काठमाडौं । नेपालमा यस वर्ष अहिलेसम्म २० जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक विज्ञप्तिमार्फत साउनयता काठमाडौं, ललितपुर र कैलालीमा गरी २० जनामा हैजाको संक्रमण पुष्टि भएको जनाएको हो ।
"सुधारिएको खानेपानीको स्रोत र सरसफाइको सुविधा प्रयोग गर्नेहरू बढे पानी खुला दिसाको अभ्यास, सहरी क्षेत्रहरूमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी र हरेक वर्ष वर्षायाममा हुने पहिरो र बाढीका घटनाहरूले पानी तथा सरसफाइका पूर्वाधारलाई पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको संक्रमण हरेक वर्ष देखिने गरेको छ," विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयका अनुसार हैजा संक्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन । तर, उनीहरूको दिसामा पहिलोदेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ । लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानीजस्तै दिसा हुने हुन्छ ।
के भन्छन् विज्ञ ?
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अतिसंक्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने, “हैजाका जीवाणु संक्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।”
हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षण देखापर्छ । हैजा संक्रमण भए र उपचार नपाए केही घण्टामै संक्रमितको मृत्यु पनि हुन सक्ने विज्ञ बताउँछन् ।
डा. पुनका अनुसार, यसका मुख्य लक्षणमा पातलो तथा चौलानीपानीजस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा, रक्तचाप कम, पिसाब पहेँलो र पिसाबको मात्रा कम हुने हुन्छ ।
डा. पुन मुख्यतः तीन विषयमा ध्यान दिन सके हैजा नियन्त्रणमा राख्न सकिने बताउँछन् । पहिलो, सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अनुगमन । सबैभन्दा महत्त्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने उनी बताउँछन् ।
“हैजा दूषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ । धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन्, तर जारको पानी धेरैले त्यसो गर्दैनन्,” उनले भने, “किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिकस्थलमा जारको पानी राख्ने चलन छ । कतिपय व्यवसायीहरूले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन्, जसले गर्दा हैजाको संक्रमण फैलिन्छ ।”
व्यक्तिगत सरसफाइ व्यवहारमा लागु भएको नदेखिएको उनी बताउँछन् । “शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरू फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरू कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ । शौचालयको प्रयोग गरेपछि साबुनपानीले मिचीमिची हात धुन जरुरी छ,” उनले भने ।
डा. पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा मानिस बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्छन् । उनी भन्छन्, “अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनभने, विकसित देशमा पानीजन्य रोगहरू अत्यधिक कम छ ।”
हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनुअघि र खाना खानु वा खुवाउनुअघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नुअघि, बाहिर सामान छोएपछि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म मिचीमिची हात धुनुपर्ने विज्ञको सुझाव छ ।