिधा अर्थ दिन्छन् । यसले गीतको मर्म नै मार्ने काम गरेका छन् ।
जब युट्युबबाट केही रोयल्टी आउन थाल्यो, त्यसपछि तिजका गीतमा विकृतिको पारो उकालो लाग्यो, जसरी अरू गीतमा थियो । विवादित बनाएर भ्युज बटुलिहाल्ने र त्यसकै प्रतिफलमा आकर्षक रोयल्टी पनि बैंक अकाउन्टमा जम्मा गरिहालौँ भन्ने लोभले कलाकारमा घर गरेको प्रस्ट देखिएको छ ।
प्रीति आलेले गाएको ‘मादलु घन्काउँदै’ यसकै पछिल्लो उदाहरण हो । गीतमा महिलाको अपमान गर्ने शब्द थियो । विवाद भयो । पछि त्यो अंश हटाएर गीत पुनः युट्युमा राखियो ।
यसले विवादित बनाएरै गीतको भ्युज बढाऊँ, चर्चा कमाऊँ र त्यही मेसोमा पैसा पनि कमाइहालौँ भन्ने कुत्सित मनासय देखिन्छ ।
कलाकार बदनाम होइन, नाम कमाउनेतर्फ लाग्नुपर्ने हो । छिनमै उर्लिएर एकाध घण्टामै सुक्ने खहरेजस्तो होइन, लामो समय टिक्ने र बिक्ने संगीत सिर्जनालाई कलाकारले प्राथमिकता दिनुपर्ने हो । तर, अहिले तिजगीतका नाममा केही सर्जकले ‘रत्यौली’ लेखिरहेका छन्, कलाकारले रत्यौली गाइरहेका छन् । बजारमा तिनकै चर्चा छ । सँगै आएका राम्रा गीतको न चर्चा छ न सञ्चारमाध्यममा उपयुक्त स्पेस नै ।
कम्तीमा अग्रज र लोकप्रिय कलाकारले रत्यौली र तिजगीत छुट्ट्याउन सक्नुपर्छ । छुट्ट्याउन सकिँदैन भने अरूको सहयोग लिनुपर्छ । यसले प्रस्तोता र संस्कृति दुवैको इज्जत जोगिन्छ ।
सञ्चारमाध्यम पनि टीआरपीको पछि लाग्दा बदनाम नै किन नहोस्, विवादित गीत गाऊँ, चर्चामा आऊँ भन्ने लोभमा चलेका लोकप्रिय कलाकार नै लागेका छन् । अग्रज र लोकप्रिय कलाकारले नै बाटो बिराएपछि तिनैलाई आइडल मानेर आउनेले के सिक्लान् ? के जान्लान् ? अनि, हुर्कंदै गरेको पुस्ताले नेपाली लोकसंस्कृति कस्तो हो भनेर कसरी बुझोस् ?
‘दिन्नँ बरिलै’ र ‘बिस्तराले पोल्यो’ जस्ता गीत सुनेर र हेरेर भर्खर हुर्कंदै गरेका बालबालिकाको मस्तिष्कमा कस्तो असर पर्ला ? सर्जक तथा प्रस्तोता जिम्मेवार नबने समाजले कुन बाटो लिएला भन्ने प्रस्टै छ ।
‘डबल मिनिङ’ दिने शब्द र अश्लीलता झल्काउने भिडियो बनाएर युट्युबमा अपलोड गरिएका गीतको भ्युज पनि उल्लेख्य गएको छैन । आर्थिक उपार्जनको लोभले मात्र तयार गरिएका गीतमा पनि सर्जक तथा प्रस्तोताले भ्युजकै आधारमा ठूलो रकम आर्जन गर्ने देखिँदैन । त्यसैले यहाँ एउटा प्रश्न– बेइज्जतीको बिल्ला भिर्न र मौलिक संस्कृतिमाथि प्रहार गरेको आरोप किन खेप्नुहुन्छ ? धमिलो पानीमा माछा मार्ने काम गरेको आरोपको भागीदार हुन किन रहर लागेको ?
गीतमा विविधता चाहिन्छ । जति धेरै विविधता भयो, संस्कृति त्यति नै धनी हुँदै जान्छ, फैलँदै जान्छ । विविधतामा पनि ध्यानचाहिँ दिनुपर्छ । यसको उदाहरणका रूपमा ‘काली पसम कि आमा डोरी कसम कि’ लाई लिन सकिन्छ ।
यो गीतले दिने सन्देश के हो ? हो, तिजमा माइत आएकी चेलीले घरमा दुःख पाएकी छन् अथवा घरेलु हिंसा सहेकी छन् भने आमालाई त्यो दुुःख सुनाउलिन्, पीडामा जिउन कठिन भएकाले जिन्दगीलाई नै पूर्णविराम लगाइदिऊँ कि पनि भन्लिन् ।
तर, यो सबै गीत र भिडियोमा देखाउनैपर्छ ? भएका सबै कुरा अरूलाई सुनाइँदैन । त्यसमाथि सार्वजनिक गीतमा यस्तो सबै उल्लेख गर्नु ठिक हो ? यसको उदाहरण पनि त्यही ‘काली पसम कि आमा डोरी कसम कि’ लाई नै लिऊँ । ‘काली पसम कि आमा डोरी कसम कि’ ले आत्महत्या दुरुत्साहनका लागि काम गर्दैन र ?
कसैले यही विषयमा अदालतमा मुद्दा हाल्न सक्छ । हो पनि, अरूलाई आत्महत्या गर्न उक्साउन त पाइँदैन । त्यसैले सर्जकले मैले के गर्दै छु र सिर्जनाले कस्तो असर गर्छ भन्ने पनि ख्याल गर्नुपर्छ । अन्यथा, त्यसको जिम्मेवारी लिनुपर्छ ।