काठमाडौं । गायिका प्रीति आलेले केही दिनअघि एउटा तिजगीत सार्वजनिक गरिन् । भिडियोसहितको गीतमा स्वर प्रीति आलेको छ । गीतको भिडियोमा पनि उनै छिन् । लिप्सिङ मात्र होइन, अभिनय नै उनको छ ।
भिडियोमा उनी रातो सारी र चोलो लगाएर मात्र नाच्दिनन्, मोर्डन सहरिया युवतीको पहिरनको पनि प्रतिनिधित्व गर्छिन् । नृत्य भड्किलो त छ नै, त्योभन्दा पनि आपत्तिजनक गीतका शब्द छन् ।
उनको गीतको एउटा लाइनले भन्छ–
लोग्ने विदेश छ भनेर टोलमा फुइँ लाउँछे
फेरि किन त्यसका बाजे तीनमहिने सुई लाउँछे ।
प्रीति आले लोकदोहोरी क्षेत्रमा सर्वाधिक डिमान्डेड गायिकामध्येकी एक हुन् । सिजनमा उनी महिनामा ३० दिन नै स्टेज कार्यक्रममा व्यस्त हुन्छिन् ।
उनकै गीत किन यस्तो ? प्रीति राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी सदस्य पनि हुन् ।
“गीत आएपछि प्रतिष्ठानले उहाँलाई फोन गरेको थियो । उहाँले ‘मलाई पनि झुक्याएर यस्तो गीत गाउन लगाइयो’ भन्नुभयो,” प्रीतिलाई उद्धृत गर्दै प्रतिष्ठानका महासचिव शिव हमाल भन्छन्, “‘सुरुमा यो शब्द गीतमा थिएन, मैले गाउँदिनँ भन्दा गीतमा राख्दैनौँ, अहिलेलाई रेकर्ड मात्रै गराइदिनुस्, राख्दैनौँ भन्नुभयो । भिडियोमा पनि त्यस्तै भयो ।’”
आफूलाई पनि चित्त नबुझेको भन्दै प्रीतिले गीतकार गोविन्द भट्टलाई गीत हटाइदिन आग्रह गर्न आफूसँग अनुरोध गरेको शिव सुनाउँछन् । “मैले गोविन्दजीलाई फोन गरेँ, उहाँले आफूबाट गल्ती भएको भन्दै सच्याउन तयार रहेको बताउनुभयो,” शिव भन्छन्, “त्यसको भोलिपल्ट नै उहाँले विवादित शब्द हटाएर गीत पुनः युट्युबमा अपलोड गर्नुभयो ।”
प्रीति आफैँमा बेलाबेलामा विवादमा मुछिइरहने पात्र हुन् । उनी केही वर्षअगाडि पनि विवादमा परेकी थिइन् । त्यति बेला प्रतिष्ठानले उनलाई ६ महिना निलम्बन गरेको थियो ।
प्रतिष्ठानकै सदस्यबाट पटक–पटक कमजोरी हुने गरेको छ । प्रतिष्ठानले विकृति र विसंगति न्यूनीकरणका निम्ति अभियान नै चलाउँदै आएको छ । अपाच्य दोहोरी गाएको भन्दै प्रतिष्ठानले यसअघि केही कलाकारलाई स्पष्टीकरण सोधेको थियो ।
पहिला विवादित शब्द र भिडियो राखेर गीत चलाइहालौँ, विरोध भए हटाउँला, त्यति बेलासम्म युट्युबबाट पैसा आइसक्छ भन्ने मनोविज्ञानले काम गरिरहेको शिव टिप्पणी गर्छन् । “राम्रा र सम्मानित सर्जकहरू नै विवादित र अमर्यादित गीत गाउन र बनाउनतर्फ लागेको पाइयो,” उनी अगाडि थप्छन्, “यो नै अहिले हाम्रा लागि चुनौतीको विषय बनेको छ ।”
गत वर्ष अमर्यादित र द्विअर्थी लाग्ने शब्द भएका दुई/तीन गीत चलेपछि त्यसको सिको गर्नेको संख्या बढेको उनको बुझाइ छ । ‘अरेली काँडैले च्वास्सै च्वास्सै...’ चलेपछि पुनः द्विअर्थी र भद्दा शब्दको लोक तथा तिजगीतमा बाढी आएको छ ।
“गत दुई वर्षअगाडि दुर्गेश थापाको गीत केही विवादित भएको थियो । त्यसयता तिजगीतमा त्यस्तो धेरै अमर्यादित शब्द कमै देखिएको थियो,” शिव भन्छन्, “यो वर्ष फेरि तिजका गीतमा विकृति बढ्यो ।”
हाल ‘बारुलाले चिलेर च्वास्सै’ भन्ने शब्दका गीत मात्र नौवटा रहेको भन्ने आफूले जानकारी पाएको उनी बताउँछन् । तिजको मौलिकता बचाउन नै कठिन रहेको उनी सुनाउँछन् ।
“तिजको मौलिकता भन्ने नै रहेन । यसलाई बचाउन नै कठिन भयो,” उनी अगाडि थप्छन्, “प्रतिष्ठानमा रहेका साथीलाई त हामी सम्झाउँछौँ, बुझाउँछौँ । तर, हाम्रो संस्थामा नरहेका साथी कसले के गर्छ र भन्नेमा रहँदा समस्या भएको छ ।”
‘सी ग्रेड’का र ‘डबल मिनिङ’ लाग्ने शब्दले तिजगीतको सौन्दर्य नै बिगारिदिएको उनको टिप्पणी छ । त्यसले सर्जकसँगै तिजगीतकै हुर्मत लिइरहेको उनको भनाइ छ ।
यो वर्ष आफूले तिजका १०/१२ गीत कम्पोज गर्दा र १४/१५ वटा लेख्दा अधिकांशले सस्तो प्रचारका खोजेको उनको अनुभव छ । “मैले त आफूलाई यस्तो गीत गर्नु हुँदैन भनेर रोकेँ, तर सम्मानित र अग्रजले नै यस्ता गीत मागेपछि कतिले आफूलाई रोक्न सक्छन् भन्ने हो,” उनी भन्छन् ।
तिजगीत नै तिजको जस्तो नरहेको उनको गुनासो छ । “तिजमा माइत आउने चेलीले दुःख र पीडाको भावना मात्रै पोख्दैनन् होला, रमाइलो पनि गर्छन्,” उनी भन्छन्, “तर, रमाइलोको नाममा आफ्नो संस्कृति नै भुल्न हुँदैन । तर, यही नै भइरहेको छ ।”
प्रतिष्ठानकी अध्यक्ष रीता थापा सरकार निरीह हुँदाको यो परिणाम भएको बताउँछिन् । “सरकार निरीह हुँदाको परिणाम अहिले हाम्रो लोकसंस्कृतिले भोगिरहेको छ,” रीता भन्छिन्, “सरकारले हस्तक्षेप नगर्ने हो भने कलाकार अझै योभन्दा अपाच्य गीत गाउन तयार छन् ।”
यसको कारण पनि छ उनीसँग । अपाच्य शब्द राखेर गाइएका गीतले नै मिडियामा स्थान पाइरहेको उनी बताउँछिन् । “अहिले पाँचवटा राम्रा गीत कुन–कुन हुन् भनेर प्रश्न गर्ने हो भने मिडियाका साथीहरूलाई पनि थाहा हुँदैन,” उनी भन्छिन्, “तर, विवादित गीतको लिस्ट नै हुन्छ उहाँहरूसँग ।”
स्टेज पनि अपाच्य गीत गाउने र विवादित कलाकारले नै पाउने गरेको उनको गुनासो छ । राम्रो गाए छायामा परिने डरले विवादित गीत नै गाउनुपर्छ भन्ने नयाँ आउनेलाई परिसकेको रीताको भनाइ छ ।
कलासंस्कृतिमाथि प्रहार गर्ने गीत र सर्जकविरुद्ध तत्काल राज्यले हस्तक्षेप नगरे लोक तथा दोहोरीका क्षेत्रमा अझै विचलन देखिने उनको अनुमान छ । प्रतिष्ठानजस्तो सामाजिक संस्थाले भन्दा विकृति न्यूनीकरणका निम्ति राज्यले नै अग्रसरता लिनुपर्नेमा उनी जोड दिन्छिन् ।
“हामीले त सम्झाउने, बुझाउने तथा आग्रह गर्ने मात्र हो । कारबाही गर्ने निकाय हामी हैनौँ,” उनी भन्छिन्, “कारबाही गर्ने अधिकार पनि राज्यलाई छ । देशको मौलिक संस्कृति जोगाउने दायित्व पनि राज्य कै हो । हामीले त सहयोग गर्ने मात्र हो ।”
प्रतिष्ठानको पदाधिकारी बैठक भोलि (मंगलबार) बस्दै छ । यसबारेमा कसरी अगाडि बढ्ने भन्ने बैठकबाट निर्णय गरिनेछ । “कस–कसलाई सम्झाउने, आग्रह गर्ने तथा स्पष्टीकरण सोध्ने बैठकले निर्णय गर्नेछ,” उनले भनिन्, “हाम्रो मौलिक संस्कृति जोगाउन राज्यसँग कसरी सहयोग माग्ने निर्णय गर्नेछौँ ।”
तीन दिनअघि प्रतिष्ठानका पदाधिकारीले टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेर एसएसपी सानुराम भट्टराईसँग भेटेका थिए । उनीहरूले लोक तथा दोहोरीको क्षेत्रमा देखिएको विकृति–विसंगति न्यूनीकरणका निम्ति आग्रह गरेका थिए ।
“हाम्रो आग्रहमा प्रहरी सकारात्मक छ । गीत–संगीतमा देखिएको विकृति सामाजिक अपराध पनि हो । एसएसपी भट्टराई सरले कुन–कुन गीतमा विकृति छ हामीलाई खबर गर्नुस्, हामी बोलाएर सोधपुछ गर्छौँ भन्नुभएको छ,” प्रतिष्ठानका महासचिव हमाल भन्छन्, “विकृति भित्र्याउने र फैलाउनेलाई बोलाएर सम्झाउँछौँ, सम्झाउँदा पनि भएन भने जिल्ला प्रशासन कार्यालयबाट मुद्दा पनि चलाउन सकिन्छ भन्नुभएको छ ।”
उनका अनुसार, अपुष्ट जानकारी पाउने र उजुरी लिएर कोही नआउने भएकाले आवश्यक प्रक्रिया अगाडि बढाउन नसकिएको प्रहरीको भनाइ छ ।
केही दिनअगाडि मात्र सार्वजनिक राजेश हमालले अभिनय गरेको गीत पनि उस्तै छ । ‘गुलेली तन्कियो गाउँमा मादल रन्कियो’ बोलको गीत समेत द्विअर्थी भएको टिप्पणी गरिँदै छ । राजेशले अभिनय गरेको उक्त गीतमा स्वर हाल सर्वाधिक रुचाएकी गायिका शान्तिश्री परियारको छ ।
यस्तै, ‘दिउँला बरिलै’, ‘बिस्तराले पोल्यो’ जस्ता सुन्नै नसकिने अपाच्य गीत यो वर्ष सार्वजनिक गरिएको छ । ‘बिस्तराले पोल्यो...’ मा शान्तिश्री परियारको स्वर छ ।
“अहिलेको समस्या नै अग्रज गायक–गायिकाको रोजाइ हो । उनीहरूलाई मिडियामा आइहाल्छ, युट्युबबाट डलर झरिहाल्छ भन्ने छ,” अध्यक्ष रीता भन्छिन्, “यसले आउँदै गरेका भाइबहिनीलाई गीत चलाउन त यस्तै गर्नुपर्ने रहेछ भन्ने परिसकेको छ ।”
यसलाई राज्यले मात्र नियन्त्रण गर्न सम्भव रहेको उनी बताउँछिन् । प्रहरीलाई गुहार्ने निर्णय बैठकबाट गर्न सकिने उनको भनाइ छ ।
पदाधिकारी बैठकपछि प्रतिष्ठानकै विकृति विसंगति न्यूनीकरण विभाग र संस्थाका उपत्यकाका सबै विभागका सचिवबीच छलफल गरेर आवश्यक कदम चाल्ने निर्णय गरिने महासचिव हमालले जानकारी दिए ।